चेम्बरको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि वित्तीय प्याकेज ल्याउन सरकारलाई सुझाव

चेम्बरको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि वित्तीय प्याकेज ल्याउन सरकारलाई सुझाव

लोकसंवाद संवाददाता  |  पर्यटन  |  बैशाख १६, २०७७

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले कोभिड–१९ बाट नराम्ररी असर परेको नेपालको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि वित्तीय प्याकेज ल्याउन सरकारसँग माग गरेको छ । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठसहितको प्रतिनिधिमण्डलले सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसमक्ष सुझाव पेश गर्दै सबैभन्दा बढी प्रभावित होटल तथा एयरलाइन्सलाई वित्तीय प्याकेजमार्फत उद्धार गर्न आग्रह गरेको हो ।

कर छुट तथा एयरपोर्ट चार्जलगायतमा सुविधासहित वित्तीय सहयोग प्रदान गर्न तथा ऋण, ऋणको ग्यारेन्टी, कर्पोरेट बन्डमा सरकार वा राष्ट्र बैंकबाट टेवा दिनुपर्ने चेम्बरले माग गरेको छ । आन्तरिक पर्यटनलाई प्राथमिकतामा राखेर योजना बनाउन आग्रह गरेको चेम्बरले कोभिड–१९को प्रभाव कम हुनेबित्तिकै आन्तरिक पर्यटन प्रवद्र्धनमा ध्यान केन्द्रित गर्न आग्रह गरेको छ । यसका लागि सरकारले अनिवार्यरूपमा वर्षको एकपटक निजामती तथा सङ्गठित संस्थाका कर्मचारी र आम नागरिकलाई प्रोत्साहन प्याकेजसहित आन्तरिक भ्रमणमा प्रेरित गर्नुपर्ने चेम्बरको माग छ ।

कोभिड–१९का कारण सेवा क्षेत्रभित्र समेत पर्यटन र होटल क्षेत्र बढी प्रभावित भएको बताइन्छ । हाल चीनमा कोरोनाको प्रकोप क्रमशः नियन्त्रण हुँदै गएको सन्दर्भमा आउँदो सेप्टेम्बर–अक्टोबर महिनामा शुरु हुने पर्यटकीय ‘सिजन’मा चीनका विभिन्न शहरबाट पर्यटक भित्र्याउनेतर्फ सरकारीस्तरमै पहल गरिनुपर्ने माग गरिएको छ ।

नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स र चाइनिज एयरलाइन्सले चीनको विभिन्न शहरबाट प्रतिस्पर्धी प्याकेजमा पर्यटक भित्र्याउनेतर्फ पहल गर्न पनि चेम्बरले सुझाएको छ । पर्यटन क्षेत्रमा डिसइन्फेक्सनलाई पहिलो प्राथमिकतामा राखी अनिवार्य गर्ने तथा कडाइका साथ अनुगमनसमेत गर्न, हवाईजहाज, बस, कारसहित बास बस्ने स्थान होटल, रिसोर्ट, घरबास, रेस्टुरेन्ट तथा विमानस्थल, बस बिसौनी, टिकट तथा चेकइन काउन्टर, सङ्ग्रहालय, ¥याफ्टिङ–बन्जी–प्याराग्लाइडिङ–साइक्लिङ–बोटिङ–हात्तीसफारी लगायतका पर्यटकीय क्षेत्र र साधनमा नियमितरूपले डिसइन्फेक्ट गर्नुपर्ने र यसबाट सुरक्षाको महसुस गराउन सकिने चेम्बरले जनाएको छ ।

पर्यटन मन्त्रालयले पर्यटन रिभाइवलको योजना तथा कार्यक्रम बनाउन र सरोकारवाला निकायसँग प्रभावकारी समन्वय गरी अन्तर्राष्ट्रिय नेटवर्कलाई उपयोग गर्ने र २०२२ सम्म ‘रिभाइवल’का लागि विशेष कार्यक्रम बनाई कार्यान्वयन गर्न आग्रह गरिएको छ । धार्मिक पर्यटन प्रवद्र्धनमा जोड दिई मेडिकल टुरिजम, होमस्टे एग्रो टुरिजम, कल्चरल टुरिजमलगायत विधागत पर्यटन प्रवद्र्धनका लागि ठोस कार्यक्रम ल्याउन सुझाइएको छ ।

चेम्बरको सुझावमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन तथा अन्य मुलुकका हवाई सेवाप्रदायकसँग सम्पर्क गरी वायु सेवा उडान कहिलेदेखि सुरक्षितरूपमा सञ्चालन गर्न सकिन्छ सो बारेमा छलफल गरी नेपाल वायु सेवा निगमलाई समेत सञ्चालन गर्न पहलकदमी गर्न भनिएको छ ।

त्यस्तै पर्यटक चाप घटेको यो बेलामा पर्यटन पूर्वाधारको निर्माणलाई तीव्रता दिइनुपर्ने, राष्ट्रिय गौरवका आयोजनाका रूपमा रहेका भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई तीव्रता दिन तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरीकरण गर्न आग्रह गरिएको छ । सम्पूर्ण वायुयानका पार्टपूर्जामा कर छुटको व्यवस्था गर्न, हवाई इन्धनमा सहुलियतलगायतको व्यवस्था गर्न माग गरिएको छ ।