अर्गानिक मान्छे
बैशाख २०, २०७७

पहाड छिचोलेर उम्रिएको
मूलको कञ्चन पानी पिएर
हलक्क बढेको म
अर्गानिक मान्छे
यो पुरातात्विक सहरमा
ब्रोइलर भइसकेँ सायद ......

उकाली सम्झियो कि-
फतक्क गल्छन् हातगोडा
ओराली सम्झियो कि-
थर्र काँप्छ शरीर
एकाएक चल्छ रिँगटा ......

विगतमा त म-
डाँडैडाँडा
बतासजस्तै दगुथेँ
आँधीहुरीजस्तै सुसाउँथेँ
उफ्रिएरै नाघ्थेँ
अग्ला–अग्ला पर्वत–शृङ्खलाहरू
फड्किएरै तर्थें
खोलाहरू/नदीहरू
पन्छाइदिन्थेँ हातैले
नदीका वेगहरू/भङ्गालाहरू
ठेलिदिन्थेँ कुमले सजिलै
अटेरी पहाडहरू ...........

तर आजकल .......

थाहा पाउँदै छु म-
यो सहर
प्रेमपूर्वक मन्दविष पियाउँदै छ मलाई
आफूजस्तै परचक्री बनाउँदै छ मलाई....... ! 

तर, म अर्गानिक मान्छे
सक्ने छैन मलाई पराजित गर्न
कुनै शक्तिले पनि ......! 


शशी लुमुम्बू नेपाल प्राज्ञ प्रतिष्ठानको प्राज्ञ सभा सदस्य हुनुहुन्छ ।