शिक्षकका लागि ‘भर्चुअल’ माध्यमबाट तालीम सञ्चालन

शिक्षकका लागि ‘भर्चुअल’ माध्यमबाट तालीम सञ्चालन

लोकसंवाद संवाददाता  |  शिक्षा  |  बैशाख १०, २०७७

काठमाडाै‌ । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन को समयमा पनि शिक्षकका लागि अनलाइनबाट तालिम सञ्चालन गरिएको छ । 

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले ‘भर्चुअल’ माध्यमबाट देशका विभिन्न ठाउँमा रहेका शिक्षकलाई सम्पर्कमा जोडेर प्रविधिमैत्री तालमि सञ्चालन गरेको हो । सङ्गठनको पोखरा महानगर कमिटिले प्रदेश र केन्द्रीय समितिसँग समन्वय गरेर वैशाख ६ गतेदेखि तालिम सञ्चालन गरिरहेको छ । 

बन्दाबन्दीका कारण घरमै बसेका शिक्षकको क्षमता विकासका लागि प्रविधिको प्रयोग गरेर तालीम सञ्चालन गरिएको सङ्गठनका गण्डकी प्रदेश कमिटिका अध्यक्ष सोमनाथ ढुङ्गानाले जानकारी दिनुभयो । शिक्षकलाई नवीनतम शिक्षण विधि र प्रविधिको विषयमा विषय विशेषज्ञहरुले घरबाटै प्रशिक्षण दिने व्यवस्था मिलाएको सङ्गठनका महानगर समितिका अध्यक्ष भुवन सुवेदीले जानकारी दिनुभयो । 

जुम एप्लीकेशन प्रयोग गरेर हरेक दिन दिउँसो १ बजेदेखि ४० मिनेटसम्म तालीम सञ्चालन गरिएको छ । तालीमको चौथो दिनसम्म ८० शिक्षक यसमा आवद्ध भएका छन् । पहिलो दिन प्रविधिमैत्री शिक्षक समाजका महासचिव देवीप्रसाद शर्माले प्रविधिमैत्री शिक्षक र प्रविधिमैत्री विद्यार्थी शीर्षकमा सहजीकरण गर्नुभएको थियो । यसैगरी दोस्रो दिन डिजिटल लाइब्रेरीको प्रयोगका विषयमा सुशील उप्रेती, तेस्रो दिन माइक्रोसफ्ट एक्सलको प्रयोगका विषयमा छवी आचार्य र चौथो दिन विद्यालय तहमा खुल्ला शिक्षाको सम्भावना र चुनौतीका विषयमा खुल्ला विश्वविद्यालयका प्राध्यापक डाक्टर लेखनाथ शर्माले प्रशिक्षण दिनुभएको थियो । 

पावर पोइन्ट, मल्टीमिडिया, टेलीटिचीङ आदी माध्यमको विषयमा पनि प्रशिक्षण दिइने सङ्गठनले जनाएको छ । तालीममा सहभागी म्याग्दीका शिक्षक मुक्ति पौडेलले घरमै बसेर नयाँ शिक्षण विधिका बारेमा सिक्ने अवसर पाएकोमा खुशी व्यक्त गर्नुभयो । 

सङ्गठनका केन्द्रीय अध्यक्ष शङ्कर अधिकारी, नेपाल शिक्षक महासङ्घका सहअध्यक्ष पूर्णप्रसाद दवाडी, प्रदेश इञ्चार्ज झपिन्द्र खत्रीलगायतले शिक्षकका लागि यो तालीम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।