सम्झिन सकूूँ तिमीलाई युगौँयुगसम्म

सम्झिन सकूूँ तिमीलाई युगौँयुगसम्म

हिमाल सरोवर ठकुरी  |  साहित्य  |  बैशाख ६, २०७७

थुप्रै उमंगहरू, थुप्रै उपहारहरू बोकेर आउँछ 
कयौँ अवसरहरू, कयौँ चुनौतीहरू
अनगिन्ती खुसीहरू, मुस्कानहरू
थाहा छैन केके बोकेर आउँछ
जाँदा पनि कयौँ कुरा लिएर जान्छ
अनगिन्ती चोटहरू दिएर जान्छ

कतिलाई रुवाएर, कतिलाई उजाडेर जान्छ
 कतिको जिन्दगीमा प्रेमको फूल रोपी जान्छ
कतिको जिन्दगी कुल्चिएर जान्छ ।

जस्तो कि
कयौँ आमाहरूलाई लुटेर जान्छ
बुबाहरूको भरोसा टुटाएर जान्छ
छोरीहरूको जिन्दगी मरुभूमि बनाइदिन्छ
दिदीहरूको निधार खाली बनाइदिन्छ
भाइहरूको सपना उजाडिदिन्छ
कयौँ प्रेमहरू छुटाएर जान्छ
कयौँ मन, मुटुहरू अलग बनाएर जान्छ ।

यो वर्ष पनि आफ्नो जिम्मेवारी भरपूर निभाएर गएको छ
हेर्दाहेर्दै यो साल पनि पोहोर साल बनेको छ
हेर्दाहेर्दै यो साल पनि बूढो विगत बनेको छ
महँँगा मान्छेहरूका सस्ता र ठूला पोस्टरहरू
थोत्रो भएर झुन्डिरहन अब पाउँदैनन्
किनकि यो वर्ष नयाँ पोस्टर झुन्डिनका लागि 
तम्तयार छन्, कान ठाडो बनाएका छन् ।

भित्तेपात्रो पनि पुरानो भएको छ
सायद यो पुरानो पात्रो अब कुनै मलखातमा कुहिनेछ
नयाँ पात्रो थुप्रै नयाँ कुराहरू बोकेर आएको छ
लगनका दिनहरू, सरकारी छुट्टीका दिनहरू
फरक फरक दिवसहरू बोकेर आएको छ ।
जस्तो कि
शहीदहरूलाई दुखाउने दिवस
अन्य थुप्रै दिवसहरू पनि छन्
सायद तिमीलाई सम्झिने दिवस पनि
यस वर्षको नयाँ पात्रोमा समेटिएको छ ।

थाहा छ- यी वर्षहरू बुढा हुँदै जानेछन्
दशक, शताब्दी हुँदै जानेछन्
र, सम्झिन सकूूँ तिमीलाई युगौँयुगसम्म ।