स्वरकी रानी बिमाको उतारचढावपूर्ण जिन्दगी

स्वरकी रानी बिमाको उतारचढावपूर्ण जिन्दगी

यमबहादुर दुरा  |  लोकरञ्जन  |  फाल्गुन २४, २०७५

उनको बैठक कोठामा भित्ताभरि प्रशंसापत्र र अभिनन्दनपत्र सजिएका छन् । विभिन्न संस्थाले दिएका थरीथरीका मायाको चिनाले तख्ता भरिएका छन् । उनको फेसबुक प्रोफाइलमा साङ्गीतिक जमघटका अनगिन्ती तस्बिरहरू पोस्ट भएका छन् । यी परिदृश्यहरूले लोकगायिका बीमाकुमारी दुराको समृद्ध साङ्गीतिक जीवनको साक्षी बक्छन् ।  

लोकगीतको दुनियाँमा वाहवाही लुटिरहेकी उनको बाल्यकाल वनपात र मेलापातमै बित्यो । उनलाई विद्यालय जाने अवसर जुटेन । उनले विद्यालयमा साउँ अक्षर सिक्नुको सट्टा लोकभाका र पाठ सिकिन् ।

यद्यपि, उनले सङ्गीतको औपचारिक ज्ञान पनि कहिल्यै पाइनन् । जानीनजानी मुखको सरस्वती जगाउन थालिन् । समयक्रममा लोकभाका र रैथाने जीवनधाराका विविध आयामहरूसँग परिचित हुँदै गइन् । वनपात र मेलापातमा साथीसंगीसँग गीत गुनगुनाउन ग्रामीण जीवनको रीत थियो, बसिबियालो पनि । उनले लोकजीवनको रीत पालना गर्दै गइन् । 

जुनबेला उनी लमजुङ (दुराडाँडा) को पाखापखेरोमा हुर्कँदै थिइन्, त्यसबेला गाउँघर टेलिसंस्कृतिको प्रभावबाट मुक्त थियो । तत्कालीन समाजमा बाहिरी संस्कृतिको प्रभाव र अनुकरणको कुनै गुञ्जायस थिएन । उनले तत्कालीन समाजबाट जे पाइन्, जे सिकिन्, ती पूरापुर अग्र्यानिक थिए । उनको गीतमा ठेटपन भेटिनुको मूलभूत रहस्य यही हुनुपर्छ ।

समयको लयमा बयली खेल्दै जाँदा लोकभाकाहरूसँग पत्तै नपाई नाता गाँसिँदै गयो । लोकगीतमा रस बस्दै गयो । आपूmभन्दा अघिल्ला दाइदिदीहरूको साथ लागेर गीतको खालमा उपस्थिति जनाउन थालिन् । लोकगीतका पारखीहरूले उनको स्वरमा बेग्लै मिठास र जादू देख्न थाले । उनीहरूले बीमामा प्रचुर सम्भावना देख्न थाले । विस्तारै स्थानीय जमघटमा उनको स्वरको प्रशंसा हुन थाल्यो । 

स्थानीय र जिल्लास्तरीय साङ्गीतिक जमघटहरूमा हाजिर हुन थालिन् । २०४३ सालमा सोरठी नृत्यको टोलीमा मिसिएर पोखरा पुगिन् । सम्भवतः उनको लागि यो पहिलो फराकिलो डबली थियो । २०४५ सालमा दोहोरी–गीत प्रतियोगितामा भिड्न साथीसंगीको दस्तासहित काठमाडौं आइन् । त्यतिबेला बमबहादुर कार्की र प्रेमराजा महतबाट पाएको हौसला र आत्मीय सहयोग वन्दनीय थियो । बीमा उनीहरूप्रति अतिशय आभारी छिन् । 

उनीहरूकै साथ र संयोजनबाट ‘सिंदुरे ढुङ्गा’ शीर्षकमा अडियो अल्बम निस्कियो । आमस्रोतका लागि उनको यो पहिलो साङ्गीतिक कोसेली थियो । उनको तत्कालीन साङ्गीतिक सहयात्रीहरू रत्ना दुरा, बुद्धिसरा दुरा, लालकुमारी दुरा गाउँघरतिरै घरधन्दामै अल्मलिएका छन् । ती प्रतिभावान् साथीहरू उतै छुटेकोमा उनको मन पोल्छ । 

यता, बीमाको साङ्गीतिक क्षितिज उघ्रिने क्रम जारी रह्यो । रेडियो नेपालद्वारा २०४७ सालमा आयोजित राष्ट्रव्यापी लोकगीत प्रतियोगितमा उनले दरिलो सहभागिता जनाइन् । प्रतियोगितमा उनी प्रथम भइन् । त्यसबेला उनको गलाबाट गुञ्जेको गीत थियो, ‘तुर्लुङडाँडा लाँकुरी चौतारी, छुट्यो मेरो हितैको दौंतरी...।’ यो गीत लोकगायक कृष्ण गुरुङले तयार पारेका थिए ।

उनको ख्यातामा दिन दुगुना, रात चौगुना बढ्दै गयो । उनको स्वरको बखान हुन थाल्यो । उनी साङ्गीतिक जमघटको हिस्सा बन्न थालिन् । रेकर्डिङ स्टुडियोमा आउजाउ बाक्लिन थाल्यो । भकाभक अडियो अल्बम निस्कन थाले । साङ्गीतिक यात्राको वर्तमान घुम्तीमा आइपुग्दा उनले स्वदेश र विदेशका असंख्य साङ्गीतिक जमघटहरूमा उभिएर हजारौं स्रोता–दर्शकलाई भावुक तुल्याइसकेकी छिन् । सँगसँगै, नेपाली लोकगीतको अघोषित राजदूत बनेकी छिन् ।

अहिलेसम्म बीमाले हजारौंको संख्यामा गीत गाएकी छिन् । ‘सम्झी फर्क साइँलो दाइ...’, ‘लमजुङ तुर्लुङकोट...’, ‘खैरेनीमा गेट...’, ‘छुट्यो मायाजाल...’, ‘सरर कोइलाखानीमा...’, ‘पूmल्यो निमपत्ता...’     आदि धेरै मन पराइएका गीतमा पर्छन् । अहिलेसम्म आपूmले गाएका गीतको यथार्थ हिसाबकिताब उनीसँग छैन । यद्यपि, पाँच हजारभन्दा बढी गीत गाएको उनी अनुमान लगाउँछिन् । सयौं संघसंस्थाबाट अभिनन्दित बीमाकुमारी दुराले रेडियो नेपालबाट ‘प्रतिष्ठित’ गायिकाको प्रमाणपत्र प्राप्त गरेकी छन् । 

पूर्वी पहाडका मौलिक लोकभाकाहरू रेडियो नेपालमा ल्याउनुमा जसरी हीरादेवी वाइवा, कविता आलेजस्ता प्रतिभाको योगदान रह्यो, त्यसरी नै गण्डकी भेगका ठेट लोकभाकालाई फराकिलो दायरामा विस्तार गर्नुमा बीमाकुमारी दुराको पनि उल्लेखनीय योगदान रह्यो । शावित्री शाह, युक्त गुरुङ, कृष्ण गुरुङ, कृष्णसुधा ढुङ्गाना, हरिदेवी कोइराला, तीर्थबहादुर गन्धर्व आदिको पदचाप पछ्याउँदै उनले गण्डकी भेगका लोकभाकाको विस्तारमा योगदान पु्याइन् ।

उनी जुन जनु पुग्छिन्, ती कार्यक्रम विशेष बन्न पुग्छन् । उनले पाइला टेक्दैमा कार्यक्रम विशेष बन्न पुग्छ, त्यसमा पनि उनको स्वर गुञ्जन थालेपछि माहोल अर्कै बन्छ । कार्यक्रम स्थलबाट परपरसम्म पुग्नुपर्ने ग्रामीण स्रोता–दर्शकहरू उनकै गीत सुन्नका लागि झुम्मिन्छन्, घरधन्दा असरल्लै पारेर । उनको स्वर रहेको जादू र शब्दमा भरिएको मिठास र भावुकताले चुम्वकीय आकर्षण पैदा गर्छन् । 

नेपाली लोकगीतको बिम्ब बनेकी बीमा लोकगीतको मूलधारमै छिन् । तर, उनको गीत अहिलेको मूलधारको गीतभन्दा आधारभूत रूपमै भिन्न छ । अहिलेको मूलधारको गीत स्रोता–दर्शकलाई उफार्ने किसिमका छन् भने उनको गीतचाहिँ दुनियाँलाई भावुक तुल्याउने खालका छन् । एक हिसाबले उनी नेपाली लोकगीतको एउटा विरहिणी बिम्ब हुन् । उनको गीत सुन्दा धेरै द्रवीभूत हुन्छन् । उनको गीतमा बैंशालु मनहरूमा भूइँचालो ल्याउने मैमत्तपन र उन्मादको लेस पनि भेटिन्न । उनको गीतहरू नितान्त सरिफ र शिष्ट छन् ।

उनको गीतमा नेपाली लोकजीवन प्रतिबिम्बत हुन्छन् । उनको स्वरमा लयवद्ध गीतमा परदेश पुगेका सन्तान घर फर्कने आशामा आँगनको डिलमा बसेर बाटोभरि नजर बिछ््याउने वृद्धवृद्धाको कथा बुनिएका छन्, जन्मघर छाडेर पराइघर पुग्नुपर्ने चेली नियति झल्किन्छ, लालाबालाको नाङ्गो शरीर छोप्न र भोको पेट शान्त पार्न अँधेरो कोइलाखानीमा घण्टौं श्रम गर्न बाध्य भाइ–छोराहरूको सुस्केरा भेटिन्छन् र लोकजीवनको भाँकी झल्किन्छन् । 

उनको जिन्दगी उतारचढावपूर्ण रह्यो । उनको जीवन कतिपय आयाम एक अर्थमा सुखद् रहेनन् ।

उनी २०५३ सालमा विवाह बन्धनमा बाँधिइन् । तर, यो नाता–सम्बन्ध लामो समयसम्म टिकेन । विवाह–बन्धन विछोडमा पुगेर टुङ्गियो । समयको एउटा विन्दूमा अर्जापिएको त्यो नाता–सम्बन्धको निसानी बाँकी छ । उनकी छोरीले त्यो निसानी साँचेकी छिन् । र, अहिले अमेरिकामा उच्च शिक्षा अध्ययन गर्दैछिन् । तर, उनीचाहिँ एक्लो जीवन बिताउँदैछिन् । परिवारको सदस्यको रूपमा घरमा कुकुर छ । सन्तानको माया त्यही कुकुरमाथि खन्याउँछिन् । यतिबेला त्यही कुकुर उनको साथी र सन्तान दुवै भएको छ । 

५० को दशकको अन्त्य र ६० को दशकको सुरुवाततिर उनी मिडियामा ‘हट केक’ बनिन् । कारण थियो, उनले ‘अब म गीत गाउँदिनँ’ भनेर घोषणा गर्नु । स्वरको जादूले दुनियाँलाई लठ्याउने एउटा ख्यातिप्राप्त गायिकाले यस्तो घोषणा गर्नु आफैंमा हलचलपूर्ण घटना थियो । एक हिसाबले उनको यो घोषणा माछाले पानीमा नबस्ने घोषणा गर्नुजस्तै दुस्साहसिक कदम थियो । उनको त्यो उद्घोष हठातपूर्ण थियो । उनले गीत नगाएर सुखै थिएन । अन्ततः उनी गायनको दुनियाँ फर्किएरै छाडिन् । पारिवारिक तनावले घेरिँदा उनी यस्तो घोषणा गर्न बाध्य भएकी थिइन् । उनको जीवनमा यो एउटा भयानक साङ्गीतिक दुर्घटना थियो । 

सङ्गीत वृत्तमा उनको कला र गलाको अतिरिक्त उनको स्वाभावबारे पनि बेलाबखतमा चर्चा हुने गर्छ । उनी हक्की स्वभावकी छन् । आफूलाई लागेको कुरा नचपाई प्वाक्कै भनिहाल्ने । उनको यही स्वाभावलाई कसैले सबल पक्षको चित्रण गर्छन् भने कसैले कमजोरीको रूपमा हेर्छन् । कुनै पनि कुरा पूरापुर सही वा गलत हुन सक्दैन । हेराइ आफ्नो आफ्नै हो । 

उनी भर्खर भर्खर गायन क्षेत्रमा आउँदा अनालग प्रविधिमा गीत रेकर्ड हुन्थे । अहिले रेकर्डिङ प्रविधिमा व्यापक परिवर्तन आएको छ । डिजिटल प्रविधिले रेकर्डिङलाई आनका तान फरक पारिदिएको छ । गायन टोलीले सँगै गीत गाउनु नपर्ने । केटाले आफ्नो भाग गाएर हिँडे हुने । केटीले एक्लै आफ्नो भाग गाए पुग्ने । बाजाको धुन पनि पछि मिसाए पुग्ने । तर, उनलाई भने लाइभ रेकर्डिङ नै बढी मनपर्छ । गायन टोलीले सँगै गाउँदा मुड बन्ने र गीत जीवन्त बन्ने उनको धारणा छ । 

ठाडो भाका उनलाई मन पर्ने भाका हो । ठाडोभाका गायनमा उदाएका नवप्रप्रतिभाको प्रशंसा गर्छिन् । तर उनीहरूको स्वर र शब्दमा अपेक्षित मौलिकपन आउन नसकेको उनको ठहर छ । यसका लागि उनीहरूले पर्याप्त मेहेनत गर्नुपर्ने उनको सुझाव छ । उनी आफै‌ पनि ठाडो भाका गाउन सिक्दैछिन् । ठाडो भाकाको रेकर्ड निकाल्ने रहर छ । 

कतिपय सञ्चारकर्मीको व्यवहारबाट उनी वाक्कदिक्क छिन् । कतिपयले अनौपचारिक वार्तालापमा भएका कतिपय कुरालाई तीलको पहाड बनाएर प्रस्तुत गर्ने र मानिसको निजी जीवनको कुनै सम्मानै नगरी प्रस्तुत हुने गरेको उनको गुनासो छ । व्यक्तिको इज्जत र प्रतिष्ठालाई दाउमा राखेर आफ्ना ‘मिडिया प्रडक्ट’ लाई बिकाउ वस्तुमात्र सम्झने कतिपय सञ्चारकमीले सामाजिक उत्तरदायित्व बिर्सने गरेका उनको आरोप छ  ।

उमेरले चार दशकको अन्त्यतिर लाग्दै गर्दा उनको मनको कुनामा जीवन भोगाइका अनेकन् अनुभवहरू बटुलिएका छन् । उनको दृष्टिमा साङ्गीत वृत्तामा हिजो अधिक हार्दिकता र माया–ममता थियो, जुन अहिले दुब्लाउँदै गएको छ । अहिले प्रतिस्पर्धाको भावना बढी र हार्दिकता कम भएको उनको अनुभव छ । प्रतिस्पर्धाले हिजोको हार्दिकता र माया–ममता लाई झिनो बनाउँदै लगेको उनको बुझाइ छ । 

अहिले परिचयका लागि उनको नामै काफी छ । उनी लोकगीतको दुनियाँमा ‘स्वरकी रानी’ उपमाले परिचित छिन् । वनपाखाबाट माथि उठेर एउटा अपठित ग्रामीण बालाले यो हैसियत प्राप्त गर्नु आफै‌मा एउटा भयानक उपलब्धि होे । जनस्तरबाट आएर ख्याति कमाउनु चानुचने उपलब्धि होइन । नयाँ पुस्ताका लागि उनी उर्जाशील प्रेरणास्रोत हुन् ।