नवीना र बज्रपातः भगवान यस्तो त शत्रुलाई पनि नपरोस् !
बैशाख २०, २०७७

यतिबेला कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण विश्वका प्रायजसो देश लकडाउनमा छन्  । हाम्रो देशमा पनि लकडाउन जारी छ, गत चैत ११ गतेदेखि । लाग्छ, यतिबेला पृथ्वीले  घुम्न छोडेको छ । समय त्यसै त्यसै घर्सिंदै छ ।  हावाको लय फेरिएको छ । लकडाउनलाई पालना गर्दै म पनि घरको पेरीफेरीमा बन्दी भएर बसेकी छु ।

मेरो मनभित्र पनि मृत्युको भयले राम्रैसँग डेरा जमाएर बसेको छ भने एकातिर अझै बाँच्ने लालसाले च्याप्प समाएर राखेको छ । यस्तो बेला भगवानप्रति आस्था र विश्वास उठ्दै गएपनि  मैले एउटा प्रार्थना गर्न चाहिँ छाडेकी छैैन कि ! यो सन्त्रस्त समयावधिभर मेरो हातबाट एउटा पनि श्रद्धाञ्जली र समवेदना लेख्न नपरोस् ।

त्यसो त एकाबिहानै हजारौँ मृत्युको समाचार सुनाउँछ सञ्चार माध्यमहरूले । कोरोना भाइरस संक्रमित संख्या लाखौँ पुगेको खबर दोहोरिरहँदा म पनि त्यही पंक्तिमा उभिएकी त छैन ?  भन्ने त्रासले मन सन्त्रस्त बन्छ । मृत्यु हुनेहरू कतै आफ्नै या आफन्त या चिनजानका त परेनन् ? आँखा दौडिन्छन् प्रत्येक समाचारहरूमा । के गर्नु, आइलागेका प्रत्येक अप्ठ्याराहरूसँग सकि नसकि सामना गर्दै अघि बढ्नु नै जीवन हो सायद ! यही हो बाँच्नुको सार्थकता पनि ।

मान्छेलाई  जुन कुरा सजिलै जुरिरहेको हुन्छ त्यो कुराको महत्व त्यति नै बेला महसुस हुँदैन । जस्तो अहिले कोरोनाको सन्त्रासकै बहाना सही यति धेरै फुर्सद मिलेको छ कि जुन फुर्सदलाई सदुपयोग गर्न नसकेर दिन बिताउन गाह्रो भइरहेको छ । यस्तो सायद मलाई मात्र नभएर सबैलाई भइरहेको हुनुपर्छ ।

अहिलेको युग फेसबुके युग जो छ । जसको माध्यमबाट हामी विश्वका कुना कुनामा छरिएर रहेपनि एउटै छहारीमा आवद्ध हुन पाएका छौँ । क्षणमै बोल्न चाहेका जो कोहीसँग बोल्न सक्छौ । हेर्न सक्छौँ । सोधी खोजी गर्न सक्छौँ । भावी योजना सेयर गर्न सक्छौँ । विगतमा फर्किएर स्मृतिका पाना पल्टाउन सक्छौँ । यही क्रममा एक दिन फेसबुककै माध्यमबाट जोडिन हुन पुग्यौँ गोकुन्डेश्वर मावि धनकुटाका २०४७ को सएसलसीका सहपाठीहरू ।

अहो ! ती दिनहरूमा सबैजना एकैसाथ फर्किन पाउँदा सायदै हामीले केही दिन त अहिले चल्दै गरेको जिन्दगी नै बिर्सिए जस्तो भयो । ती दिनहरूमा बिताएका एक एक पल एकले अर्कोलाई स्मरण गराउँदा लाग्यो हामीले जीवनकै स्वर्णीम दिनहरू त्यही समयमा बिताएका रहेछौँ । त्यतिबेला प्रायः केटा साथीहरूसँग खुलेर बोल्न नसके पनि  बोल्न चाहिँ बोल्थ्यौँ हामी केटीहरू । त्यतिबेला हाम्रो उमेर टिन एजमा चल्दै गरेको भएर होला कोही न कोही आँखाले आँखासँग बोलिरहेका हुन्थे । भनिन्छ मनको अव्यक्त भाषा आँखाले सजिलै बोलिदिन सक्छ । त्यतिबेला दुई आँखाबिच अचानक तेस्रो आँखा ठोक्किन पुग्यो भने भोलिपल्ट खास खास खुस खुसको विषय बन्थ्यो । फेरि त्यो विषय तुरुन्तै साम्य हुन्थ्यो पनि । किनकि कोहीसँग आँखासँग आँखा जुध्ने क्रियाको कुनै आधिकारिक प्रमाण हुन्थेन । यस मध्यमा म पनि के कारणले अछुत हुन सक्थेँ र ? म पनि आँखा आँखाको खेलमा सहभागी अवश्य थिएँ । अहिले सम्झिँदा आफैलाई लाज पनि लाग्छ र मनमनै रोमाञ्चित पनि हुन्छु ।

त्यतिबेला  धनकुटाको देब्रेबास भन्ने ठाउँमा  म मेरो बाबा डेरामा बस्थ्यौँ । हप्ताका ६ दिन स्कुलमा बिते पनि  एकदिन शनिबार बिताउन मलाई सारै सकस हुन्थ्यो। बाबा छुट्टीको दिन  जहिले तास खेल्न गइहाल्नुहुन्थ्यो । म एक्लै कोठामा धुमधुम्ती बस्नु पर्दा सारै न्यास्रो लाग्थ्यो किनकि म धनकुटा पढ्न संखुवासभाबाट आएकी थिएँ । दिन क्रमशः बित्दै थियो । म साथीहरूसँग बराबर मिलेपनि कागतेका नवीना श्रेष्ठसँग अलिक धेरै मिल्न थालेँ कारण त्यतिबेला नवीनाको ठुलदिदी संखुवासभाको चैनपुरमा जागिर गर्ने भएकोले नवीनालाई संखुवासभाबारे अलि अलि थाहा थियो । अलिक पछि शनिबार आउनसाथ नुहाइधुवाइ गरेर म नवीनाको घर कुध्न थालेँ । कागतेमा नवीनाको आफ्नो घर थियो । घरमा आमा–बुवा र दाजुहरू पनि हुनुहुन्थ्यो । हामी नवीनाको कोठामा घन्टाैँ गफिन्थ्यौँ । यो क्रम एसएलसी सकिन्जेल चलिरह्यो । यो अवधिमा नवीनाको संगतले मलाई धेरै कुरा सिकायो । सबैभन्दा त नवीनाको संगतले मलाई नियमी हुन सिकायो । नियमी हुनु भनेको धार्मिक हुनु रे, नवीनाले नै भनेकी । जस्तो साउनको सोमबार, माघको मंगलबार जहिल्यै ब्रत बस्नुपर्ने । श्री स्वस्थनीव्रत कथाका प्रत्येक अध्याय नवीनाले वाचन गरिरहँदा मैले हात जोडेर एकचित्त भएर सुन्नुपर्ने । ठूलो एकादशी, श्रीकृष्ण अस्टमी, बैशाखे पूर्णे आदि तिथिमा व्रत बस्नु पर्ने । यी मध्येमा मलाई सन्तोसी माताको व्रत सबैभन्दा कडा लाग्यो । अहिले पनि शुक्रबारको दिन अमिलो खान डराउँछु म ।

क्षणमै साथीहरू कोही चिच्याउन थाले, कोही नवीनालाई धैर्यधारण गर्न सक्ने शक्ति मिलोस् भन्दै प्रार्थना लेख्न थाले । एकैछिनमा श्रद्धाञ्जली र समवेदनाले ग्रुप च्याटमा शून्य ठाउँ भरियो । त्यसपछि म बोल्न सकिरहेकी छैनँ । साथीलाई फोन गरेर सान्त्वना दिन पनि सकिरहेकी छैनँ । हे भगवान ! यस्तो त शत्रुलाई पनि नपरोस् । म हृदयदेखि यही प्रार्थना गरिरहेकी छु ।

एसएलसीपछि हामी एउटै क्याम्पस भर्ना भयौँ तर हाम्रो फ्याकल्टी फरक भएको कारण नवीनाको मर्निङ क्लास थियो । मेरो डे । अन्तमा हाम्रो भेट उहीँ शनिबार मात्र हुन्थ्यो । त्यो समयमा म भन्दा धेरै नवीना मेरो कोठामा आउन थाली ।  तर ती भेटहरूमा कहिलेकाहीँ अनुहारमा अलिअलि टेन्सन पोतेर आउँथी ऊ । तर टेन्सनको मुल कारण के हो भन्दै नभन्ने । म पनि उसले नभनेपछि सोध्ने कोसिस नै नगर्ने । हुन त मभित्र मैले सुधार्न नसकेको एउटा बानी छ, यदि मौका मिल्यो भने आफू मात्र पतर पतर गरिरहनु पर्ने, मनको कुनाकाप्चामा रहेका सबै कुरा बाहिर निकाल्नु पर्ने । सुन्नेले टाउको मात्र हल्लाइदिए पुग्ने ।

साथीले एकदिन चाहिँ अचानक उसले एउटा चिठीको बारेमा कुरा गरी । मैले त्यो चिठीलाई पनि सामान्य रुपम लिएँ । किनकि त्यतिबेला मेरा थुप्रै पत्रमित्र थिए र दिनदिनै मेरा नाममा धेरै चिठीहरू आइरहन्थे । त्यो समय पत्रमित्रको समय थियो । एकदिन अचानक नवीनाको आमाले घरमा आउनु भनेर खबर पठाउनुभएछ । किन होला ? भन्ने कौतुहलताका साथ हतार हतार नवीनाको घरमा पुग्दा त घरको वातावरण अर्कै छ । पुगेर बस्न नपाउँदै मा ले यत्रो यत्रो आँखा फुकाल्दै सोध्न थाल्नुभो– ‘भन नानी नवीना आखिर कहाँ गयो ? कोसँग गयो ? नवीनाको कोसँग लभ थियो ? सधैँ तिम्रोमा जान्छु भन्दै जान्थ्यो ?  छिटो भन नानी तिमीलाई सबै कुरा थाहा छ ।  एकै सासमा माले यतिधेरै प्रश्न गर्नुभोकी म त अक्कन बक्क भएँ । किनकि नवीना कोहीसँग लभमा छ भन्ने सुइँकोसम्म पाको भए त मरिजाउँ । त्यस्तो बेला नवीनाको आमाले मेरो कुरा कुनै हालतमा पनि पत्याउन तयार हुनुहुनुभएन । मैले त्यो दिन कसमै भन्ने त कति खाएँ कति । आमाले छोरी हराइरहेको पीडा र रिस जति सबै मैमाथि खन्याउनुभयो । म त्यहाँबाट  चुपचाप फर्किनु बाहेक मसँग केही उपाय थिएन । त्यसको दुईदिनपछि सुनेँ– नवीनाले एउटा तामाङ केटासँग बिहा गरी । मैले मनमनै नवीनालाई बधाई दिएँ । त्यसपछि कहिल्यै म नवीनाको घर गइनँ ।
०००
लकडाउनले हामीलाई पनि (एक दुई जना बाहेक) सबै साथीहरूसँग एकैपल्ट ग्रुप च्याटमा बोल्ने अवसर जुर्‍याएको छ । धन्न यो सुबिधा फेसबुकले सजिलै उपलब्ध गरिदिएको छ । अहिलेको परिवेशमा ग्रुप च्याट निक्कै नै सजिलो माध्यम साबित पनि भएकोछ ।नेताहरूदेखि लिएर कवि, कलाकारहरूसम्म ग्रुप च्याटमा आआफ्ना धारणाहरू प्रस्तुत गरिरहेका छन् । यही क्रममा ग्रुप च्याटमा हामीले पनि साथीहरूसँग हाल बितिरहेको जीवनबारे एकले अर्कालाई जानकारी गरायौँ । घर, आफ्ना जीवनसाथी, बालबच्चा, पेशा सबैका बारेमा जानकारी आदान प्रदान गर्‍यौँ ।  सेयर गरागर गर्यौं। बिगतलाई स्मरण गर्दै सबैजना हाँस्ने क्रम सकिएको छैन ।

आज भन्दा पाँच दिन अगाडि । हाम्रो ग्रुप च्याट अचानक  सुनसान भयो । (यहाँ सबैभन्दा धेरै नवीना, रेवा र भरत बोलिरहेका छन्) च्याटको कुनै नोटिफिकेसन नबज्दा लाग्यो यो ग्रुप च्याटमा अलिक धेरैचाहिँ नवीना बोल्दोरहेछ । स्वभावैले नवीनामा जोकोहसँग मिल्न सक्ने स्वाभाव छ । सायद नवीना नबोलेर हुनसक्छ अरू साथीहरू नबोलेका, मलाई यस्तै लाग्यो । पहिलो दिनको भोलिपल्ट फेसबुकले नवीनाको जन्मदिनको जानकारी  गरायो । हामीले हृदयदेखि नवीनालाई बर्थडे विस गर्‍र्यौं । यतिन्जेल पनि नवीनाको अत्तोपत्तो छैन अनलाइनमा । मैले मनमनै सोचेँ लकडाउनमा पनि नवीनाको जन्मदिन भव्य हुनेभएछ ।

भोलिपल्ट चितवनबाट बिहानैदेखि मलाई राधाको फोन आइरहेको रहेछ । राधाले अचानक यसरी किन फोन गरिरहेकी छे भनेर मैले कल ब्याक गरेको त राधाले अतालिँदै मलाई सोधी– तिमीले अनलाइनमा एउटा खबर पढ्यौ ? त्यहाँ हेर त बाइक दुर्घटनामा को परेको हो ? धरानमा आधिकारिक खबर बुझ त कविता भनेर राधाले भनिनसक्दा मेरो सातोपुग्लो उठ्यो । तैपनि धैर्य गरेर अनलाइन खबरमा आँखा के पुर्‍याएको थिएँ आखै तिर्मिरायो । हे भगवान् ! यो खबर झुटो होस् भन्ने कामना गर्दै साथीहरूको फोन नम्बर खोज्न थालेँ । धनकुटाको एउटा साथीको नम्बर पहिला भेटियो र उसैलाई फोन लगाएँ । दुःखी हुँदै साथीले बिस्तृत जानकारी गरायो– ‘हो कविता ! हिजोको बाइक एक्सिडेन्टमा नवीनाको २४ वर्षीय छोरा बित्यो । छोरा ममीको बर्थडेको लागि केही सामन लिनलाई एकछिनको लागि घरबाट निस्किएको थियो रे । हेर न यो लकडाउनले गर्दा हामी पनि जान सकिरहेका छैनौँ ।’

साथीको कुरा सुनेर म स्तब्ध भएँ । तुरुन्त सेलुलाई बिराटनगरमा फोन गरेँ । सेलु एकछिन बोल्नै सकिन । बोल्न पनि कसरी सकोस् यस्तो खबर सुनेपछि । सेलुलाई त नवीनाको छोराको मगनी भइसकेको कुरा पनि थाहा रहेछ । हामी सबै साथीहरू विवाहमा भेट हुने सल्लाह अस्ति भर्खरै गरेका रे दुईजनाले । केही समयपछि यो खबर हाम्रो गुप च्याटमा राखौँ भनेर सेलु र मैले सल्लाह गर्‍र्यौं । सेलुले मलाई नै राख्ने अनुरोध गरी ।

त्यतिबेला मेरो मन सारै रोयो । मैले हात काप्दै त्यो खबर ग्रुप च्याटमा लेखेँ– ‘साथीहरू ! ति दुःखद् खबर जिन्दगीमा कहिल्यै लेख्न नपरोस् तर म आज बाध्य छु । हाम्रा अति नै मिलनसार साथी नवीना श्रेष्ठको छोरा विशाल घिसिङको हिजो धरानमा भएको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएछ । यो अकल्पनीय घटनाप्रति मर्माहत हुँदै बाबुलाई चिरशान्तिको कामना ।’

क्षणमै साथीहरू कोही चिच्याउन थाले, कोही नवीनालाई धैर्यधारण गर्न सक्ने शक्ति मिलोस् भन्दै प्रार्थना लेख्न थाले । एकैछिनमा श्रद्धाञ्जली र समवेदनाले ग्रुप च्याटमा शून्य ठाउँ भरियो । त्यसपछि म बोल्न सकिरहेकी छैनँ । साथीलाई फोन गरेर सान्त्वना दिन पनि सकिरहेकी छैनँ । हे भगवान ! यस्तो त शत्रुलाई पनि नपरोस् । म हृदयदेखि यही प्रार्थना गरिरहेकी छु ।