सीताराम नेपालका लघुकथाः विकासको अनुहार, खानगी र नारा लगाउ नारा

सीताराम नेपालका लघुकथाः विकासको अनुहार, खानगी र  नारा लगाउ नारा

सीताराम नेपाल  |  साहित्य  |  बैशाख २०, २०७७

विकासको अनुहार

अरूले सुनेको कुरा उसले पनि सुन्यो -'ठूलदाइले विकास ल्याए रे ।' बर्षौदेखि व्यग्र प्रतिक्षारत उसहितका गाउँलेहरू विकास हेर्न निक्कै लालयीत थिए । 'अब हाम्रो दु:खका दिन गए' भन्ठान्दै सबैजना आउन लागेको विकास हेर्न गए । गरिबी र बेरोजगारीले पीडित उ भोको पेटमा थोत्रो पटुका कसेर भारी बोक्ने नाम्लो च्यापी विकास हेर्न गयो । सहरबाट

आएका सबैले भने - 

'अब गाउँमा विकास आयो ।'

-'बेरोजगारीले गाउँमै रोजगारी पाउनेछन् । रोजगारी नपाउनेले भत्ता पाउने ।'

-'गरिबको गरिबी निर्मूल पारिने ।'

-'गाउँ ठाउँ जताततै विकास निर्माण हुने ।'

-' भ्रष्टाचार, ढिलासुस्ति नामेट पारिने ।'

-'अब त मजस्तो बेरोजगार डुकुलट्ठकले काम पाउने पक्का भो बूढी !' टिनैटिनको टहरोमा साँझमा पुगेर कुपोषणले ग्रस्त ३ बर्षे छोरालाई काखमा लिदै खुसी भयो उ । उसकी श्रीमति पनि खुसी भई ।

फेरि पनि उसले सत्य कुरा सुन्यो

-'समय अगाबै
- इन्धनको पाइपलाइन अमलेखगन्ज आइपुग्यो ।
- सिक्टा सिँचाइको निर्माण सम्पन्न ।
-रापतीमा देशकै दोस्रो ठूलो पुल बन्यो ।
- निर्यात बढेर व्यापार घाटा घट्यो ।
- हिमालय छेडेर सुरुङमार्ग बन्दैछ । त्याहाँ रेल कुद्दै छ ।'‍‍‍......

स्थानीय दाजैले भर्दिएको आशाको पहाड बोकेर पर्खिरहेको बेलामा उसकी बूढीले निराशाको प्रश्न गरी -'खै त बूढा ! त्यत्राबिधि विकासले तिमीलाई काम दे को ? कतै तिमीले अल्छि गर्यौ कि ? हाम्रो बुकुरोमा विकास पस्ने साइत कैले जुर्छ ?'

उसका जोइपोइले भोकोपेटमा थोत्रो पटुका झन् कसेर छोरा च्यापेर निस्के । स्थानीय दाइकोमा पुग्दा उ जस्तै अरू बेरोजगार गरिबहरूलाई देख्यो र एक्कासि जोसिएर करायो

-'कि काम देउ कि माम देउ ।' सबैले दोहर्याए ।
-'गफैगफमा नभुलाउ......' उ फेरि कराउदा सबैले साथ दिए ।

हल्ला खल्ला सुनेर धेरै मान्छे जम्मा भए र उसैको नारा लगाउन थाले । स्थानीय दाइले यी सोझा गाउँलेहरूलाई बिपक्षीले उक्साएको ठान्यो र असुरक्षित महसुस गरि प्रहरी बल झिकायो । प्रहरीको लाठीचार्जमा सख्त घाइते उसले सोच्यो  -'विकास त यसरी पो आउने रैछ गाँठे गरिबका लागि ।'

खानगी

-'आज पनि खाइयो कि क्या हो ? अनुहार त मलीन देखिन्छ नि !'

अफिसबाट अलि ढिलो डेरामा पुगेको श्रीमानलाई श्रीमतीले सोधिन् ।
-'खाइयो नि मज्जाले !'मोजा खोल्दै श्रीमानले जवाफ दियो ।
- आज चाहि कसले ख्वायो नि ?
- 'त्यै मर्न नसकेको बीचको ख्याउटे हाकिमले ।'
-अस्ति पहिलोले, आज बीचकोले । किन खुवाउछन् तपाईंलाई तलबै खुवाएझै खप्की ?'
-'त्यै एउटा हिसाब नमिलेको निहुँ छ नि अस्तिको । माथि के भनेर जबाफ दिने मैले भनेर र्‍याख र्‍यखति पार्‍यो !' 

- 'हेत्तेरिका कति साह्रो पेल्न सक्या होला ? हाकिमका बक्र दृष्टिबाट बच्न मैले जसरी सङ्घ सङ्गठनमा लाग्नुस भन्या काना बतास लाग्या होइन अनि पेल्दैनन् त हाकिमहेरूले ?'
-'महिनावारी तलबको आदाउदि उतै चन्दा सहयोग, लेबि आदिमा सकिन्छ अनि के खान लाग्नु भनेर नलाग्या नि !'
-' मैले चाहि कसरी चाँडै बढुवा भइवरि तलब चोख्खै जोगाकी छु त नि ?'
- 'मलाई राम्रोसँग थाहा छ त्यति पनि बुझ्दिन त म ?'
श्रीमानले त्यति भन्नासाथ श्रीमति झस्किन्  'लौजा हाकिमहेरूको करतुत यिनले थाहा पाए कि क्या हो ?' भन्ठान्दै सोधिन् -'के थाहा छ भन्नुस त ?'

त्यसैबेलामा उनले दिउँसोको घट्ना सम्झिन- 'आज त्यै मझौला हाकिमले मसङ्ग छिल्लिन लाग्दा मुखभरिको जबाफ दिया थेँ त्यो रिस यिनलाई पोखेछ । अस्ति पहिलो हाकिमले हातै बढाको थ्यो धन्न छलेर जोगिएँ। यिनलाई यी बोके हाकिमहेरूका असली कुरा भनौ कि ! जे भा नि लोग्ने हो .......।  हैट यस्तो नारीजातिको कमजोरी पनि भन्छन् त ? यिनी पनि शङ्काको भारि लोग्नेमान्छे हुन् । बात लगायो भने के गर्नु ?...... अध्यारो मुख लगाएर मनमा कुरा खेलाउदै गर्दा श्रीमानले जबाफ गर्यो -'तिमीले अड्डामा हाजिर गरी मस्केर गफ दिए पुग्छ । सङ्घमा पनि मेकअप गरि उपस्थित भए पुग्छ.......।'

 'के रे के रे ? हेप्या हो ? हाकिमका करतुत थाहा नपाएको पक्का भएपछि प्रशन्न हुदै श्रीमतिले लाडिएर ब्यङ्गय हानिन् - 'खप्की खान नपुगेको ! पख तिमीलाई जान्या छु ?' 
'के गर्छ्यौ ?'
खितखिताएर हास्दै - 'बुध्दु तिमी कुरा बुझ्दैनौ नारीजातिको ।'

श्रीमतिको अगालोमा बेरिएको श्रीमानले भन्यो - 'सुतिरहेको छोरा उठ्ला नि !'
 

नारा लगाउ नारा

भ्रुण हत्या बन्द गरौ - बन्द गरौ

भ्रुण हत्यारो कानुन खारेज गर -  खारेज गर

भ्रुण हत्यारा नारी कलङ्क हुन् -कलङ्क हुन्

भ्रुण हत्या गर्ने ज्यानमारा हुन् -  ज्यानमारा हुन्

छोरी (बेटी) नभए सृष्टि कसरी हुन्छ - ..........!

मानव भ्रुणको जीवित रहन पाउने अधिकार स्थापित गरिछाड्ने अभियानको यो र्‍यालीमा मुन्नी गुप्ता मोडल थिइन् ।उनी अग्रभागमा उफ्रिउफ्रि चर्को स्वरमा नारा घन्काइ रहेकी थिइन । उनकै सकृयताले र्यालीमा रौनकता आएको थियो । र्यालीमा सहभागी अरू थाकिसक्दा पनि मुन्नीको सकृयता घटेको थिएन ।

सङ्गैकी भुनियाले मुन्नीलाई कोट्याएर भनी -'अरे मुन्नी ! बहुत जान्ने भर धेरै चुमुक चुमुक नगर । तोहोरा पेटका ३ महिने बच्चालाई असर पर्ला । मलाई त पेट दुख्न थालिसक्यो यार । पहिलो जस्तै गिराइस भने भ्रुणसङ्गै तेरा सारा सपना पनि तुहिएला नि फेरि ।'

भुनियाको कुराले मुन्नीले आफ्नो कहालीलाग्दो पहलुहरू सम्झी- 'अभिभावकका करकापसे बिबाहि मै । मेरा मर्दने दहेजको निहुँमा मेरेको सुहागरातसे दैनिक शारीरिक और मानसिक यातना दियो । मर्दको रिझानेके खातिर मैने गर्भ बोकी । मेरा मर्दने कसरी आफ्नो गर्भ होइन भन्न सक्यो रु उसको पिटाइको कारण मेरो गर्भ गिर्यो । सम्झदा अझै कहाली लाग्छ । सजाय स्वरूप मैने इज्जतकासाथ घर गरी खाने हो भने आफूलाई भाडाको कोखमा बिक्री गरी कृतिम् गर्भाधान द्वारा बच्चा जन्माइ लाखौं पारिश्रमिक लोग्नेको बुझाबै छै ।'

सबै सम्झेपछि मुन्नी बडो असमन्जस्यमा परी । उसको मन बोल्यो -' के गर्छेस् यार । अर्काको नासो यो गर्भ तुहियो भने मेरो सर्बनाशै हुन्छ ।तर बच्चा जन्माउने दिन आउन अझै छ महिना कुर्नुपर्छ । त्यतिन्जेल बाँच्नकै लागि मैले नारा उराल्ने कामको ज्याला लिएकी छु नि त मोरी ।' तर मुन्नीले जबाफमा यतिमात्र भनी 'जोडसे नारा लगाउ नारा ! कलसे तोहर हमार मर्दके खिलाफ भि नारा लगाबै छै ।'