मुस्ताङको साग निःशुल्क वितरण

मुस्ताङको साग निःशुल्क वितरण

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १८, २०७७

कास्की।मुस्ताङ जिल्लाबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले तेस्रोपटक आज पोखरामा कोरोनाविरुद्ध अग्रमोर्चामा खटिनेलाई मुस्ताङको साग वितरण गर्नुभएको छ ।

बन्दाबन्दीका कारण मुस्ताङको घरपजोङ गाउँपालिकाका विपन्न परिवारले उत्पादन गरेको साग बिक्री नभएपछि निजी खर्चमा खरिद गरी पोखराका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई निःशुल्क वितरण गर्नुभएको हो । उहाँले मुस्ताङबाट प्रतिकिलो ३० रुपैयाँ का दरले साग खरिद गर्नुभएकोे बताउनुभयो ।

पहिलो चारणमा दुई हजार केजी, दोश्रो र तेश्रो चरणमा एक÷एक हजार केजी खरिद गरि वितरण गरेको बताउँदै उहाँले भन्नुभयो, 'उपल्लो मुस्ताङका ट्रक व्यवसायीले पोखरासम्म साग निःशुल्क ढुवानी गरिदिनु भएको हो ।' हाइअल्टिच्यूटमा उत्पादित अर्गानीक मार्फाको साग नरम, छिटो पाक्ने र स्वादिष्ट हुने भएका कारण पोखरा बजारमा यसको माग उच्च रहेको छ । हवाईजहाजबाट ढुवानी गरिएको सो साग पोखरा बजारमा रु एक सयदेखि एक सय पचास सम्ममा बिक्री हुने गरेको थियो ।