लकडाउनमा पुरुषको जिङ्ग्रिङ्ग दाह्री जुँगाः रहर कि बाध्यता ?

लकडाउनमा पुरुषको जिङ्ग्रिङ्ग दाह्री जुँगाः रहर कि बाध्यता ?

निर्जला कक्षपति  |  दृष्टिकोण  |  बैशाख ९, २०७७

लकडाउन भएसँगै धेरै पुरुष साथीहरूका जिङ्ग्रिङ्ग परेका दाह्री जुँगा फेसबुकमा प्रशस्तै देख्न पाइएको छ । कसैलाई सुहाएमनि धेरैलाई भने यही दाह्री जुँगाले निकै अल्छी देखाइरहेको छ । लकडाउनले दाह्री काट्न मनाही त अवश्य गरेको छैन होला नि ! तर पनि धेरै पुरुषले यो लकडाउनमा दाह्री जुँगा किन नकाटी बसिरहेका होलान् ? भन्ने मनमा खुल्दुली हुने गर्दछ । पालिएका लामा जुँगा दाह्री देख्दा भन्न मन लाग्छ, दाह्री काट्न त अल्छी लाग्नेलाई अरू के गर्न जाँगर लाग्दो हो र ? 

दाह्री जुँगा पुरुषहरूको अनुहारमा आउने गर्दछ । नाक भन्दा ठ्याक्कै तलको भाग अथवा हामीले खाने गरेको मुखको माथिल्लो भाग जहाँ ओठ हुन्छ त्यहाँ जुँगा र, ओठको ठ्याक्कै तल चिउँडोमा दाह्री आउने गर्छ । जुँगा दाह्री, पुरुषको जवानीसँग जोडिएको छ । जब पुरुष तन्नेरी हुँदै जान्छ, हर्मोनमा हुने परिवर्तनसँगै दाह्री र जुँगाको पनि रेखा बस्न थाल्छ । १५-१६ वर्षको उमेरमा स्वर परिवर्तन हुने र पुरुषको दाह्री जुँगा पनि आउने गर्छ । पितृसत्ताले यसलाई मर्दको संज्ञा समेत दिने गरेको  छ । 

समयको परिवर्तनसँगै र पुरुषसँग समयाभावका कारण दाह्रीलाई उचित संरक्षण र स्याहार गर्न गाह्रो पर्ने हुँदा आधुनिक समाजका आजका धेरै युवाहरूले दाह्री पाल्न छाड्दै गएका छन् । त्यसैले दाह्री दाह्री पालेको मानिसको सङ्ख्या पनि कम देखिने गरेको छ । तर जब मुलुकमा लकडाउन भयो, धेरै पुरुषहरूले दाह्री पालेको तस्बिर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती ‘पोस्ट’ गरेको देख्न पाइने गरेको छ ।

मानिसको जीउ डाल अनुसार उसले लगाउने पहिरन र 'मेकअप' मिल्नुपर्छ । आफू जून 'गेट अप'मा धेरै देखियो उसलाई त्यही 'गेट अप' सुहाउँदै जाने पनि हुन्छ । पहिले देखि दाह्री  जुँगा पाल्ने व्यक्तिलाई पालेकै सुहाउँछ । तर जो मानिस जहिले दाह्री काटेर चिटिक्क परेर हिँड्ने गर्छ त्यस्ता मानिसले दाह्री पाल्दा भने अति नै असुहाउँदो, भद्दा अनि अल्छीपना पनि दर्साइरहेकाे छ ।  लकडाउनमा मात्र दाह्री पाल्नेहरू यस्तै नै भद्दा र अल्छी देखिएका छन् । 

दाह्री जुँगा पालेपछि यसलाई सफा सुग्घर राख्नु पनि त्यत्तिकै जरुरी छ भन्ने कुरा बुझ्नु अति नै आवश्यक छ । कोभिड–१९ ले तर्साई रहेका बेला कोरोनाका भाइरस, पालेर राखिएको जिङ्ग्रिङ्ग परेको दाह्रीमा पनि बस्न सक्छ भन्ने कुरालाई बिर्सनु भने हुँदैन । जसरी हामी हात खुट्टालाई साबुन पानीले मिची मिची धोइराख्छौँ । पालिएको जुँगा दाह्रीलाई पनि सफा राख्नु उत्तिकै जरुरी छ,  हैन भने यो कोरोना भाइरस जिङ्ग्रिङ्ग दाह्रीमा नबस्ला भन्ने के छ र ? 

कहीँ जान नपरेपछि धेरै पुरुषहरू दाह्री काट्दैनन् । कसैको उद्देश्य भनेको केही दिन दाह्री नकाट्ने अनि त्यसपछि चिल्लो सफा अनुहार लिएर प्रस्तुत हुने उद्देश्यका साथ दाह्री काट्दैनन् । कसैले भने कति लामो हुँदो रहेछ भनेर परीक्षण गर्न पनि दाह्री पाल्ने गर्छन् । दाह्री पाल्नु र नपाल्नु नितान्त आफ्नो निजी मामिलाको कुरा हो । तर दाह्री  जुँगा पालेको देख्यो भने के भयो भनी सोध्ने र ओहो दाह्री पालिएछ नि !  भन्ने चलन छ । यसै गरी सुहाएको र नसुहाएको प्रतिक्रिया दिइहाल्ने चलन छ ।  सधैँ दाह्री जुँगा पाल्ने गरेको छ  भने त्यसता मानिसलाई खासै ‘नोटिस’ पनि गरिँदैन । 
धेरै पहिले हाम्रा ऋषिमुनीहरु लामा लामा दाह्री जुँगा पाल्ने गर्थे । उनीहरूले जुँगा दाह्री नकाट्नुको एउटै उद्देश्य भनेको उनीहरू महिनौँ लामो वन बासमा तपस्या बस्थे । दैविक शक्तिका साथ तपस्या गर्दा जुँगा दाह्री काट्ने कुरै भएन । बनमा एकान्त वास बस्ने, कन्दमूल खाने अनि तपस्या गर्ने उनीहरूको दिनचर्या हुने गर्दथ्यो । तर अहिले मानिसहरू यसो गर्दैनन् । एक जना मानिसको धेरै जनासँग सम्पर्क हुन्छ । खानामा पनि निकै परिवर्तन भएको छ । मांसाहारी खाना र अन्नका खाना खाँदा पालिएका लामा लामा दाह्रीमा अड्किने सम्भावना पनि त्यत्तिकै हुन्छ । आफूले थाहा नपाएर धेरै दिन यस्ता खानाहरू पालिएका दाह्रीमा अड्कियो भने यसले दूर्घन्ध फैलिन पनि सक्छ । 

अहिले घर बाहिर धेरै हिँड्ने मानिसले आफ्नो व्यक्तित्वमा ध्यान पुर्‍याउनु पर्ने हुन्छ । कोही नचिनेको मानिसले लामो लामो दाह्री जुँगा पालेर जिङ्ग्रिङ्ग परेर बसेको देख्यौँ भने मनमा अनेकौँ प्रश्न उठ्न सक्छन् । त्यो मानिस बिरामी छ कि ? प्रेमिकासँग सम्बन्ध टुटायो कि ? जागिरबाट छुटायो कि ? कुनै ठुलै समस्यामा पर्‍यो कि ? यस्तै यस्तै अनुमान लगाउने  चलन छ ।  

दाह्री जुँगा पालेको व्यक्तित्वहरू सम्झनु पर्दा, जङ्गबहादुर राणा, पृथ्वीनारायण शाह र राजा वीरेन्द्रले जुँगा पालेका थिए । यसै गरी युवराज दीपेन्द्रले पनि जुँगा पालेका थिए । राजा भनेपछि मुलुककै प्रमुख व्यक्ति हुने भएकाले आफ्नो व्यक्तित्व राम्रो देखियोस् भन्ने उद्देश्यले राजा महाराजाहरू जुँगा पाल्ने चलन रहेको थियो ।  यसै गरी नेताहरूले पनि आफ्नो व्यक्तित्व थप आकर्षण बनोस् र जनताका सामु परिपक्वता बढोस् भन्ने उद्देश्यले दाह्री जुँगा पाल्ने गरेको पाइन्छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता स्वर्गीय मनमोहन अधिकारीले जुँगा दाह्री पाल्नु भएको थियो । यसै गरी हालका नेकपाका अध्यक्ष प्रचण्डले पनि जुँगा पाल्नु भएको छ । 

पहिले पहिलेका ऋषिमुनीहरुले बिना 'डिजाइन'का जुँगा दाह्री पाले पनि अहिले दाह्री जुँगा  पाल्ने पनि  ‘डिजाइन’ निकाल्न थालिएको छ । हजामकहाँ जुँगा दाह्री मिलाउन गयो भने कस्तो ‘डिजाइन’को बनाउने हो भनी हजामले सोध्ने  चलन छ ।  आफूलाई मन परेको र अनुहारको स्वरूप अनुसार जुँगा दाह्रीको 'डिजाइन' पनि गरिदिने गर्छन् । कसैलाई झ्याप्प जुँगा दाह्री पाल्दा अनुहारमा शोभा देखिएको हुन्छ भने कसैलाई पिटिक्कै सुहाएको हुँदैन । 

त्यसैले त पुरुषको यो जुँगा दाह्रीलाई लिएर समाजमा उखान टुक्का समेत बन्ने गरेको छन्– ‘खाने मुखलाई जुँगाले छेक्दैन’ । यो उखान नेपाली समाजमा निकै नै लोकप्रिय समेत छ । जुँगा विशेष भएकै कारण फिल्ममा समेत डाइलग बन्ने गरेको छ । फिल्म सराबीमा कलाकार अमिताभ बच्चनले बोलेको संवाद मुछ हो– ‘तो नथ्थुलाल जैसी हो, बर्ना ना हो’ ।  यो संवाद निकै नै लोकप्रिय बनेको थियो र अझै पनि यो संवाद लोकप्रिय नै रहेको पाइन्छ  । 

दाह्री जुँगा पालेपछि यसलाई सफा सुग्घर राख्नु पनि त्यत्तिकै जरुरी छ भन्ने कुरा बुझ्नु अति नै आवश्यक छ । कोभिड–१९ ले तर्साई रहेका बेला कोरोनाका भाइरस, पालेर राखिएको जिङ्ग्रिङ्ग परेको दाह्रीमा पनि बस्न सक्छ भन्ने कुरालाई बिर्सनु भने हुँदैन । जसरी हामी हात खुट्टालाई साबुन पानीले मिची मिची धोइराख्छौँ । पालिएको जुँगा दाह्रीलाई पनि सफा राख्नु उत्तिकै जरुरी छ,  हैन भने यो कोरोना भाइरस जिङ्ग्रिङ्ग दाह्रीमा नबस्ला भन्ने के छ र ?