कोरोना महामारीः  चिनियाँ अनुभव  नेपाली भाषाको पुस्तक बजारमा

कोरोना महामारीः  चिनियाँ अनुभव  नेपाली भाषाको पुस्तक बजारमा

लोकसंवाद संवाददाता  |  कारोबार  |  बैशाख १२, २०७७

काठमाडौँ ।   कोरोना जोखिम नियन्त्रणका लागि मुलुक लकडाउनमा रहेका समयमा कोरोना महामारीको चिनियाँ अनुभव समेटिएको पुस्तक नेपाली भाषामा प्रकाशन भएको छ । 

'साहस र दृढ सङ्कल्पका कथाहरूः कोरोना भाइरसले बन्दी बनेको उहान' शीर्षकको अनूदित पुस्तक मकालु प्रकाशन गृहले प्रकाशन गरेको हो । चीनको विदेशी भाषा छापाखानाले तयार पारेको उक्त पुस्तकलाई नेपाली भाषामा अनुवाद गरी प्रकाशन गरिएको मकालु प्रकाशन गृहले जनाएको छ । 

चीनको उहानबाट उत्पन्न भाइरसको प्रकोप र यसको नियन्त्रणमा चीन सरकार र त्यहाँका जनताले गरेको निरन्तरको प्रयत्न र उनीहरूले हासिल गरेको सफलतालाई पुस्तकमा जीवन्त ढङ्गले प्रस्तुत गरिएको प्रकाशन गृहका प्रबन्ध निर्देशक वासुदेव ढकालले जानकारी दिनुभएकाे छ । कोरोनाको उपचारका लागि अग्रपङ्क्तिमा रहेर कार्य गर्ने चिकित्सक, सुरक्षाकर्मी, पत्रकार र स्वयंसेवकका साथै कोरोना प्रभावितहरूका व्यक्तिगत अनुभवसमेत समेटिएकाले नेपाली पाठकका लागि पुस्तक रुचिकर हुने विश्वास लिइएको ढकालले बताउनु भयाे ।  

सन् २०१९ को डिसेम्बरमा उहानमा देखिएको कोभिड–१९ को सुरुवातीदेखि चीनले त्यसलाई नियन्त्रण गरेको अवस्थासम्मको वीरतापूर्ण अन्तरकथा पुस्तकमा समेटिएको छ । विदेशी भाषा छापाखानाले चिनियाँ, अङ्ग्रेजी र जापानी गरी तीन भाषामा प्रकाशन गरेको उक्त पुस्तक नेपालीलगायत पोर्तुगिज, रुमानियन र थाइ भाषामा पनि प्रकाशित भइसकेको छ भने अन्य विभिन्न भाषामा प्रकाशनका क्रममा रहेको छ ।  डा. विमल कुमार सुवेदीद्वारा अनूदित १२७ पृष्ठको उक्त पुस्तकमा रङ्गिन तस्बिरहरू समेत समावेश रहेका  छन् ।