थुनुवाको डायरीः भद्र बन्दी गृह भित्रको देशै‌, श्रीमतीद्वारा आत्महत्या, श्रीमान् पुर्पक्षको लागि थुनामा
नखाएको विष
बैशाख २०, २०७७

भद्र बन्दी गृहकाे छैठौं दिन (२०६७/०६/ २६  (१२ अक्टोवर २०१०) मंगलवार

एक दिन, दुई दिन भन्दाभन्दै म यस भद्रवन्दी गृहमा आएको पनि आज छैंठौँ दिन भयो । आजसम्म मेरो संस्थाका कोही पनि साथीहरूले भेट्न आएका छैनन् । मेरो वचपनदेखि को साथी रामकृष्ण दुवाल पनि आएको थिएन । संस्थाको अरूहरू नआए पनि जुजुभाइ त आउनु पर्ने हो । उसलाई मैले साथी या छोराजस्तै माया गरिराखेको थिएँ । ऊ पनि आएको थिएन । के उनीहरूले पनि मलाई अपराधी नै ठानेका छन् कि रु अब मैले चूप लागेर बस्नु भएन । आफ्नो वास्तविक कुरो सबैलाई भन्नुपर्‍यो । यही सोचेर मैले जुजुभाइको नाममा एउटा पत्र लेखेँ ।

प्रिय मित्र अविदित जुजु,

अशेष अनुराग । कुशलै छु कुशलताको कामना गर्दछु ।

जिन्दगीको गोरेटोमा हिंड्दा हिंड्दै कसैले धक्का दिएर म ठूलो खाडलमा खस्न पुगेको छु । अब त्यो खाडलबाट बाहिर आउने प्रयास गर्दैछु । बाहिर आउन सक्छु कि सक्दिनँ त्यसै भन्न सकिन्न । जिन्दगीमा मैले धेरै संघर्ष गरेँ । अनुभव बटुलेँ । त्यो अनुभवबाट अरूले पनि पाठ सिकोस् भन्ने म चाहन्छु ।

जुजु,  मानिसहरू भन्छन् खाएको विष मात्र लाग्छ तर आज मलाई नखाएको विषले पोलिरहेको छ । मानवीय सेवा नै ठूलो धर्म ठानेर आफूले जन्माएका मात्र आफ्नो सन्तान होइन । यस धर्तीमा जन्म लिएका प्रत्येक बालबालिका हाम्रा सन्तान हुन भन्ने भावनाले अभिप्रेरित भएर मैले तन, मन र धनले सेवा गर्दै आइरहेको थिएँ । आज उनीहरूले ममाथि यस्ता जघन्य अपराधको आरोप लगाए । जुन आरोपमात्र लगाएको कारणले मैले जेल जीवन बिताउनु परिरहेको छ । अहिले विद्यालय सबै बन्द भइसकेका छन् । तैपनि तपाईंले मलाई एकचोटी भेट्न आउनु भएन । के तपाईंले पनि मलाई अपराधी ठान्नु भएको छ कि ? यदि त्यसरी ठान्नु भएको छ भने यो तपाईंको भ्रम हो । तपाईंको यो भ्रम चिर्नको लागि वास्तविक कुरा लेखिरहेको छु ।

२०६३ सालतिर सवितालाई उनको आमाले अर्काको घरमा काम गर्न पठाइन् । जहाँ उनलाई पढ्ने अवसर मिलेन । एकदिन मकहाँ आएर सविताले भनिन्, 'सर ! मलाई पढ्न मन लाग्छ । मेरो आमाले मलाई भैंसेपाटीमा एउटा घरमा काम गर्न पठाउनु भयो । मलाई त्यो घरमा बस्न मन लाग्दैन । मलाई डर पनि लाग्छ ।'

'त्यहाँ बस्न किन डर लागेको ?' मैले सोधेँ ।

'त्यहाँ बुढा बाले मेरो हात समातेर छाती छाम्छन् । घरमा कोही नभएको बेला बुढोले केही गर्‍यो भने के गर्ने ?' उनले भनिन् ।

मैले उनको आमासँग कुरा गरेँ । उनको आमाले भनिन्, 'म गरीव छु । मैले पाल्न सक्दिनँ । तपाईंले नै पालेर पढाउनु हुन्छ भने पढाउनुहोस् ।'

त्यतिबेला डा. डंगोलको स्वीकृति लिएर राजनलाई पाँगाको मेरो घरमा राखिसकेको थिएँ । अब सवितालाई त्यहाँ राख्दा केटा र केटी मात्र हुन्छ । यो राम्रो हुँदैन ।

एकजना बच्चालाई महिनाको दुई हजारको दरले खर्च दिन्छु भन्नुभयो । त्यसै अनुरुप मैले राजनलाई पहिलो तल्लामा र तीनजना केटीहरूलाई माथि चोटामा राखेँ । मैले उनीहरूलाई छोरीहरू र छोरा ठानेर नै उनीहरूलाई दाजु र बहिनीको रूपमा हेरेँ । कुनै पनि सम्बन्ध भनेको भावनात्मक हुनुपर्छ । एउटा विश्वासको कुरा हो । महिला र पुरुषको सम्बन्ध भनेको केवल यौनजन्यमात्र होइन । भावनात्मक सम्बन्ध पनि हुन्छ ।

त्यही समय कविताकी आमा कामको सिलसिलामा साथीहरूसँग कलकत्ता गएकी थिइन् । सवितालाई पाल्ने भन्ने कुरा सुनेर कविताकी हजूरआमाले मलाई भेट्न आइन् । भेटेर भनिन्, 'हजूर ! घरमा म बुढी र दुईटी नातिनीहरू मात्र छौं । ठूली नातिनी हुर्कि सकिन् । उनलाई तपाईको आश्रयमा राख्न पाए म ढुक्क हुने थिएँ ।'

 मैले सोचेँ घरमा दरिलो अभिभावक भएन भने केटीहरू बिग्रिन सक्छन् । कसैले विगारी दिन पनि सक्छ । त्यसैले विचार गरूँला भनेँ ।

त्यस्तै सम्झनाको बुबाको देहावसान भयो । काजक्रिया गर्दा धेरै पैसा खर्च भयो । घरमा आर्थिक संकट पर्‍ यो । त्यसैले सम्झनालाई पनि मेरो आश्रयमा राख्न चाह्यो । राजनलाई पहिले देखिनै पाँगा घरमा राखिसकेको थिएँ । त्यहाँ छिडीमा चर्पी पनि बनाइसकेको थिएँ । मैले डा. डंगोलसँग कुरा गरेँ । 'अनाथालयको रूपमा चलाउनु । यसरी जरुरत परेका बालबालिकाहरूलाई पालेँ भने हाम्रो इज्जत बढ्छ । सहयोग पनि बढ्छ । पछि छात्रावास भवन नै बनाउँला ।'

'यदि छात्रावास बनाउने हो भने यो मेरो घर नै दान दिन्छु । मेरो पुख्र्यौली घर हो । मलाई एउटा कोठा दिनुपर्छ ।'

उहाँले हुन्छ भन्नुभयो । एकजना बच्चालाई महिनाको दुई हजारको दरले खर्च दिन्छु भन्नुभयो । त्यसै अनुरुप मैले राजनलाई पहिलो तल्लामा र तीनजना केटीहरूलाई माथि चोटामा राखेँ । मैले उनीहरूलाई छोरीहरू र छोरा ठानेर नै उनीहरूलाई दाजु र बहिनीको रूपमा हेरेँ । कुनै पनि सम्बन्ध भनेको भावनात्मक हुनुपर्छ । एउटा विश्वासको कुरा हो । महिला र पुरुषको सम्बन्ध भनेको केवल यौनजन्यमात्र होइन । भावनात्मक सम्बन्ध पनि हुन्छ ।

उनीहरूलाई पाँगा घरमा राखेको एक महिना भयो । एकदिन राजनले भन्यो, 'सर अब म यहाँ बस्दिन । मेरो हजूरबाले मलाई बोलाउनु भएको छ । म त्यहीँ बस्न जान्छु ।'
'यहाँ किन नबस्ने ? के भयो ?' मैले सोधेँ ।

'यी बच्चाहरूले हल्ला गरेर मलाई पढनै दिँदैनन् । पढिरहेको बेलामा चल्न आउँछन् । यहाँ बसेर पढ्नै सक्दिनँ ।'

मैले केटीहरूसँग सोधेँ । केटीहरूले होइन उहाँ आफै हामीसँग चल्न आउनुहुन्छ भने । ल ठीकै छ, हुर्किसकेका तीन जना केटीहरू राखेको ठाउँमा जवान केटा राख्नु हुँदैन । यो मेरो ठूलो भूल हो । मैले सहर्ष राजनलाई घर पठाए ।

बच्चाहरूलाई पाँगामा राखेको एक शैक्षिक सत्र पूरा भयो । उनीहरूबाट कुनै प्रकारको नराम्रो कुरा सुन्नु परेको छैन । तीनै जना पास भए । त्यहीबेला निर्मलालाई लिएर निरू आइन् । निर्मला अर्काको घरमा घरेलु नोकर्नी भएर काम गरिरहेकी थिइन् । अब साहुनीले स्कूल नपठाउने भनिन् । त्यसैले पाँगामा राखेर पढाइ दिनुहोस् भनेर निरूले अनुरोध गरिन् । निर्मलाको मुख हेरेँ । साह्रै सोझी देखिन्थिइन् । कति वर्ष भयो भनेर सोधेँ । २०५० साल जन्म हो,   सालले त १५ वर्षकी भइन् । पढाईमा भने बल्ल ६ कक्षा पास । उनको पढ्ने ठूलो चाहना रहेछ । हाम्रा बच्चाहरू १५ वर्षमा एसएलसी। पास गर्छन् । यिनी भर्खर ६ कक्षा पास । उनीप्रति मेरो मनमा दया जाग्यो । चारजनाको कोटा हो । एउटा कोटा खाली छ भनेर उनलाई पनि पाँगा घरमा राखेँ । मैले नै कीर्तिपुर माविमा निर्मलालाई कक्षा ७ मा भर्ना गरिदिएँ ।

दशैँताका सम्झना मामाघर गइन् । उनी अनाथालयमा बसिरहेकी उनको मामाहरूले थाहा पाए । हामी छँदाछँदै हाम्रो भान्जी कसरी अनाथ हुन्छ भनेर उनको आमालाई आर्थिक सहयोग गरे । सम्झनाको आमाले मलाई धन्यवाद दिएर छोरी लिएर गइन् ।

०६५ सालको शैक्षिक सत्र पनि सकियो । सविता, कविता र निर्मला तीनै जना पास भए । कविता ८ कक्षामा पढिरहँदा उनको आमा कलकत्ताबाट फर्किइन् । उनी नभएको बेला उनको छोरीलाई संरक्षण दिएर राखेकोमा मलाई धन्यवाद दिएर छोरी लिएर गइन् । अब पाँगा घरमा सविता र निर्मला मात्र भए ।

निरू ९ कक्षामा फेल भइन् । उनी काम गर्ने घरमा पढ्ने समय नै छैन । उनी पनि पाँगा घरमा बस्ने भन्न थालिन् । पकेट मनी दिन सक्दिन भनेँ । उनले हुन्छ भनिन् । त्यही बेला डा.डंगोलले होस्टेल बन्द गर्न भन्नुभयो । मैले बच्चाहरूलाई होस्टेल वन्द गर्ने तिमीहरू कहाँ जानु पर्ने जाउ भनेँ । बच्चाहरू रुन थाले सवितालाई आमाकहाँ जाउ भनेँ ।

'तपाईंले मारे पनि काटे पनि म ममी कहाँ जान्न भनेर सविता रुन थालिन् । निर्मला पनि मेरो खुट्टा समातेर रुन थालिन् । आफंले भावनात्मक रूपमै छोरी मानेर पालिराखेका छोरीहरू रोएको देखेर मेरो मन द्रवित भयो ।

बा ! तपाईंले मलाई ममी कहाँ पठाउनु भयो भने मलाई ममीले या त अर्काको घरमा काम गर्न पठाउनु हुन्छ या विहे गरेर पठाउनु हुन्छ । अहिले म यी दुईटै काम गर्न चाहन्न । बरु हामीलाई काम मिलाइ दिनुहोस् । हामी यहाँ बसेर काम गरेर पढ्छौं ।' सविताले भनिन् ।

'हो बा ! हामीलाई काम मिलाइ दिनुहोस् । हामी काम गरेर भए पनि पढ्छौं । हामीलाई यहाँबाट ननिकाल्नुहोस् ।' भनेर निर्मला पनि रुन थालिन् ।

मैले उनीहरूलाई आफ्नै खर्चमा पाल्ने निर्णय गरेँ । दुई छाक त म ख्वाउँछु । उनीहरूको अरू फर्माइस खर्चको लागि स्वावलम्बी बनाउन खोजेँ । सवितालाई 'सन्ध्या टाइम्स दैनिक' पत्रिका बेच्न लगाएँ । निर्मलालाई 'कीर्तिपुर दर्पण' र 'सहिद' साप्ताहिक बेच्न लगाएँ । सविताले महिनाको २२ सयसम्म कमाउन थालिन् । निर्मलाले पाँच छ सय कमाउन थालिन् ।

२०६६ सालको दशैँमा निर्मलाले आफ्नै खर्चमा घर जान चाहिन । नरेश पनि घर जाने भएकोले नरेशसँग घर पठाएँ । त्यहाँबाट फर्किंदा दुबै जनाको प्रेम भइसकेको रहेछ । त्यतिबेला मैले निर्मलालाई घरबाट निकाल्न खोजेको थिएँ । नरेश र निर्मलाले आइन्दा हामी भेट्दैनौं । दाइ बहिनीको व्यवहार गछौं भनेर कबुल गरे । मेरो मन पग्लियो ।

तीजभन्दा अगाडि सविताको मोबाईलमा आइ लव यू भन्ने एसएमएस भेट्टाएँ । मैले उनलाई दिइराखेको मोबाईल फिर्ता लिएँ । तीजको दिन निर्मला र नरेश शिवालयमा भेटेको थाहा पाएँ । मैले उनीहरूलाई गाली गरेँ । अब आइन्दा पाँगामा कसैलाई नराख्ने भनेर सविताको आमालाई बोलाएर जिम्मा दिएर पठाएँ । निर्मलालाई दशैँमा घर पठाउने, निरूलाई एसएलसी जाँच नसकिएसम्म कीर्तिपुर घरमा राख्ने भनेँ । त्यसैले मैले चामलको बोरा नकिनीकन दुई चार किलो मात्र चामल किनी दिन थालेँ । सविताले आफ्नो दोष लुकाउन आमाको अगाडि मैले यौन दुव्र्यवहार गरेको आरोप लगाइन् । उनको ममीले स्कूलको एक जना मिससँग सम्पर्क राखी आश्रयको लागि भ्वाइस अफ चिल्ड्रेनमा गए । त्यो संस्थाले डलर कमाउन मलाई फसायो । कुरोको मुख्य चुरो यही हो । अरू सबै बकवास हुन् ।

अविदित जुजु, असोज १ गते शुक्रवार मैले सविता र निर्मलालाई बलात्कार गर्न खोजेको आरोप लगाएको छ । जून सरासर झुट हुन् । म डायबिटिज रोगी ममा यौन उन्माद नै छैन भने कसरी बलात्कार गर्न सकूँला ?

 'विरालोलाई कोठामा थुनेर पिट्नु हुँदैन भन्छन् । कहीँ जाने ठाउँ नभएकाहरूलाई घरबाट निस्किजाउ भनेपछि अन्त आश्रय पाउन यो आरोप लगाएका हुन् । यो कुरो डा.डंगोललाई पनि इमेल गरेर पठाउनु होला ।

आजलाई यति अरू पछि
नजरराम 

म खाना खाएर बाहिर बसिहरेको छोरा भेट्न आयो ।

'प्रत्येक दिन आउनु पर्दैन । एक दुई दिन बिराएर आए पनि त हुन्छ नि ।' मैले छोरालाई भनेँ ।

'तपाईको मुख नहेरेसम्म केही गर्न मन लाग्दैन । सविताको आमाले सरूलाई पनि गाली गलौज गर्‍यो भनेर प्रहरीमा जाहेरी दिएर अस्ति चारजना प्रहरीले सरूलाई खोज्न आएका थिए । उनी माइती गएकी बेला भएर बचिन् ।' निरजले भन्यो ।

'सरूले कसलाई के भनेर गाली गरेको ?'

'अस्ति सविताको बहिनी संगिता र शर्मिलाको भाइले शर्मिला आएको छ कि भनेर हाम्रो घरमा खोज्न आएको थियो । हाम्रो बुबालाई जेलमा हालेर हामीसँग शर्मिला खोज्न आउँछौ  ?  लाज छैन नकचराहरू भनेर बस यति के भनेकी थिइन् । भोलिपल्ट प्रहरीले खोज्न आइहाले ।'

सविताकी आमा त साह्रै खतरनाक आईमाई रहिछिन् । केही भयो कि प्रहरी बोलाउनै पर्ने । उनले आफ्ना लोग्नेसँग ठाकठुक हुँदा पनि प्रहरी बोलाएर दुई रात थुनाई दियो । त्यसपछि घर छाडेर गएको लोग्ने आज दशवर्ष हुँदा पनि घर फर्केको छैन । उनी आफैले तीनजना छोरीहरू पालेर बसिरहेकी छिन् । उनको दुःख हेर्न नसकेर मैले सहयोग गरेँ । आज मलाई पनि जेल पठाई दिएकी छिन् । उनको क्षणिक रिसले गर्दा उनको परिवार वर्वाद भयो । अहिले मेरो परिवार विगार्न खोजिरहेकी छिन् ।

कस्तो विडम्वना घरको मुली मान्छे म । दशैँको बेला सात समुद्रपारीबाट भए पनि मान्छेहरू घर आउँछन् । म भने कैदी बनी जेलमा बसिरहनु परेको थियो । घरमा अलि यताउता गर्ने बुहारीलाई धम्क्याएको भनेर प्रहरीमा जाहेरी दिएकोले लुकी लुकी हिड्नु परिरहेको थियो । खाजा खान लागेको बेला भान्जा रेणुलाल आयो । आज पनि मलाई झ्यालनिर बस्न दियो । ऊ बाहिर बस्यो । कुराकानी भयो ।

'मान्छेहरूले जे भने पनि तपाईं निर्दोष हुनुहुन्छ भन्नेमा हामी विश्वस्त छौं । अलि दिन यहाँ बस्नु पर्‍यो भनेर चिन्ता नलिनुुस्' भनेर मलाई सान्त्वना दिएर गयो ।

अब मलाई यो जेलमा अलिअलि रमाइलो हुन लागी सकेको थियो । समय बिताउन सजिलो भएको थियो । पशुपती दाइको साथी दिनेश र कीर्तिपुरे ज्वाईं भक्तपुरको रामलाल पनि चिया, खान, चुरोट पिउन र गफ गर्न साथी भइसकेका थिए । ओम शान्तिका साथीहरूसित पनि बोलचाल हुन थालीसकेको थियो ।

अस्ति बिछ्यौना नबनाएसम्म बिछ्यौना भयो भने भित्र कोठामा ठाउँ पाउँछ भनेको थियो । हिजो नै बिछ्यौना ल्याइसकेँ तैपनि भित्र बस्न दिएको थिएन । बेलुका टीभी हलमा टीभी बन्द भयो । मानिसहरू आ–आफ्नो विछ्यौना उठाउन गए । त्यतिकैमा दुई जना भाइ नाईकेहरू आएर 'बुबा तपाईंको बिछ्यौना खोइ दिनुहोस् । अब ३ नं कोठामा जाने ।' भनेर मेरो बिछ्यौना लिएर गए । बाल्टिन र ब्याग लिएर म उनीहरूको पछि लागेँ । टीभी हलको बगलवाला कोठा जसलाई पहिले चामल कोठा भन्थ्यो । उनीहरूले मेरो बिछ्यौना ओछ्याई दिए ।

आजदेखि मैले पनि कोठामा सुत्न पाउने भएँ । एक लाइनले १९ जना सुत्नु पर्दोरहेछ । हाम्रो खुट्टापछि एउटा सानो बाटो त्यसपछि तेर्सो छ वटा बेडहरू थिए । जहाँ भाइनाईकेहरू सुत्छन् । ९:३० बजे नम्बर लाग्यो । त्यसपछि म सुतेँ ।

सातौं दिन 

हिजो बेलुकादेखि मैले भित्र कोठामा बेड पाएको थिएँ । बेडमा सुत्न पाएर मलाई आनन्द आयो । आज राति खोकी पनि लागेन । दम पनि फुलेन । रातभर निन्द्रा मज्जाले आयो । म थुनुवामा परेको एक्काईसौंँ दिनमा आज पहिलो पटक मिठो निन्द्रा लाग्यो । बिहान ६ बजेमात्र मेरो निन्द्रा खुल्यो । त्यति बेलासम्म नम्बर पनि खुलिसकेको थियो ।

बाहिर गएर नित्यकर्म गरेँ । मुरली सुन्न ओम शान्ति हलमा गएँ । त्यहाँ भाइजीले मुरली सुनाईरहनु भएको थियो । एकछिन ध्यान पनि बसेँ । म ओम शान्तिमा जान थालेको पाँच दिन भयो । त्यहाँ गएर मुरली सुनेर ध्यान बस्न थालेदेखि मेरो मनले अलिअलि शान्ति पाउन थालेको थियो । घरगृहस्थीको याद आउन कम हुँदै गएको थियो ।

ओम शान्ति हलबाट बाहिर आएर ऐना हेरेको त सेतो दाह्री जुंगा झपक्कै भइसकेको थियो । दाह्री काट्न मन लाग्यो । यहाँभित्र पनि सैलून छ । जहाँ कपाल काट्न दश रुपैयाँ र दाह्री काट्न पाँच रुपैयाँ लिन्छ । म यहाँ असोज २१ गते आएको थिएँ । अस्ति शनिवार २३ गते दाह्री काट्दा पाँच रुपैयाँ लिएको थियो । सैलूनमा गएँ । त्यहाँ भीड देखेर फर्केर आएँ । अस्ति छोराले रेजर ल्याई दिएको थियो । त्यसले आफैले दाह्री काटेँ ।

खाना खाएर छोरा आउँछ कि भनेर पर्खिबसेँ । सँधै आउने समयमा छोरा आएन । मेरो मन गोलमाल भयो । हुन त मैले नै उसलाई प्रत्येक दिन आइरहनु पर्दैन भनेको थिएँ । प्रहरी खोरमा भन्दा यहाँ आनन्द थियो । तिम्रो फुर्सदको बेलामात्र आएपुग्छ भनेको थिएँ । तैपनि प्रहरीले बुहारीलाई खोजिरहेको सुनेको थिएँ । फेरि घरमा कुनै लफडा भयो कि भन्ने पीर लाग्यो । तैपनि निरज आएन । आउँदै आएन ।

'म कसरी थुनामा परेँँ भन्ने शीर्षक राखेर डा.  डंगोललाई घटनाको यथार्थ वर्णन पत्रमा लेखेँ । यसरी लेखेको पत्र आफ्नो नम्बरको सह नाईकेलाई देखाएर पास गराउनु पर्छ । अनि मात्र बाहिर पठाउन पाइन्छ । मैले सह नाईकेलाई देखाएर पास गरेँ ।

आठौं दिन (फूलपातीको  दिन) 

आज फूलपातीको दिन । हिजो कोही पनि मलाई भेट्न नआएकोले मेरो मनमा साह्रै चिन्ता लागेको थियो । मलाई राम्ररी निन्द्रै लागेन । बिहान ३:३० बजे निन्द्रा खुल्यो । उठ्ने बित्तिक्कै खोकी लाग्यो । खोक्दै बाहिर गएँ । पिशाव फेरेर आएँ । आज दशैँको फूलपाती यहाँ जेलका कैदीवन्दीहरूलाई दशैँ मनाउन दिन राँगा काटेको थियो । आठ दश जना मिलेर सफा गरिरहेका थिए । म फेरि बेडमा आएर सुतेँ । तुरुन्तै निन्द्रा लाग्यो ।

अब मलाई ओम शान्तिप्रति अलिअलि चाख लाग्न थालीसकेको थियो ।

आज मलाई भेट्न छोरा अवश्य आउँछ जस्तो लागेर विहान साढे दश वजेभित्र खाना खाइसकेँ । माइकको आवाजमा ध्यान दिइरहेँ । ठीक एघार बजे माईकबाट 'नजरमान महर्जनजी' भनेर तीनचोटि बोलायो । को आएको होला भनेर ढोकामा गएँ । बहिनी लक्ष्मी उप्रेती आएकी रहिछिन् । मलाई एउटा कार्ड झुण्ड्याएर बाहिर पठायो । स्टाफ भेटघाट गर्ने ठाउँमा लग्यो । लक्ष्मीले बाहिरबाटै स्टाफ कार्ड बनाएर ल्याएकी रहिछिन् । पछि थाहा भयो एक वर्ष पहिलेसम्म उनको श्रीमान डा.रमेश खरेल यस जेलको डाक्टर हुनुहुन्थ्यो । उनीसित कुराकानी भयो । म जेल परेको कसरी थाहा पायौं भनेर सोधेँ ।

'भाउजूले फोन गर्नु भएर थाहा पाएँ । निलम दिदी हेटौडा गइसक्नु भयो । दशैँपछि तपाईलाई भेट्न आउनुहुन्छ । दाइ, तपाईंलाई भ्वाइस अफ चिल्ड्रेनले फसाएको हो भन्ने मलाई पूरा विश्वास छ । दशैँपछि ‘भ्वाइस अफ चिल्ड्रेन’का अध्यक्ष कृष्णकुमार थापालाई भेटेर कुरा गर्छु । एक दुई लाख दिएर भए पनि मिलाउने प्रयास गर्छु । सिविनको गौरी प्रधानसँग पनि कुरा गर्छु । अलि अलि पैसा दिएर भए पनि मिलाउनु पर्‍यो ।'

'पैसा दिएर नमिल्ने । मैले कुनै अपराध गरेकै छैन कसरी सजायँ हुन्छ ? उनीहरूलाई लाख, दुई लाख दिएर मिल्ने भनेको फेरि अर्को एकजना मजस्तै बूढालाई फसाउन प्रोत्साहन दिने जस्तो हुनसक्छ ।' मैले भनेँ ।
'म फेरि भोलि आउँछु । दशैँपछि निलम दिदीलाई लिएर आउँछु' यति भनी लक्ष्मीले मलाई एक बटुका फ्राइ माछा दिएर गइन् । लक्ष्मी उप्रेती र निलम सुवेदी उनै हुन् । आजभन्दा बीस वर्ष पहिले उनीहरूलाई वीरगंजदेखि चिनेको हुँ । वीरगंजमा बिएड पास गरिसकेपछि उनीहरू स्नातकोत्तर पढ्न चाहन्थे । काठमाडौंजस्तो ठाउँमा कसको भरोसामा पठाउने भनेर घरबाट काठमाडौं पठाउन मानेका थिएनन् । म जिम्मेवारी बसेर दुबै जनाको सामान मेरो ट्रकमा राखेर ल्याएको थिएँ । लक्ष्मी बारा जिल्ला डुमरवानाकी हुन् भने निलम मकवानपुरको हेटौडाकी हुन् । दुबै जनालाई होस्टेल नपाएसम्म मेरो नयाँ बजार घरमा नि:शुल्क कोठा दिएर राखेको थिएँ । दुवैजनाले एमएमा प्रथम श्रेणीमा पास गरेका थिए । दुबै जना अहिले जागिरे छन् । काठमाडौंमा आफ्नै घर बनाएर बसिसकेका छन् ।

लक्ष्मीसँग छुटेर आएको एकछिन पछि निरज आयो । मैले निरजसँग सोधें, 'हिजो किन नआएको ?'

'हिजो ममी विरामी हुनुभयो । मेरो पनि जिउ सञ्चो भएन । त्यसैले नआएको ।' छोराले भन्यो ।

'सरूको केस के भयो त ?'

'सरूको केस मिलिसक्यो । रामकुमारी दिदीले कीर्तिपुर थानामा फोन गरेर जाहेरी खारेज गरिदियो ।

नवौं दिन (महाअष्टमी) 

आज दशैँको महाअष्टमीको दिन ४ वटा खसी काटेर मासु भाग लगाइरहेका थिए । विहानको ६ बजिसकेको थियो । आकाशमा हेरेँ, आकाश कालो वादलले ढाकिएको थियो । हिजो अलिअलि पानी परेको थियो । खाना खाएर साथीहरूसँग गफ गरिरहेको थिएँ । माइकबाट मेरो नाम बोलायो । को आएको होला भनेर ढोकामा गएको त छोरा र श्रीमती आएकी रहिछिन् । ओहो ! उनी त कति दुब्ली भइसकिन् । म जेलमा परेर उनले कति रात काँचो आँखाले बिताई होली, कति भोको पेटले बिताइ होली । उनीबाट टाढा भएको आज तेइसौं दिन । तेइस दिनपछि भए पनि उनी मलाई भेट्न आइन् । उनलाई देखेर एक मन हर्षित भयो भने अर्को मनमा रुन मन लाग्यो । तर मैले मन थामेँ । म रोएँ भने उनी पनि रुनेछिन् । त्यसैले मुटुमाथि ढुङ्गा राखी भित्र झ्यालमा बस्न गएँ । उनीहरू झ्याल बाहिर बसे ।

'यहाँ आएको एक महिना भएपछि बाहिर बसेर कुरा गर्न पाइन्छ ।' मैले भनेँ ।

'कार्तिक १० गतेभित्र बाहिर निकाल्ने कोशिस गरिरहेको छु । एक महिनाको कुरा गर्नुहुन्छ । धेरै चिन्ता नलिनु । सबैले आ–आफ्नो ठाउँबाट प्रयास गरिरहनु भएको छ ।' श्रीमतीले भनिन् ।

'अरूलाई आपत पर्दा म सहयोग गर्थेँ । अहिले म भित्र छु । डाक्टरले आफ्नो औषधी गर्न सक्दैन भनेझै म केही गर्न सक्दिनँ । तिमीहरूले हेरेर जे गर्नुपर्छ गर । मेरो कर्ममै जेल बस्नु परेको लेखेको रहेछ । विना दोषको कैदी बन्नु परेको छ ।' मैले भनेँ ।

'अर्काको बच्चाहरूलाई आफ्नो ठानी माया गरेको फल चाख्नु भयो नि !' श्रीमतीले भनिन्, 'बच्चाहरूको विरुद्ध केही भन्नु हुँदैनथ्यो । झम्टिन आउनुहुन्थ्यो । अति भएपछि खती हुन्छ भनेको यही हो । घरमा छोरा नातीसँग आरामले बस्ने बेलामा यस्तो ठाउँमा आएर बस्नु परिरहेको छ । मन दह्रो बनाउनुहोस् आफ्नो स्वास्थ्यको ख्याल गर्नु ।'

'भोलि दशैँको नवमी राम्ररी पूजा गर्नु । यहाँ आउनु पर्दैन ।' मैले भनेँ ।

'घरको मुख्य मान्छे नै जेलमा छ के दशैँ मनाउने ? तपाईं बाहिर ननिस्केसम्म दशैँ, तिहार केही पनि मनाउँदिन ।' श्रीमतीले भनिन्, 'यो सबै सविताको आमाले फसाएका हुन् ।'
“बाबु निशान्तको के खवर छ ?' मैले सोधेँ ।

'पर्सि बुहारी र नाती तपाईंलाईं भेट्न आउनेछन् । मासु चिउरा ल्याइदिएको छु । आज र भोलिको लागि पुग्छ होला ।' श्रीमतीले भनिन् । समय सकियो भनेर हामीलाई छुट्टिन बाध्य पार्‍यो ।

म भित्र आएर एकछिन के बसेको थिएँ । माईकबाट फेरि नाम बोलायो । लक्ष्मी बहिनी आयो होला भनेर ढोकामा गएँ । यसो बाहिर हेरेको त भतिजा सुभाष र बुहारी नीरालाई देखेँ । भेटघाटमा गएँ ।

'तपाई जेलमा परेकोले घरमा सबैजनाले दुःख मनाईरहेका छन् । आइन्दा कुनै पनि बच्चाले दुःख पायो भनेर माया गर्ने होइन ।'

'हाम्रो टोलमा कस्तो कुरा छ र?' मैले सोधेँ ।

'हामीसँग मिल्नेले झुटो आरोपमा फसायो भन्छन् । हामीसँग नमिल्नेहरूले ठीक भयो भन्छन् । तपाई बाहिर निस्केपछि सबैको मुखमा बुझो लाग्छ । हरेस नखानुस् आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस् । हामीले दशैँभाग ल्याई दिएका छौं । भोलि पर्सि आउन भ्याउँदिनँ ।' नीराले भनिन् ।

उनीहरूसित मन नलागे पनि छुट्टिएर आउनु पर्‍यो । तीन बजेतिर दाइको घरबाट पठाएको भोज स्वाद मानी खाएँ । त्यो भोजमा मेरो भाउजूको माया मिसिएको अनुभूति पाएँ । भाउजूलाई सम्झेर मेरो आँखामा आँशु छचल्कियो । किन रोएको भनेर भान्साका मान्छेले सोध्यो । अचारको खुर्सानी साह्रै पीरो छ भनेँ ।
त्यस साँझ म ओम शान्तिमा गइनँ । चाँडै सुतेँ ।

दसौं दिन (नवमी)  

आज विहान मेरो आँखा खुल्दा नम्वर लाग्ने बेला भइसकेको रहेछ । ५ :३० बजे नम्बर नखुलेसम्म बाहिर जान नपाउने । पिशाव लागे पनि थामेर बसिरहनु पर्‍यो । चेक आयो, गयो । नम्बर खुल्यो । बाहिर गएँ । आकाशमा हेरेँ । आकाश कालो वादलले ढाकिएको थियो । हिजो पनि विहान यस्तै थियो तर दिउँसो घाम लागेको थियो ओम शान्तिबाट बाहिर आउँदा आठ बजिसकेछ । पानी पर्न सुरु भयो । कतिबेर पानी पर्ने होला । असार श्रावणमा जस्तो धेरैबेर पानी पर्दैन होला । आज दशैँको नवमीको दिन । घरमा भए कति रमाइलो हुन्थ्यो । यहाँ त्यस्तो कुनै चहल पहल थिएन । सबै जनालाई घरको यादले सताइरहेको होला । हिजो घरबाट पठाएको मासु र साग भान्सामा खाएँ ।

आज मलाई भेट्न कोही पनि आउँदैन होला । दशैँको बेला को आउँछ ?  छोरा आउँथ्यो होला मैले आउनु पर्दैन भनेको थिएँ । बेडमा गएर सुतेँ । दुई घण्टा सुतेँ । उठेर आउँदा खोकी लाग्यो । खोकी बन्द भयो भनेर औषधी खान बन्द गरेको थिएँ । अब फेरि खानु पर्ला । हिजो घरबाट पठाएको मासु र चिउरा खाएँ । भोक मेट्यो । सिमसिम पानी परिरहेको थियो । त्यसैले बाहिर जताततै हिलै हिलो भएछ । सह नाईके र भाइ नाईकेहरूले सफा गरिरहेका थिए ।

बेलुका खाना खाने बेलामा आज भान्साबाट नै खसीको मासु खुवायो । धेरै दिनपछि खसीको मासु खाएको साह्रै मिठो लाग्यो ।

एघारौं दिन (दशमी) 

चिया पिएर ओम शान्तिमा गएँ । मुरली सुनेँ, ध्यान बसेँ । ओम शान्तिका भाइजी ऋषि धन राई ५ वर्षपछि भोलि कारागार मुक्त हुँदै थिए । सबै जनालाई एकएक ओटा केरा बाँड्नु भयो ।

आज दशैँको टिकाको दिन । जेलमा टिका लगाउन आउनेहरूको लागि बाहिर आँगनमा ठाउँ मिलाइएको थियो । अरूबेला नौ बजेमात्र भेटघाट गर्न दिने आज त बिहान ८ बजेदेखि नै भेटघाट गर्न दिएको थियो । नजिक घर भएकाहरू आफ्नो मान्छेलाई टिका लगाउन र टिका थाप्न आइसकेका थिए । टिका लगाउन र टिका थाप्न २० मिनेटको समय दिने भनेर हिजो नै सूचना दिएको थियो । आज घाम पनि लागेको थियो । टिका थाप्न रमाइलै हुनेभयो । आज सरू र निशान्त टिका थाप्न आउँछन् भनेर अस्ति नै श्रीमतीले भनेकी थिइन् । त्यसैले आज मेरो मन चञ्चल थियो । कति दिनपछि मेरो नाती निशान्तलाई देख्न पाउने भएँ । तर मेरो मनमा एउटा कुरा खट्केको पनि थियो । मलाई यहाँ देखेर नातीको कलिलो दिमागले के सोच्ने होला ? उसको मनमा केही असर पर्ने हो कि ! मैले ऐना हेरेँ । दाह्री जुंगा फुुलेका थिए । दाह्री जुंगा काटेँ । यहाँ आएको एघार दिन भयो । तीनचोटि मात्र दाह्री काटेको थिएँ ।

ब्रम्हकुमारी राजयोग सेवा केन्द्र ठमेलबाट ब्रम्हकुमारीहरू हामीलाई टिका लगाउन आउनुभयो । ओम शान्तिमा गएँ । विजयादशमीको शुभकामना आदान प्रदान गरेँ । ब्रम्हकुमारीहरूले निधारमा रातो टिका लगाई दिनुभयो । त्यहाँ बसिरहँदा पनि माइकबाट मेरो नाम बोलाउँछ कि भनेर कान त माइकमै रह्यो । बाह्रबजे ओम शान्तिबाट बाहिर आएँ । मन्दिरमा फोटो खिचिरहेको थियो । मैले पनि एउटा सिंगल फोटो खिचाएँ । दिनेश बस्नेतसँग बसेर र रामलालसँग बसेर पनि फोटो खिचाएँ । अब के गर्ने ? समय जति जति ढल्किंदै गयो । मेरो मनमा छटपटी भयो ।

प्रतीक्षाको घडी साह्रै कष्टकर हुँदोरहेछ । मनमा अनेक तर्कनाहरू चल्न थाल्यो । दिनको १ बज्यो । तैपनि माइकबाट मेरो नाम बोलाइएन । छोरा सँधै १२ बजेसम्म आइसक्थ्यो । त्यही बेला मैले थाहा पाएँ बाहिर नाम लेखाउने ठाउँमा धेरै लामो लाइन छ । अनि मनमा अलि आशा जाग्यो । दुई बजेतिर बल्ल माइकबाट मेरो नाम बोलायो । खुशी भएर ढोकामा गएँ । आज मलाई झ्यालमा राखेन । ढोका खोलेर बाहिर पठाइदियो । बाहिर खुल्ला ठाउँमा छोरा बुहारी बसिरहेका थिए । मेरा आँखाले नाति निशान्तलाई खोज्न थाल्यो । उसलाई नदेखेर मेरो मन खिन्न भयो । नाति निशान्त खोइ भनेर सोधेँ । ज्वरो आएको छ त्यसैले नल्याएको भन्यो । उनीहरूले टीका फंल केही पनि ल्याएको रहेनछ ।

छोरा बुहारीसँग कुरा गरिरहेकै बेला बहिनी कमला र भान्जी बसुन्धरा आए । सञ्चो विसञ्चोको कुरा भयो । बहिनीको आँखामा आँशु टलपलाएको देखेँ । त्यसैले मैले भनेँ - 'तिमीहरूले मलाई जेलमा कति दुःख छ भनेर सोचेको होला । यहाँ मलाई केही पनि दुःख छैन ।'

'हेर्नुहोस् दाइ ! अबदेखि कोही गरिव भनेर माया गर्ने होइन । गरिव भनेर माया गर्नुभयो । यस्तो झुटो आरोपमा बूढेशकालमा यहाँ आउनुपर्‍यो । म कति रोएँ । कति आँशु बगाएँ ।' बहिनीले भनिन्, 'म सँधै बसुन्धराको बासँग दाइ कहिले छुट्नुहुन्छ भनेर सोधिरहन्थेँ ।'

 टिका, अबिर या फूलमाया केही पनि नल्याएको कारण टिकाटालो केही पनि भएन । घरबाट र बहिनीले पनि खानेकुरा ल्याएकी रहिछिन् । ज्वाई डा. शिव शिरण पनि आउनुभयो ।

'दाइ ! नहुनु पर्ने भयो । चिन्ता नलिनुस् हामी सबैजना तपाईंलाई छुटाउन लागीपरेका छौं । तपाई लेखक हुनुहुन्छ । यहाँको समयको सदुपयोग गर्न केही न केही लेख्दै गर्नुहोला । कापी कलम निरजको हातबाट पठाईदिन्छु ।' डा. शिव शरणले भन्नुभयो ।

उहाँसँग विदा भएर आएँ । प्रत्येक व्यक्तिसँग भेट हुँदा मेरो मनमा आफू जेल परेको अनुभूति हुन्थ्यो । आफूले खाँदै नखाएको विष लाग्छ भने के गर्ने ? यो मेरो कर्मको फल हो । सतीले सरापेको देशमा राम्रो काम गर्नेले कहिले पनि जस पाउँदैन । सडक वालिका बन्ला भनेर मैले आश्रयमा राखेर पालेँ । आज उनीहरूकै कारण म थुनामा परेको छु । कस्तो विडम्बना ? यो कलियुग हो भन्छन् । कलियुगमा मान्छेको मनमा काम, क्रोध, लोभ, मोह र अहंकारको राज हुन्छ भन्छन् । साँच्चै रहेछ ।

आज बहिनीले ल्याएको खाजा खाने, घरबाट ल्याएको भोलि खाने भनेर बहिनीले ल्याएको टिफिन खोलेर हेरेँ । छ्वय्ला, कचिला, कुखुराको मासु, अचार, बोडे, बारा र चिउरा पूरा भोजै बनाएर ल्याएकी थिइन् । त्यो भन्दा पनि त्यस खानामा बहिनीको माया मिसिएको अनुभूति पाएँ । यदि आज म बाहिर भइदिएको भए बहिनीलाई मैले खुवाउनु पर्दथ्याे । आज बहिनीले मलाई ख्वाउन ल्याइरहेकी थिइन् ।

बेलुका बिछ्यौनामा पल्टिरहेको बेला हाम्रो वचपनको एकएक घटना याद आउन थाल्यो । म ६ वर्ष पूरा भएर सात वर्ष लाग्दा उनी जन्मेकी थिइन् । बहिनी भएर म साह्रै खुशी भएँ । उनको नाम कमला भनेर राख्यो । उनको बाल्यकाल मेरो छहारीमा बितेको भने पनि हुन्छ । म जहाँ जान्थेँ उनलाई हात समातेर लैजान्थेँ । मैले आफूले नखाएर भए पनि बहिनीलाई ख्वाउने प्रयास गर्थें तर उनले मैले नखाएसम्म खान्नथी । जे चीज भए पनि बाँडेर खान्थौँ । बाहिर खेल्ने बेलामा उनलाई कसैले हेप्यो, पिट्यो भने मलाई भन्न आउँथी । बाहिर गएर बहिनीलाई जिस्क्याउने, पिट्नेलाई म पिटीहाल्थेँ । त्यसैले मेरो कारण उनीदेखि सबै डराउँथे । उनका साथीहरू कँहीं जान कमला भएपछि कोही पनि डराउँदैनथे । कमला र मेरो उमेर सात वर्षको फरक थियो । उनी बच्चैछँदा म जवान भइसकेको थिएँ । म बाहिर यताउता गरेर घर आउँदा राति अबेर हुन्थ्यो । ढोकामा चुकुल लगाइसकेको हुन्थ्यो । त्यो चुकुल खोलिदिन उनी नसुतिकन मेरो प्रतिक्षामा हुन्थिन् । आमाबाबुले मेरो बारेमा कुरा गर्नुभएको सबै कुरा मलाई बताउँथिइन् । मेरा केटा–केटी साथीहरू सबै जनालाई उनी माया गर्थिन् ।

तर मलाई एउटा कुराको अपशोच लाग्थ्यो । हामी दुई भाइले बिए पास गरेँ तर बहिनीले स्कूल जान पाइनन् । दुई जना दिदीहरू र भाउजूका बच्चाहरू स्याहार्दै उनले स्कूल जान पाइन । उनले आफूभन्दा साना बच्चाहरू स्याहारेर जीवन बिग्रिया भन्ठानेको त होइन रहेछ । भगवानले उनको त्यो सेवावाट प्रभावित भएर वरदान स्वरुप डा. शिव शरण दुलाहाको रूपमा वर दिनु भएको थियो । आज उनको घर संसार देखेर मन आनन्दित भएको छ ।

बाह्रौं दिन 

नम्बर लाग्नुभन्दा अगाडि बाहिर जानु हुँदैन । नम्बर लाग्ने भनेको कैदीहरूको गन्ती गर्ने बेला हो । त्यति बेला आफ्नो बेडमा बस्नुपर्छ । नभए गाली खानुपर्छ । बिहान ६:१५ बजे निन्द्रा खुल्यो ।

आज पनि हिजोजस्तै बाहिरै राखेर टिका थाप्न लगाइएको थियो । विहानैदेखि माईकले नाम बोलाइरहेको थियो । आफ्ना मान्छे भेट्न आएकाहरू हाँसी खुशी भेट्न गइरहेका थिए । भेटेर कोसेली बोकेर हँसीलो मुहार लगाएर फर्किरहेका थिए । कोही पनि भेट्न नआएकाहरू निन्याउरो मुख लगाएर बसिरहेका थिए । म पनि माईकबाट मेरो नाम बोलाउने प्रतीक्षामा बसिरहेँ । यताउता टहल्दै समय बिताइरहेँ ।

१ बज्यो माईकबाट मेरो नाम बोलायो । गेटमा गएँ । छोरा आएको रहेछ । कुराकानी गरेँ । निशान्त आएनछ । २:४५ बजे छुटिएर आएँ । भान्सामा गएर खाजा खाइरहेको थिएँ । माईकबाट फेरि मेरो नाम बोलायो । बाहिर गएँ । भान्जा रेणुलाल र छिमेकी नीलकण्ठ अमात्य आउनु भएको रहेछ । कुराकानी भयो ।

'म जेल परेपछि कीर्तिपुरमा के प्रतिक्रिया छ ?' मैले सोधेँ ।

'के हुनु नि ! तपाईंलाई मन नपराउनेहरू खुशी भएका छन् । तपाईंलाईं राम्ररी चिन्नेहरू कसैले पनि विश्वास गरेका छैनन् । तपाईंलाई षडयन्त्र गरेर फसायो भन्छन् । 'नीलकण्ठले भन्नुभयो ।

'जसले जे भने पनि हामीले विश्वास गरेका छैनौं । तपाईं निर्दोष हुनुहुन्छ । सफाइ पाएर छुट्नु हुन्छ भनेको छु ।' रेणुलालले भन्यो ।

हामी तीनै जना सँगै बसेर दुईटा फोटो खिचाएँ । आज दुईचोटि माईकले बोलाएकोले जेलभित्र मेरो इज्जत बढ्यो । यहाँ जति धेरै भेटघाट आउँछ । उसको इज्जत बढ्छ ।

तेह्रौं दिन 

आज मेरो मनमा एउटा कुराले साह्रै उथलपुथल मचाइरहेको थियो । हिजो कीर्तिपुरको मेरो छिमेकी नरवहादुर महर्जनको देहान्त भयो । हिजो छोरा मलामी गएर आएको भनेको थियो । उसको देहावसानको कुरा सुनेर मलाई दुःख लाग्यो । यो धर्तीमा जन्म लिए पछि एकदिन सबैले मर्नु पर्छ । तर उसको मृत्यु समय नपुग्दै भयो । उसको ९४ वर्षकी बज्यै जिउँदै थिइन् । उसको ७४ वर्षका आमाबाबु पनि जिउँदै हुनुहुन्छ । ऊ भने हदै भए ५० वर्ष भयो होला । पहिले त रक्सी खाएर हिड्थ्यो । तर अहिले रक्सी पनि खाँदैनथ्यो । काललाई कसैले रोक्न सक्दैन । तैपनि मानिसहरू कहिल्यै मर्न नपर्ने जस्तो घमण्ड गरेर हिंड्छन् ।

आज मेरो नाति निशान्त आउने दिन । ऊप्रति मेरो मनमा कति आशक्ति बढेको थियो । हिजो छोराले आज निशान्त लिएर आउँछु भनेर गएको थियो । दिनको ११:४५ बजे माईकबाट तीनचोटि मेरो नाम बोलायो । आज पनि मलाई झ्यालमा राखेर भेट्न दिन खोजेका थिए ।

'हिजो अस्तिदेखि नै मलाई बाहिर भेट्न दिइसक्यो ।' मैले भनेँ ।

'तपाईं यहाँ आउनु भएको कति दिन भयो ?' गेटमा बसिरहेको मान्छेले सोध्यो ।

'एक महिना भइसक्यो ।' मैले झुटो बोलेँ ।

भान्जी समीताको आँखामा आँशु टलपलाएको देखेँ । सुनिलले बोलिसकेपछि उनको आँखामा आक्रोश देखियो उनले भनिन्, 'मामा तपाईंको छोरी नभएकोले छोरी मान्छेजति सबैलाई छोरी मानेर माया गर्नुहुन्छ । अर्काको रगतलाई आफ्नो ठान्दा आज यो हालतमा पुग्नुभयो । आइन्दा कुनै टुहुरा, अवला, अनाथ भनेर माया नगर्नुहोस् । जमानाअनुसार चल्न सिक्नुहोस् ।'

मलाई गेट खोलेर बाहिर पठायो । बाहिर निरज र नाति निशान्त आएको रहेछ । धेरै दिनपछि देखेर हो कि निशान्त त निकै ठूलो भइसकेको जस्तो लाग्यो । मलाई देखेर मुसुक्क हाँस्यो । त्यसपछि उसको मुहार मलिन भयो । उसले एक शब्द बोलेन । उसको बाल मस्तिष्कमा कस्तो प्रभाव पर्‍यो होला । कुराको सिलसिलामा निरजले भन्यो 'हिजो ममी, ठूलीआमा र रामकुमारी दिदी स्वयम्भूमा तपाईको चिनो देखाउन जानुभएको थियो ।'

'अनि के भनेर ल्यायो त ?' मैले उत्सुक भएर सोधेँ ।

'तपाईको अतित र अस्ति पाँगामा झगडा भएको कुरा सबै भन्यो । तर तपाईंको वन्दी जीवन वारे कुरै उठाएन । तपाईं कति दिन थुनामा बस्नुपर्ला भनेर ममीले सोध्नुभयो । तपाईको चिनो हेर्ने मान्छे छक्क पर्‍यो । उहाँले फेरि दोहोर्‍याएर चिनो हेरेर भन्नुभयो, 'उहाँको चिनो अनुसार त उहाँले वन्दी जीवन बिताउनु पर्ने देखेको छैन । शत्रु लागेर फसाएको होला । छिट्टै छुट्नु हुन्छ भन्यो रे ।'

निरजसँग छुट्टिएर आएको एकछिन पछि भान्जा सुनिल र भान्जी समीता आएका रहेछन् । उनीहरूसँग पनि बाहिरै बसेर कुराकानी गरेँ । म निर्दोष छु भन्ने कुरामा उनीहरू पनि विश्वस्त थिए ।
'मेरो बारेमा कीर्तिपुरमा के प्रतिक्रिया छ ?' मैले भान्जासँग सोधेँ ।

'ठूला मान्छेका चर्चा त भइहाल्छ । तपाईंलाई चिन्ने बुझ्ने मान्छेहरूले तपाईं कसैको षडयन्त्रमा फस्नु भयो भन्छन् । अरूहरूले अर्कै कुरा गर्छन् । मिश्रीत प्रतिकृया छ । को आफ्नो को पराई, यस्तै संकटको बेलामा चिनिन्छ ।' भान्जा सुनिलले भन्यो ।

भान्जी समीताको आँखामा आँशु टलपलाएको देखेँ । सुनिलले बोलिसकेपछि उनको आँखामा आक्रोश देखियो उनले भनिन्, 'मामा तपाईंको छोरी नभएकोले छोरी मान्छेजति सबैलाई छोरी मानेर माया गर्नुहुन्छ । अर्काको रगतलाई आफ्नो ठान्दा आज यो हालतमा पुग्नुभयो । आइन्दा कुनै टुहुरा, अवला, अनाथ भनेर माया नगर्नुहोस् । जमानाअनुसार चल्न सिक्नुहोस् ।'

भान्जा भान्जीको कुरा सुनेर म नाजवाफ भएँ । मेरो मनमा लाग्यो रगतको नाता भनेको यस्तो हुँदोरहेछ ।

चौधौं दिन 

आज विहान खाना खाईसकेपछि पुस्तकालयमा गएर पत्रिका पढिरहेँ । त्यहाँ मुलुकी ऐन पनि रहेछ । मुलुकी ऐनमा जवरजस्ती करणी उद्योग सम्बन्धी कानून हेरेँ । मलाई लागेको अभियोग प्रमाणित भएमा एक वर्ष कैद र दश हजार रुपैयाँ जरिवाना तिर्नु पर्नेछ । आफूले गर्दै नगरेको कुरामा कसरी प्रमाणित हुन्छ ? आफूले गर्दै नगरेको अपराधमा कसरी सजायँ हुन्छ ?  पुस्तकालयमा पत्रिका पढिरहेको बेला माईकबाट मेरो नाम बोलायो । बाहिर छोरा बुहारी आएका रहेछन् । उनीहरूसँग भेटें । कुराकानी भयो ।
'पुनरावेदन १७ नं. मा जानलाई वकिलसँग कुरा गरेर आएको ।' निरजले भन्यो ।

'यहाँ भित्रका साथीहरूले त १७ नं भनेको जिल्ला सदर नम्बर भन्छन् । १७ नं. ले धेरैजसो जिल्लाकै फैसला सदर गर्छन् भन्छन् । बेकारमा पैसा मात्र खर्च हुन्छ किन जाने ?' मैले भनेँ ।

'होइन डैडी ! १७ नं मा जानुपर्छ । १७ न‌ं. मा जाने भनेको सरकारले तपाईंलाई दिएको अधिकारको प्रयोग गर्ने हो । छुटे छुट्छ नछुटे पनि आफ्नो कुरा राख्न पाइन्छ । पैसाको किन पीर लिनुहुन्छ ? तपाईंलाई सहयोग गर्न हाम्रा दाजु भाइ, आफन्तहरू सबैजना तयार छन् । अस्तिको पेशीमा त तपाईंलाई धरौटीमा छुडाउन पैसा नपुग्ला भनेर हाम्रा नातेदार बाहेक नन्दकुमारी दिदी, सरव दाइ, जुजुभाइ दाइले समेत पैसा बोकेर आउनु भएको थियो ।' छोराले भन्यो ।

छोराको कुरा सुनेर मेरो मन आनन्दित भयो । छोरा धेरै बुझ्ने भैसकेको रहेछ । मलाई सहयोग गर्न धेरैजना तयार रहेको सुनेर मेरो मन हलुका भयो । मेरो मनको आधा पीडा कम भयो । छोरा बुहारीले मेरो लागि कुखुराको मासु ल्याएको रहेछ । भान्सामा गएर साथीहरूसँग बाँडेर खाएँ ।

आज पुरानो घर कालीमाटी भए पनि गोकर्णमा कुखुरा मासु बेचिरहेको एक जना शाही थरका केटासँग परिचय भयो । केटा त्यस्तै २५ वर्षजतिको थियो होला । नेवाः नेवाःको नाताले हामीले एक आपसमा आफ्ना दुःख सुखका कुरा गर्‍यौं । म के आरोपमा जेल परेको भनेर सोध्यो । मैले आफ्नो सबै कुरा भनेँ र ऊ किन आउनु परेको भनेर सोधेँ । उसले पनि नढाँटीकन बतायो । विहान चिया खाने बेलामा उसको श्रीमतीसँग अलिकति ठाकठुक भएको थियो । ऊ बस्ने घर र उसको मासु पसलको दुरी १० मिनेट दुरीको बाटोमा रहेछ । ऊ सँधैंझै मासु पसलमा गयो । मासु पसलमा पुगेको आधा घण्टापछि उसको श्रीमतीले झुन्डिएर आत्महत्या गरी भन्ने खवर आयो । ऊ दौडेर घर गयो । ऊ घर पुग्दा प्रहरी आएर फोटो खिची डोरी काटीसकेका रहेछन् । पोष्टमार्टमको लागि लाशलाई अस्पताल लगियो । उसको सासु र जेठी सासुले उसले स्वास्नीलाई मारेको भन्ने प्रहरीमा जाहेरी दिएछ । उसलाई पनि मलाईझै पुर्पक्षको लागि थुनामा पठाएको रहेछ । उसको २ वर्षकी छोरी पनि रहिछ । उसलाई स्वास्नी मरेकोमा साह्रै दुःख लागेको थियो । आफ्ना छोरीलाई सम्झेर आँशु बगाउँदै थियो ।

मलाई दिनको दुई जना तीन जनाले भेट्न आइरहेको देखेर भित्र जेलका मानिसहरूले मलाई सम्मान गर्न थालेका थिए । त्यहा ठूला मान्छेहरूको मात्र त्यसरी भेटघाटमा आउदा रहेछन् ।

लेखक तथा पत्रकार नजरराम महर्जनको जीवनको वास्तविक घटना कीर्तिपुर सन्देसबाट 

याे पनि 

थुनुवाको डायरी: दुई वर्षदेखि साहुनीसँग यौन आनन्दमा, साहूजीले देख्नासाथ जवरजस्ती करणी र पुर्पक्षको लागि थुनामा !

थुनुवाको  पहिलो दिनको डायरी: नखाएको विष

थुनुवाको डायरीः 'बाजिगर', झुठो आरोप र जेलकाे बास

थुनुवाको डायरी: शिक्षाकहरुकाे झुठाे बयान र भद्रवन्दी गृहकाे मेरो पहिलो रात