थुनुवाको डायरी: शिक्षाकहरुकाे झुठाे बयान र भद्रवन्दी गृहकाे मेरो पहिलो रात

नखाएको विष

थुनुवाको डायरी:  शिक्षाकहरुकाे झुठाे बयान र भद्रवन्दी गृहकाे मेरो पहिलो रात

नजरराम महर्जन  |  साहित्य  |  बैशाख ६, २०७७

असोज २० गते बुधवार

मेरो प्रतिक्षाको घडी नजिक आयो । २० गते मलाई फेरि अदालत लैजान दुई जना महिला प्रहरीहरू आए । हिजो नै प्रहरीले मेरो विरुद्ध अदालतमा अभियोग पत्र दर्ता गराई सकेको रहेछ । आज पनि हामी ट्याक्सीमै गयौं । मेरो ‘पाँगा घरको ढोका खोल्नुभयो रु ’ बाटोमा उनीहरूसँग सोधें ।

'खोलिसक्यौं त्यहाँ त केटीहरूले भने बमोजिम त्यस्तो केही पनि प्रमाण फेला परेन ।' एक जना प्रहरीले जवाफ दियो ।

अदालत पुगेपछि थाहा पाएँ अब थुनछेकको बहस भोलि २१ गते नै हुनेभयो । अदालतमा नरहरि दाइ, रामकुमारी, नन्दकुमारी, सरब र मेरा भान्जाहरू आइरहेका थिए । अब भोलि अदालतमा थुनछेक बहस गर्न को वकिल राख्ने भत्रे सल्लाह भयो ।

'पंचलाल र सुरेन्द्र मानन्धर दुबैजना बहस गर्न तयार हुनुहुन्छ । दुई जनामा कसलाई बहस गर्न दिउँ ?' छोराले सोध्यो ।

'ठूलो बासँग सल्लाह गर्नु । सुरेन्द्र मानन्धरलाई नै बहस गर्न दिने किनभने ऊ आफ्नो पार्टीको मान्छे हो ।'

'भोलि धरौटीमा छुट्न सक्छ, लालपूर्जा र नगद पनि लिएर आउँछु ।' दाइले भत्रुभयो ।

मलाई फेरि हनुमान ढोकामै फर्काएर ल्याए ।

'के भयो बा ? अब पेशी कहिले हुनेभयो ?' मेरो कोठामा सुत्ने एकजना केटाले सोध्यो ।

'भोलि थुनछेकको बहस हुन्छ । के हुन्छ हेरूंँ ।' मैले भनेँ ।

'भोलि तपाई धरौटीमा छुट्नु हुन्छ । यति छिटो बहस हुन लागेको भनेको नै तपाईंलाई दशैँ मनाउन घर पठाउन गरेको हो ।' त्यही बुज्रुुक मान्छेले भन्यो ।

'धन्यवाद ! तपाईंको आशिष लागोस । म घर जान पाउँ ।' मैले भनेँ ।

त्यसदिन मैले कोठामा बसेका दश जनालाई चिया खुवाएँ ।

'साला पटके ! तँलाई प्रहरी खोर त साह्रै मन पर्छ जस्तो छ नि ! यो कति पटक हो ?' एक जना प्रहरी हवल्दारले झ्याप्प कपाल पालेको केटालाई भनिरहेको थियो । जुन केटालाई मैले आज विहान मात्र देखेको थिएँ ।

'यहाँ  म रहरले आएको हुँ ?  तपाईंहरूले काम गरेर खान दिए त हो नि ! हिजो राती साहुको घरमा ठेला पुर्‍याएर कोठा जान लागेको थिएँ । यति राती कहाँ गएर आएको भनेर मलाई यहाँ ल्याएर थुनिदियो । अझ मलाई नै पटके भन्नुहुन्छ ।' त्यो केटाले नडराइकन भन्यो ।

'ए साला ! तँ मसँग मुखामुख गर्ने ? ल आज चर्पि सफा गर्ने तेरो पालो, ल जाऊ' भनेर लट्ठी उठाउँदै भन्यो ।

त्यो केटा तल गयो ।

असोज २१ गते पुर्पक्षको लागि जेलमा गएको दिन

२०६७ असोज २१ गते ममाथि लगाईएका झुठा आरोप 'जवरजस्ती करणी उद्योग' बारे अदालतमा बहस हुने दिन । प्रहरीखोर हनुमान ढोकामा कष्टपूर्ण १४ रात बिताइसकें । आजदेखि मैले यो खोरमा बस्नु पर्ने छैन । धरौटी खुल्यो भने धरौटी राखेर घर जान पाउनेछु । बाहिरै बसेर मुद्दा लड्न पाउनेछ । होइन भने पुर्पक्षको लागि जेल चलान गर्नेछ । त्यसैले घरबाट पठाएका सबै सामानहरू छोरालाई फर्काइ दिएँ । खाना खाइसकेपछि प्रहरीको कोठामा रहेका मेरा सबै सामानहरू मलाई फिर्ता दिए ।

'ल बा ! हामीबाट केही गल्ति भएको भए माफ गर्नुहोला । तपाई आज घर जान पाउनु हुनेछ ।' मलाई सामान दिंदै प्रहरी हवल्दारले भन्यो । मैले धन्यवाद भनें ।

मलाई अदालत लैजान महिला सेल कालीमाटीबाट दुई जना महिला प्रहरीहरू आएका रहेछन् । ट्याक्सीमा बसेर अदालत गयौं ।

'तपाईंहरूले जतिसुकै पढेलेखेको भए पनि, तपाईं जतिसुकै धनि भए पनि, जतिसुकै ठूलो पदको मान्छे भए पनि यहाँ भित्र पसेपछि सबै कैदी बन्दी हुन् । सबै कैदी बन्दीहरू बराबर हुन् । यहाँ भित्र प्रहरीको कुनै काम छैन । यहाँ भित्र हामी कैदीहरूको आफ्नै आन्तरिक प्रशासन छ । आन्तरिक प्रशासन चलाउने र सहयोग गर्नेहरूलाई स्टाफ भन्छन । अरू सबैजना पब्लिक हुन् । यहाँ हाम्रो आफ्नै नियम र कानून छ । सबैले मात्रुपर्छ । हाम्रो नियम कानून नमात्रे मान्छे यहाँबाट जिउँदो बाहिर निस्कुंला भनेर नसोचे पनि हुन्छ । कानून उल्लंघन गर्नेलाई आँखामा पत्ति बाँधेर ठूलो बोरामा कोचेर चार पाँच जनाले लौरोले पिट्छन् । त्यो पिटाई कहाँ पर्छ, के हुन्छ मतलब हुँदैन ।'

'तपाईहरूलाई थाहा होला,  आज म छुट्न सकुंला ?' मैले सोधें ।

'सायद ! तपाई धरौटीमा छुट्नुहोला । पछि सफाई पनि पाउनुहोला । मेडिकल रिपोर्ट तपाईको पक्षमा छ । घटनास्थलको मुचुल्का पनि तपाईंकै पक्षमा छ । बच्चाहरूले जाहेरी दिएको वाहेक खासै कुनै प्रमाण छैन ।'

'मेरो छोरीहरूलाई स्कूल पठाउनु भएको छ ?'

'के छोरीछोरी भनिरहनु भएको ?  त्यस्ता खाते केटीहरू पनि छोरी हुन्छ ?  बाबुजस्तो मान्छेलाई पनि त्यस्तो झुठो आरोप लगाउन सकेका पापीनीहरू ! ' एक जना महिला प्रहरीले भनिन, 'हामीले तपाईंको बारेमा सबै जानकारी लिइसकें । यस्तो समाजसेवी मान्छेलाई त्यस्तो झुठो आरोप लगाउन सकेका !'

हामी अदालत पुग्यौं । त्यतिबेलासम्ममा मेरा नातेदारहरू, आफन्तहरू, साथीभाइहरू र मेरा बच्चाहरूले अदालत भरिएका थिए । मलाई इजलास नम्बर ४ मा लग्यो । जहाँ सुब्बा साहेबले ममाथि लगाइएका आरोप र जाहेरीवालीहरूको जाहेरी पढ्न लगायो । त्यसपछि मसँग बयान लिन थाल्नुभयो ।

धेरैजसो प्रश्नहरू सरकारी वकिल कार्यालयमा सोधिएका नै बढी थिए । उत्तर पनि मैले एक अक्षर फरक नपर्ने गरि दिएँ । बयान लिने क्रममै सुब्बा साहेबले मलाई भन्यो, 'मेडिकल रिपोर्ट, घटनास्थलको मुचुल्का सबै तपाईंको पक्षमा छन् । पचीस–पचास हजार रुपैया ठीक पार्नुस् धरौटीमा छुट्नु हुन्छ ।'

मैले छोरालाई बोलाएर पैसा ल्याएको छ कि भनेर सोधें ।

'पैसाको फिक्री नगर्नुस्, यहाँ आउनु भएका सबैजनाले पैसा बोकेर आउनु भएको छ । नानी मिस, रामकुमारी दिदी, शिव पाजु, जुजुभाइ दाइ, बद्रीलाल अंकल, नरेन्द्र दाइ, सुनिल दाइ, नित्यमान मामा, पवन दाइ सबैको गरेर दश लाखभन्दा बढी छ । जग्गा धितो राख्नु परे पनि चार पाँचवटा लालपूर्जाहरू लिएर आएको छु ।' छोराले भन्यो ।

छोराको कुरा सुनेर मेरो मन हलुका भयो । ल आज म घर जान पाउने भएँ भनेर मन ढुक्क थियो ।

देखि जात्रे भनेर पारूको वयान, सुनि जात्रे भनेर गोरखनाथ स्कूलका आठ जना शिक्षक शिक्षिकाको वयान मलाई देखायो । त्यसमा उहाँहरूले मैले जवरजस्ती करणी गर्न खोजेको विश्वास लाग्छ भनेर वयान दिएका थिए । यो वयान पढेपछि मेरो मन खुस्रुक्क भयो ।

'यी शिक्षक-शिक्षिकाहरूले तपाईंको विरुद्ध यस्तो वयान किन दियो होला ? ' सुब्बाले मसँग सोध्यो ।

'यो उहाँहरूको वयान नै होइनजस्तो लाग्छ । उहाँहरूले मेरो विरुद्ध यस्तो वयान दिनुभएको होला भत्रे मलाई विश्वास लाग्दैन ।'

'उहाँहरू आठै जनाले आफ्नो वयानमा सहि र औंठा छाप लगाइएको छ । कसरी होइन भत्रे ?'

'यदि त्यसो हो भने म त्यस विद्यालय व्यवस्थापन समितिको सल्लाहकार र त्यहाँ पढ्ने ६ जना विद्यार्थीको अभिभावकको नाताले बच्चाहरूको पढाई सम्बन्धि छलफल हुँदा म उहाँहरूको आलोचना गर्थें । पढाईमा अलि कडा गर्थें । त्यसैले यस्तो भनेको हुनसक्छ ।'

यस्तै यस्तै वयान दिएँ । मेरो वयान सकियो । मलाई बाहिर आँगनमा ल्याएर राख्यो । भित्र इजलाशमा बहस सुरु भयो । पहिले मदन रेग्मी वकिलले बहस गर्नुभयो । त्यसपछि शम्भु थापाले बहस गर्न थाल्नुभयो । उहाँले बहस गरिरहनुु हुँदा शुकराम बराबर बाहिर आएर भन्थ्यो, 'ल ! तपाईं धरौटीमा छुट्नु हुन्छ । शम्भु थापाको तर्क सुनेर न्यायाधीशले केही बोल्न सक्नुभएन ।'

बहस सकियो । विपक्षी वकिलहरूले कुनै प्रतिवाद गरेन । अब फैसला हुन मात्र बाँकी थियो । म बाहिर आँगनमा मेरा बच्चाहरूसँग बसिरहें ।

म धरौटीमा छुट्छु भत्रे मलाई ठूलो आशा थियो । मलाई मात्र होइन मेरो परिवार, आफन्त, शुभचिन्तक सबैलाई म धरौटीमा छुट्छु भत्रे विश्वास थियो । किनकी ममाथि जुन आरोप लगाईएको थियो । त्यो सरासर झुठा थियो । त्यो झुठमात्र होइन कपोलकल्पित आरोप थिए । झुठामात्र होइन, मबाट करणी हुन असम्भव थियो । यो कुरा मलाई चित्रे जात्रे सबैजनालाई थाहा थियो । म मधुमेहको रोगी हुँ । मधुमेह रोगीमा यौन चाहना भनूं या उतेजना नै हुँदैन । किनकी मधुमेह रोगीले यौन संसर्ग गर्ने शक्ति गुमाइसकेको हुन्छ । यो कुरा सबैलाई थाहा थियो ।

न्यायाधीशले निर्णय पुस्तिकामा आफ्नो राय लेखेर गइसक्नुभयो । फैसला लिन फाँटवालाकहाँ गएर सोधें । पुर्पक्षको लागि थुनामा राख्ने आदेश भयो भन्यो । त्यो आदेशपछि म बलिको बोका झै भएँ । मेरा सपनाहरू सिसा फुटेझै चकनाचूर भयो । मेरो घर जाने कल्पना वालुवामा बनाएको घर झै भत्कियो । मेरा आफन्त, नातेदार र परिवारले लिएर गएका लालपूर्जा र नोटका बिटाहरू कागजको खोस्टा सावित भए । न्यायाधीशले लेखेको रातो मसि मेटाउन सक्ने तागत कसैमा रहेन । न्यायाधीशको एक पेज लामो आदेशलाई मेरा पचासौं शुभचिन्तकहरूले मेटाउन,  न त वदर नै गराउन सके !

'ल ! तपाईंलाई डिल्लीवजार खोरमा पठाउँछु ।' फाँटवालाले भन्यो ।

'होइन, मलाई भद्रगोल जेल पठाउनुस् । मेरो घर कीर्तिपुर हो । त्यहाँ भए मेरा घरका मान्छेहरूलाई आउन जान सजिलो हुन्छ ।' मैले फाँटवालालाई भनें ।

'एकछिन पर्खनुस्, त्यहाँ ठाउँ खाली छ कि छैन हेर्नुपर्छ ।' फाँटवालाले भन्यो ।

म बाहिरै बसेर पर्खिरहें । चौधदिन पछि घर जान पाउने मेरो सपना सपनामै सिमित भयो । मेरो कल्पना कल्पनामै सिमित रह्यो । मेरो कल्पनाको महल तासको महलझै भताभुंग भयो । मेरा संस्थाका बच्चाहरूको रोदन र आफन्तहरूको आँखामा टलपलाएका ती आँसुका बुँदहरूले एकछिन मलाई विचलित बनायो । छोराको आँखामा अपशोच भन्दा बढी क्रोधको भाव देखिन्छ । तर के गर्न सकिन्छ ? म किंकर्तव्यविमुध भएँ । महिला प्रहरीले पूर्जि लिएर आइन ।

'जाउँ बा ! छिटो भद्रगोल पुग्नुपर्‍यो । गेट बन्द भयो भने हनुमान ढोकामै बस्नुपर्ला ।' प्रहरीले भनिन् ।

एक जना प्रहरीले ट्याक्सी खोजेर ल्यायो । म ट्याक्सीमा बसें । नरहरिदाइ, भान्जा नरेन्द्र र छोरा निरजले मलाई विदाई दिए । बलि चढाउन लैजाँदै गरेको बोका झै म प्रहरीहरूसँगै लागें । मैले आकाशमा हेरें । आकाश कालो बादलले ढाकिएको छ । शायद एक जना निर्दोष समाजसेवक जेल जान लागेको कारण मुख अँध्यारो बनाएको हो कि ?

'यो स्कूलका मास्टरहरूको वयानले गर्दा तपाईंको धरौटी नखुलेको हो ।? बाटोमा जाँदै गर्दा एक जना महिला हवल्दारले भनिन् ।

'यो न्यायाधीशले अहिले पुर्पक्षमा पठाउनु भए पनि मिशिल राम्ररी अध्ययन गर्नुहुन्छ । संस्थाले फसाएको भत्रे लाग्यो भने सफाई पनि दिनुहुन्छ ।' अर्कीले भनिन् ।

मलाई एउटा पूर्जि थम्यायो । पूर्जिमा लेखेको रहेछ । कानून बमोजिम सिधा खान पाउने गरी यो थुनुवा पूर्जि दिइएको छ ।

भद्रवन्दी गृहमा पहिलो रात

बलिको बोको झै दुई जना महिला प्रहरीहरूको साथमा ट्याक्सीमा बसेर गयौं । सेन्ट्रल जेलको अगाडि ट्याक्सी रोकेर मलाई उतारियो । पूर्जि लिएका प्रहरी विभिन्न अफिसमा धाउँदै आइन् । अन्तमा मलाई भद्रवन्दी गृहको बाहिर गेटबाटभित्र लगे । भित्र बसेका मानिसहरूलाई मेरो जिम्मा लगाईयो । मलाई फलामे सिक्रिभन्दा भित्र जान भन्यो । मैले भुईंमा लत्रीरहेको फलामको सिक्रिलाई नाघेर भित्र गएँ । एक जना मान्छेले मलाई खाउँलाझै गरी हेर्‍यो । मलाई सिक्री भित्र राखेर मेरो हतकडी खोली दियो । अनि ती महिला प्रहरीहरू हतकडी लिएर फर्के । सिक्रीभन्दा भित्रतिरका मानिसहरूले मेरो शरीरको खानतलाशी लिए । त्यसपछि एक जना मानिससँग पहेंलो ढोकाबाट भित्र छिरायो । त्यसपछि अर्को नीलो ढोका रहेछ । त्यो ढोकाबाट पनि भित्र लग्यो । अब मलाई के गर्ने होला ? के हुने होला भनेर मनमा पीर पर्न थाल्यो ।

ढोकाभित्र मानिसहरू यताउता गरिरहेका थिए । ढोकाको सिधा एउटा पसल रहेछ । पसलनिर एउटा भित्ते घडी राखिएको थियो । जसमा साँझ पाँच बजेको देखाइरहेको छ । एक जना मोटाघाटा जवान केटा आयो ।

'यहाँ एकछिन उभिऊ' उसले मलाई भन्यो । मेरो उचाईको नाप लिन लागेको होला भनेर सिधा उभिएँ ।

त्यतिकैमा माईकबाट मेरो नाम बोलायो । किन बोलाएको होला ? एक जना मानिसले मलाई बाहिर लग्यो । बाहिर भान्जा राजुमान आएको रहेछ । त्यतिबेला भेटघाटको समय सकिएको थियो । ऊ प्रहरी सईभएकोले मात्र भेट गर्न दिएको रहेछ । उसले मेरो औषधी ल्याएको रहेछ । त्यो औषधी मेरो हातमा दिएन । जेलका मान्छेहरूले नै लियो र भन्यो, 'भित्र अस्पताल छ । औषधी खानेबेला त्यहाँ गएर खाने ।'

राजुसँग छुट्टिएर भित्र आएँ । कपाल पालेको केटाले मलाई लिएर गयो । त्यहाँ एउटा घरको भित्तामा ठूलो चेौकीको ब्यानर राखिएको थियो । त्यसमा कलात्मक रूपले लेखिराखेको थियो ।

'विचारमा तिमी जति महान छौं, व्यवहारमा त्यो भन्दा महान बत्र सिक
त्यही मानिस धार्मिक हुन्छ, जो अर्काको निमित्त त्याग गर्नसक्छ
मानव सेवाबाटै ईश्वरको दर्शन पाइन्छ ।
हरेक क्षण भगवानको नामलाई बिर्सन हुँदैन ।'

त्यसको ठीक उत्तरपट्टिको घरको भित्तामा एउटा सानो साईनबोर्ड राखिएको थियो । जसमा लेखिराखेको थियो ।

आन्तरिक प्रशासन— भद्र क्लिनिक
खुल्ने समयः—विहान ७ देखि ११, दिउँसो २ देखि ३, साँझ ५ देखि ८ सम्म । आकस्मिक सेवाको लागि २४ घण्टा खुल्ला रहने छ ।

त्यहाँबाट अलिकति अगाडि गएपछि एक तल्ले एउटा मन्दिर छ । सिंगमरमर र सेतो टायल छापि राखिएको छ । त्यो महादेव मन्दिर रहेछ । मन्दिर नाघेर गएपछि अलि तल कर्कटपाताको टहरा छ । त्यही टहराको कर्कटपाताको बिचबाट एउटा हलुवावेदको रूख बाहिर निस्केको छ । जसमा लटरम्म पहेंलो हलुवावेद फलेको छ । त्यसपछि एउटा भोगटेको बोट रहेछ । हरियो भोगटे पनि लटरम्म फली राखेको छ । भोगतीको बोझले रूख भाँच्ला भनेर काठको टेवा दिइराखेको छ । त्यसपछि ढोका नभएको कर्कटपाताको छाना भएको एउटा अर्को टहरा । त्यहाँ टेलिभिजन चलाई राखेको छ । दुईटा घरको बीचमा नौ फुटको बाटो छ । मलाई दोश्रो घरको भुईं तल्लामा लग्यो । त्यो कोठाको बाहिर बरण्डामा मानिसहरू स्टोव बालेर खाना बनाईरहेका छन् । कोही तरकारी पकाईरहेका छन् । कोही मासु पकाईरहेका, कोही रोटी बनाईरहेका, कोही भात पकाईरहेका छन् । भित्र कोठामा बस्नेहरूले खाने होला भन्ठानें । त्यही बरण्डाबाट हिंडाएर एउटा कोठामा लग्यो ।

एउटा लामो कोठा जहाँ लाइन का लाइन बिछ्यौना बिछ्याइराखेको छ । पूर्व र पश्चिम दुई दिशामा अरूभन्दा अलि अग्लो खाट राखिएको छ । पश्चिमतिरको खातमा एकजना सांवला रंगको अन्दाजी ३०/३२ वर्ष उमेरको मोटाघाटो खाइलाग्दो जिउ भएको युवक बसिरहेको छ । उसले पनि कपाल पालीराखेको छ । हेर्दाखेरि नै डरलाग्दो देखिन्छ ।

'ल ! तपाईंहरू सबैजना बाहिर जानुहोस् ।' मलाई भित्र लाने बित्तिक्कै त्यो कोठामा बसिरहेका अरू मानिसहरूलाई कोठाबाट बाहिर पठायो । अब मलाई पिट्ने हो कि भनेर डर लाग्यो । दुई जना कपाल पालेका केटाहरू आए । म सिधा उभिरहें । एक जना केटाले एउटा रजिस्टरमा मेरो नाम ठेगाना र मुद्दाको किसिम लेख्यो । अनि एउटा सानो टुक्रा कागजमा पनि लेख्यो । त्यहाँ उभिंदा उभिंदै मेरो कम्मर दुख्यो ।

'म एकछिन बसूं कि ?' मैले सोधें । हुन्छ बस भन्यो । म टुकुरुक्क बसें ।

त्यतिकैमा अरू दुई जना केटाहरू पनि ल्यायो । एक जना मधिशे केटा अन्दाजी २५ वर्षको होला । उसको नाम सुरेश साह रहेछ । ऊ पनि जवरजस्ती करणी उद्योग मुद्दामा आएको रहेछ । अर्को गोरो नेवार केटा रहेछ । उसको नाम दिलकृष्ण शाही रहेछ । उसलाई ज्यान मार्ने उद्योग अभियोग लगाएको रहेछ ।

'ल ! तीन जना आम्दानी लेख्नु । अब जम्मा पाँच सय सरचालीस भयो ।' नाईके टाईपको मान्छेले भन्यो ।

हाम्रो परिचय र मुद्दाको किसिम सबै लेखीसकेपछि त्यो मोटोघाटो कपाल पालेको केटाले हामीलाई सम्झाउन थाल्यो - 'तपाईंहरूले जतिसुकै पढेलेखेको भए पनि, तपाईं जतिसुकै धनि भए पनि, जतिसुकै ठूलो पदको मान्छे भए पनि यहाँ भित्र पसेपछि सबै कैदी बन्दी हुन् । सबै कैदी बन्दीहरू बराबर हुन् । यहाँ भित्र प्रहरीको कुनै काम छैन । यहाँ भित्र हामी कैदीहरूको आफ्नै आन्तरिक प्रशासन छ । आन्तरिक प्रशासन चलाउने र सहयोग गर्नेहरूलाई स्टाफ भन्छन । अरू सबैजना पब्लिक हुन् । यहाँ हाम्रो आफ्नै नियम र कानून छ । सबैले मात्रुपर्छ । हाम्रो नियम कानून नमात्रे मान्छे यहाँबाट जिउँदो बाहिर निस्कुंला भनेर नसोचे पनि हुन्छ । कानून उल्लंघन गर्नेलाई आँखामा पत्ति बाँधेर ठूलो बोरामा कोचेर चार पाँच जनाले लौरोले पिट्छन् । त्यो पिटाई कहाँ पर्छ, के हुन्छ मतलब हुँदैन ।'

 उसको कुरा सुनेर मेरो जिउनै सिरिंग भयो ।

'यहाँ थुक्ने, मुत्ने, हग्ने अलग–अलग ठाउँ छन् । जहाँ पायो त्यहाँ थुक्न पाईंदैन । दिसा बस्ने ठाउँमा पानी नलिइकन जान पाईंदैन । पिशाव गर्ने ठाउँ अलग्गै छ । त्यहाँ सुर्ती, खैनी, खकार, सिंगान फाल्न पाईंदैन । यदि फोहोर गरेको देखेमा एक महिना कारवाहीमा पर्ने छ । कारवाहीमा पर्ने भनेको बिहान सबेरै, दिउँसो र साँझ गरी दिनको ३ चोटी यो पूरा जेलमा कुचो लगाउनु पर्ने छ । चर्पी सफा गर्नु पर्नेछ । चुरोट पिउनको लागि डाँडा भत्रे ठाउँ छ । त्यहाँ गएर मात्र चुरोट पिउन पाइन्छ । अन्त पिउन पाईंदैन । यहाँभित्र ग्रुप बनाएर हिंड्न पाईँदैन । यहाँ कसैसँग कुनै किसिमको लेनदेन नगर्नु । कुनै विवाद भयो भने दुबैजनालाई कारवाही गरिने छ ।'

त्यसपछि एक जना केटाले हामीलाई जेल घुमाउन लग्यो । मैले एक एक चीजलाई गौर गरेर हेरें । जेलको चारैतिर अठारह फुट अग्लो पर्खालले घेरीराखेको छ । पर्खाल नजिक दुई फुट जति खाली ठाउँ छ । त्यहाँ विभित्र थरिका फूलका बोटहरू रोपि राखेको छ  । त्यसपछि आठ ईञ्चको पानी बग्ने नाली अनि छ फुटको बाटो छ । दोश्रो घरको मोडबाट दक्षिणतिर बाटो गएको छ । त्यो घर सकिने बित्तिक्कै एउटा टहरा बनाइराखेको छ । त्यहाँ एउटा साईनबोर्ड झुण्डयाई राखेको छ- श्री वन्दी ज्ञानोदय पुस्तकालय, स्थापित २०४८ 

'यो पुस्तकालयमा विदाको दिन बाहेक विहान ९ बजेदेखि ४ बजेसम्म खुल्छ' त्यो केटाले भन्यो ।

नाली त्यहाँबाट भिरालो भएर बगेको छ । त्यो केटाले भन्यो, 'थुक्ने, सिंगान फाल्ने यहाँ गर्नसक्छ तर नाली मै पर्ने गरीमात्र ।'

मलाई खोकि लाग्यो । मुखभरि थुक आयो । कहाँ थुक्ने ? जहाँ पायो त्यहाँ थुक्न हुँदैन, कारवाही हुन्छ भनेको थियो । अघि देखाएको ठाउँ खोज्दै गएँ र नालीमा थुकेर आएँ । यहाँ पाइलैपिच्छे सतर्कता अपनाउनु पर्छ । अब कहाँ बस्ने ? के गर्ने ? मलाई निद्रा पनि लाग्यो । म टिभी हलमा गएँ । हलभरि मानिसहरु बसेर टिभी हेरिरहेका छन । म टीभी हलको एक छेउमा पलेटी कसेर दिवारमा अडेस लगाएर बसें । मैले आफूलाई आज एक जना सडक बालक खाते भएको सम्झें । खाते केटीहरूलाई सभ्य बनाउन खोज्दा आज म आफै खाते बनिरहेको छु । अरूहरू टीभी हेरिरहेका छन् । म त्यतिकै निदाएँ ।

त्यहाँबाट तल झरें । मैले सिढी गनें १३ वटा खुडकिला रहेछ । त्यो सिढी सकिने बित्तिक्कै पूर्वतिर जाने एउटा गल्लीजस्तो बाटो छ । जुन बाटोको उत्तरतिर ओमशान्ति हल छ । त्यसपछि कारखाना छ । त्यो बाटोको दक्षिणतिर पूर्व पश्चिम लामो तीन तल्ले एउटा घर छ । हामी दक्षिणतिर बढ्यौं । घरको पछाडि खुल्ला मैदान, जहाँ सिमेन्टले प्लास्टर गरेर हरियो रंगले रंगाइराखेको छ । जहाँ भलिबल, बास्केटबल र ब्याडमिन्टन खेल्ने कोर्टहरू छन् । त्यो ग्राउण्डको पश्चिमतिर रहेको नालीको डीलमा बसेर नुहाउन सकिन्छ भत्रे जानकारी दियो । ठूल ठूला पर्खाल बाहिर दक्षिण र उत्तर कुनामा प्रहरीको सुरक्षा पोष्टहरू छन् । त्यहाँबाट पूर्व–पश्चिम एक लाइनले कर्कटपाताले छाएको टहरा छ । त्यो त चर्पि रहेछ । मैले चर्पिको कोठा गन्दै गएँ । चौकोस नहालेको एउटा कोठामा पूर्व–पश्चिम दुई खण्ड रहेछ । यस्तो दशवटा कोठाहरू रहेछन् । मतलव एकैचोटी बीस जनासम्मले दिसा गर्न सक्छन् । त्यसपछि उत्तरतिर आउने बाटो छ । बाटोको पूर्वतिर फूलवारी छ । जहाँ बस्नको लागि पाँचवटा सिमेन्टको बेन्चहरू राखिएको छ । त्यहाँ नम्बर खुलेदेखि ढोका सामेल नभएसम्म बस्न पाईंदो रहेछ ।

पश्चिमतिर खेलकूद मैदान छुट्याइएको फलामको मोटो अग्लो जाली छ । फूलवारीको बगलमै चर्पि जान पानी लैजाने प्लास्टिकका भाँडाहरू र पानी थाप्न दुईटा धारा पनि छ । त्यसपछि हामीलाई फर्काएर लग्यो । पिशाव गर्ने ट्वाइलेट देखाउन लग्यो । सेतो टायलले छाएको तीन फुट अग्लो चर्पिहरू १३ वटा खण्डहरू छन् । तलदेखि माथिसम्म १६ खुड्किला उक्लेर माथि अग्लो ठाउँ छ । पूर्व–दक्षिण कुनामा कर्कटपाताले छाएको एउटा टहरा छ । त्यो ठाउँलाई डाँडा भन्दारहेछन् । त्यहाँ तीनवटा तीनको ध्वांगहरू राखिएका छन् । त्यहाँ बसेर मात्र चुरोट पिउन पाईंदो रहेछ । ती तीनहरू चुरोट, खैनी, फ्याक्न राखिएका रहेछन् । त्यो ठाउँ पछि फेरि एउटा घर छ । जहाँ जेलको आन्तरिक प्रशासन र प्रशासक तथा नाईकेहरू बस्छन् । जसलाई ठूलो चौकी भन्दो रहेछ । त्यसपछि एउटा सानो मन्दिर छ । जसमा महादेवको सानो लिंगको मूर्ति, संकटाको मूर्ति, एक खण्डमा कुमार, गणेश र सरस्वतीको मूर्ति अर्को खण्डमा बजरंग बलीको मूर्ति राखिएका छन् । त्यसपछि टेबुल टेनिस हल, दाह्री काट्ने ठाउँ, किराना पसल र होटल पसल पनि देखाउन लग्यो ।

हामीलाई घुमाउन लैजाने नाईकेले भन्यो, 'तपाईंहरु आफैले खाना पकाएर खाए पनि हुन्छ । कुनै एउटा भान्सामा खाना खान गए पनि हुन्छ । यहाँ चार वटा भान्साहरू छन् । तपाईंलाई एक नम्बर भान्सामा खाना खान मिलाएको छु ।' उसले मलाई हेरेर भन्यो ।

अरू दुई जनालाई दुई नम्बर भान्सामा खाना खान जाउ भन्यो । साझ ५:३० बजेदेखि ७ बजेसम्म र बिहान ९ बजेदेखि ११ बजेसम्म खाना खाइसक्नु पर्ने जानकारी दिइयो । त्यसपछि हामी सुत्ने ठाउँ देखाउन लग्यो । अघि टीभी देखाइरहेको टीभी हल पो देखायो । यति भनी भाइ नाईकेले हामीलाई त्यहीं छाडेर गयो ।

मसँग ओढ्ने ओछ्याउने केही पनि छैन । त्यस्तो सिमेन्टको भुईंमा कसरी सुत्ने ? मैले घडी हेरें बेलुकाको ६:३० भैसकेको छ । अब आधा घण्टाभित्र खाना खाइसक्नु पर्छ । म औषधी खान स्वास्थ्य केन्द्रमा गएँ । अघि राजुले ल्याइदिएको औषधीबाट एउटा ट्याब्लेट निकालेर दियो । औषधी खाएर एक नम्बर भान्सामा भात खान गएँ । बाहिर धारानिर थाल छ ल्याउनु भन्यो । थाल लिएर आएँ । लाइनमा बस्नुपर्ने रहेछ । म पनि थाल लिएर लाइनमा बस्न गएँ । लाइनमा बस्दा मलाई लाग्यो । म भोकाएको एक जना भिखारी हुँ । म भीख मागीरहेको छु । सादा थालमा भात राख्यो । त्यही भात माथि दाल, तरकारी र अचार राखीदियो । मलाई खाना देखेर नै घिन लाग्यो । त्यतिबेला मलाई घरको याद आयो । घरमा खण्डी थालमा अलग–अलग परिकार राखेर खाइरहेको बानि । मलाई भोक पनि लागेको थियो । के मिठो, भोक मिठो भने झै मैले सबै भात खाएँ । थाल लिएर ट्याकीनिर गएँ । आफैले थाल माझ्न लाग्दा एकजनाले भन्यो, 'थाल माझ्नेलाई महिनाको बीस रुपैया दियो भने तपाईंले थाल माझ्नु पर्दैन । थाल त्यहिं छाडेर हात मुख धोएर जानुस् ।'

मैले त्यस्तै गरें । मलाई जेलको नाईकेले जे भन्यो । त्यो एक एक कुरालाई मैले गांठो बनाएर मनमा राखें । जेलमा चाहिने नचाहिने निहुँ खोजेर पिट्छ भनेर सुनेको थिएँ । मलाई पनि पिट्न के बेर ?

मलाई पानी प्यास लाग्यो । खाने पानी छैन । मसँग पैसा छ । अघि देखाएको पसलमा गएँ । बोतलको पानी छ भनेर सोधें । छ, बोतलको पन्ध्र रुपैयाँ लाग्छ भन्यो । एक बोतल मिनिरल वाटर किनें । हनुमान ढोकामा एक बोतल पानीको बीस रुपैयाँ लिएको थियो । यहाँ पन्ध्र रुपैयाँमा दियो । मलाई खोकि लाग्यो । मुखभरि थुक आयो । कहाँ थुक्ने ? जहाँ पायो त्यहाँ थुक्न हुँदैन, कारवाही हुन्छ भनेको थियो । अघि देखाएको ठाउँ खोज्दै गएँ र नालीमा थुकेर आएँ । यहाँ पाइलैपिच्छे सतर्कता अपनाउनु पर्छ । अब कहाँ बस्ने ? के गर्ने ? मलाई निद्रा पनि लाग्यो । म टिभी हलमा गएँ । हलभरि मानिसहरु बसेर टिभी हेरिरहेका छन । म टीभी हलको एक छेउमा पलेटी कसेर दिवारमा अडेस लगाएर बसें । मैले आफूलाई आज एक जना सडक बालक खाते भएको सम्झें । खाते केटीहरूलाई सभ्य बनाउन खोज्दा आज म आफै खाते बनिरहेको छु । अरूहरू टीभी हेरिरहेका छन् । म त्यतिकै निदाएँ ।

'ए बाजे ! उठ्नुस्, उठ्नुस्' भनेर कसैले उठायो ।

'ल ल नम्बर हुन लाग्यो । बिछ्यौना मिलाऊ ।' टिभीको दायाँ बायाँ कुनाबाट सुकुल बिछ्यौना झिक्दै बिछ्याउन लागे । मेरो त ओढ्ने ओछ्याउने केही पनि छैन । के ओछ्याउने ?  म त्यतिकै ठिंग उभिरहें । एक ठाउँमा दुईटा बिछ्यौना लगाउन लगाएर एक जना भाइ नाईकेले एक जना केटालाई भन्यो, 'बाको बिछ्यौना छैन । ल ! तिमीसँगै सुताउ ।'

'आउनुस् बा ! हामीसँगै सुतौं ।' त्यो केटाले भन्यो ।

म ज्ञानी बच्चा झै चुपचाप त्यहिं सुत्न गएँ । एक छिन पछि मान्छे गन्न आयो ।

'बत्तीस जना छु ' भाइ नाईकेले भन्यो । हामी एक लाईनमा सुतिरहेका छौं । गन्न आउने नाईकेले गन्दै गयो । एकैछिनमा मलाई निद्रा लाग्यो । म निदाएँ । आधारातमा मेरो निद्रा खुल्यो । मलाई बेस्सरी खोकी लाग्यो । खोक्दा खोक्दै म त बेहोश भएछु । एक जना भाइ नाईकेले मलाई बोकेर बाहिर अस्पतालमा लग्यो । अस्पतालको मान्छे बोलायो । मलाई तल भुईंमा राखेपछि होस आयो । उसले मेरो कपाल छाम्यो, नाडी छाम्यो ।

'बा ! टिबि रोगी हो ?' कपाल छाम्ने मान्छेले मसँग सोध्यो ।

'होइन, पहिले त थिएन, अहिले भए थाहा छैन ।' मैले भने ।

उसले मलाई एकैचोटी तीन वटा चक्की औषधी खुवायो । म आफु सुत्ने टहरामा आएँ । औषधीले मलाई लठ्ठ पारेजस्तो भयो । एकैछिनमा मलाई निद्रा लाग्यो । यसरी भद्रवन्दी गृहमा मेरो पहिलो रात बित्यो ।

लेखक तथा पत्रकार नजरराम महर्जनको जीवनको वास्तविक घटना कीर्तिपुर सन्देसबाट 

यो पनि

थुनुवाको  पहिलो दिनको डायरी: नखाएको विष

थुनुवाको डायरीः 'बाजिगर', झुठो आरोप र जेलकाे बास