कसरी सम्भव भयो एच.आई.भी.ग्रस्त रोगीको सफल उपचार, यस भाइरसको पस्ने ढोका नै बन्द गरियो

कसरी सम्भव भयो एच.आई.भी.ग्रस्त रोगीको सफल उपचार, यस भाइरसको पस्ने ढोका नै बन्द गरियो

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  फाल्गुन २४, २०७५

समाचार आयो– बेलायतको लण्डनमा एक जना ‘एच.आई.भी.’संक्रमित व्यक्ति पूर्णतः रोगमुक्त भएका छन् ।

उनको परिचय गोप्य राखिएको छ र उनलाई ‘लण्डन प्यासेन्ट’ नाम दिइएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार उनी विगत तीन वर्षदेखि एच.आई.भी. भाइरस मुक्त बनेका छन्, विगत १८ महिनादेखि त ‘लण्डन प्यासेन्ट’ले यससम्बन्धी औषधि सेवन गर्न पनि छाडेका छन् । उनको उपचारमा संलग्न एकजना भारतीय मूलका चिकित्सक रवीन्द्र गुप्ताले भने, ‘हामीले उनको रगत जाँचमा कुनै पनि भाइरस भेटेनौ, उनको ब्लड रिपोर्ट ‘एच.आई.भी. नेगेटिभ’ छ ।’

‘एच.आई.भी.’ संक्रमित भएर ‘एच.आई.भी.’ मुक्त हुने उनी संसारकै दोस्रो व्यक्ति बन्न पुगेका छन् ।     ‘एच.आई.भी.’बाट ग्रसित भएर यस भयावह दुर्दान्त रोगबाट पूर्णतः स्वास्थ्य लाभ गर्ने पहिलो भाग्यमानी व्यक्ति भने जर्मनीको बर्लिनमा बसोबास गरिरहेका अमेरिकी नागरिक टिमोथी रे ब्राउन (Timothy Ray Brown) हुन् । उनी विश्वभरी ‘बर्लिन प्यासेन्ट’का नामले प्रसिद्ध छन् । 

बर्लिन प्यासेन्ट टिमाेथी रे ब्राउन

टिमोथी सन् १९९५ मा बर्लिनमा अध्ययनरत रहँदा ‘एच.आई.भी.’ संक्रमित बन्न पुगेका थिए । उनको उपचारमा संलग्न डा. गेरो हटरले फेबु्रअरी २००७ मा ‘बोनम्यारो ट्रान्सप्लान्ट’ गरे । सन् २००८ मा बोस्टनमा भएको ‘सिआरओआई’ कन्फ्रेन्समा यसबारे जानकारी दिँदै डा. गेरोले भने, ‘रोगीमा स्टेम सेल ट्रान्सप्लान्ट’ले उसलाई ‘एच.आई.भी.’ मुक्त बनायो र पहिलो दिनदेखि नै रोगीले ‘एन्टी रेट्रोभाइरल थेरापी’ लिनु परेन ।’ 

नथालिया होल्टले आफ्नो पुस्तक ‘क्योरडः द पिपुल हु डिफिटेड एचआइभी’मा यस केसबारे बृहत् चर्चा गरेकी छन् । आधुनिक ‘मेडिकल साइन्स’, उन्नत विज्ञानको जानकारी हामी सामान्य मानिसमा नहुनु स्वाभाविक नै हो । हामीले सुनी आएको प्राणघातक रोग ‘एच.आई.भी.’ संक्रमण जुन कालान्तरमा ‘एड्स’मा परिणत हुन्छ, हामीमा यो कसरी निको भयो होला भन्ने जान्न उत्सुकता हुनु पनि स्वभाविक नै हो । 

हामीलाई थाहै छ ‘एच.आई.भी.’को ‘भाइरस’ले मानिस शरीरमा पसेर उसको प्रतिरोधक क्षमतालाई समाप्त गरिदिन्छ । अब यो ‘स्टेम सेल प्लान्टेन्सन’ले त्यो समाप्त हुँदै गइरहेको प्रतिरोधक क्षमतालाई कसरी पुनः ब्युताउँछ ? यसबारे भारतको उत्तर प्रदेश राज्यको राजधानी लखनउका डाक्टर स्कन्द शुक्लाले बडो मनोरक तरिकाले बुझाएका छन् । पढौ, डा. स्कन्दको यस उपचार पद्धतिबारे जानकारीमूलक लेख –
उत्साह–उल्लास–उत्सवको यस क्षणमा हामीले आफ्नो धरातल बिर्सनु हुन्न । 

                                                               लेखक-डा. स्कन्द शुक्ला

तपाईँ मेरो घरमा आउन चाहनु हुन्छ र तपाईँ मेरो शत्रु हो । तपाईँलाई मेरो घरमा रहेका दुवै ढोकाबारे थाहा छ र यिनै दुवै ढोकाबाट तपाईँ मेरो घरमा छिर्ने दाउ ताक्नुहुन्छ । मैले आफ्नो सुरक्षाका लागि एउटा ढोकाको ‘डिजाइन’ फेरिदिए । अब यस ‘डिजाइन’ फेरिएको ढोकाबाट तपाईँ मेरो घरभित्र पस्न सक्नु हुन्न । यो मेरो तपाईँमाथि जीत हो । मेरो घरको एउटा ढोका तपाईँका लागि बन्द भयो । 

लण्डनमा एक जना व्यक्ति, जसको पहिचान गोप्य राखिएको छ । उनलाई ‘लण्डन प्यासेन्ट’ नाम दिइएको छ । उनी ‘एच.आई.भी.’ संक्रमणबाट मुक्त भएको खबर तपाईँले पनि पढ्नुभयो होला । निश्चय पनि यो अत्यन्त ठूलो कुरा हो, यसले संसारभरीका ‘एच.आइ.भी.’ग्रस्त मानिसहरूमा आशाको नवसंचार हुनेछ । तर, चिकित्सा विज्ञानको यस महत्वपूर्ण उपलब्धिमा हर्ष–आनन्द मनाउनुभन्दा पहिला हामीले ‘एच.आइ.भी.’ र ‘एच.आइ.भी.’ मुक्तिबारे केही कुरा बुझ्नु् आवश्यक हुन्छ । 

‘एच.आइ.भी.’ एउटा विषाणु (भाइरस) हो । यो विषाणु शरीरका कोशिकामा जुन अणुमार्फत् प्रवेश गर्छ, त्यसलाई ‘मेडिकल साइन्स’को भाषामा ‘सीडी चार’ भन्ने गरिन्छ । यो ‘सीडी चार’ अणु ‘मैक्रोफेज’ -Macrophages_ र एउटा विशेष किसिमको ‘लिम्फोसाइट’ -Lymphocytes_ को सतहमा हुने गर्छ । ‘सीडी चार’युक्त यो ‘लिम्फोसाइट’ मानव शरीरका लागि अति महत्वपूर्ण छन् भन्ने कुरा यसैबाट बुझ्नुस्, ‘यिनलाई शरीरको ‘मास्टर कोशिका’ पनि भन्ने गरिन्छ । 

यी ‘लिम्फोसाइट’ नै ती कोशिका हुन्, जसले अन्य सबै रक्षक कोशिकालाई कीटाणुसँग लड्ने सामथ्र्य प्रदान गर्छन् । सोझो सरल अर्थमा तपाईँ बुझ्न सक्नुहुन्छ, ‘सीडी चार’ कोशिका दुर्बल–निर्वल हुनासाथ हाम्रो शरीरको प्रतिरक्षा प्रणाली ध्वस्त हुन्छ । ‘एच.आइ.भी.’ भाइरसले यही काम गर्छ । ‘एच.आइ.भी.’ले हाम्रो शरीरमा रहेको ‘सीडी चार’ नामक ‘लिम्फोसाइट’हरूलाई पंगु बनाइदिन्छ । यसले गर्दा शरीरको प्रतिरक्षा तन्त्र विस्तारै नष्ट हुँदै जान्छ । 

‘एच.आइ.भी.’ जब कोशिकाभित्र पस्ने प्रयास गरिरहेको हुन्छ, त्यसबेला उसलाई अन्य अणुहरूसँग पनि सम्पर्क गर्नु आवश्यक हुन्छ । यी दुइटा अणु हुन् ‘सीसीआर पाँच’ र ‘सीएक्ससीआर चार’ । मानव शरीरका अधिकांश कोशिकामा यी दुवै अणु उपस्थित रहन्छन् । ‘एच.आइ.भी. भाइरस’ मा रहेको ‘प्रोटिन जीपी १२०’ जोडिन पुग्छ मानव कोशिकामा रहेको ‘सीडी चार’ र ‘सीसीआर पाँच’ एवम् ‘सीएक्ससीआर चार’सँग । यसरी सुरु हुन्छ ‘एच.आइ.भी.’ संक्रमणको डरलाग्दो शृंखला । 

भन्न सकिन्छ मानव शरीरमा ‘एच.आइ.भी. भाइरस’ ले पस्नु र प्रतिरक्षा तन्त्रलाई तहसनहस बनाउनुका पछाडि वास्तवमा एउटा ‘विषाणु–प्रोटिन’ले मानव कोशिकाको प्रोटिनसँग सम्बन्ध गास्ने प्रक्रियाबाट प्रारम्भ हुन्छ । 

अब यहाँनिर के कुरा बुझ्नुस् भने, ‘मानव कोशिकामा रहेको ‘सीसीआर पाँच’ नामक अणु रूपी ढोकाको ‘डिजाइन’ यदि परिवर्तित गरिदिने हो भने ‘एच.आइ.भी. भाइरस’का लागि कोशिकामा पस्ने एउटा ढोका बन्द हुन पुग्छ । परिवर्तित भएको ‘सीसीआर पाँच’ नामक अणुले ‘एच.आइ.भी. भाइरस’को शरीरभित्र पस्ने संभावनामा विराम लगाइदिन्छ । लण्डन र बर्लिनका ‘एच.आइ.भी.’ संक्रमित व्यक्ति टिमोथी रे ब्राउनको केसमा ‘स्टेम सेल ट्रान्सप्लान्ट’ले यही कार्य सम्पादित गरेको हो । उनीहरूमा अनुवांशिक रूपमा रहेको ‘सीसीआर पाँच’ नामक अणुलाई परिवर्तन गरिएको हो । सोझो अर्थमा बुझ्नुस्, यिनीहरूको कोशिकामा रहेको ‘सीसीआर पाँच’ शुद्ध थियो, स्वस्थ्य थियो, त्रुटिरहित थियो, जसले गर्दा ‘एच.आ.भी. भाइरस’का लागि ढोका खुला रहेको थियो । 

यसबारे अझै चर्चा गरौं । भर्खरै जुन समाचार तपाईँहरूले पढ्नुभयो, ‘लण्डन प्यासेन्ट’ ‘एच.आइ.भी.’ संक्रमणबाट मुक्त भए । ती महाशय ‘एच.आइ.भी.’ग्रस्त हुनुका साथै ‘हाँजकिन लिम्फोमा’ क्यान्सरबाट पनि पीडित थिए । सुनमा सुगन्धको उल्टो यसलाई के रूपक दिने ! एउटा महारोग त थियो नै त्यसमाथि अर्को महारोग पनि थपियो । 

हुन त उनलाई क्यान्सर हुनुमा पहिलो महारोग ‘एच.आइ.भी.’ संक्रमणको ठूलो भूमिकालाई नजरअन्दाज गर्न मिल्दैन । किनकी ‘एच.आइ.भी.’ संक्रमणले उनको प्रतिरक्षा तन्त्रलाई बेकम्मा बनाइदिएको थियो । स्मरण रहोस्, प्रतिरक्षा तन्त्रले कीटाणुबाट मात्रै हाम्रो रक्षा गर्ने होइन, यसले क्यान्सर हुनबाट पनि जोगाउँछ । 

यिनको उपचारमा संलग्न डाक्टरहरूले गरेका के हुन् भने सबैभन्दा पहिला उनीहरूले यस्तो व्यक्ति खोजे, जुन व्यक्ति जन्मिदै आफ्नो कोशिकामा त्रुटिपूर्ण ‘सीसीआर पाँच’ लिएर जन्मेको थियो । त्यसपछि डाक्टरहरूले त्रुटिपूर्ण ‘सीसीआर पाँच’ भएका व्यक्तिको अस्थिमज्जा (बोन म्यारो) ‘एच.आइ.भी.’ग्रस्त रोगीमा प्रत्यारोपित गरिदिए । 

यस नयाँ अस्थिमज्लाले (बोन म्यारो) ‘एच.आइ.भी.’ रोगीमा नयाँ बन्ने कोशिका ‘अस्थिमज्जा दाताझैं’ त्रुटिपूर्ण ‘सीसीआर पाँच’ रहेको कोशिका निर्माण गरे । ‘सीसीआर पाँच’ त्रुटिपूर्ण हुन गएकाले ‘एच.आइ.भी.’ भाइरसको कोशिकामा पस्ने ढोका बन्द हुन गयो । फलस्वरूप विस्तारै विषाणुको ‘लोड’ कम हुँदै गयो । विषाणुले नयाँ कोशिकामा प्रवेश गर्नै पाएनन् । अन्ततः विस्तारै उनी ‘एच.आइ.भी.’ मुक्त हुन पुगे । पछि त उनले ‘एच.आइ.भी.’को औषधी सेवन पनि गर्न छाडिदिए । 

डेढ वर्षको अन्तरालपछि उनको शरीरमा ‘एच.आइ.भी.’ भाइरस रहेको पाइएन र डाक्टरहरूले उनलाई ‘एच.आइ.भी.’मुक्त घोषणा गरे । 

यो प्रशंसनीय कार्य भारतीय मूलका डाक्टर रवीन्द्र गुप्ताले गरेका हुन् । मानवतालाई खुसी मनाउने अवसर प्राप्त भएको छ । तर कैयन प्रश्न भने अझै अनुत्तरित छन् । 

                          डा‍. रवीन्द्र गुप्ता

के ‘एच.आइ.भी.’ भाइरस ‘सीसीआर पाँच’कै सहयोग/सहायताले शरीरमा प्रवेश गर्छ ? उत्तर हुन्छ, ‘होइन हजुर’ । ‘एच.आइ.भी.’ भाइरस ‘सीएक्ससीआर चार’ का माध्यमले पनि कोशिकामा प्रवेश गर्छ । यसो हो भने के ‘एच.आइ.भी.’ भाइरस यस दोस्रो अणु अथवा ढोकाले शरीरभित्र प्रवेश गर्न सक्दैन र ?

मन खिन्न भए पनि यसको जवाफ, ‘सक्छ नै हो ।’ ‘एच.आइ.भी.’ विषाणुको दुईवटा ‘क्याटोगोरी’ छन् । एक ‘क्याटोगोरी’का विषाणु ‘सीडी चार’ र ‘सीसीआर पाँच’ का माध्यमले शरीरमा प्रवेश गर्छन् र अर्को ‘क्याटोगोरी’का विषाणु ‘सीडी चार’ र ‘सीएक्सीआर चार’ को माध्यमले शरीरमा प्रवेश गर्छन् । हामीले मात्र पहिलो ‘सीसीआर पाँच’को बाटोलाई थुनेका छौं, ‘सीएक्ससीआर चार’ को बाटो अझै पनि खुला छ । 

(‘एच.आइ.भी.’ विषाणुको दुई ‘क्याटोगोरी’बारे चर्चा अर्को लेखमा ।)