शिक्षित बुहारी: दाँत झरिसकेका र कपाल फुलिसकेका बाआमालाई वृद्धाश्रममा लैजान श्रीमानलाई बाध्य नपार्ने हाे कि !
बैशाख १९, २०७७

मानिस सामाजिक प्राणी हो । ऊ समाजमा बस्न रुचाउँछ । आफ्नो समाज, समुदाय र परिवारदेखि भौतिक रूपमा टाढा भए पनि भावनात्मक रूपमा परिवारसँगै जोडिएको हुन्छ । आफ्नो लक्ष्य वा परिस्थितिले गर्दा अहिले प्रत्येक मानिस आफ्नो परिवारबाट टाढा रहनुपरेको छ । यो उसको बाध्यता हो । 

तर, अहिले विश्वभर कोरोनाका कारण आतङ्क र त्रास मच्चिरहेको अवस्थामा यो परिस्थितिसँग जुध्नका लागि सबै मानिस आफ्नो परिवारसँगै छन् । परिवारभित्र रमाइरहेका छन् । परिवारलाई समय दिन भ्याइरहेका छन् । 

दिन प्रति दिन नेपालीको जीवनशैलीमा पनि व्यस्तता बढ्दै गएको थियो । आफूले चाहँदा चाहँदै पनि आफ्नो शिक्षा पेसा व्यवसायका कारणले गर्दा परिवारसँग बिताउने समय कम हुँदै गइरहेको अवस्थामा परिवारमा नकारात्मक घटनाहरू दिनानुदिन बढ्दै गएका थिए । परिवारमा एक आपसलाई बुझ्न र एक आपसमा कुराहरू बाँड्न वा समस्याको समाधान गर्ने समय नहुँदा श्रीमान्–श्रीमतीबिच मनमुटाब, झैझगडा साथसाथै सम्बन्ध विच्छेदका घटना पनि दिन प्रति दिन बढ्दै गएका छन् । 

छोराछोरीलाई उनीहरूको इच्छाअनुसार समय दिन नपाउँदा कुलत तथा दुर्व्यसनमा लाग्ने, चोरी, डकैतीदेखि बलात्कारका घटनाहरू पनि दिनानु दिन बढ्दै गएकामा नेपाली समाजमा भने यो लकडाउनका कारण यस्ता यस्ता समस्या अब कम हुने आशा गर्न सकिन्छ । 

यो लकडाउनमा प्रत्येक परिवारमा फेरि सम्बन्ध बलियो बनोस् । परिवारका हरेर सदस्यले कामको कदर गरौँ । सबैले आफ्नो ठाउँबाट आफ्नो कर्तव्य पूरा गरौँ । परिवारका सदस्यबिच झैझगडा तथा पूर्वाग्रह बन्द गरौँ । प्रत्येकलाई समान माया र ममता दियौँ । सबै एकजुट होऔँ । भाइ–भाइबिच एकता होस् । श्रीमान्–श्रीमतीले एक आपसमा भावनात्मक रूपमा अझ नजिक बनौँ । श्रीमतीमाथि पुरुषत्व जमाउने काम कम नगरौँ । महिलाको कामलाई पनि सम्मान गरौँ । 

नेपाली समाज पुरुष प्रधान समाजको रूपमा परम्परादेखि रहेको भए तापनि अहिलेको समयमा भने यो बिस्तारै कम भएको छ । श्रीमान्–श्रीमती एक रथका दुई पाङ्ग्रा जसरी नै परिवारमा अघि बढिरहेका छन् । यति हुँदाहुँदै पनि कतिपय नारी आफू सक्षम भएर पनि चुल्हो चौकमा सीमित हुनुपर्ने बाध्यता छ । 

आमसञ्चार र समाज शास्त्रमा स्नातकोत्तर गरिसकेकी एक सक्षम र सबल नारी छन् मेरी साथी । उनी आफ्नो श्रीमान् सरह सक्षम छन् । उनको २ वर्षको छोरा छ । श्रीमान् सरकारी जागिरे, श्रीमानलाई उनको गुनासो अनि पारिवारिक समस्या सुन्नका लागि हप्तामा १ दिन शनिवार नै कुर्नुपर्छ । रमाको इच्छा भने श्रीमानले परिवारका लागि पनि केही समय निकालिदिए हुन्थ्यो भन्ने छ । 

उनको गुनासो दिन प्रति दिन मनमुटाबसँगै बढ्दै गइरहेका छन् । उसलाई पनि जागिर खान मन छ तर छोरोको कारण उनी घरमा नै थन्किएर बस्नुपरेको छ । उनको भावना र पीडा बुझ्ने समय उनका श्रीमानसँग छैन । 

अर्की साथी छन्, जो पढाइको सिलसिलामा श्रीमानसँगै सहरमा बस्छिन् । विवाह भएको केही वर्ष मात्र भएको छ । क्याम्पस बिदा हुँदा आफ्नो कर्म घर जाने रहर भए पनि उनकी सासूले उनीप्रति गर्ने व्यवहार देखेर उनलाई घर जाने दिनभन्दा ७ दिनअघिदेखिनै ज्वरो आउन थाल्छ । 

उनलाई पनि समय समयमा सासू आमालाई फोन गर्ने इच्छा हुन्छ । सासूसँगै रमाउन अनि घर गएको समयमा सासूसँग जानी नजानी काम गर्न मन हुन्छ तर उनी हारिसकेकी छन् । त्यो वातावरणसँग सामना गर्ने सामर्थ्य उनमा हराइसकेको छ । 

यही समाजमा रहेकी अर्की पात्र छन् । उनी वृद्धाश्रममा बस्न थालेको ३ वर्ष भइसकेको छ । यो प्रतिकूल समयमा उनलाई पनि आफ्नो परिवारसँग दिन कटाउने रहर नलागेको होला त ! श्रीमानको मृत्यु भइसकेको अवस्थामा उनले एक्लो छोरोलाई हुर्काई बढाई शिक्षादीक्षा दिइन् । छोरोलाई सक्षम र सबल बनाइन् । 

त्यो समय र परिस्थितिमा उनले कस्तो कस्तो समस्यासँग लड्नुपर्‍यो होला ? सम्झँदा उनको आँखाबाट आँसुको वर्षा हुन थाल्छ । तर, त्यही छोरोले एक शिक्षित बुहारी भित्र्याउँछ । २–४ महिना त राम्रै चल्यो तर पछि अनेक बहानामा बुहारीले वृद्ध आमालाई वृद्धाश्रममा पुर्‍याइछाडिन् । 

यी माथिका पात्र नेपाली समाजका केही उदाहरण मात्र हुन् । 

यो लकडाउनमा प्रत्येक परिवारमा फेरि सम्बन्ध बलियो बनोस् । परिवारका हरेर सदस्यले कामको कदर गरौँ । सबैले आफ्नो ठाउँबाट आफ्नो कर्तव्य पूरा गरौँ । परिवारका सदस्यबिच झैझगडा तथा पूर्वाग्रह बन्द गरौँ । प्रत्येकलाई समान माया र ममता दियौँ । सबै एकजुट होऔँ । भाइ–भाइबिच एकता होस् । श्रीमान्–श्रीमतीले एक आपसमा भावनात्मक रूपमा अझ नजिक बनौँ । श्रीमतीमाथि पुरुषत्व जमाउने काम कम नगरौँ । महिलाको कामलाई पनि सम्मान गरौँ । 

सक्षम महिलालाई अगाडि बढ्ने वातावरण र अवसर सिर्जना गरौँ । परिवारका सदस्यको एकतर्फी मात्र कुरा नसुनौँ । परिवारभित्रको समस्या परिवारभित्र नै बसेर समाधान गरौँ । छोराछोरीका लागि डर, त्रास र धम्की होइन कि साथीत्वको भावना निर्माण गरौँ । 

सासू र बुहारीबिचको सम्बन्ध पनि नजिक होस् । बुहारीलाई पनि परिवारभित्रको सदस्यको रूपमा लिऔँ नकि काम गर्न आएकी सहयोगी । 

अहिलेका शिक्षित वा आधुनिक बुहारीले पनि परिवारमा चल्दै आएको प्रथा, परम्परालाई एक्कासि परिवर्तन गर्न नखोजौँ । शिक्षित बुहारीले समेत दाँत झरिसकेका र कपाल फुलिसकेका बा आमालाई वृद्धाश्रममा लैजान श्रीमानलाई बाध्य नपारौँ । घरका प्रत्येक सदस्यले आफ्ना बा आमाको मानसिकता परिवर्तन गर्न सहयोग गरौँ नकि पहिरन !

यो लकडाउनले परिवारमा सकारात्मक प्रभाव पारोस् । परिवारका सदस्यबिच भावनात्मक सम्बन्ध बलियो होस् । श्रीमान्–श्रीमतीबिचको सम्बन्ध तोड्न होइन, जोड्न सिकाओस् । छोराछोरी कुलतमा होइन, कर्तव्यमा रमाउन सकुन् । माथि उल्लेखित घटनाहरू अब आम मानसपटलबाट बिस्तारै कम होउन् र यस्ता घटना घट्दै जाऊन् ।
 


शर्मा समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।