दिप्रुङ चुईचुम्मा गाउँपालिका खोटाङद्वारा ६ सय भन्दा बढी नागरिकलाई  बसेकै स्थानमा  राहत प्रदान

दिप्रुङ चुईचुम्मा गाउँपालिका खोटाङद्वारा ६ सय भन्दा बढी नागरिकलाई  बसेकै स्थानमा  राहत प्रदान

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १८, २०७७

काठमाडौँ । दिप्रुङ चुईचुम्मा गाउँपालिका खोटाङले उपत्यकामा रहेका र लकडाउनका कारण समस्यामा परेका आफ्ना नागरिकहरूलाई राहत वितरण गरेको  जनाएको छ ।

काठमाडाै उपत्यकामा बसेका र लकडाउनका कारण चुलो चौका मा नै  असर परेका गाउँपालिकाका स्थायी बासिन्दालाई उनीहरू बसेकै स्थानमा पुगेर राहत वितरण गरेको  गाउँपालिकाद्वारा गठित कार्यदलले जनाएको छ । 

२०७७ वैशाख ४ गतेको गाउँ कार्य पालिकाको बैठकबाट उपत्यकामा रहेका पालिकाका स्थानीय समाज सेवी गणेश थापाको संयोजकत्वमा नवराज रोका र गाउँ पालिकाका कर्मचारी संन्जिब आचार्य सहितको ३ सदस्यीय राहत वितरण कार्यदल नै गठन गरी राहत वितरण प्रक्रियालाई अगाडि बढाइएको  थयाे । 

सवा २ लाख भन्दा बढी मानिसको ज्यान लिई सकेको र  विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को हालसम्म औषधी पत्ता नलागेको र यसको सङ्क्रमणबाट बच्ने एक मात्र उपाय सामाजिक दुरी सहित भिडभाड नियन्त्रित समाज भएकाले जो जहाँ हुनुहुन्छ त्यहीँ बसेर लकडाउनको पालना गर्नु पर्ने नेपाल सरकारको मापदण्ड बमोजिम आफ्ना नागरिकलाई सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय सरकारको कर्तव्य र जिम्मेवारी ठानी राहतको व्यवस्था गरेको कुरा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले  बताउनु भएको छ । 

वर्तमान अवस्थामा उपत्यका बाहिरका स्थानीय सरकारले  गाडी रिजर्भ गरेर गाउँमा RDT Test  समेत नगरी आफ्ना मान्छे ल्याउनु गलत मात्र होइन विश्व स्वास्थ्य स्ंगठनको मान्यता विपरीत हुनुका साथै कोरोना सङ्क्रमणको जोखिम बढ्ने हुनाले यसो गरिएको बताउँदै अध्यक्ष राईले भन्नुभयो, एकातिर रिजर्भ गरेको बसको लाखौँ लाख बजेट पनि स्थानीय तहले तिर्नु पर्ने, बसबाट ल्याएका मान्छेलाई गाउँमा क्वारेन्टाइनमा राख्दा खाना बस्नको लागि खर्च पनि गर्नु पर्ने, रेखदेखका लागि थप जनशक्ति र रकमको जोहो पनि गर्नुपर्ने हुँदा स्थानीय सरकारलाई तेहरो खर्चबाट जोगाउन र अभावका कारण मजदुर र विद्यार्थीहरू पैदलै हिँडेर घर आउने बाध्यताको अन्त्य गर्न सहरी राहत कार्यक्रम ल्याउनु परेको कुरा अध्यक्ष राईको भनाइ थियो ।

उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका कुना-कुनामा समेत रहेका  र समस्यामा परेका मजदुर, विद्यार्थी र बिरामीहरूलाई ३ सदस्यीय कार्यदलले राहत सामग्रीको विभिन्न मापदण्ड तयार गरी प्रति परिवार १५ केजी चामल, २ केजी दाल, १ लिटर तेल, एक प्याकेट नुन वितरण गरेको थियो भने दुई जनाको परिवारलाई, १० केजी चामल, २ केजी दाल, आधा लिटर तेल र एक प्याकेट नुन दिइएको थियो ।त्यस्तै एक मात्र व्यक्ति भएकालाई ५ के जी चामल, १ केजी दाल, आधा लिटर तेल र एक प्याकेट नुन गरी २०७ घर-परिवारलाई राहत वितरण गरिएको थियो । राहत वितरण कार्यक्रमबाट उपत्यकामा  बसाेबास गरि रहनु भएका २ सय ७ परिवारका ६ सय जना भन्दा बढी नागरिकलाई उपलब्ध गाराएकाे कार्यदलका संयोजक गणेश थापाले जानकारी दिनु भएको छ  ।