हिमा गाउँपालिका उपाध्यक्षद्वारा प्रशासकीय अधिकृतविरुद्ध उजूरी !

हिमा गाउँपालिका उपाध्यक्षद्वारा प्रशासकीय अधिकृतविरुद्ध उजूरी !

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १७, २०७७


सुर्खेत । जुम्लाको हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाविरुद्ध जिल्ला प्रहरी कार्यालय जुम्लामा दुव्र्यवहार गरेको आरोपसहित उजूरी दिनुभएको छ ।

 यही वैशाख १२ गतेको कार्यपालिकाको बैठकमा प्रमुख प्रशासकीय अधिकृत बुढाले दुव्र्यवहार गरेको आरोप लगाउँदै उपाध्यक्ष रोकायाले प्रहरीमा जाहेरी दर्ता गर्नुभएको हो । स्थानीय न्यायिक समितिका संयोजक रोकायाले दुव्र्यवहार सहन नसकेर उजूरी दर्ता गराएको राससलाई जानकारी दिनुभयो ।  

'मेरो नैतिकतामाथि नै प्रश्न उठ्ने गरी कार्यपालिकाको बैठकमा अपशब्द बोल्ने र ज्यान मार्ने योजना बनाएकाले कानूनी बाटो रोजेको हुँ', रासससँग उहाँले भन्नुभयो । उहाँले पत्रकार सम्मेलनमार्फत दुव्र्यवहार गरिएको घटनाको अडियोसमेत सार्वजनिक गर्नुभएको छ । 

कार्यपालिकाको बैठकमा उपाध्यक्षमाथि अपशब्द बोल्नुका साथै दुव्र्यवहार गरेको आरोपसहितको जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिनुभयो । 'उपाध्यक्षले बैठकमा छलफल भइरहेको समयमा दुव्र्यवहार गरेको भनी दर्ता जाहेरीबारे अनुसन्धान अगाडि बढाएका छौँ ', प्रनाउ धामीले भन्नुभयो । अधिकृत बुढासहित स्थानीय अमरजङ्ग शाहीविरुद्ध पनि उजूरी परेको प्रहरीले जनाएको छ ।

यो घटनाबारे बुझ्न खोज्दा प्रमुख प्रशासकीय अधिकृत बुढासँग सम्पर्क हुन सकेन । दुव्र्यवहारका अर्का आरोपित शाहीले १२ गते राहतसम्बन्धीको बैठक भइरहेको तर आफू बाहिर रहेको बताउनुभयो । बैठकमा सामान्य भनाभन भए पनि हातपात नभएको उहाँले प्रतिक्रिया दिनुभयो ।

गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले उपाध्यक्ष रोकाया र प्रशासकीय अधिकृत बुढाबीच भनाभन भएको जनाउनुभयो । यसअघि सो गाउँपालिकाले सबै नागरिकलाई २५ केजी नुनसहित ३० केजीका दरले सबै घरधुरीलाई चामल वितरण गरेको र त्यसमाथि उठेको गुनासोका बारेमा १२ गते बसेको कार्यपालिकाको बैठकमा यो विवाद भएको थियो ।