जनता समाजवादी पार्टीको झन्डा विवादमा पर्ने ! बुर्किना फासोको राष्ट्रिय झन्डासँग मेल खायो !!

जनता समाजवादी पार्टीको झन्डा विवादमा पर्ने ! बुर्किना फासोको  राष्ट्रिय झन्डासँग मेल खायो !!

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १२, २०७७

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी बिच एकता भई  २०७७ वैशाख ११ गते बिहीबार निर्वाचन आयोगमा दर्ताको लागि निवेदन दिएको जनता समाजवादी पार्टी, नेपालले प्रयोग गर्ने भनिएको झन्डा विवादमा पर्ने भएको छ ।

२०७७ वैशाख  दशगते बुधवार दुई दल  राष्ट्रिय जनता पार्टी, नेपाल  र  समाजवादी पार्टी बिच सहमति भएको ‘एकताको सहमति पत्र’ को ३ नम्बरमा ‘एकीकृत पार्टीको झन्डा समाजवादी पार्टीले प्रयोग गर्दे आएको आयातकार आकारमा रातो र हरियो रङ्गको बिचमा तारा हुने छ ।’ भनी उल्लेख गरिएको छ । 

यसरी समहती गरी निर्वाचन आयोगमा दल दर्ता प्रयोजनको लागि निर्वाचन आयोग समक्ष दिएको झन्डा हुबहु रूपमा पश्चिमी अफ्रिकी देश बुर्किना फासो गणतन्त्रको राष्ट्रिय झन्डासँग मेल खाएको छ । यस अघि यो झन्डा ‘सङ्घीय समाजवादी फोरम’ले  र नयाँ शक्ति पार्टीसँग एकीकृत भएर बनेको  समाजवादी पार्टीले पनि सोही झन्डा प्रयोग गर्दै आइरहेको थियो । 

यस सम्बन्धमा निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता राजकुमार श्रेष्ठले कुनै पनि देशको राष्ट्रिय झन्डासँग हुबहु मिल्यो भने त्यो ‘दोहोर्‍याउन मिल्दैन’ भन्नुहुन्छ । श्रेष्ठले भन्नुभयो ‘कसैले उजुर नगरेर होला, राष्ट्रिय झन्डा भनेको त्यो देशको राष्ट्रिय पहिचान पनि हो । त्यो देशले आपत्ति गरिहाल्छ नि !’  

जनता समाजवादी पार्टी, नेपालले अहिलेसम्म निर्वाचन आयोगले भने कुनै निर्णय नगरेको समेत प्रवक्ता श्रेष्ठले जानकारी दिनुभएको छ ।