बिपीको आग्रहमा पिताजीद्वारा विद्यालयको स्थपनाः पहिलो कक्षा सुरु भएको दिन प्रजातन्त्रको हत्या !
फर्कलान् र ती दिनहरु
बैशाख २०, २०७७

२०७६ साल चैत्र ११ गतेदेखि कोरोना भाइरस कोभिड—१९को महामारीका डरले नेपालमा पनि लकडाउन छ । यी हरफहरू लेख दासम्ममा विश्वमा ३१ लाखभन्दा बढीमा यो भाइरस सङ्क्रमित भइसकेको छ र करिब २ लाख १७ हजारभन्दा बढीको ज्यान नै गइसकेको अवस्था छ । अर्थात् विश्वका करिब २१० देशमै फैलिएको यो कोभिड—१को महाव्याधिको प्रलय कहिले थामिने हो, भन्न सकिने अवस्था छैन । 

नेपालमा नै २०७७ साल वैशाख २५ गतेसम्मका लागि लकडाउन थपिएको छ र अहिलेसम्म ५४ जनालाई मात्र सङ्क्रमण देखिएको छ । नेपालमा नै यो सङ्क्रमण उत्पन्न भएको त देखिँदैन तर बाहिरबाट आउनेहरूलाई नै सङ्क्रमण र उनीहरूबाट सारेको देखिन्छ । जोजो सङ्क्रमित भए तिनको पो के दोष छ र संसार नै महामारीमा जाकिएको छ अनि कहिले यो समस्याको समाधान सहज तरिकाले होला र विश्वका जनताले ढुक्कसँग बाँच्न पाउलान् ।  दैव जाने अरू कसैले नजाने भन्ने बेला भएको छ अहिले । यस क्रममा सबै ठप्प छ । विद्यालय, क्याम्पस, विश्व विद्यालय सबै बन्द छन् । कतिको परीक्षा रोकियो, साना साना केटाकेटीहरूको विद्यालय जाने रोकियो । ठुलाहरूको काम र व्यवसाय रोकियो ।

यस बेलामा दूर शिक्षा प्रणाली र दूर सञ्चार प्रविधिमार्फत कक्षा लिने तरिका प्रारम्भ भएको छ धेरैजसो ठाउँमा । कतिपय संस्थाहरूले यसलाई प्रयोगमा ल्याएकै थिए तर अहिले यो व्यापकरुपमा प्रयुक्त भएको छ । अहिले मेरो यो प्रसङ्गचाहिँ मेरा साना साना नातिनीहरूको पढाइको प्रसङ्गसँग जोडिएको छ । चैत्रको पहिलो हप्तामा परीक्षा हतार हतार समाप्त गरेर घरमा बसेका नातिनीहरूलाई कक्षा गर्नका लागि अनलाइन सम्पर्क कक्षाको व्यवस्था विद्यालयहरूले गर्न थाले अनि १० वर्षकी नातिनी विश्रुता, साँढे ७ वर्षकी नातिनी सुदेष्णा र साँढे ६ वर्षकी नातिनी आरुषिले ल्यापटप लिएर कक्षा गरेको अनि ल्यापटपमा नै गृहकार्य गर्न थालेको देख्दा समयको गतिलाई मैले लेखाजोखा  भने गरिरहेको छु । 

म आफैँले पनि विभागीय प्रमुखका रूपमा स्नातकोत्तर कक्षा सञ्चालन गर्न आफ्ना विभागीय साथीहरूलाई प्रेरणा दिएकाले काठमाडौँ शिक्षा क्याम्पसका स्नातक तथा स्नातकोत्तर कक्षाहरू करिब १५ दिनदेखि चलिरहेका छन् र कोर्स पनि धेरै अघि बढेको छ, त्यसपछिमात्र त्रिविले अनलाइन कक्षासम्बन्धमा नियमहरू तयार गरेको देखिन्छ । संसार सञ्चार प्रविधिमा कति धेरै अगाडि बढेको छ तर यो प्रविधिमा पहुँच कसरी सबैलाई पुर्‍याउन सकिन्छ भन्ने चासो सार्वजनिक हो र त्यसमा सरोकारवालाहरू सबैको चासो रहनु पर्छ । तत्काललाई देखाउन भन्दा दीर्घकालीन सकारात्मक परिणाम दिन सकोस् भन्नेमा सबै लाग्नु जरुरी छ । तर मैले यो प्रसङ्ग हिजोका दिनको शिक्षा ग्रहण गर्दाका सम्झनाका तरेलीसँगै स्मरण गर्दैछु ।

मैले औपचारिकरुपमा शिक्षा ग्रहण गरेको भनेको ग्वाल्टारको श्री कौशिका प्राथमिक विद्यालयबाट हो जसको स्थापना गर्नेमा मेरा बाको नै मुख्य हात थियो । त्यो विद्यालयको स्थापना दिन २०१७ सालको कोजाग्रत पूर्णिमाको दिनलाई मानिन्छ र कक्षा सुरु भएको थियो २०१७ साल पुस १ गतेबाट जुन दिन नेपालमा प्रजातन्त्रको हत्या भएको थियाे । 

ग्वाल्टारको नाम यस कारणले पनि राजनीतिक क्षेत्रमा प्रख्यात रहेछ कि यहीँकै एक जना क्रान्तिकारी युवा बाबुराम बराललाई राणाहरूले प्रति क्रान्तिका ज्वालामा समाप्त पारेका थिए र उहाँ प्रजातन्त्र प्राप्तिपछि प्रजातन्त्र संरक्षणका लागि सहादत दिनु भएको थियो । तत्कालीन पूर्व २ नम्बरको जनसरकारमा गृहमन्त्रीको रूपमा पूर्व २ नम्बरको चरिकोटमा कार्यरत रहँदै उहाँलाई रौतहटको राजनीतिक तथा सामाजिक समस्या समाधानार्थ केन्द्रीय सरकरले पठाएको थियो अर्थात् त्यो रौतहट क्षेत्रमा बरालको राम्रो सङ्गठनात्मक प्रभाव भएकाले समाधानका लागि नेतृत्व दिन सक्ने ठानेर पठाइएको कुरापछि गणेशमानजी र बिपीले बारम्बार भन्नुहुन्थ्यो । तर भ्रम के बाँडियो भने बिपी र गणेशमानले आफूभन्दा क्रान्तिकारी भएकाले षडयन्त्रपूर्वक रौतहट पठाएको हल्लाले ग्वाल्टारमा उहाँका परिवारका मानिसहरू धेरै कम्युनिस्ट भए, १५ नम्बर क्षेत्रमा कम्युनिस्ट पार्टीको उम्मेदवार नै बाबुराम काकाका जेठा बाका छोरा रामहरि बराल काका नै उम्मेदवार हुनुभएको थियो । 

सूर्यबाबुले भन्नुभएछ मेरा पिताजीलाई- म त पूर्व २ नम्बरलाई केही पनि काम गर्दिन, किनभने मलाई चुनाव हराएको हो त्यहाँका मानिसहरूले । मैले सकेँ भने त त्यो ठाउँलाई मरुभूमि नै बनाउने छु । सायद निर्वाचन जितेको भए अरू बढी राजनीतिक प्रभाव बढ्थ्यो भन्ने उहाँलाई लागेको थियो होला । अनि मेरा पिताजीले भन्नुभएछ–त्यसो भए हाम्रा भोट फिर्ता गर्नुस् । हामी अनि बेनीबहादुरकी र जीतबहादुर कार्कीको घरमा जाउँला विकास माग्न । यो एउटा गफ पनि थियो र साँच्चै जनताको आवाज पनि थियो ।

त्यो कौशिका प्राथमिक विद्यालयको जन्मको पनि एउटा कथा सुनेको थिएँ मैले सानैमा । देउरालीटारमा स्कुल थियो प्राथमिक तहको । ग्वाल्टारमा कुनै पनि प्रकारको विद्यालय थिएन । हामी सानो हुँदा कहिले जिम्मल जिबाको गोठमा, कहिले सेक्रेटरी भानिज बाको घरमा, कहिले हाम्रै गोठमा त कहिले कहाँ, कहिले कहाँ । मलाई सम्झना छ, सालुबाट टीकाहरि काफ्ले दाइलाई अनुरोध गरेर हाम्रो गाउँमा गुरुको रूपमा ल्याइएको थियो र हामी त्यस बेलाका केटाकेटीहरूले कखग सिकेका थियौँ । 

पण्डित तथा ज्योतिषीका रूपमा परिचित टीकाहरि दाइका जेठा सुपुत्र अहिलेका वरिष्ठ पत्रकार तथा नेपाल समाचार पत्रिका दैनिकका सम्पादक कपिल काफ्ले हुनुहुन्छ । अहिले पनि कपिल र मेरो सम्बन्ध भनेको पारिवारिक दाइभाइको नै छ । पहिले कहिलकाहिँ देउरालीटारका पुण्डरी दाइ(द्रोणराज कोइराला)लाई बोलाएर गाउँमा पढाउन लगाइन्थ्यो । हामी पड्थ्यौँ । तर खोइ किन हो, हामीलाई कसैले पनि देउरालीटार जानका लागि कर गर्दैनथे र हामी पनि गएका थिएनौँ । पुण्डरी दाइले मेरो ठुलो दाजु गणेशप्रसाद अधिकारी र अर्को दाजु द्वारिका अधिकारीलाई पढाउनु हुन्थ्यो । सायद अंग्रजी नै हो किनभने मैले कखगघ भन्दा पहिले एबीसीडी नै कण्ठ गरेको थिएँ ।  दाइहरूलाई सिकाएको बेलामा । अक्षर लेख्नचाहिँ नआउने तर कण्ठचाहिँ एबीसीडी, सीएटी क्याट भन्दै हिँड्थेँ, त्यो धमिलो सम्झना अहिले पनि छ । 

विद्यालय स्थापनाको कथा रहेछ यस्तो । कथा के थियो भने तत्कालीन अवस्थामा १४ नम्बर संसदीय क्षेत्र र १५ नम्बर संसदीय क्षेत्र दुवैबाट नेपाली काँग्रेसले हारेको थियो २०१५ सालको पहिलो आम निर्वाचनमा । एउटा क्षेत्रबाट सूर्यप्रसाद उपाध्याय र अर्को क्षेत्रबाट कुलचन्द्र कोइरालालाई उम्मेदवार बनाइएको थियो । प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको मन्त्रिमण्डलमा सूर्यप्रसाद उपाध्यायजी गृहमन्त्री हुनुभएको थियो ।  उहाँले तर प्रतिनिधि सभाको निर्वाचन हारेको हुनाले महासभामा मनोनीत गरिएको थियो र मन्त्री हुनुभएको थियो । उहाँ तत्कालीन पूर्व २ नम्बर, बडीमुहान चिसापानीका ढुङ्गेल हुनुहुन्थ्यो । हारे पनि बिपीले गृहमन्त्री बनाउनु भएको थियो । मेरा बा पनि नेपाली काँग्रेसको महासमिति सदस्य हुनुहुँदो रहेछ काँग्रेसको एक प्रकारले मुख्य चन्दादाता र सङ्गठनकर्ता पनि पूर्व २ नम्बरमा । 

पिताजी रामप्रसाद उपाध्याय अधिकारी र काका कुलचन्द्र कोइराला गृहमन्त्री उपाध्यायलाई भेट्न जानुभएको रहेछ सम्भवतः २०१७ सालको सुरुतिर । विद्यालयहरूको कोटा प्राप्त गर्नका लागि, किनकि नेपाली काँग्रेसको घोषणापत्रमै लेखिएको थियो, यदि हाम्रो सरकार आयो भने हामी प्रत्येक निर्वाचन बुथमा कम्तीमा एउटा प्राथमिक विद्यालय स्थापना गर्नेछौँ । त्यही क्रममा सूर्यबाबु र कुलचन्द्र कोइरालालाई भोट दिनेहरूले के जान्दथे भने सरकार त काँग्रेसको नै आएको छ । केही विकासका काम, विद्यालय, बाटो चाहियो । तर सूर्यबाबुले भन्नुभएछ मेरा पिताजीलाई- म त पूर्व २ नम्बरलाई केही पनि काम गर्दिन, किनभने मलाई चुनाव हराएको हो त्यहाँका मानिसहरूले । मैले सकेँ भने त त्यो ठाउँलाई मरुभूमि नै बनाउने छु । सायद निर्वाचन जितेको भए अरू बढी राजनीतिक प्रभाव बढ्थ्यो भन्ने उहाँलाई लागेको थियो होला । अनि मेरा पिताजीले भन्नुभएछ–त्यसो भए हाम्रा भोट फिर्ता गर्नुस् । हामी अनि बेनीबहादुरकी र जीतबहादुर कार्कीको घरमा जाउँला विकास माग्न । यो एउटा गफ पनि थियो र साँच्चै जनताको आवाज पनि थियो । 

कुरै कुरामा आवाज ठुलो भयो, त्यस बेलामा बिपी त्यहीँ आराम गरिरनु भएको रहेछ ।  भित्र सुतिरहनु भएको बिपीले हल्लाखल्ला सुनेर बाहिर आउनु भएछ र सोध्नु भएछ– होइन यो के को हल्लाखल्ला हो पूर्व २ नम्बरका साथीहरूको ? मेरो पिताजीले ख्याल ख्याल जस्तै गरी सबै कुरा भन्नु भएछ । तत्कालै बिपीले यो कुरालाई गम्भीरताका साथ लिई शिक्षामन्त्री परशुनारायण चौधरीलाई १० वटा जति प्राथमिक विद्यालयको कोटा १५ क्षेत्रलाई दिन अह्राउनु भएछ । सम्भवतः सूर्यबाबुकै भाइ शारदाप्रसाद उपाध्याय शिक्षा विभागका हाकिम हुनुहुन्थ्यो क्यार ! तत्कालै विद्यालयको कोटा प्राप्त भयो । त्यही कोटाबाट ग्वाल्टार, तीनमाने, टाढी, राम्चे, किराँते, भीमथान, बेल्घारी, बाझेँ, फलामे, टङ्सार कता कता विद्यालय खोलिएको भन्ने सुनिएको हो । 

यसरी खुलेको कौशिका प्राथमिक विद्यालयको भवन शिलान्यास भएको दिन २०१७ सालको कोजाग्रत पूर्णिमाको दिनलाई सायद जन्मदिनको रूपमा मानिएको हो र कक्षा सञ्चालनचाहिँ २०१७ सालको पुस १ गतेबाट भएको हो । त्यो दिन मेरो कक्षा १ को पहिलो दिन थियो । मलाई विद्यालयमा पुर्‍याएर पिताजी बिसीमा १४ मुरेको खलो काट्न जानुभएको थियो ।  त्यसपछि मैले धेरै पछि मात्र उहाँलाई देख्न पाएँ । त्यसको कारण थियो राजाले सैनिक ‘कु’ गरेका रहेछन् र पिताजी, कुलचन्द्रकाकाहरु पक्राउ पर्ने डरले भूमिगत बस्नु भएको रहेछ । त्यस दिन बिहान हामी बा र छोरा मुर्की गएका थियौँ, मलाई धमिलो याद आउँछ । एउटा गाई भानिज बाका घरबाट किनेर ल्याएको मलाई याद छ । त्यो गाईको नाम हामीले मुडुली गाई राखेका थियौँ । त्यो गाई पछिसम्म थियो । 

हाम्रो विद्यालय सुरुमा नै कक्षा ५ सम्म सञ्चालन भएको थियो । एकतले घर थियो । अहिलेको विद्यालयको भुईँ तल्ला नै त्यो बेलाको विद्यालय हो । हामीलाई धर्मुकाका(धर्मराज बराल)ले पढाउनु हुन्थ्यो । धर्मुकाका नर्मल तालिमका लागि काठमाडौँ गएका बेलामा उहाँकै दाजु भोजराज काकाले हामीलाई पढाउनु भएको थियो । सबैले मेरो पिताजीलाई सम्मानका साथ विद्यालयको अध्यक्ष बनाएको मलाई सम्झना छ । त्यसैले सबैको एउटा मत रहेको थियो कि त्यो विद्यालयको संस्थापक रामप्रसाद अधिकारी नै हुनुहुन्छ । 

तर मेरो पिताजीले कहिले पनि त्यो विद्यालयको संस्थापक आफू हुँ भनेर घमन्ड गरेको पनि मैले थाहा पाइन र हामीलाई पनि त्यो विद्यालय जस्तै अरू विद्यालयको संस्थापक आफू हुँ भनेर कहिले पनि भनेको मैले सुनिन । तीनमानेमा विद्यालयको रेखदेख र हेरचाह गर्नेमा तारादेवी दिदी नै हुनुहुन्थ्यो । उहाँ निरक्षर भए पनि शिक्षाको महत्त्व बुझेको सभ्य चेली हुनुहुन्थ्यो । समाजसेवी हुनुहुन्थ्यो । जीवनभर त्यही विद्यालय, आफ्नो गाउँ ठाउँका महिलाहरूलाई सशक्त बनाउनका लागि नै लागिरहनु भयो । उहाँको समाजसेवालाई निरन्तरता गोमा दिदीले दिइरहनु भएको छ । गोमा दिदी पछि गएर एमालेबाट सांसद पनि हुनुभयो । अहिले पनि गोमा देवकोटाका रूपमा सङ्घीय संसद्मा दिदी नेकपाका तर्फबाट सांसद हुनुहुन्छ ।  त्यो तारादेवी दिदीको समाजसेवाको तालिमले उहाँमा राजनीतिमा लाग्ने प्रेरणा पाउनु भयो । पछि खुर्कोटका राजनीतिकर्मी ऋषि देवकोटासँग उहाँको विवाह भयो । ऋषि दाइ हाम्रो भेगको एउटा सम्मानित समाज सुधारक र वाम राजनीतिका नेता नै हुनुहुन्थ्यो जसलाई पञ्चायती शासनले क्रूरतापूर्वक हत्या गरेको थियो । 

सायद !  आज पनि त्यही नै हाम्रो अवधारणा बन्यो ।  हामी त्यसैबाट आज पनि निर्देशित छौँ जस्तो लाग्छ । अहिले यो सम्झिरहँदा म त्यही बेलामा पुगेको छु र चकटी बोकेर आफ्नो ठाउँ खोजिरहेको सम्झन्छु । पाटी, रातमाटो र काठको अक्षर लेख्न छेस्को अहिले पनि हातैमा छ जस्तो लागिरहेको छ । भूकम्पले गर्दा पहिलेका भौतिक संरचनामा परिवर्तन आएको छ र नयाँनया्ँ भवन बनिरहेका छन् जसलाई विद्यालयको नयाँ जीवनका लागि नयाँ संरचना मान्दा हुन्छ । 

वास्तवमा शुद्ध नाउँ त कौशिकी हुँदो रहेछ तर ग्रामीण भेगमा सुनकोसीलाई कौशिका भन्ने गर्थे अझै भन्छन् । मलाई त्यसैले त्यही कौशिका प्राथमिक विद्यालय अहिले कक्षा १२ सम्मको  पढाइ हुने (उच्च) माध्यमिक विद्यालयको माया लाग्दछ किनभने मैले कक्षा १ मा पढ्ने ।  पहिलो विद्यार्थी हुने मौका पाएको थिएँ । म, केशव काका, गोमा बराल दिदी, पवित्रा बराल दिदी, टङ्कु काका, गणेश काका, राजन बराल, रामु कोइराला आदि हामी कक्षा १ का विद्यार्थी थियौँ । धेरै वर्ष भयो झन्डै ६० वर्ष पहिलेको कुरा । अब बिर्सिन पनि थालिएछ । पछि हामीले कक्षा ६ सम्म त्यहीँ पढ्यौँ । हामीले कक्षा ६मा पढ्ने बेलामा हाइ स्कुल बनाउने कुरो थियो । तर हाम्रा हेडसर निर्मलचन्द्र शर्मा सरलाई लिन उहाँका परिवार ग्वाल्टारमा आई लिएर गए पछि त्यो कुरो त्यसै हरायो  । भरत बराल काका पनि भूमिगत भएर बाहिर जानु भयो, निर्मलचन्द्र सर पनि आफ्नो घर भारत देहरादुन तर्फ जानुभयो । २०२१ सालमा नै हुन लागेको हाइ स्कुल त्यो बेलामा हुन सकेन । 

धर्मु काकाले नर्मल तालिम लिएर आएपछि एकाबिहानै पिटी खेलाउनु हुन्थ्यो ।  कक्षामा अङ्ग्रेजी र गणित राम्रोसँग पढाइ हुन्थ्यो । प्रत्येक शुक्रवार अतिरिक्त क्रियाकलापको रूपमा कविता, हाजिरी जबाफ र विद्यालय सरसफाइ गरिन्थ्यो । हामी पालैसँग विद्यालय लिप्थ्यौँ, दिदीबहिनीहरूले हामीलाई चुनौती दिन्थे र भन्थे—हामी मात्र लिप्दैनौँ, तिमी केटाहरूले पनि लिप्ने पोत्ने गर्नुपर्दछ । हामी दिदी बहिनीहरूको भन्दा पनि राम्रोसँग लिप्थ्यौँ,पोत्थ्यौँ । वास्तवमा हामी केटाहरूको त्यही नै अनुभव रह्यो । 

हामीले धर्मुकाकालाई नै आफ्नो मूल गुरु मानेका छौँ । पछि अरू गुरु पनि आउनु भयो तर हामीलाई भर्खर तालिमबाट जानु भएका गुरुले जुन जुन कुराहरू सिकाउनु भएको थियो ।  सायद !  आज पनि त्यही नै हाम्रो अवधारणा बन्यो ।  हामी त्यसैबाट आज पनि निर्देशित छौँ जस्तो लाग्छ । अहिले यो सम्झिरहँदा म त्यही बेलामा पुगेको छु र चकटी बोकेर आफ्नो ठाउँ खोजिरहेको सम्झन्छु । पाटी, रातमाटो र काठको अक्षर लेख्न छेस्को अहिले पनि हातैमा छ जस्तो लागिरहेको छ । भूकम्पले गर्दा पहिलेका भौतिक संरचनामा परिवर्तन आएको छ र नयाँनया्ँ भवन बनिरहेका छन् जसलाई विद्यालयको नयाँ जीवनका लागि नयाँ संरचना मान्दा हुन्छ । 

आज पनि म आफ्ना गुरुहरू टीकाहरि दाइ, धर्मुकाका, भोजराज काकालाई सम्झिरहन्छु । भोजराज काकाको आत्माले चीर शान्ति प्राप्त गरोस् । टीकाहरि दाइसँग काठमाडौँमा भेट हुन्थ्यो पछिसम्म पनि । अहिले उहाँको पनि देहावसान भएको छ, हार्दिक श्रद्धाञ्जली गुरुहरूप्रति । धर्मुकाका रानीबासबाट अहिले भक्तपुरको बाल कोटमा हुनुहुन्छ । आफ्ना गुरुहरू प्रति हामी अहिले पनि नतमस्तक छौँ र उहाँहरूले सिकाएका सभ्यतालाई हामीले पनि पुस्तापछिका अरू पुस्तालाई ज्ञानको रूपमा सभ्यता बाँडिरहेका छाँै । मैले आफ्नो जीवन नै शिक्षाको क्षेत्रमा लगानी गरेँ । अहिले पनि विद्यालयबाट निवृत्त भए पनि आफैँले स्थापना गरेको सामुदायिक क्याम्पसमा नै पढाएर बसेको छु । 

मेरो पिताजीले जब शिलान्यास गदैँहुनुहुन्थ्यो, आवेशमा आएर या दूर दृष्टिको धारणा थियो, भन्नुभएको थियो- यो विश्वविद्यालय बनोस् । अहिले (महा)विद्यालयसम्म त बनेको छ, पछि गएर कुनै बेलामा अर्को पुस्ताले विश्वविद्यालय बनाउन सकेमा उहाँको अपेक्षा पूरा हुनसक्ने थियो । मेरो पनि चाहना हुनेछ कि यो विद्यालयलाई कसरी हुन्छ विकास गराउने । प्राथमिक विद्यालयको स्थापना मेरो बाले गर्नु भए पनि गाउँका सबैको त्यत्तिकै सहयोग र साथ थियो । माध्यमिक विद्यालयचाहिँ डिट्ठा जिबा गुणराज बरालको प्रयासले भएको हो । 
 सबै चिज आफूले चाहेर मात्र हुँदो रहेनछ ।  तर भविष्यमा निवृत्त जीवनमा यही विद्यालयको सेवा पो लेखेको छ कि ? मन त सधैँ ग्वाल्टारमा मात्र रमाउँछ । अहिले पनि जब म गाउँमा पुग्छु, प्रधानाध्यापकजीसँग अनुमति मागेर कक्षा लिन मन लाग्छ, लिन्छु पनि । संसारका विकसित देशहरूमा पुग्दा पनि र राजधानीको व्यस्त जीवनमा पनि याद आइरहने भनेको जन्मेको गाउँ ग्वाल्टार र यही विद्यालय मात्रै हो । अब पिताजीको याद मात्र रह्यो । उहाँले हाम्रालागि बनाइदिएको, तत्कालीन गृहमन्त्रीसँग झगडा गरेर ल्याएको कोटाको विद्यालय अझै छ । बिपीको पनि देन यसमा देखिन्छ । बिपीले मलाई भन्नुभएको थियो कि ग्वाल्टार र देउरालीटारको पानीको झगडाका कारणले म ग्वाल्टार र देउरालीटा्र जान सकिन । मलाई लाग्छ कि बिपीलाई विवादमा पार्ने कसैको पनि बिचार थिएन । बिपी ओमराजकाकालाई धेरै सम्झनुहुन्थ्यो । मेरो पिताजीका बारेमा उहाँ भन्नुहुन्थ्यो कि यदि त्यो दिन रामप्रसादजी सूर्यबाबुको घरमा नभएको भए त्यतिका विद्यालयको स्थापना एकै पटक सम्भव थिएन । 

हामीलाई स्वावलम्बी हुनुपर्दछ भनेर सिकाउने धर्मुकाका नै हाम्रो पुस्ताको महान् पथप्रदर्शक हुनुहुन्छ । हाम्रो जीवनको पहिलो पाठशाला आमा र घर हो अनि जीवनको डोरेटो देखाउने ठाउँ चाहिँ त्यही कौशिका विद्यालय हो । अहिले पनि मेरो सपनाको ठुलो हिस्सा त्यही गाउँमा बित्छ र त्यही विद्यालयको वरिपरि घुमिरहेको हुन्छ । सम्भवतः पिताजी र माताजीको स्वर्गारोहणपछि झन् त्यो ठाउँको माया अझ बढी लागिरहन्छ । सायद मेरो पहिचान मैले सर्वप्रथम त्यहीँ पाएकोले पनि होला । 

जीवनको प्राथमिक अवस्थाका कतिपय सम्झना अब धुमिल पनि भइसके । कतिपय साथीहरूको नाम र हुलिया पनि बिर्सिन लागियो । पहिलेका कुरा बिर्सने र अहिलेको अवस्थामा भुल्ने मानवीय स्वभाव पनि हो । कतिपय साथीहरू कहिल्यै नआउने बाटो पनि लागिसके । हामी पनि बुढाको गन्तीमा पर्ने बेला भइसक्यो । अहिलेको पुस्ताले हामीलाई नचिन्ने पनि भइसके किनभने यता केही वर्षदेखि गाउँमा आवतजावत पनि कम भएको छ । जब गाउँमा जान्छु, तपाईँको घर कहाँ हो र  कहाँबाट आएको हो भनेर कसैले सोध्दा दुःख पनि लाग्छ । तर कौशिका माध्यमिक विद्यालयको उत्तरोत्तर प्रगतिको कामनाचाहिँ सदैव मनमा छ ।  किनकि यसको संस्थापना गर्ने मान्छे र मेरो भौतिक देहको स्थापना गरी यस संसारमा ल्याउने मान्छे मेरा पूज्य पिताजी नै हुनुहुन्थ्यो । यस स्मरणमार्फत म आफ्नो पिताजीलाई कृतज्ञतासाथ दुई थोपा आँसुको श्रद्धा सुमन अर्पण गर्दै त्यस विद्यालयको प्रगतिका लागि आफूले सकेको सेवा पुर्‍याउने बाचा गर्दछु । सम्झना त धेरै थिए, आजलाई यत्ति । 

क्रमशः

याे पनि 

फर्कलान् र ती दिनहरू ! 'नवराज बाबूू जस्तो हुनू' !!

'रामप्रसाद दाइचाहिँ उपाध्याय बाहुन, हरिचाहिँ जैसी बाहुन !' प्रसादबाट विनोद मध्यभाग परिवर्तन !!

द्वन्द्वको मार र त्रासको अनुभूति: काँग्रेसकै आततायीहरूद्वारा काँग्रेसका मतदाता निहत्था मेरा हजुर वाको गोली हानी हत्या !

आमाका घिक्क घिक्क गर्दै बितेका अनुत्तरित क्रन्दनका रातहरू र मेरो मस्तिष्कमा टाँसिएको हिंसाप्रति असन्तोष


अधिकारी दर्शन, राजनीति र साहित्यमा कलम चलाउनुहुन्छ ।