मस्जिद अनुगमनमा काठमाडौं महानगरका मेयर

मस्जिद अनुगमनमा काठमाडौं महानगरका मेयर

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ९, २०७७

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्या सुन्दर शाक्यले काठमाडौंमा रहेका मस्जिद अनुगमन गर्नु भएको छ । काठमाडौंका चार वटा मस्जिदमा जमातीहरू रहेको हुन सक्ने भन्ने आशंकामा अनुगमन गरिएको हो । 

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी, मानवअधिकार आयोगकी मोहना अन्सारी, प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेललगायतको टोलीले रत्नपार्कस्थित नेपाली जामे मस्जिद, कास्मिरी मस्जिद र सुनधारा र स्वयम्भूस्थित भुइँखेलका मस्जिदको अनुगमन गरेको थियो।

वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा बस्दै आएका केहीमा कोरोना पोजेटिभ देखिएको थियो। त्यसको केही दिनपछि उदयपुरको भुल्केमा रहेको एउटै मस्जिदमा बस्दै आएका १६ जनामध्ये १२ जनालाई कोरोना संक्रमण पोजेटिभ देखिएको थियो।

दुवै ठाउँका मस्जिदमै बसेकाहरूमा कोरोना पोजेटिभ देखिएपछि अन्य मस्जिदहरूमा पनि जमातीहरू बस्न सक्ने र उनीहरू कोरोना संक्रमित हुन सक्ने भन्दै विभिन्न सञ्चार माध्यममा समाचार आइरहेका बेला मुस्लिम समुदायको सबभन्दा बढी भीडभाड हुने यी चार स्थानको अनुगमन गरिएको हो।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मंगलबार राजधानीका चार स्थानको अनुगमन गरेको र ती स्थानको अवस्था सामान्य रहेको जानकारी दिनुभयो ।