विद्यालयको अनलाइन कक्षाः प्रविधिको ज्ञान र पहुँच नहुँदा शिक्षक, विद्यार्थी र अभिभावकलाई सास्ती !

विद्यालयको अनलाइन कक्षाः  प्रविधिको ज्ञान र पहुँच नहुँदा शिक्षक, विद्यार्थी र अभिभावकलाई सास्ती !

निर्जला कक्षपति  |  दृष्टिकोण  |  बैशाख १६, २०७७

हिजोआज हाम्रा केटाकेटीले ल्यापटप अगाडि बसेर पढ्न थालेको तस्बिर सामाजिक सञ्जालमा निकै नै देख्न पाइन थालेको छ । सानो उमेरमै प्रविधिमा अभ्यस्त भएर पढ्न पाउनु एक हिसाबले निकै नै राम्रो कुरा हो । लकडाउनले हामीलाई घर भित्रै बन्दाबन्दीको अवस्थामा पर्‍याएपछि राजधानीमा सञ्चालित निजी विद्यालयुहरुले पनि आफ्ना विद्यार्थीलाई अनलाइन पढाउन थालेको छन् केही पढाउने तयारी गरिरहेको जानकारी दिइरहेका छन् ।   निजी विद्यालयले तयारीपूर्वक अनलाइन शिक्षा सुरु गरेको हो कि ? लहडमा वा यस्तो अवस्थामा आफ्नो विद्यालयको उपस्थिति नदेखिएला भन्ने डरले  बग्रेल्ती रूपमा अनलाइन पढाई सुरु गरेको वा गर्न लागेको प्रचार गरेका हुन । सरकारका तर्फबाट पनि लकडाउनका कारण तुरुन्तै विद्यालय सुचारु गर्न नसकिने हुँदा अब सरकारी विद्यालयमा समेत अनलाइन कक्षा सुरु गर्ने सङ्केत शिक्षामन्त्रीले समेत दिई सक्नुभएको देखिन्छ ।  

के हाम्रा विद्यालयले अनलाइन कक्षा सुरु गर्नाका लागि पूर्व तयारी गरी सकेका छन् त ? अथवा अनलाइनमा पढाउन सुरु गरिसकेका विद्यालयले तयारी गरेरै कक्षा सञ्चालन गरेका छन् त ? यसको निरीक्षण र अनुगमन कसले गर्ने ? तर यहाँ त मन्टेश्वरीमा पढ्ने बच्चालाई पनि अनलाइनमा पढाउने भनी निजी विद्यालयले अभिभावकलाई सूचित गरेको पाइन्छ ।  बच्चालाई भुलाउन सकिने ससाना गृहकार्य अनलाइनमा पठाउन थालिसकेका छन् । मन्टेश्वरी पढ्ने बच्चाले, स्कुलले दिएको गृहकार्य आफै कसरी गर्न सक्लान् ? एक पछि अर्को गर्दै दिएका इन्ट्रक्सन लाई बच्चाले कसरी बुझ्न सक्छन् ? यसको लागि बाबु अथवा आमा अब स्कुलले भनेको तरिका अनुसार अनलाइनमा गृहकार्य गराउन तयारी अवस्थामा बस्नु पर्ने भएको छ ।  अनलाइनमा पढाएको शुल्क निजी विद्यालयले कसरी लिने हुन् त्यो त हेर्न भने बाँकी नै छ ।

अनलाइन कक्षा भनेको शिक्षक स्वयं उपस्थित हुन्छन् अनि आफ्ना कक्षाका सबै विद्यार्थीलाई समेट्ने गरी पढाउने कुरा हो । अनलाइनकै माध्यमबाट शिक्षक र विद्यार्थीको प्रत्यक्ष भेट हुन्छ । विद्यार्थीले नजानेका कुरा तथा नबुझेका कुरा तुरुन्त आफ्ना शिक्षकसँग सोध्न सक्छन् । यदि शिक्षकले भनेको समयमा विद्यार्थी विविध कारण उपस्थित हुन सकेनन्  वा विद्यार्थीले चाहेको समयमा पढ्न सकेन भनी शिक्षकले पढाएको पाठ रेकर्ड गरी राखिएको हुन्छ ताकि विद्यार्थीले दोहोराएर पनि पढ्न सकुन् र नबुझेको कुरा फेरी सुन्न सकुन् । तर दुःखको कुरा यहाँ त यस्तो पढाइको अधिकांश विद्यालयमा अनुभव नै छैन । न विद्यालयका अभिभावकसँग अनुभव छ न विद्यार्थीसँग ।  कतिपय विद्यालयले शिक्षकको फेसबुक आइडी खोलेका छन् र त्यही आइडीमा विद्याथीलाई जोडिन भनेका छन् । न शिक्षक उपस्थित हुन्छन्, न पढाउँछन्, न त बच्चाबच्चीलाई केही समस्या छ की भनेर सोध्छन् । शिक्षक नै उपस्थित नहुने अनि पढाउँदै नपढाए पछि कहाँबाट विद्यार्थीसँग दोहोरो छलफल हुनु ?  

अनलाइनमा पढ्ने नाउँमा बच्चालाई ट्याव, मोबाइल र ल्यापटप थमाइदिँदा बच्चाले आफूलाई चाहिने सामग्री खोज्नु भन्दा नराम्रा साइटहरू हेरेर बच्चा बिग्रन सक्ने डर पनि उत्तिकै छ । अभिभावकले यस कुरामा ख्याल गर्नु पनि उत्तिकै जरुरी छ । यसै गरी अनलाइन शिक्षा नयाँ भएको हुँदा, शिक्षाका व्यापार गर्नेहरूले अभिभावकलाई ठग्न सक्ने जोखिम उत्तिकै छ । त्यसैले अभिभावक चनाखो हुनु बाहेक अर्को विकल्प छैन । 

लकडाउन हुनुभन्दा अघिल्लो दिनसम्म विद्यालय वा अधिकांश अभिभावकले फेसबुकमा अघोषित रूपमा प्रतिबन्ध नै लगाइएको थियो भन्ने कुरा यहाँ भुल्न हुँदैन । कतिसम्म भने फेसबुक खोलेको आधारमा कति विद्यालयमा रहेका ‘डिआई’ मार्फत यातना दिएको र मोबाइल लिइदिएको दृष्टान्तलाई भुल्नु हुँदैन । यस्तो अवस्थामा एक्कासि मेसेन्जर वा अनलाइन कक्षा कति सम्भव छ ? यसका लागि पूर्व तयारी आवश्यक छ कि छैन ? विद्यार्थी अनेत्र जालान् भनेर अनेक तानाबाना बनाएर निजी विद्यालयले शुुरु गरेका यस्ता कक्षा कति प्रभावकारी हुने हुन ?

यसका लागि कति अभिभावकसँग इन्टरनेटको उपलब्धता छ हेर्न पनि जरुरी छ । सहर बजारमा बसे भन्दैमा सबैसँग इन्टरनेटको पहुँच छ भन्ने हुँदैन । यस्तो अवस्थामा  इन्टरनेटमा पाठ्यसामग्री खोजेर लिङ्क राखी दिने अनि अनलाइन कक्षा भन्ने  गरेको समेत पाइन थालेको छ । कुनै विद्यालयले विद्यार्थी वा अभिभावकको सेन्जरमा ‘असाइनमेन्ट’  दिने गरेका छन् । अनि उत्तर तिमीले गुगल, किताब, पत्रपत्रिका जहाँबाट पनि खोजेर लेख्न सक्छौ भनिएको हुन्छ । शिक्षकको उपस्थिति बिना, त्यो पनि नपढाईकन ‘असाइनमेन्ट’ले मात्र बच्चाले कसरी पूरा गर्लान् ? यसका लागि अभिभावक आफ्ना छोराछोरीको पुच्छर नै भएर लाग्नु पर्ने स्थिति सृजना भएको छ । अर्को तर्फ यो पुच्छर लाग्ने ज्ञान र क्षमता भएका कति अभिभावक छन् ? यो अर्को प्रश्न त छँदैछ ।  

अझै पनि हाम्रो देशमा सबै अभिभावकहरूमा  प्रविधिको उपलब्धता र निपूर्ण छैन । अनलाइन शिक्षा नेपालको लागि नितान्त नौलो पढाइ हो । नयाँ नयाँ प्रविधि उपलब्ध नभएका र नजान्ने अभिभावहरु धेरै छन् । अनलाइन कक्षाका नामा धेरै अभिभावक स्मार्ट मोबाइल सेट किन्न समेत अभिभावकलाई ठुलै दबाब परेको छ । 

धेरैको हातमा मोबाइलमा केही हदसम्म सहरी क्षेत्रमा पहुँच पुगेको छ । तर सामान्य समस्या देखियो भने आफ्ना छोराछोरीलाई लौन नानी ! मेरो मोबाइल के भयो हेरिदेउन् भन्ने हिजोदेखि चलेकै छ । आफ्ना स– साना छोराछोरीलाई मोबाइल देखाउने अभिभावकहरू धेरै छन् । यसै गरी मोबाइल र ल्यापटपमा दिइएका सूचना तथा इन्सट्रक्सन नबुझ्ने अभिभावकको सङ्ख्या धेरै छन् । आफूले खाइ नखाई सागको मुठा बेचेर भए पनि आफ्ना छोराछोरीलाई निजी विद्यालय पढाएका अभिभावकहरूका लागि यसरी दिइएका सूचनाहरू बुझ्न निकै नै धौ धौ  हुनु स्वाभाविक हो ।  बरु बच्चाले नै यस्तो होला उस्तो होला भन्दै मोबाइल चलाएर समस्याको समाधानको बाटो केही हदसम्म खोज्न सक्लान । तर  अभिभावकलाई पनि बच्चाको पढाइमा सहयोग र सामेल हुन विद्यालयले निर्देशन दिएर के गर्नु ? प्रविधिलाई चलाउन नजाने पछि ।

यसै गरी सरकारी विद्यालयमा पढाउने धेरै शिक्षकले अझै कम्प्युटर चलाउन जानेका छैनन् । कम्प्युटर हेरेर नयाँ नयाँ सूचना लिएर पढाउने शिक्षक त हालका औँलामा गन्न सकिन्छ । हेडमास्टरको कक्षा कोठामा एउटा कम्प्युटर राखिएको हुन्छ त्यो पनि धुलो नै धुलो भएको अवस्थामा हुन्छ । कहिल्यै कम्प्युटर खोलेर काम गर्लान् जस्तो लाग्दैन । यसै गरी कति जना शिक्षकले स्मार्ट फोन बोक्छन् र त्यसको उपयोग गर्न जान्छन् भन्ने प्रश्न केलाउनु पनि उत्तिकै जरुरी छ । स्मार्ट फोन बोक्नेहरू पनि फेसबुक चलाउन मै बढी समय खर्चिएको पाइन्छ । विद्यार्थीलाई चाहिने सामग्री तयार पारेर कक्षा कोठा पस्ने शिक्षक नगण्य छन् । कतिपय ठाउँमा इन्टरनेट राम्ररी आउँदैन । जो शिक्षक कम्प्युटर सम्बन्धी सामान्य ज्ञान पनि राख्दैनन् अनि त्यस्ता शिक्षकले अनलाइन शिक्षा कसरी दिन्छन् ?

त्रिवीले अनलाइन कक्षा सञ्चालन निर्देशिका जारी गरी सकेको अवस्था छ । जसलाई जसरी मन लाग्यो त्यसरी कक्षा सञ्चालन गरिरहेको अवस्थामा निर्देशिकाको प्रभावकारितामा विज्ञहरूले शङ्काको नजरले हेर्नुपर्ने अवस्था छ ।  

सरकारले केही वर्ष अगाडि धेरै रुपैंया खर्चिएर शिक्षकहरूलाई तालिम दिई दूर शिक्षा कार्यक्रम पनि सञ्चालन गरेको थियो । शिक्षक आफैँले नयाँ तरिकाले पढाउँछु भन्ने सोच नबनाई जस्तो सुकै कार्यक्रम र नीति बनाए पनि हुनेवाला केही छैन । बच्चालाई पढाउन सजिलो होस् भनी अहिले विभिन्न प्राइभेट कम्पनीले समेत ‘इकक्षा’ सञ्चालन गरिसकेको अवस्था छ । ‘अडियो भिज्यूयल’ बनाइसकेको अवस्था छ । यस्तो अवस्थामा पनि शिक्षकको इच्छाशक्ति नहुनु साह्रै नै विडम्बनाको कुरा हो । 

अनलाइनमा पढाई गराइरहेका स्कुलका अभिभावकहरू यति बेला चनाखो हुनुपर्ने अवस्था छ । के पढाई हुन्छ ? कसरी पढाई हुन्छ ? शिक्षकको उपस्थिति छ की छैन ? के कस्तो गृहकार्य दिइएको छ ? बच्चाले कुन साइटमा गएर सन्दर्भ सामग्री खोज्छन् लगायतका विषयमा अभिभावकले ध्यान दिनु अति नै आवश्यक छ । 

अघिल्लो दिनसम्म आफ्ना बालबालिका मोबाइल मात्र खेलाएर हैरान बनाएको भन्दै विद्यालय र शिक्षकसमक्ष उजुर हाल्ने अभिभावक र मोबाइल अहिले हेर्न हुँदैन भनेर कक्षा कोठामा यातना दिने तीनै शिक्षक आज जबरजस्ती अनलाइन कक्षा सञ्चालनको कुरा गरिरहेका छन् । लकडाउन नहुन्जेल अभिभावकले देख्ने गरी ट्याव, मोबाइल र ल्यापटपको सहज उपलब्धता नहुने तर घरबाट आफ्ना छोराछोरी बाहिर नजाउन् भनेर दिएको यी सामग्रीको प्रयोगमा कतिको ध्यान गएको छ त ?

अनलाइनमा पढ्ने नाउँमा बच्चालाई ट्याव, मोबाइल र ल्यापटप थमाइदिँदा बच्चाले आफूलाई चाहिने सामग्री खोज्नु भन्दा नराम्रा साइटहरू हेरेर बच्चा बिग्रन सक्ने डर पनि उत्तिकै छ । अभिभावकले यस कुरामा ख्याल गर्नु पनि उत्तिकै जरुरी छ । यसै गरी अनलाइन शिक्षा नयाँ भएको हुँदा, शिक्षाका व्यापार गर्नेहरूले अभिभावकलाई ठग्न सक्ने जोखिम उत्तिकै छ । त्यसैले अभिभावक चनाखो हुनु बाहेक अर्को विकल्प छैन ।