नेपाली गीत सङ्गीत संरक्षणको लागि  आधिकारिक सरकारी निकायको अभाव र आवश्यकता

गीत सङ्गीत भन्ने बित्तिकै सबैका मन देखिनै सकारात्मक भाव जागेर नआउने को होला र ? चाहे विकसित होस या अविकसित, जुनसुकै देशको भाषा संस्कृतिको पर्यायवाचीको रूपमा विभिन्न गीतसङ्गीतका धुनहरूलाई लिइन्छ । विभिन्न चाडपर्बहरु सङ्गीतका धुनहरुले नै चिनिन्छ । प्रत्येक देशका राष्ट्रिय धुनहरू सङ्गीतका माध्यमबाटै सबैको मन मनमा पुर्‍याइन्छ र रहन्छन् पनि । 

सङ्गीतका धुन अनुसार हामीसबैलै विभिन्न किसिमका रसहरू लिइरहेका नै हुन्छौ । अहिले लकडाउनको अवस्थामा आफूलाई जे जस्ता गीत सङ्गीतका सृजनाहरू मन पर्छन् तिनैलाई सुनेर, हेरेर आफ्नो मनलाई सन्तुलनमा राख्दै आनन्द लिएर समय विताउँदैछौ । गीत सङ्गीत उत्पादकहरूले बच्चा, तन्नेरी, बृद्धा सबैलाई हेरी हेरी उत्पादन गरेको पाइन्छ । विभिन्न धर्म प्रदायक संस्थाहरूले पनि सङ्गीतका माध्यमबाट समाजमा आफ्नो उपस्थिति जनाइ राखेका हुन्छन् ।

अहिलेको नेपाली गीत सङ्गीतको कुरा गर्दा सन्तुष्ट हुने धेरै ठाउँ छन् । देशदेखि विदेशसम्म फैलिएका नेपालीहरूलाई सङ्गीतकै माध्यमले देशसँग जोडिरहेको हुन्छ र छ पनि । तर वास्तवमा गीत सङ्गीत भित्रको यथार्थ अवस्था के छ त ? त्यही सन्दर्भमा यहाँ केलाउने कोसिस गरिएको छ । केलाउने क्रममा कुनै कमी हुन गएमा पछि विज्ञ मित्रहरूबाट राय सुझाव पाउने आशा गरेको छु । यो लेख लेखिरहँदा विगतमा रङ्गिन पर्दा, खर्चबर्चका कुरा लगायतका केही स्तम्भ लेखिरहँदाको विगतको याद पनि आएको छ ।

नेपाली गीत सङ्गीतका कुरा गर्दा पहिले गीत उत्पादन, ती गीतको वितरण र तिनले प्राप्त गर्ने आम्दानी अर्थात् नाफा घाटाको अवस्थालाई जोड्नु उचित हुन्छ । अहिले अर्थात् लकडाउन भन्दा अघिका दिनहरूलाई आधार मानेर हेर्दा गीत उत्पादन गर्ने संस्थाको कुरा आउँछ । विगतमा स्थापित सरकारी लगानीको रत्न रेकर्डिङ संस्थानको अवसानपछि रेडियो नेपालले आफ्नै स्टुडियोबाट प्रसारण गर्न गीत रेकर्डिङ गर्ने काम आज पनि गरिरहेको छ । तर यहाँ जनताहरूले सिधै गएर गीत रेकर्डिङ गर्न दिने प्रणाली भने छैन ।  जस्का कारण सरकारी सेवा मार्फत गीत उत्पादनको ढोका सहज छैन र अनुकूल पनि देखिँदैन । विगतमा चलचित्र क्षेत्रको उत्थानको लागि खोलिएको चलचित्र विकास संस्थान पनि निजीकरणका नाममा कसैको भयो ती सबै देखिरहँदा  दुःख लाग्नु मात्र हाेइन  विपनाहरू नै यादगार बनीरहेका छन् ।

सरकारी निकायको समन्वयकारी र विवेकपूर्ण सहयोगको खाँचो देखिन्छ । विभिन्न निकायहरू बने पनि झारा टार्ने मात्र परिपाटीका कारण सङ्गीत क्षेत्रमा जसले लगानी गरेका छन् तिनीहरू मारमा छन् भन्न सकिन्छ । गीत,सङ्गीत, चलचित्र क्षेत्रमा हिजोका दिनमा व्यापारी घरानाका लगानीकर्ताहरू पनि थिए तर अरू व्यवसाय जस्तो नभएपछि उनीहरूले यस क्षेत्रलाई निरन्तरता दिएनन् । 

अब निजी क्षेत्रबाट स्थापित कम्पनीहरूका सम्बन्धमा कुरा गर्दा रेकर्डिङ कम्पनीहरूको सङ्ख्या यति नै भनेर यहाँ भन्न नसके पनि धेरै नै छन् । काठमाण्डाैँ उपत्यका र उपत्यका बाहिरका मुख्य सहरहरूमा रेकर्डिङ स्टुडियोहरू पर्याप्त मात्रमा खुलेका छन् । यी स्टुडियोहरूमा आधुनिक गीत, लोक गीत, लाेकदोहोरी, चलचित्र लगायतका लागि विभिन्न धर्म संस्कृति, भेषभुषा लगायत विभिन्न बृतचित्रहरुलाई चाहिने गीत सङ्गीतहरू उत्पादन गर्ने गरिन्छ । यसरी हेर्दा निजी क्षेत्रबाट खुलेका ती कम्पनी या निजी व्यक्तिगत तवरबाट उत्पादनको काम भइरहेको छ । तिनले सकेको योगदान गरिरहेका छन् ।

गीत उत्पादन गर्दा रचनाकार, सङ्गीतकार र गायकको सहकार्यमा निर्माण भएको कुनै पनि  सृजनालाई स्टुडियोमा रेकर्ड गरिन्छ । त्यो रेकर्ड गर्दा लाग्ने लगानी जसले गर्छ, उ आर्थिक रूपमा त्यस सृजनाको हकदार हुन्छ । उत्पादन भैसकेका सृजनाहरू सहजै सञ्चारमाध्यममा बजाउने वा प्रसारण गर्ने अवस्था छैन । त्यसका लागि सबै सञ्चारमाध्यममा सृजना उपलब्ध गराएपछि पहुँचका आधारमा हुने अवस्था छ ।  तथापि आफ्नो सृजना उत्कृष्ट भएमा या आफ्नो पहुँच प्रयोग गर्न सकेमा युट्युबमार्फत बजाउने काम भएको पनि देखिन्छ । यहाँ पहुँच भन्नाले सम्पर्क, समन्वय, विज्ञापन आदिलाई बुझ्दा हुन्छ । हुन त यो कुरा गरिरहँदा सबैलाई त्यस्तो नलाग्ला । अरू देशमा उत्पादन भएका सृजनाहरु त्यही देशको नियम अनुसार किनेर प्रसारक संस्थाहरूले बजाउँछन् ।  अनि सर्जकहरू आर्थिक रूपमा पनि मागेर हिँड्नु पर्दैन । तर हाम्रो देशमा गीत बजाइीदन पनि रकम लिने गरेको पाइन्छ । यो हो कि हैन ? भन्ने सम्बन्धमा नेपाली गीत सङ्गीत क्षेत्रका विज्ञहरूले विश्लेषण गर्नु नै हुनेछ । 

हालको अवस्थामा भने सबैले युट्युबलाई प्रमुख प्रसारकको रूपमा लिएको पाइन्छ । यसो हेर्दा युट्युब यस्तो अन्तर्राष्ट्रिय संस्था बनेको छ ।  जसले संसारका सबै देशमा प्रयोगकर्ताहरूलाई कर्मचारी बनाई रहेछ । बिदशमा रहेको उक्त कम्पनीमा हामीले ढुक्कका साथ सुरक्षित ठानी हाम्रा सृजनाहरू हजारौँ, लाखौँ अपलोड गरिरहेका छौ ।  हामी सुरक्षित भएको र राज्य सहजकर्ता भएको भए हुन्थ्यो भन्ने मलाई लाग्छ तर त्यो त छैन । 

गीत सङ्गीतका सम्बन्धमा सरकारी निकायले सहजीकरण गरी योग्यता क्षमता भएका स्रष्टाहरूले सृजनालाई सरल ढङ्गले ल्याउने वातावरण बनाइदिएको खण्डमा धेरै नै उत्कृष्ट सृजनाहरू आउने थिए । हालको अवस्थामा भने आफूलाई नबुझाउन आफू यस क्षेत्रमा छु है भन्नका लागि पनि लागी परेको अवस्था पनि देखिन्छ । पछिल्लो समय अडियो गीत रेकर्ड गर्न पनि धेरै महँगो छ, भिडिओको त कुरै नगरौँ । क्वालिटीका कुरा र जो चर्चामा छन् उनीहरूले आफ्नो बजार भाउ पनि बढाएका कारण पनि उत्पादन शुल्क महँगो छ । एउटा गीत रेकर्डिङको यती नै पर्छ भनेर भनिँदैन किनभने कसैको पनि एउटै भाउ छैन नत कुनै दर रेट तोकेको नै छ । बजेट पनि मान्छे पिच्छे फरक फरक हुन्छ ।

चलचित्र निर्माण, वितरण र प्रदर्शनका लागि चलचित्र विकास बोर्ड रहेको छ । यसले चलचित्र क्षेत्रका निर्माता कम्पनी, वितरक र चलचित्र प्रदर्शन गर्ने चलचित्र घरहरूलाई मात्र हेर्छ, यहाँ पनि चलचित्रमा प्रयोग हुने गीतहरू मात्र दर्ता गर्ने गरिन्छ । यस बाहेकका अरू सृजनाहरूका लागि  आ-आफैले खोलेका विभिन्न सङ्घसंस्थाहरू छन् तर सरकारी तवरबाट गीत सङ्गीतलाई माथि उठाउन काम गर्नका लागि कुनै निकाय पाइँदैन । व्यक्तिगत तवरबाटै आफ्नो इच्छा पूर्तिका लागि वा व्यवसाय गर्ने व्यक्ति तथा निकायहरू क्रियाशील रहेको पाइन्छ । बिशेषगरी नाम चलेका गायक, सङ्गीतकार र केही गीतकारहरूले मात्र यस क्षेत्रकै कमाइबाट आफ्नो आर्थिक उन्नति गरेको अर्थात् रोजीरोटीको परिपूर्ति गरेका छन् भन्न सकिन्छ ।

विगत लामो समयदेखि काम गरेका कम्पनीहरू जो आफूलाई आजकाल वितरकको रुपमामात्र लिन चाहन्छन् उनीहरूले युट्युब लगायतका विभिन्न अनलाइन माध्यमबाट प्राप्त हुने आम्दानीको आधा हिस्साको वरिपरि रकम पाउने गरेका छन् । तर निश्चित अवधिका लागि भनेर दिएका सृजनाहरू गैर कानुनी रूपमा आफै हकदार बनेर उत्पादक स्रष्टालाई दुःख दिएको कुरा अग्रज श्रष्टाहरुनै बताउँछन् । उस बेला कानुनी ताना बाना नहेर्दा दुःख पाइयो भन्नेहरू पनि छन् भने फेरी केही स्रष्टाहरू तिनै कम्पनीहरू नभएको भए यति पनि हुँदैनथ्यो भन्नेहरू पनि छन् । यसरी हेर्दा सरकारी निकायको समन्वयकारी र विवेकपूर्ण सहयोगको खाँचो देखिन्छ । विभिन्न निकायहरू बने पनि झारा टार्ने मात्र परिपाटीका कारण सङ्गीत क्षेत्रमा जसले लगानी गरेका छन् तिनीहरू मारमा छन् भन्न सकिन्छ । गीत,सङ्गीत, चलचित्र क्षेत्रमा हिजोका दिनमा व्यापारी घरानाका लगानीकर्ताहरू पनि थिए तर अरू व्यवसाय जस्तो नभएपछि उनीहरूले यस क्षेत्रलाई निरन्तरता दिएनन् । 

बिशेषगरी पुराना चलचित्र निर्माण कम्पनीहरू बन्द हुनु, पुराना अनुभवी सृजना उत्पादन गर्ने कम्पनीहरू पनि बन्द हुँदै जाने र नयाँ खोलिएका कम्पनीहरू पनि स्रष्टाहरूको लागि भनिए पनि केवल मुनाफाका लागि मात्र खोलिएकाले नयाँ सृजना बोकेर आएका व्यक्तिहरू बाटाबाटैमा अलपत्र परेको अवस्था छ । उनीहरू सबै डुबाईसकेपछि मात्र आफ्नो वास्तविकता बुझ्न बाध्य हुनुपरेको छ । फेरी कुरो आउँछ सबैले त यसो गरेका छैनन् ,यस्ता घटनाहरू नघट्नका लागि कहाँ गएर बुझ्ने त ?

एउटा आधिकारिक निकाय सङ्गीत क्षेत्रलाई चाहिएको देखिन्छ । मिठा कुराले मात्र पेट भरिँदैन । यी सबै उत्पादित गीत सङ्गीतको सुरक्षा गर्ने र जिम्मा लिने सरकारी निकायको अभाव छ । विभिन्न ऐन कानुन मार्फत अधिकार उपलब्ध गराउने भनिए पनि उपयुक्त सकारात्मक वातावरण छैन । पीडितले उपयुक्त सहयोग पाइरहेका छैनन् । यो लकडाउनमा गीतसङ्गीत क्षेत्रले कति घाटा बेहोरेको छ त ? त्यसको बारे बोल्ने आज को छ त ? न सहजकर्ता नै छ । कमउँदा, खादा, आइरहँदा त कोही चाहिँदैन तर आपतमा त सरकारकै सहयोग चाहिन्छ, राज्य नै चाहिन्छ तसर्थ सधैँ एकनास हुँदैन । सधैँ बाचीरहने, अप्ठेरो पर्दा कहाँ दुख्यो भन्ने पनि चाहिन्छ कि । यो व्यक्तिगत धारणालाई पढेर सल्लाह, सुझाव दिएमा आभारी हुने थिए । 

नेपाली गीत सङ्गीतको जय होस ।