हुलाकी सडकको निर्माण कार्य शुरु

हुलाकी सडकको निर्माण कार्य शुरु

लोकसंवाद संवाददाता  |  कारोबार  |  बैशाख १८, २०७७

वीरगञ्ज । विगत लामो समयदेखि लागू भएको लकडाउनको समयमा बाराको गढीमाई नगरपालिकाको बरियारपुरदेखि वीरगञ्जसम्मको १९ किलोमिटर सडकखण्डको निर्माण कार्य शुरु भएको छ । 

करिब ८५ करोड ८५ लाख रुपैयाँको लागतमा निर्माण शुरु भएको बरियारपुरदेखि वीरगञ्ज महानगरपालिकाको लक्ष्मनवासम्मको १९ किलोमिटरको सडकको निर्माण कार्य लकडाउनको समयमा शुरु गरिएको ठेकेदार कम्पनीले जनाएको छ । 

आयोजनाको ठेक्का सम्झौता २०७४ पुस १२ गतेदेखि २०७७ असार ११ गतेभित्र सम्पन्न गर्ने लक्ष्य रहेको स्वच्छन्द, पप्पु, हिम, सगरमाथा जेभी आयोजनाका इन्जिनीयर अमरेन्द्रकुमार यादवले राससलाई बताउनुभयो । तराई मधेशको लाइफलाइनका रुपमा रहेको हुलाकी राजमार्गको निर्माणका क्रममा सडकमा माटो हाल्ने कामदेखि गिट्टी, बालुवा हाल्ने काम सम्पन्न गरी अहिले सो सडकमा कालोपत्रे हाल्ने काम गर्न लागिएको बताइएको छ । 
    
यस क्षेत्रको महत्वपूर्ण योजनाको काममा ढिलाइ हुँदा विकास निर्माण प्रभावित भएकाले लकडाउनको समयमा भए पनि सो कामलाई निरन्तरता दिएको बताइएको छ । लकडाउनका कारण सवारी साधन सञ्चालन नहुँदा बालुवा गिट्टी उपलब्ध नभएर केही ठाउँमा काम रोकिएको भए पनि यसको व्यवस्थापन स्थानीय सरकारले गरेकाले सो काम अगाडि बढेको हो ।