प्रा.डा. विष्णु राई | लोकरञ्जन | बैशाख ११, २०७७
'छेकेर बाटो जूनले सोध्यो कता हिँडेको'
यो गीतभित्र विशुद्ध कल्पनाको काव्यिक लहरहरू मात्र छ । आफ्नै आनन्दको लागि लेखेको हुँ, जुन अरूमा पनि वितरण गर्न मात्र प्रयास गरेको हुँ । जीवन विचारको संवेग भरिएपछि मात्र बाहिर प्रकट हुँदो रहेछ । ओशोले भने जस्तो- 'संसारमा साँचो सेवा गर्ने व्यक्ति स्वार्थी हुन्छ, जसले आफूलाई चिनेर अरूलाई दिने प्रयास गर्छ।' आज म पनि स्वार्थी भएको छु तपाईँलाई मेरो भावना गीतबाट बाँडेर आनन्द लिने कोसिसमा छु ।
मन चोरी लाने को हो भनी खोज्न फर्केको ।
यहीँ ठाउँमा छाती मेरो ढुक ढुक भए थ्यो
लोभियो आँखा छोडेर हेर्न मन खुसी भए थ्यो ।
परेलीभित्र डुबेर मैले नाम सोध्न बिर्सेछु
कसलाई सोधौँ उसको गाउँ म आफैँ थाकेछु ।
यो गीत २०५१ सालमा रेकर्ड भएको थियो । यो गीत मैले धेरै अगाडि सृजना गरेको थिएँ । गीत रेकर्ड गर्ने निधो भएपछि फेरि पुरानो नोट बुकबाट झिकेर पुन मिलाउने प्रयास गरेको थिएँ । गीतको पृष्ठभूमिभित्र त्यस्तो महत्त्व लुकेका कथाहरू छैन । तापनि केही अनुत्तरित प्रश्न, कल्पनाका संवेग अझ पनि मस्तिकभित्र चित्रहरू भएर कोरिएका छन् । हरेक मानवसँग हुन्छ , किन त्यस्तो हुन्छ मान्छेको मन ? फिजिकल एनाटोमिस्ट, एनथ्रोपोलोजिष्टलाई समेत आजतक थाहा छैन ।
मैले कोरेको यस गीतका गायक गीतकार प्रसिद्ध पप गायक ओमविक्रम विष्ट हुनुहुन्छ । उहाँको गायन कलालाई नेपाली आधुनिक सङ्गीतको फाँटमा बेग्लै विशिष्ट आयामको रूपले नै हेर्ने गरिन्छ । मैले भन्नै पर्दैन श्रोताहरूले मैले भन्दा प्रचुर मात्रमा ओमविक्रम विष्टको स्वर विषयमा परिचित हुनुहुन्छ । उहाँलाई पपको नेता भनेर पनि चिनिन्छ ।
मैले प्राय विवाहमा बिदाइको पल बेहुलीले रोएको देखेको थिएँ । गाउँमा त झन् भक्कानिएर रोएको देखेको थिएँ तर आजभोलि त्यो मर्मस्पर्शी रुवाइ हुँदैन होला, सायद । आफैँले रोजेर प्रेम विवाह गर्दा पनि सधैँको लागि जन्म घर छोड्नुको पीडाले रोएको नमिठो दर्द देखेको थिएँ । यो भावुक विषय मेरो मनमा गाडा भएर लुकेको थियो जसले यो गीत लेखनमा सहयोगी आधार बनेको थियाे ।
काठमाडाैँमा अध्ययन गर्न छिर्दा स्वतन्त्र थिएँ, तर डर थियो त घरधनीको । महिना पुग्नसाथ भाडा बुझाउनु पर्ने हुन्थ्यो । अन्यथा पिर केही थिएन, अफिस, कलेजपछि रेडियोतर्फ अनायास जान मन लाग्थ्यो । त्यही क्रममा एक दिन गायक ओमविक्रम विष्टसँग भक्तराज आचार्यको पुरानो बिल्डिङ अगाडि उभिइरहनु भएको अवस्थामा भेट भएको थियो । विशिष्ट यी दुवै गायकसँग २०३९-४० सालमा भेट भएको थियो जस्तो लाग्छ । मैले उहाँहरूको गायकीको खुलेरै प्रशंसा गरेको थिएँ ।
भक्तराज आचार्य भित्र मेरो काम छ भनेर जानु भयो । गफ गर्ने मेलोका लागि हामी दुइभाई क्यान्टिनतर्फ गयौँ । गीत लेख्छु भनेर दुईचार गायकको नाम मैले जोडेर आफूलाई प्रस्तुत गर्ने प्रयत्न गरेँ । ओमविक्रम मिजासिलो हुँनु हुँदोरहेछ । विष्णु जी मलाई पनि गीत दिनोस् म मिठो सङ्गीत गरेर गाउँछु भन्नुभयो । मैले नदिने भन्ने कुरै भएन । जसको स्वरले संसार थर्काइरहेको थियो । त्यस दिन मलाई रेडियो धाएको फाइदै भयो भन्ने लाग्याे । यसरी यो गीतको इतिहास निर्माण हुँदै गयो मेरो जीवनको यात्रा जस्तो ।
सायद, मानिसको समय नदी जस्तो बग्दो रहेछ । भन्न नसकिने खोलाको मूल प्रवाह जता बग्छ यतै पानी मोडिएर बगे जस्तो बग्छ मान्छेको जीवन । यस्तै मेरो जीवनको घुम्तीहरू २०४१-२०५० सालसम्म गाउँतर्फ मोडियो । यसपछि मेरो गीत ओमविक्रम विष्टसँग रेकर्ड गर्ने सपना स्थगित मात्र भएन भेट नै टाढा भएर गयो ।
जब फेरि २०५१ सालमा भेट भयो । हाम्रो पुरानो गीत रेकर्ड गर्ने योजना प्रारम्भ भयो । रेडियो नेपालमा रेकर्ड गर्ने योजना त भयो तर उक्त दिन एक वाध्यबाधकको अभावमा गीत रेकर्डिङ हुन सकेन । त्यसपछि हामीले सङ्गम स्टुडियोमा रेकर्ड गरेका थियौँ । रेकर्डिङ सकेर खुसीयाली गर्न गायक ओमविक्रम विष्टले रेस्टुराँ जान आग्रह गर्नु भएको थियो । उहाँले पैसोको बिटो देखाएपछि अन्य साथीहरू नथपिने कुरै भएन । वास्तवमा उक्त समय मेरो लागि अविष्मरनीय रहयो ।
कहिलेकाहीँ अनायास कुनै सानो घटनाले मान्छेको मनलाई समात्न सक्छ, कसैलाई नसमात्न पनि सक्छ । स्रष्टाको अचेतन मनभित्र कुनै वस्तुको आकार खोजिरहेको हुन्छ । सामान्य मान्छेमा त्यो दृष्टि नहुन पनि सक्छ । स्रष्टा कहिले फुर्सदमा हुँदैन तर अन्य मानिसले यो बुझ्दैनन् ।
मैले प्राय विवाहमा बिदाइको पल बेहुलीले रोएको देखेको थिएँ । गाउँमा त झन् भक्कानिएर रोएको देखेको थिएँ तर आजभोलि त्यो मर्मस्पर्शी रुवाइ हुँदैन होला, सायद । आफैँले रोजेर प्रेम विवाह गर्दा पनि सधैँको लागि जन्म घर छोड्नुको पीडाले रोएको नमिठो दर्द देखेको थिएँ । यो भावुक विषय मेरो मनमा गाडा भएर लुकेको थियो जसले यो गीत लेखनमा सहयोगी आधार बनेको थियाे ।
मन नदी न हो । यसलाई कम मान्छेले मात्र तर्न सफल हुन्छ जस्तो लाग्छ। मान्छे भौतिक अभौतिक सबै वस्तुको खोजीले निरन्तर छटपटाइरहन्छ । यस्तो अवस्थामा नसोचेको विचार उत्देलित भएर 'मोडिन' सक्छ । नयाँ इच्छा जाग्न सक्छ । नजर भ्रम हुन सक्छ । कसैलाई फर्केर हेर्न मन लाग्छ । तपाईँलाई फर्केर पुनः कसैले हेर्न सक्छ । अथवा कसैको पनि मन सुन्दरताले लोभिन सक्छ । परिचय गर्न सकिन्छ । यो स्वाभाविक मानवीय विशिष्ट गुण हो । भन्नै पर्दा दुनियाँमा मान्छे त्यसमा पनि युवती र फूल भन्दा कुनै पनि वस्तु सुन्दर हुँदैन । यसलाई अर्को अर्थमा प्रकृति भन्न सकिन्छ । प्रकृति थिएन भने साहित्य जन्मने थिएन । आजसम्म सुन्दरतामाथि लाखौँ स्रष्टाले लेखेर पनि सकेको छैन ।
यस्तै विशुद्ध काव्यिक शब्दको कल्पनाले बुनिएको कविता जस्तो हो यो गीत । यसमा कुनै घटनाको दरिलो प्रभाव छैन । सामान्य देखिरहेको भोगिरहेको कुरालाई मैले मात्र आफ्नो कल्पनाभित्र गालेर मौलिक गीतको सृजना गरेको हुँ ।
मेरो गीतभित्र यस्तै मानवीय मनको विम्ब लुकेको छ । अझ त्यसभित्र आफूले अदृश्य भ्रमवश कसैलाई प्रेम गर्न खोजिएको मिठो कल्पना छ । जुन जीवनमा हरेक मान्छेको अवचेतन मनभित्र अपुरो भएर सलबलाए जस्तो हुन्छ । मेरो गीतलाई मिठो सङ्गीत सृजना गरेर गाउनु हुने वरिष्ठ गायक ओमविक्रम विष्टलाई पनि यहाँ सम्झन चाहन्छु । आज आमाको मुख हेर्ने दिन मेरी आमालाई तथा संसारभरिका आमाहरूलाई समर्पण ।