द्वन्द्वको मार र त्रासको अनुभूति: काँग्रेसकै आततायीहरूद्वारा काँग्रेसका मतदाता निहत्था मेरा हजुर वाको गोली हानी हत्या !
फर्कलान् र ती दिनहरू-3
बैशाख ६, २०७७

२०. मेरा पात्रहरू जति जति म परिपक्व हुँदै गएँ, ती पनि परिपक्व हुँदै गए । मैले जेजे जानेको हुन्थेँ, तिनले पनि ती ती कुराहरू जानेका हुन्थे । जब म केही जान्दै गएँ, पछि गएर मेरा पात्रहरू पनि भलादमी हुन थाले । कहिले नवराजको व्रतबन्ध हुन्थ्यो, गण्डकराजको पनि व्रतबन्धसँगै गर्ने कुरामा  उनीहरूका घरमा विवाद हुन्थ्यो । म तटस्थ हुन्थेँ किनभने अर्काको घरको विवादमा पर्नु मेरालागि श्रेयस्कर हुँदैनथ्यो । सरलाका बारेमा पनि मेरो मनमा अब गुरुको मात्र भाव थियो, मात्र सरला एउटी चलाख र यो मेरो पात्रतामा प्रमुख पात्रकी बहिनी । 

तर को प्रमुख भन्नेमा म  सधैँ अलमलमा पर्थेँ किनभने सबै पात्रहरू मेरा नै सृजना थिए र सबै दिउँसाभरिका वा एक हप्ताका विवरणहरू मलाई सुनाउँथे रिट्ठो नबिराई । ती पात्रहरूका बा आमा, दाजुभाइ, साथी सँगी र परिवेश मेरो कल्पनाका थिए । ती कहिले सुनकोसीमा बालुवा लिन जान्थे श्राद्धका लागि त कहिले ती जङ्गलमा दाउरा लिन जान्थे । तर ती मोटरका कुरा गर्दैनथे किनभने मैले त्यो बेलासम्म मोटर देखेकै थिइनँ, उपन्यासहरूमा त पढेको थिएँ, कथाहरूमा पढेको थिएँ । अनि गुरुले, बाहरूले रेलको यात्रा गरेको, मोटरको यात्रा गरेको कुरा भने सुनेको थिएँ तर मेरा ती साना साना पात्रहरू आफैँ मोटरसम्म, रेलसम्म जान सक्दैनथे किनभने म एक्लै कतै जान सक्दैनथेँ । म जे भोग्थेँ, ती त्यही मात्र अनुभव गर्थे र म आफैँमा उनीहरूलाई समेटेर जीवनका बारेमा केही गुनगुनाउँथेँ । स्वरै कल्पनामा तर आफूलाई बुज्रुक ठान्दै । सबैभन्दा जान्ने ठान्दै ।

२१. मेरो टाढा जाने भनेको मावल मात्रै हो । पकरबाससम्म जान्थेँ आमासँग । केही दिनलाई मात्र । दसैँमा अनिवार्य जस्तै थियो, गइन्थ्यो । लेक वा लेख जे भने पनि चिसो ठाउँ हो, काठमाडौँ जस्तै हो । मावलको खोपाबाट हिमाल देखिन्थ्यो । चिसो नै हो पकरबास । पकरबास मावल जाने पनि धेरै वर्ष चलेन किनभने २०१८ सालको चैत्रमा हजुरबाको हत्या भयो, पकरबासमा नै पेस्तोलको गोलीले । नेपाली काँग्रेसका सशस्त्र सङ्घर्षमा निहत्था मेरा हजुरबालाई मारे आततायीहरूले ।त्यो राजनीतिक कारण किन पनि थिएन भने मेरा हजुरबा स्वयं काँग्रेसका मतदाता हुनुहुन्थ्यो रे । त्यो बेलामा काँग्रेसलाई अराष्ट्रिय तत्त्व भनेर प्रतिबन्ध लगाइएको थियो र काँग्रेसले राजाका विरुद्धमा सशस्त्र सङ्घर्ष चलाएको थियो रे ! पद्मशंकर अधिकारीको टोलीले त्यसो गरेको भनेर भनिएको थियो । त्यसलाई पछि पद्मशंकरजीले पनि स्वीकार गर्नु भएको थियो  । तर मेरा हजुरबालाई नै मार्ने नीति नभएको र हतियार  लिएर गएका भक्तबहादुर, खड्ग प्रसादहरूले त्यो नचाहिने काम गरेको भन्नुहुन्थ्यो ।

मलाई गायत्री मन्त्र बाले नै सुनाउनु भयो । राम्रोसँग सिक्न झन्डै एक हप्ता लाग्यो । अरूले सुन्ने गरी सुनाउन पनि नहुने रे, अनि स्पष्टरुपमा नभने नसुनी के कण्ठ हुन्थ्यो र । अहिले त जता पनि गायत्री मन्त्री लेखेको पाइन्छ र केटाकेटीले, महिलाहरूले पनि कण्ठ गरेको सुनिन्छ । पहिले त्यो मन्त्र भन्न पनि नहुने, मनमनै मन्त्र जाप गर्नुपर्ने अनि महिलाका लागि वर्जित नै थियो । त्यो वेदको मन्त्र हो, त्यसैले शूद्र र महिलालाई वर्जित थियो ।

त्यो बेलामा मैले सानैमा के अनुभूति गरेको थिएँ भने द्वन्द्वको मार कस्तो हुन्छ र कस्तो त्रासमा पीडितका परिवार बाँच्ने गर्छन् । त्यसपछि मेरो मावलीहरू छरिए, सानो मामा मधेस झर्नु भयो हजुर आमा, माइजूहरू सहित । ठुलोमामा पकरबासमा केही वर्ष बस्नुभयो र उहाँ पनि मधेस झर्नुभयो हजुरआमा, माइजू, भाइबहिनीसहित । सानो मामाको देहावसान २०२७ सालमा भयो जनकपुरमा । त्यो बेला सानो मामा आफ्नो परिवारसहित ब्याँगेडावरमा बस्नुहुन्थ्यो । उहाँकी एउटी छोरी थिई मामाको देहावसानको बेलामा सुषमा, पछि मामाको देहावसानको २७ दिनपछि सायद भाइ माधव जन्मियो ठुली माइजूको कोखबाट । सानी जुना माइजूको त कुनै सन्तान नै थिएनन् । माधवका पनि दुई ओटा छोरा छन् अहिले । ठुला मामाका पनि दुई ओटा छोरा छन् सीताराम र विनोद । सबै भाइहरू सज्जन छन् । 

२२. मावल जाँदा भरिया हुन्थ्यो । कतै त मलाई पनि बोक्थ्यो । मेरो भाइ हिमालय त बलियो थियो । ऊ हिँड्न पनि सक्थ्यो । ऊ कम्तीमा पनि दुई माना दूध खान सक्थ्यो एक पटकमा । बलियो थियो, मलाई बोक्न सक्थ्यो चार वर्षको मान्छेले पनि । म करिब सात वर्षको थिएँ त्यो बेला । मलाई धेरै पेट दुख्यो तर उसले कसरी कसरी मलाई बोक्दै, चिच्याउँदै घरसम्म ल्याएको मलाई सम्झना छ । विष्णु नै हो मेरो प्यारो साथी, भाइ  । खोइ किन हो, त्यो दिन विष्णु कता गएको थियो, थाहा भएन । प्रायशः विष्णु डाढी मावल गयो भने केही समय हराउँथ्यो, मलाई शून्य हुन्थ्यो किनभने मेरो मिल्ने साथी नै विष्णु थियो । मिल्ने साथीहरुमा राजन बराल थियो , नाताले भतिज भन्नु पथ्र्यो तर मिल्ने साथी नै हो । परशुराम बराल दाजु हुनुहुन्थ्यो । पल्लो घरको दाजु । ठूलाबाको छोरो । कृष्ण दाइको भाइ । पछि कृष्ण दाइ त हाम्रो गुरु भएर आउनु भयो । मेरो ब्रतबन्धमा परशुराम दाइ पनि मिसिनु भएको थियो । 

२३. व्रतबन्ध भयो मेरो २०१९साल चैत्र २८ गते ग्वाल्टारमा नै । बाले युवराजको व्रतबन्धको दिन जुराउनु भएको रे । सायद तत्कालीन युवराज वीरेन्द्रको उपनयन पनि चैत्रकै २८ या २९ गते भएको थियो क्यारे ।  त्यो बेलामा म, हिमाल र बहिनी मोहन(पछि मुना भन्न थाल्यौँ ) थियौँ । हामी माथिको मूलघरबाट तल कुलानिर घर बनाएर सरिसकेका थियौँ । आफ्नै बारीमा । बारीका बिचमा अनि खेत लगत्तै मुनि । अहिले त्यो बारी र खेतका बिचबाट मध्य पहाडी राजमार्ग चलेको छ र गाडी गुडिरहेको देख्न पाइन्छ । माहिला बा, कान्छा बा माथि नै हुनुहुन्थ्यो । मेरो व्रतबन्ध गर्दा मावलबाट हजुरआमा, मामाहरू, सानीमाहरू आउनु भएको जस्तो लाग्छ । बाले साह्रै दिल फुकाएर मेरो व्रतबन्ध गर्नु भएको थियो ।
 हामी पाँच जना बटुकहरू थियौँ—म, परशुराम दाइ, रामप्रसाद कोइराला दाइ, बस्नेत माहिलो दाइ जो हामीसँग हाम्रै घरमा हुनुहुन्थ्यो र पुरेत बाको छोरो भाइ वैकुण्ठ पोखरेल । मभन्दा तीन दिनले कान्छो भाइ, उसकै सुतक परेकोले पुरेत बा ईश्वरीप्रसाद पोखरेल (भानिज बा)ले मेरो न्वारान नगर्नु भएको रे र हैबारका बखरेल बाजे राधाकृष्णले गर्नु भएको हो रे । 
मलाई गायत्री मन्त्र बाले नै सुनाउनु भयो । राम्रोसँग सिक्न झन्डै एक हप्ता लाग्यो । अरूले सुन्ने गरी सुनाउन पनि नहुने रे, अनि स्पष्टरुपमा नभने नसुनी के कण्ठ हुन्थ्यो र । अहिले त जता पनि गायत्री मन्त्री लेखेको पाइन्छ र केटाकेटीले, महिलाहरूले पनि कण्ठ गरेको सुनिन्छ । पहिले त्यो मन्त्र भन्न पनि नहुने, मनमनै मन्त्र जाप गर्नुपर्ने अनि महिलाका लागि वर्जित नै थियो । त्यो वेदको मन्त्र हो, त्यसैले शूद्र र महिलालाई वर्जित थियो । समयकाले त्यो कुरा अव परिवर्तन भइसक्यो र पनि गायत्री मन्त्र मनमनै मात्र भनिन्छ, अरूले सुन्ने गरी भन्न मन लाग्दैन । म गायत्री गुरुको रूपमा पिताजीलाई नै तर्पण दिने गर्छु । 

२४. तर्पणका कुरा गर्दा पिताजी रामप्रसाद उपाध्याय अधिकारीको जन्म विसं १९७६साल कार्तिक हली तिहारका दिन भएको थियो । त्यो दिन कार्तिक ८ गते पर्छ पुरानो पात्रो हेर्दा तर पिताजीले मेरा सानो छोरालाई भन्नु भएको रहेछ—मेरो जन्म कार्तिक २० गते ग्वाल्टारमा भएको हो हली तिहारका दिनमा । गते त मिल्दैन तर दिदीहरूको भाइको रूपमा हली तिहारका दिन जन्मेको साहुको जेठो छोरो खुसीको सीमा नै थिएन रे त्यो दिन हाम्रो घरमा । त्यसै भन्नुहुन्थ्यो मेरी ठेल्दिदी, नांगेडाँडाकी ठेल्दिदी । अब अर्को सालबाट आफ्नै भाइलाई टिको लाउन पाइन भयो भनेर ठेल्दिदी र माइली दिदी धेरै खुसी हुनुभएको थियो रे । 

बाकी ठुली आमाबाट सन्तान थिएनन् तर हामीले हजुरआमा भनेर चिनेको त उहाँलाई नै हो । बाहरू पनि आफ्नी आमालाई अर्की आमा भन्नुहुन्थ्यो रे । हामीले देखेको हजुरआमा नै हाम्रो घरमा आमाको रूपमा हुनुहुन्थ्यो र हामीलाई कहिल्यै पनि अर्को हजुरआमा जस्तो लागेन किनभने बाहरूलाई नै आफ्नी आमाको रूपमा उहाँ नै हुनुहुन्थ्यो । बा, माहिला बा, कान्छा बा,ठुली दिदी माहिली दिदी र कान्छी दिदीका आमाको रूपमा अयोध्या देवी हुनुहुन्थ्यो रे । 

 मेरा बाको नाम राम पनि अयोध्याको छोरो भएकाले राखेको रे । हुन त बाको न्वारानको नाम पनि तुला राशिकै हो । प्रख्यात भएकाले उहाँको नाममा तर्पण र पिण्ड दिँदा म रामप्रसाद शर्माकै नाममा दिन्छु तर मेरो दाजु पीताम्बरले बाको नाम रेवती प्रसाद शर्मण भनेर दिनु हुँदो रहेछ । यसमा पनि गुरुकै कुरा सम्झन्छु , भन्नुहुन्थ्यो-प्रख्यात नामलाई नबिगार्नु, यदि एउटै राशिमा पर्छ भने झन् फरक गर्नु जरुरी छैन । 

२५. मेरो बाको बा अर्थात् हजुरबाको नाम चन्द्रकान्त उपाध्याय अधिकारी हो । तीन पुस्ते लेख्नुपर्दा अहिले पनि मैले उहाँको नाम लेखिरहनु पर्छ । उहाँको २०१४ साल जेठमा ७२ वर्षको उमेरमा चण्डी पूर्णिमाको पर्सिपल्ट स्वर्गारोहण भयो । द्वितीया तिथि ।  मेरो हजुरआमाको स्वर्गारोहण २००६ सालको फागुन पूर्णिमाको पर्सिपल्ट भएको रहेछ । द्वितीया तिथि । मेरो आमाको विवाह भएको केही दिनपछि नै । आफ्नो अन्त्यकालको छनक पाएर हो कि किन हो, जेठा छोराको विवाह चाँडो गर्न हजुरआमाले हुटहुटी लगाउनु भएको थियो रे । २००४ सालमा मेरो ठुली आमा सुत्केरीकै अवस्थामा स्वर्गे हुनु भएको थियो रे । मेरा ६ ओटी दिदीहरू र २ ओटा दाजुहरू सबै स्वर्गे भएपछि म जन्मेको रहेछु ।

 मेरी ठुली दिदीको त बिहे पनि भएको रहेछ बोहोरेटारका आचार्य विष्णुप्रसादसँग । दिदीको बिहे भएको ४५ दिनमा स्वर्गे भएको रहेछ । मेरो आमा आउँदासम्म पनि मेरा दुई ओटा दिदीहरू हुनुहुन्थ्यो रे । दिदी साह्रै असल र आँखामा हाले पनि नबिझाउने खालकी हुनुहुन्थ्यो रे । त्यो दिदीको सम्झनामा मेरो आमा पछिसम्म पनि रुनु हुन्थ्यो  । भन्नुहुन्थ्यो रे आमालाई– छिटो पाउनु न मलाई एउटा भाइ, आमा भनेर । दालचिनी दिदी भनेर भन्ने गरेको  थिएँ तर बाको हस्ताक्षरमा नै मैले एउटा कागज पाएँ चूडाकुमारी आचार्य भनेर तर्पण दिने कागज ।

मलाई लाग्छ दिदी भएकी भए अहिले म दिदी भनेर जान्थेँ र आमाको न्यास्रो मेटाउँथेँ होला । मलाई कति माया गर्थी होली । न दाजु छन् सहोदर, न दिदी । यत्रा भाइ र बहिनी हुँदा पनि र मलाई तिनीहरूले बा र आमाको माया दिँदा पनि, अत्यन्त आदर गर्दा पनि दिदी र दाजुको न्यास्रो लाग्दो रहेछ । हुन त दाजुको रूपमा सबैभन्दा ठुलो दाजु गणेश दाइको पनि पोहोर स्वर्गारोहण भयो । संयुक्त परिवारको रूपमा रहेका थियौँ हामी दाजुभाइहरू, द्वारिका दाइ र पीताम्बर दाइ अझै हुनुहुन्छ  । पीताम्बर दाइ त साथी जस्तै छ, दाजु पनि साथी पनि । साह्रै माया गर्छ । सँगै पढ्यौँ रामेछापमा २०२३—२४ मा ।

अर्को हजुरआमाको स्वर्गारोहण २०३० सालको वैशाखमा भयो । म र पूर्णचन्द्र त्यो बेलामा जनकपुरमा थियौँ । मैले माहिली दिदीलाई देखिन । ठुली दिदी पछिसम्म हुनुहुन्थ्यो । कान्छी दिदी अझै हुनुहुन्छ चन्द्र निगाहापुरमा । कृष्ण वन्दे दाहाल, विष्णु वन्दे काफ्ले र षोडशादेवी पौडेल कान्छी दिदी । जेठी दिदीलाई दिएको रहेछ नांगेडाँडा, माहिली दिदीलाई दिएको रहेछ सातधारा मरिनखोला, कान्छी दिदीलाई दिएको रहेछ बितिजोरका पौडेललाई । मेरो बाको स्वर्गारोहण भयो २०६१ साल भाद्र ३१ गते मध्यरातमा सीतापुरमा । माहिला बाको स्वर्गारोहण भयो २०३८ फागुनमा ग्वाल्टारमा र कान्छा बाको स्वर्गारोहण भयो २०२४ जेठमा ग्वाल्टारमा नै । माहिला बा कृष्णप्रसाद उपाध्याय, कान्छा बा कमलाकान्त उपाध्याय । 
क्रमशः

याे पनि 

फर्कलान् र ती दिनहरू ! 'नवराज बाबूू जस्तो हुनू' !!

'रामप्रसाद दाइचाहिँ उपाध्याय बाहुन, हरिचाहिँ जैसी बाहुन !' प्रसादबाट विनोद मध्यभाग परिवर्तन !!

 

 


अधिकारी दर्शन, राजनीति र साहित्यमा कलम चलाउनुहुन्छ ।