ज्ञानतीर्थ संरक्षण समाजले करिब २०० लाई राहत वितरण

ज्ञानतीर्थ संरक्षण समाजले करिब २०० लाई राहत वितरण

लोकसंवाद संवाददाता  |  समाज  |  बैशाख २१, २०७७

काठमाडौँ । काठमाडौँ महानगरपालिका– १४ कालीमाटीस्थित ज्ञानतीर्थ संरक्षण समाजले करिब २०० लाई राहत वितरण गरेको छ ।

कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न सरकारले जारी गरेको लकडाउनको समयमा जीविकोपार्जन गर्न कठिन भएका तथा विपन्न वर्गलाई समाजले चामल, दाल, नुन, तेललगायत खाद्य सामग्री प्रदान गरेको हो । समाजले वडा नं १४ मा स्थायी तथा अस्थायी बसोबास गर्ने आर्थिक अवस्था कमजोर भएका मानिसलाई सहयोग गरेको छ । विशेषगरी कुलेश्वर, लिकमार्ग शुन्यपाखालगायत स्थानमा मानवीयताका आधारमा राहतस्वरुप सहयोग उपलब्ध गराइएको छ । 

समाजका अध्यक्ष विनोद डङ्गोलले स्थानीय तहले वितरण गरेको राहतमा प्रत्यक्ष पहुँच नभएका वर्गका साथै वृद्धवृद्धा, सुत्केरी, शारीरिक अशक्तता भएका मानिसलाई प्राथमिकतामा राखेर विभिन्न खाद्य सामग्री बाँडिएको जानकारी दिनुुभयो । उहाँकाअनुसार आगामी दिनमा सार्वजनिकस्थलमा खानासमेत खुवाउने प्रबन्धका लागि विभिन्न सङ्घ संस्थासँग समन्वय भइरहेको छ ।
 
स्थानीय विकास तथा पूर्वाधार निर्माणमा स्थानीय तहसँग सहकार्य गर्दै आएको उक्त समाजले ट्राफिक व्यवस्थापन, लागुऔषधविरुद्ध जनचेतना, समुदाय प्रहरी साझेदारीअन्तर्गत जनचेतनामूलक कार्य, रक्तदानलगायत सामाजिक सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।