हिमानी कोषद्वारा काठमाडौँ मेडिकल कलेजलाई ५ सय थान पिपिई लगायतका सामग्री हस्तान्तरण

हिमानी कोषद्वारा काठमाडौँ मेडिकल कलेजलाई ५ सय थान पिपिई लगायतका सामग्री हस्तान्तरण

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १४, २०७७

काठमाडौँ । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस  नियन्त्रण र उपचारमा अहम् भूमिका खेलेको भन्दै  हिमानी कोषले काठमाडौँ मेडिकल कलेज सिनामंगललाई  पिपिई,मास्क र स्यानिटाईजार जस्ता समाग्रा  उपलब्ध गराएको छ । 

हिमानी कोषको बालुवाटारस्थित कार्यालयमा २०७७ वैशाख १४ गते आइतबार कलेजकी प्रमुख कार्यकारी अधिकृत प्रा. डा.चन्दा कार्की लगायतका पदाधिकारीलाई कोषका तर्फबाट उक्त सामग्री हस्तान्तरण गरिएको थियो । यसरी हस्तान्तरण गरिएका सामग्रीहरूमा ५ सय थान पिपिई, के ९५ (k95) मास्क ५ सय र सर्जिकल मास्क ५सय गरी १ हजार थान र ५ सय थान पन्जा कलेज प्रयोजनको लागि उपलब्ध गराइएको थियो । 

यसको अलावा कोरोना भाइरस सम्बन्धी सचेतना एवं समाचार सम्प्रेषणमा अग्रणी भूमिका निभाउने २० वटा सञ्चार गृहका करिब एक सय थान पिपिई,मास्क र स्यानिटाइजर लगायतका सामग्री काठमाडौँ महानगरपालिका वडा नं ४ का वडा अध्यक्ष दीपक के.सीको उपस्थितिमा वितरण गरिएको थियो । 

हिमानी कोषका अनुसार कोरोना भाइरस नियन्त्रण र रोकथाममा सहयोग पुर्‍याउने उद्देश्यले कोषका आजीवन सदस्यद्धय प्रभुसम्सेर राणा र श्रीमती राजी राणाले एक करोड नगद उपलब्ध गराउनु भएको र सोही सहयोगबाट उक्त सामग्री उपलब्ध गराइएको जनाइएको थियो । साथै कोषलाई प्रतीक विक्रम राणा र विभु राणाबाट समेत सहयोग प्राप्त भएको जनाइएको छ  ।  

यसरी उपलब्ध  गराइएको सहयोग सामग्री बुझ्दै काठमाडौँ मेडिकल कलेज सिनामंगलकी प्रमुख कार्यकारी अधिकृत प्रा.डा.चन्दा कार्कीले नेपाल सरकारसँग हातेमालो गर्दै कोरोना भाइरस विरुद्ध जुधिरहेको कलेजलाई यसरी सामग्री प्रदान गर्नुभएकोमा कोषलाई धन्यवाद दिनुभएको थियो । यसले कलेजलाई भाइरस नियन्त्रण र उपचारमा थप बल पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।