धर्मगुरुको धार्मिक कार्य घरमै गर्न  आग्रह

धर्मगुरुको धार्मिक कार्य घरमै गर्न  आग्रह

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १२, २०७७

बाँके ।   नेपालगञ्जका मुसलमान धर्मगुरुहरुले कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि परम्परागत तथा धार्मिक कार्य घरमै गर्न आग्रह गर्नुभएको छ । मुुसलमान समुदायको पवित्र पर्व रमजानका पूर्वसन्ध्यामा नेपालगञ्जका धर्मगुरु, मौलाना र अगुवाले जुमाको नमाज, पाँच पटकको नमाज र तराविहको नमाजसमेत घरमै पढ्ने  व्यवस्था मिलाउन सार्वजनिक अनुरोध गर्नुभएको छ । 

केन्द्रीय हज कमिटीका पूर्वअध्यक्ष एवम्  धर्मगुरु मौलाना अव्दुलजव्वार मञ्जरीले  केही दिनमै शुुुुुरु हुने  रमजान पर्वका क्रममा हुन सक्ने पारिवारिक भेटघाटमा पनि सीमा दूरी कायम गर्दै सचेतना अपनाउन आग्रह गर्नुभयो ।

मुसलमान समुदायका केही व्यक्तिमा कोरोनाको सङ्क्रमण देखिएसँगै समुदाय लक्षित सार्वजनिक टीकटिप्पणीप्रति पनि सचेत रहन आह्वान गर्दै मौलानाहरुले समुदायमा रहेका सम्भावित कोरोना सङ्क्रमित र आशङ्कितको पहिचान गरी स्वास्थ्य परीक्षण गर्नगराउन आह्वान गरेको संविधानसभा सदस्य भोला सिद्दिकीले बताउनुभयो । 

नेपालगञ्जमा बिहीबार आयोजित बैठकमा जामा मस्जिद नेपालगञ्जका मुुफ्ती कैफुल वरा खाँ मिसवाही, मदरसा व्यवस्थापन समितिका पूर्वअध्यक्ष मौलानामन्सुर अहमद, जामा मस्जिदका महासचिव इरफान सिद्दिकी, मदरसा गौसियाका सचिव मोहम्मद हारुन, मुस्लिम सङ्गठन नेपालका सहसंयोजक अतहरहुसेन फारुकीलगायतले कोरोना नियन्त्रणमा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न तथा धार्मिक एवं सामाजिक सद्भाव सुदृढ गर्न सामूहिक आग्रह गर्नुभयो ।