कमरेड ! कम्युनिस्ट पार्टीको अस्तु आफूसँगै सेलाउने कि सुधारिने ?

कमरेड ! कम्युनिस्ट पार्टीको अस्तु आफूसँगै सेलाउने कि सुधारिने ?

वसन्त बस्नेत  |  दृष्टिकोण  |  बैशाख ७, २०७७

चीनमा झुल्किएर युरोप अमेरिका हुँदै दक्षिण एसिया प्रवेश गरेको र हाल विश्वभर साम्राज्य फैलाइरहेको कोरोना भाइरस (कोभिड–१९) को नेपाल पदार्पण भएको समेत आज तीन महिना नाघिसकेको छ ।

तीन महिनाको अवधिमा हामी विश्व मानचित्रमा कोरोना ‘इन्डिकेटर’को प्रभावित देशको सूचिमा धेरै तल्लो स्थानमा रहेका छौँ । यद्यपि हामी यसरी कम प्रभावित रहनुमा हाम्रो देशको सरकार, राजनीतिक नेताहरू, दलहरूको भूमिका र क्रियाशीलताको कारण पक्कै होइन । किन हामी कम सङ्क्रमित छौँ वा सङ्क्रमणको दर हामीमा किन कम देखिएको छ भन्ने कुरा पर्ख र हेर कै स्थितिमा रहेका छौँ । यती भने भन्न सकिन्छ कि यदि नेपालको अदालतको क्रियाशीलता र सुझबुझ बराबर नै सरकारले काम गर्न सकेको  भए वा अदालतको आदेश मात्र पालन गरेको अवस्थामा पनि हामी हाल देखिएको सङ्क्रमणबाट मुक्त हुने सम्भावना  भने थियो । 

जुन अवसर हामीले चुकाई सकेका छौँ । वर्तमान अवस्थामा सङ्कटलाई परास्त गर्नको लागि  नेकपाको भूमिका के रहने ? वर्तमान राजनीतिक परिस्थितिमा उनीहरूको भूमिका कस्तो हुने ? भन्ने बारेमा संक्षिप्त पुनरावलोकन गर्दै सरकारमा रहेका नेताहरूले सुध्रिने वा सकिने मध्य एउटा विकल्प रोज्ने दिन आएको हुँदा यस परिस्थितिलाई निम्न अनुसार आलोचनात्मक विश्लेषण  प्रस्तुत गरिएको छ ।   

१. नेपाल कम्युनिस्ट पार्टी (सत्तारुढ दल)

 नेकपा नेपालको पुरानो राजनैतिक दल मध्यको एउटा हो । हाल क्रियाशील राजनैतिक दल मध्य नेपाली काँग्रेस र यसको जन्मको तिथि मिति केही वर्षको मात्र अन्तर रहेको छ । यसले २००६ साल पछि नेपालको सबै राजनीतिक आन्दोलनमा संस्थागत रूपमा भाग लिनुका साथै निर्णायक भूमिका निर्वाह गरेको छ ।  यसको अलावा राणा शासन र भारतको स्वतन्त्रता आन्दोलनमा समेत विभिन्न समूहमा रहेका नेताहरुले  व्यक्तिगत रूपमा योगदान गरेको पाइन्छ । पञ्चायत विरुद्धको भूमिगत आन्दोलन, झापा सशस्त्र विद्रोह, २०४६ सालको आन्दोलन, माओवादी जनयुद्ध, २०६२ सालको राजनैतिक क्रान्तिमा होमिएको र हजारौँको बलिदान गरेको यो सत्तारुढ दलबाट जनताले अकल्पनीय आशा राख्नु स्वाभाविक थियो । 

यसका नेताहरूले जेल बसेको, भूमिगत राजनीति गरेको, सशस्त्र विद्रोह वा आन्दोलन गरेको हिसाबमा ००७ सालपछि सबैभन्दा त्याग गरेकाे  छन् । वर्तमान राजनीतिक व्यवस्था स्थापनामा यो पार्टी र यसका नेताहरु भूमिका महत्त्वपूर्ण र निर्णायक रहयाे नै। वर्तमान सङ्क्रमणयुक्त सङ्कटबाट गुज्रिरहेको नेपाली समाजमा सत्तारुढ पार्टी भएर पनि  यो दल लगभग निष्क्रियप्राय देखिन्छ  । पार्टी निर्णय लागु नहुने अवस्था भएर हो वा आफ्नो असक्षमताले पार्टी निष्क्रिय भएको हो, यो त समयले नै देखाउने नै छ । पार्टी एकता पश्चात् अन्य दलको समेत समर्थनमा हाल दुई तिहाइको सरकार चलाई रहेको यस दलको सरकार हाल अत्यन्त विवादको बिचबाट गुज्रिरहेको छ । पार्टीको सरकार हो वा कुनै गुट विशेषको सरकार हो भन्ने सम्मको प्रश्न उठ्न थाली सकेको अवस्थामा सरकार असक्षम वा असफल हुनुको पछाडि निश्चय पनि पार्टी नेता, कार्यकर्ता र सरकारमा नेतृत्व गर्ने नेताहरूको कार्यशैली जिम्मेवार छ भन्दा सायदै अत्युक्ति नहोला ।  

खास गरी नेकपाको युवा पुस्ता बढी अवसरवादी र गुट परस्त तथा अराजक देखिएको छ । आफू अवसरमा नआउन्जेल पार्टीका बैठकमा फरक विचार राख्ने तथा सतहमै उत्रिएर आलोचना वा विरोध गर्ने तर आफ्नो व्यवस्थापन भए पछि सम्पूर्ण आफ्ना मुद्दाहरूमा सम्झौता गर्न पछि नपर्ने स्वभाव यिनमा प्रचुर मात्रामा देखिएको छ । हाल सत्तामा रहेकाहरूको कार्यशैलीको आलोचना गरे पनि आफूले सो अवसर प्राप्त गरेमा यो भन्दा तल्लो स्तरमा झरेर अस्वाभाविक गतिविधि गर्न यिनीहरूलाई कुनै हिचकिचाहट भइरहेको छैन ।

२. नेकपाका नेता  र कार्याकर्ताहरुको चरित्र चित्रण

 नेकपाका नेता कार्याकर्ताहरुको चरित्रको आधारमा निम्न अनुसार विभाजन गर्न सकिन्छ ।  

क) पहिलो वर्गको हिसाबमा निम्न सामन्तवादी चिन्तन भएका मध्यम वर्गीय कार्यकर्ताको बाहुल्यता रहेकाे पाइन्छ ।  यिनीहरू दलाल पुँजीमा बढी रमाउने गर्दछन् । निम्न मध्यम वर्गीय नेता कार्यकर्ताहरू केही हदसम्म रहेको अवस्थामा समेत उनीहरू अवसर प्राप्त गरिसकेपछि मध्यम वर्गमा रूपान्तरण हुने र निम्न सामन्तवादी चिन्तन हाबी हुने गरेको छ । अधिकांश सत्ताको नजिक रहेर प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा फाइदा लिइने, फाइदा लिने व्यक्तिहरूसँग नजिक रहने, उनीहरूसँगको सामीप्यका कारणले सत्ताको पृष्ठ पोषण गर्ने, सरकारको आलोचना गर्नेहरूलाई टिप्पा लिने, तत्काल उत्तेजना पूर्वक रूपमा प्रतिक्रिया दिई जवरजस्त रूपमा प्रतिवाद गर्ने कार्यकर्ता तथा नेताहरू यस पङ्क्तिमा पर्दछन्  । 

 कतिपय अवस्थामा यस्ता नेता कार्यकर्ताहरू सल्लाहकारको भूमिकामा सरकारी ओहदामा प्रवेश गर्दै कार्यकारीको कार्यमा हस्तक्षेप समेत गर्ने गरेका छन् । प्रधानमन्त्री अस्वस्थ रहेको कारण यस्ता प्रवृत्तिका व्यक्तिहरूलाई थप अवसरको सिर्जना भएको समेत देखिन्छ । यिनीहरू बढी अहङ्कारी, दम्भी, असहिष्णु, उन्मादी हुनुका साथै मिलाएर राज्य शक्तिको दुरुपयोग गरी विपक्षी तथा आलोचकहरू प्रति बल प्रयोग गर्न समेत पछि पर्दैनन् । यिनीहरूलाई अब पुनः अर्को अवसर आउने कुरामा विश्वास नहुने हुँदा राज्य शक्तिको भरपुर उपयोग गर्दै आर्थिक दोहनका विभिन्न माध्यमहरू समेत अपनाउँछन् । साथै यिनीहरू समाज र राज्यको हित भन्दा आफ्नो व्यक्तिगत र पारिवारिक हितलाई बढी महत्त्व दिन्छन् । 

ख) दोस्रो  वर्गको हिसाबमा मध्यम वर्गीय कार्यकर्ताको बाहुल्यता रहेको हुन्छ । दलाल पुँजी र निम्न सामन्तवादी चिन्तनबाट यिनीहरू मुक्त नभए पनि यसमा निम्न मध्यम वर्गीय कार्यकर्ताको बाहुल्यता हुन्छ  । अध्ययन र अनुसन्धान तथा व्यक्तिगत आचरणमा यिनीहरू पहिलो भन्दा अलि प्रगतिशील छन् । यस पङ्क्तिमा त्यस्ता नेता कार्यकर्ताहरू छन् जो हाल सरकारको कुनै जिम्मेवारीमा नभएतापनी पार्टीको जिम्मेवारीमा रहेको र सम्भावित जिम्मेवारीको लागि आफूलाई तयार राखेर बसेका छन् । सत्ता परिवर्तन वा पार्टी भित्र शक्ति समीकरणको उतार चढावसँगै कुनै पनि बेला पासा पल्टिने र आफ्नो भागमा पद र अवसर आउनेमा उनीहरू ढुक्क हुन्छन् ।

यिनीहरू सत्ताको आलाचेना गर्दछन्, तर सोही प्रकृतिका कार्य आफू निकटस्थ नेताहरूबाट भएको अवस्थामा प्रतिरक्षा गर्न अग्रपङ्क्तिमा नै आउँछन् । यिनीहरू सत्ता परिवर्तनको आकाङ्क्षी हुन्छन्, तर उक्त सत्ता परिवर्तनमा आफ्नो स्थान शून्य देखिएमा वा वर्तमान सत्तामा नै आफ्नो स्थान रहन सक्ने झिनो सम्भावना मात्र देखिएको अवस्थामा आलोचना बन्द गर्ने र सत्ता परिवर्तनको पक्षमा नउभिने चरित्र यिनीहरूमा हुन्छ ।

खास गरी नेकपाको युवा पुस्ता बढी अवसरवादी र गुट परस्त तथा अराजक देखिएको छ । आफू अवसरमा नआउन्जेल पार्टीका बैठकमा फरक विचार राख्ने तथा सतहमै उत्रिएर आलोचना वा विरोध गर्ने तर आफ्नो व्यवस्थापन भए पछि सम्पूर्ण आफ्ना मुद्दाहरूमा सम्झौता गर्न पछि नपर्ने स्वभाव यिनमा प्रचुर मात्रामा देखिएको छ । हाल सत्तामा रहेकाहरूको कार्यशैलीको आलोचना गरे पनि आफूले सो अवसर प्राप्त गरेमा यो भन्दा तल्लो स्तरमा झरेर अस्वाभाविक गतिविधि गर्न यिनीहरूलाई कुनै हिचकिचाहट भइरहेको छैन । आफू वैकल्पिक सत्तासीन भएको महसुस गर्ने यिनीहरूमा माथि पहिरो पङ्क्तिमा रहेका कार्यकर्ता र नेताहरू भन्दा कम अहङ्कार, दम्भ र उन्माद देखाउनुलाई स्वाभाविक ठान्दछन् । 

तर शक्ति आर्जनको लागी यिनीहरू समाजमा रहेको अन्य सरकारका आलोचक र स्वतन्त्र पक्षका साथै ईमान्दार कार्यकर्ता प्रति सावधानी पूर्वक सम्बन्ध स्थापित गर्दै आफ्नो पक्षमा प्रयोग गर्न निपुणता देखाइरहेका छन् ।  आफू शक्तिमा गई सकेपछि यस्ता व्यक्ति वा समूहहरूसँग स्वतः सम्बन्ध विच्छेद गर्छन् र उनीहरूको पहुँच भन्दा पर आफूलाई राख्छन् । यिनीहरू पार्टी प्रणाली, निर्णय र सांगठानिक मर्यादाका पक्षपाती हुन्छन् । सत्तारुढ भएपछि भने यिनीहरूले समेत यस्तो आदर्शको जुत्ता बाहिरै खोलेर सत्ताको कोठामा प्रवेश गर्छन् । 

ग) तेस्रो वर्गको प्रतिनिधित्व गर्ने कार्यकर्ताहरू पनि रहेका छन्, यद्यपी निम्न वर्गीय कार्यकर्ता तथा नेताहरूले  यस वर्गमा बोलवाला यसमा रहेको छ । यो अझै पनि मुलुकमा समाजवादी क्रान्ति कम्युनिस्ट पार्टी कै नेतृत्वमा सम्भव छ भन्ने विश्वास पनि राख्दछ । पार्टी नेताहरूको वर्ग परिवर्तन र माफिया करणबाट यिनीहरू त्यति सारो विज्ञ छैनन् । केही विज्ञ भए पनि थाहा नपाएझैँ गर्दछन् । यो पङ्क्तिमा पार्टी र सरकार बिच समन्वयात्मक सम्बन्ध स्थापित गर्दै सरकारले जन पक्षीय, प्रगतिशील, विकासमूलक छविमा आफूलाई सुधार गर्दै मुलुकमा अग्रणी विकास गरोस् भन्ने आकाङ्क्षा राख्दछन् ।

 भ्रष्टाचार, कुशासन, भोक, गरिबी, सिमान्तता, विभेदपूर्ण समाज सबै अन्त्य हुनुपर्दछ । र, यो केवल कम्युनिस्ट पार्टीले मात्र गर्दछ भन्ने यिनीहरूलाई अझै विश्वास छ । आफ्नो व्यक्तिगत स्वार्थ भन्दा समग्र समाज र राष्ट्रको उन्नतिको लागी कामना गर्ने र आवश्यक पर्दा जस्तोसुकै ढङ्गले क्रियाशील हुन समेत तयार हुने ईमान्दार नेता कार्यकर्ता पङ्क्ति छ । यसले पार्टीको घोषणा पत्र र प्रतिबद्धतालाई सिरानी हालेर प्रत्येक दिन सुत्नु भन्दा पहिले हेर्दै पार्टीले सो अनुरूप कार्य गरोस् भन्ने अपेक्षा गर्दछन् । पार्टीका स्थायी र ईमान्दार कार्यकर्ता तथा मतदाताहरूको समूह यस पङ्क्तिमा पर्दछन् । जो अधिकांश रूपमा जो सुकै सरकारमा आउँदा समेत कुनै भूमिकाको आशा तथा अपेक्षा गर्दैनन्, नेताहरूको प्राथमिकतामा पर्दैनन् र प्राथमिकता पर्नको लागी अनावश्यक चलखेल गरी अतिरिक्त गुट परस्त गतिविधिमा संलग्न समेत हुँदैनन् । 

सरकार, पार्टी वा यससँग सम्बन्धित जो सुकैको समेत स्वस्थ आलोचना गर्न रुचाउँछन् । यिनीहरू स्वनिरभर छन्, पार्टीको गलत कामको प्रतिरक्षा गर्न अगाडी आउने फुर्सद यिनीहरूलाई हुँदैन । जिम्मेवारीमा नै रहेको अवस्थामा समेत ईमान्दारसाथ पार्टी काम अगाडी बढाउने र पार्टीको निर्देशन पालना गर्ने बाहेक अन्य अनावश्यक गतिधिमा समेत लाग्दैनन् । पार्टीले सकारात्मक र जन पक्षीय काम गर्दा सन्तुष्टिले मिठो निन्द्रा सुत्ने र पार्टीले गलत काम गरी जनताबाट अलग्गिँदा यिनीहरूलाई छटपटाहट हुन्छ । यिनीहरू पार्टी कामलाई आफ्नो प्रतिष्ठासँग जोडेर हेर्ने गर्दछन् । पार्टी साँच्चै सङ्कटमा पर्दा भने सारा काम छाडेर जस्तो सुकै बलिदान र त्याग गर्न समेत आफूलाई खर्चन तयार हुन्छ यो पङ्क्ति । 

३. सरकारको कार्यशैली 

हालको सरकारमा माथि उल्लेखित पहिलो वर्ग वा पङ्क्ति बढी हावी छ । यो पङ्क्तिका नेता कार्यकर्ताले पार्टी निर्णय मान्दैन । आफू अनुकूल भएन भने आफैँ बसेर गरेको निर्णय समेत जुत्ता लगाएर घर पुगेपछि असहमत भएको जानकारी गराउँछ । पार्टी आफ्नो अनुकूल हुँदा भने सरकारको गलत कार्य समेत पुष्टि गर्न पार्टीको बैठकबाट अनुमोदन गर्ने चेष्टा गर्छ र पार्टी र सरकार दुवैको निर्णय आफ्नो पक्षमा पार्दै थप निरंकुश र फासिवादी हुन्छ । जनताको समस्या जनताबाट नसुनी सल्लाहकार र सहयोगी मार्फत सुन्छ । जनताको पिडा नेतृत्वसम्म नपुगेकोले हुन सक्छ, जनता भोकै हुँदा गितार, बाँसुरी, मादल , सारङ्गी जे अगाडी छ त्यही बाजा बजाएर बस्छ । जनताको क्रन्दन गितार तथा अन्य बाजाकोको ध्वनिमा ठोक्किएर विलीन हुन्छ । बाहिरको आवाज नेतृत्वसम्म नपुगोस् भनेर सल्लाहकार र सहयोगीहरूले बजाएको राम्रो छ भनी उक्साउँदै अलि ठुलो स्वरले बाजा बजाउन लगाउँछन् । उसले केवल बाजा र गितारको झङ्कार मात्र सुन्छ र जनता सुखी भएको ठानी पुन मिठो निन्द्रामा सुत्छ । नेतृत्व सुतेपछि भने उसका सहयोगी र सल्लाहकारहरू जाग्न थाल्छन् । नेतृत्व नउठ्दै अँध्यारोमै कतिपय निर्णय हुन्छ र उ उठ्दा त्यसको कार्यान्वयन समेत भई सकेको हुन्छ । 

परिणामतः उसको पद कुर्सी बाहिरै बसेर कसैले चलाएको पत्तै पाउँदैन वा पत्तो पाउँदा पनि मौन समर्थन जनाएर खाली पेजमा हस्ताक्षर गरेर दिने गर्दछन् । कोरोनाको संटक विकराल बन्दै जाँदा यसलाई नजरअन्दाज गरी विभिन्न राजनीतिक नियुक्ति गर्दै गएको अवस्थाले निभ्ने बेलामा चहकिलो बलेको  बत्त्तिको अनुभूति दिलाएको छ । यस्ता सङ्कटको बेलामा गरिएको नियुक्ति यस भन्दा पछि आउने भावी सरकारलाई बाध्यकारी हुने कि नहुने भन्ने सम्मका अहिले विश्लेषण गर्न थालिएको छ ।  

४. नेताहरूको कार्यशैली तथा अवस्था

याे दोस्रो पङ्क्ति भित्र बहुमत नेताहरू रहेका छन् । यो पङ्क्तिका नेताहरू विभाजित मनस्थितिमा एक अर्कालाई प्रयोग गरी शक्ति आर्जन गर्ने सोचाइमा रातो दिन दिमाग चलाई रहेका छन् । सचिवालयका नेताहरूको भूमिका शून्य बनाइएको छ । भने केन्द्रीय सदस्य वा सांसद् सदस्यहरूको विचार अनलाइन र सामाजिक सञ्जाल मार्फत सुन्न पाइन्छ । पार्टीको आधिकारिक निकाय बसेर निर्देशन दिने र सोही बमोजिम विचार राख्ने परिपाटी प्रधानमन्त्री तथा अध्यक्षले पार्टी निर्णय नमान्ने जानकारी गराएसँगै अन्त्य भएको देखिन्छ । सचिवालयको निर्णय नमान्ने भनी पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले जानकारी गराई मिर्गौला प्रत्यारोपणको बेडमा सुतेपछि सचिवालयका नेताहरू पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ । पार्टीका अर्का अध्यक्ष प्रचण्ड हाल मौन अवस्थामा रहेका छन् । 

केही बोल्दा खेरी पूर्व एमालेका नेता र पार्टी एकता विरोधीहरू उनीमाथि खनिने हुँदा यस्तो विकराल परिस्थिति हुँदा समेत उनले क्रियाशीलता देखाउन चाहेका छैनन् ।  जुन नेकपाको सिङ्गो पार्टी पङ्क्ति निष्क्रिय हुन पर्याप्त छ । अहिले समस्यासँग जुझ्न सर्वदलीय संयन्त्र बनाएर काम गर्ने प्रस्ताव ठाडै प्रधानमन्त्रीले अस्वीकार गरेको र राष्ट्रिय सभाको सदस्य मनोनयनको सन्दर्भमा पार्टीको निर्णय समेत नमान्ने जानकारी गराएको हुँदा तथा माधव नेपालको द्वैध चरित्रका कारण आफू एक्लै बोलेर थप विवादमा नपर्ने रणनीतिमा कमरेड प्रचण्ड पुगेको देखिन्छन् ।

नेकपाको नेतृत्वले सामूहिक पहलकदमी नगरी निर्मम निर्णय नगर्ने हो भने पश्चिम बंगालमा झैँ नेपालमा पनि कम्युनिस्ट पार्टीको पतन हुने र कम्युनिस्ट कै अस्तु सदाका लागी सेलाउने दिन छिट्टै नआउला भन्न सकिन्न । अहिले आजित भएर नेपालका पहिलो पुस्ताका कम्युनिस्टका नेता कमरेडहरूलाई जनताले सोधिरहेका छन्, कमरेड कम्युनिस्ट पार्टीको अस्तु आफूसँगै सेलाउने वा सुध्रिने, दुई विकल्प मध्य एक रोज्नुहोस्, समय मै निर्णय नगरे निर्णय गर्नै नपर्ने दिन आउनेछ ।

त्यस्तै अन्य नेताहरूको असमझदारीपूर्ण अवस्थाबाट पुनः शक्ति आर्जन गर्ने र सत्तासीन हुने आकाङ्क्षामा रहेका वरिष्ठ नेता माधव नेपाल समेतको बोलीमा केही समय अगाडि प्रधानमन्त्रीलाई भेटेपछि मौनता छाएको छ । वरिष्ठ नेता झलनाथ खनाल तथा उपाध्यक्ष बामदेव गौतम कुनै पनि बेला कतै पनि लाग्न सक्ने पात्र हुन् भन्ने पहिले नै पुष्टि भई सकेको छ । आफ्नो हितमा अन्य नेताहरूलाई सहमत गराउन सके जुनसुकै निर्णय मान्न तयार हुने वहाँहरूको चरित्रबाट के.पी. ओली, प्रचण्ड र माधव नेपाल तिनै जना जानकार भएको हुँदा उनीहरू खासै समस्याको रूपमा रहेको महसुस तिनै जना नेताहरू गर्दैनन् ।

यद्यपि उनीहरू पार्टी निर्णय गरेर दिएको खण्डमा जुनसुकै निर्णय पनि पालना गर्न हिचकिचाउने खालको नेता भने होइनन् । पार्टी निर्णय विना नै कहिलेसम्म प्रधानमन्त्री चल्दा रहेछन् हेर्ने अवस्थामा पार्टीका अन्य शीर्ष नेताहरू रहेका छन् । अन्तर विरोध बढ्दै गएमा पूर्व एमाले र पूर्व एमाले भित्र पनि पूर्व मालेलाई छाडेर अलग टिम बनाई एक ठाउँमा ल्याउने र सत्तासीन हुने रणनीति एकातिर देखिन्छ भने अर्कोतिर प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले साथ नदिएमा प्रचण्ड र बामदेव समेतलाई साथ लिएर अगाडी बढ्ने दुवै नाउँमा खुट्टा हालेको अवस्थामा माधव नेपाल रहेको देखिन्छ । 

यसरी सत्तासीन समूह भन्दा बाहिर पनि अवसरवाद हाबी रहेको हुँदा अल्पमतमै रहेको अवस्थामा समेत प्रधानमन्त्रीले पार्टी निर्णय विना नै सरकार आफ्ना सहयोगी मार्फत चलाई रहेको अवस्था छ । वहाँको निष्क्रिय नेतृत्व र पार्टीको मौनताले नेकपा मात्र हैन सम्पूर्ण कम्युनिस्ट पार्टीको भविष्य कता जाने हो हेर्नको लागी लकडाउन अन्त्य हुने अवस्था पर्खिने बाहेक विकल्प छैन । 

५. तेस्रो पङ्क्तिमा रहेका नेता कार्यकर्ता 

यो पङ्क्ति अत्यन्त निरीह, शक्तिहीन तथा स्वाभिमानी छ । यो पङ्क्ति पार्टीले गरेको कार्यले देशमा पर्न गएको नकारात्मक छविका कारण चिन्तित देखिन्छ । पार्टी एकताको पक्षमा एकताबद्ध भएर लाग्न यसलाई कसैले निर्देशन दिनु पर्दैन । हिजो सम्भावना बोकेको भनिएका नेता कार्यकर्ताहरू सरकारमा गएर कुहिने अवस्थामा पुगेको देख्दा केही निरुत्साहित भएर यो पङ्क्ति बसेको छ । यसले पार्टी निर्णय, सरकारको काम र आचरणमा खासै प्रभाव पार्न नसके पनि महाधिवेशन र आम निर्वाचनमा प्रभावकारी ढङ्गले आफूलाई प्रस्तुत गर्ने प्रयत्न गर्दछ । यो कहिले विचलित नहुने स्थायी समूह पनि हो । यो पङ्क्ति अनुभव र अध्ययन तथा सांगठानिक कुशलताले भरिपूर्ण छ । तर आर्थिक, भौतिक, पारिवारिक सम्बन्धका आधारमा नेतृत्वसँगको खासै दखलपूर्ण सम्बन्ध नभएको र दार्शनिक क्षेत्रमा विशिष्ट र स्थायी धारणा राख्ने कारणले राज्यको अवसरका पदहरूमा यसको योग्यता पुग्दैन या  पुर्‍याईदैन । 

६. निष्कर्ष 

नेकपा भित्र रहेको यस्तो अवस्थाले गर्दा तिन महिना भन्दा बढी समयसम्म पनि कोरोनाको उपचारको लागि पर्याप्त तयारी हुन सकेको छैन । भ्रष्टाचार व्याप्त छ । बेमौसमी नियुक्तिहरू गरेको गरै छन्, जुन अहिलेको अवस्थामा प्राथमिकतामा पर्दैन । बालबालिका बोकेका महिला तथा वृद्ध बृद्धा सहितका मजदुरहरू राजधानीबाट हप्तौँ हिँडेर खानाको खोजीमा गाउँ जादैछन् । केन्द्र सरकार वा  ३ नंं प्रदेश सरकारले मजदुरहरूको अवस्थाका बारेमा कुनै उत्तरदायित्व लिन सकेको अवस्था छैन ।  

हिजो मजदुरकै नामबाट राजनीति सुरु गरी आलिसान जीवन जिउँदै विदेशी मुद्राको खेलो गर्ने नेताहरूसमेत मजदुरहरूको दयनीय अवस्थामा भोको पेटको बारेमा बोलेका छैनन् । कोरोनाको सङ्क्रमण नाकैमा आएको अवस्थामा कोरोना मुक्त मुलुक झन्डै घोषणा गरेको पर्यटन मन्त्रालय, जनतालाई गिद्धको परिभाषा गर्ने परराष्ट्र मन्त्रालय र अन्य नेताहरूको कोपभाजन र माफिया करणको सिकार भएको स्वास्थ्य मन्त्रालयको अकर्मण्यताले सीमा नाघी सकेको छ ।

यसको विरोध गर्नेहरूलाई अरिङ्गालको शैलीमा आक्रमण गर्ने परिपाटी समेत अन्त्य भएको छैन । कार्यक्षेत्रमा नगई काठमाण्डौंमा नाचेर बस्ने संसदका पदाधीकारीहरुबाट जनताले अपेक्षा गर्नै छाडी सकेको अवस्था विद्यमान छ । यी समग्र परिस्थिति अन्त्यका लागी भावी रणनीति तय गर्न नेकपाको नेतृत्वले सामूहिक पहलकदमी नगरी निर्मम निर्णय नगर्ने हो भने पश्चिम बंगालमा झैँ नेपालमा पनि कम्युनिस्ट पार्टीको पतन हुने र कम्युनिस्ट कै अस्तु सदाका लागी सेलाउने दिन छिट्टै नआउला भन्न सकिन्न । अहिले आजित भएर नेपालका पहिलो पुस्ताका कम्युनिस्टका नेता कमरेडहरूलाई जनताले सोधिरहेका छन्, कमरेड कम्युनिस्ट पार्टीको अस्तु आफूसँगै सेलाउने वा सुध्रिने, दुई विकल्प मध्य एक रोज्नुहोस्, समय मै निर्णय नगरे निर्णय गर्नै नपर्ने दिन आउनेछ । निर्णय तपाइहरूकै हातमा सुम्पनु सान्दर्भिक हुन्छ ।