कोरोना चिन्तनको सौन्दर्यशास्त्र

कोरोना चिन्तनको सौन्दर्यशास्त्र

डा. धनप्रसाद सुवेदी  |  दृष्टिकोण  |  बैशाख २१, २०७७

 रातदिन दौडधुपको जीवनबाट छुटकारा पाई आफूतिर फर्कने, सोच्ने, चिन्तन मनन गर्ने अवसर दिएको छ कोरोनाले । त्यसैले कोरोना सन्त्रास र लकडाउनको फुर्सदका बिचमा जीवन जगतका बारेमा अनेक विचार, चिन्तन र चिन्ता प्रकट भइरहेका छन् । मानिसको जीवन, इतिहास, वर्तमान र भविष्यका बारेमा समीक्षा र अनुमानहरू भइरहेका छन् । त्यस्ता विचार, चिन्तन र चिन्ताहरू कवितामा, लेखहरूमा र सामाजिक सन्जालमा छरपस्ट भएर आएका छन्, जस्तैः 

'कोरोनाले भौतिकवादलाई असत्य र अध्यात्मवादलाई सत्य भन्ने पुष्टि गर्‍यो ।' 

'विज्ञान असफल भयो । ज्ञान नै ठिक हो । ज्ञान मर्दछ रोएर हाँसी विज्ञान मर्दछ ।' 

'अस्पताल बनाउन छाडेर अस्त्र बनाउनेहरू, अस्पताल बनाउन छाडेर चर्च, मन्दिर, मस्जिद बनाउनेहरूलाई कोरोनाले सबक सिकायो ।'

'मान्छेले भक्ष, अभक्ष सबै कुरा खाए, त्यसको परिणति नै कोरोना हो । यसले सात्विकी र शाकाहारी खाना नै ठिक रहेछ भन्ने शिक्षा दिएको छ ।' 

'धर्मान्धता, अन्धविश्वासबाट कोरोना लगायत कुनै पनि रोग, महामारीबाट बच्न सकिन्न रहेछ । कोरिया लगायतका देशमा चर्चबाट, भारत लगायतका देशमा मस्जिदबाट कोरोना फैलियो । भारतमा गाईको गोबर र गहुँतले कोरोना रोक्छ भन्नेहरूलाई गलत साबित गरिदियो ।' 

'नमस्कार गर्ने, सफा र सेतो कपडा लगाएर खाना खाने, हातपाउ धोएर घरभित्र पस्ने, राम्ररी पकाएर खाना खाने हिन्दु संस्कृति नै ठिक रहेछ ।' 

'टाढा टाढा बस्ने, खेती किसानी गर्ने, गाउँले जीवन, आफूलाई चाहिने आफै उत्पादन नै ठिक रहेछ ।' 

'चीनको जस्तो अनुशासित जनता र जनताप्रति उत्तरदायी सरकार आवश्यक रहेछ ।' 

'पुँजीवादको असफलता समाजवादको आवश्यकताको पुष्टि ।'

'विश्वव्यापीकरण र उपभोक्तावादमाथि प्रहार ।' 

यसरी प्रकट भइरहेका चिन्तन, बहस, टिप्पणी, अनुमानलाई मोटामोटी रुपमा तीन वटा धारामा वर्गीकरण गरेर हेर्न सकिन्छ : 

१. वैचारिक चिन्तनको धारा 

२. सांस्कृतिक चिन्तनको धारा

३. राजनीतिक तथा आर्थिक प्रणाली सम्बन्धी चिन्तनको धारा 

यी धाराका बिचमा अन्तर्सम्बन्ध त छँदैछ । यहाँ सजिलोका लागि यिनलाई अलग अलग रुपमा चर्चा गर्ने प्रयास गरिएको छ । 

१. वैचारिक चिन्तनको धारा 

लकडाउनसँगै लेखिएका कविता, लेख र सामाजिक सन्जालमा अभिव्यक्त विचारलाई हेर्दा एकथरीले निकै जोडसँग 'विज्ञान असफल ज्ञान सफल, भौतिकवाद असफल अध्यात्मवाद सफल' भनेको देखिन्छ । युटुबमा धेरै हेरिएका/सुनिएका केही कवितामा बालकृष्ण समको 'ज्ञान मर्दछ हाँसेर रोई विज्ञान मर्दछ' कवितांश उद्धृत गर्दै त्यही वैचारिक निष्कर्ष प्रस्तुत गरेको देखिन्छ । सँगैसँगै भौतिकवादकै कारण संसारमा विध्वंश, रोग, महामारी फैलिएको भन्दै अन्ततः हिन्दु धर्म नै सबैभन्दा उत्तम हो भन्ने निष्कर्ष पनि देखिन्छ । 

विज्ञानका विरुद्ध ज्ञान र भौतिकवादका विरुद्ध अध्यात्मवादको चिन्तन आइरहँदा केही लेख, कविता, सामाजिक सन्जालमा भने विज्ञानको दुरुपयोग, अन्धविश्वास, अस्पताल बनाउन छोडेर मन्दिर, मस्जिद, चर्च र गुम्बाहरू बनाउनको परिणति आदिका कारण अहिलेको सङ्कट आएको हो भन्ने विचार पनि प्रकट भएको पाइन्छ । खास गरेर मस्जिद, चर्चहरूबाट कोरोना संक्रमण फैलिएसँगै धार्मिक अन्धताबाट होइन, विज्ञान र स्वास्थ्योपचारबाट रोगसँग लड्न सकिन्छ भन्ने विचार प्रकट भएको देखिन्छ । 

हाम्रा पुर्खा चाहिँ खालि मूर्ख थिए अनि पश्चिमा र अरुहरू चाहिँ वैज्ञानिक, जान्ने थिए भन्ने ठुलो भ्रम हामीसँग छ । त्यो भ्रमबाट चाहिँ हामी मुक्त हुनुपर्छ । हाम्रा खानपान, संस्कृतिलाई धर्म, ईश्वरसँग जोडेर होइन, ज्ञानविज्ञान, अनुभव, अनुकूलताका आधारमा थप अध्ययन गर्दै तिनको संवर्धन, विकास र अनुसरणमा ध्यान दिनुपर्छ भन्ने शिक्षा कोरोनाले दिएको छ । 

अध्यात्मवादले ईश्वरबाहेक अन्तिम सत्य केही छैन भन्दै संसारलाई केवल भ्रम र ईश्वरको खेल मान्छ, ईश्वरले रमाइलोका लागि यो दुनियाँको रचना गरेको हो भन्ने ठान्छ । यसको विपरीत भौतिकवादले जुन कुराको अस्तित्व छ, देखिन्छ, पुष्टि हुन्छ, त्यो नै सत्य हो भन्ने मान्छ । ईश्वर मानवको सुन्दर परिकल्पना मात्रै हो भन्ने भौतिकवादी मान्यता छ । पृथ्वीमा आजसम्म जति पनि विचार, दर्शनहरू जन्मिएका छन्, तिनीहरू मूलतः यिनै दुई धारमा समाहित छन् । ठिक यहीँनेर कोरोना चिन्तनको वैचारिक धार पनि विभाजित देखिन्छ । अध्यात्मवाद ठिक कि भौतिकवाद ठिक भन्ने चिन्तन अहिले देखिएको कुनै नयाँ विचार होइन, पुरानै बहसकै निरन्तरता मात्रै हो । यो नटुङ्गिने बहसतिर प्रवेश गरिरहन आवश्यक छैन । तर यस क्रममा प्रस्तुत भएका केही कुरामा भने छलफल गर्न आवश्यक भन्ने लाग्छ । 

(क) ज्ञान र विज्ञानको बुझाइ

कोरोनालाई विज्ञानको हार र ज्ञानको जित भन्ने तरिकाले गरिएको बहस बेठिक छ । बालकृष्ण समले प्रह्लाद नाटकको कुनै सन्दर्भमा भनेको 'ज्ञान मर्दछ हाँसेर रोई विज्ञान मर्दछ' लाई अन्तिम सत्य मान्नेहरूले ज्ञान र विज्ञानलाई एकअर्काका विपरीत तत्त्व ठानेको देखिन्छ, त्यो गलत छ । ज्ञान र विज्ञान एकअर्काका विपरीत तत्त्व होइनन् । ज्ञानको विपरीत कुरा विज्ञान होइन, अज्ञान हो । त्यसरी नै विज्ञानको विपरीत कुरा ज्ञान होइन, अन्धविश्वास हो । ज्ञानमा अनुमान, कल्पना र आफूभित्र पसेर सोच्ने, चिन्तन गर्ने कुरा प्रधान हुन्छ । विज्ञान भनेको व्यवस्थित, प्रामाणिक र तथ्यपरक ज्ञान हो । विज्ञानभन्दा धेरै परको ज्ञान बेकार हुन्छ । बालकष्ण समको माथिको कवितांश उद्धृत गर्नेहरूले त्यही त्यही स्रोतको र अझ समले निष्कर्षका रुपमा प्रस्तुत गरेको 'ज्ञान विज्ञानको हात जोड्नु पर्दछ कर्ममा' भन्ने कथनलाई भने बेवास्ता गरेका छन् । समले आत्म चिन्तन र अझ भनौँ विवेकका अर्थमा ‘ज्ञान’ र भौतिक प्रविधिको विकास, आविष्कार आदिको अर्थमा ‘विज्ञान’ शब्दको प्रयोग गरेका छन् । त्यो सन्दर्भलाई नबुझी वा बेवास्ता गरी एकांगी निष्कर्ष प्रस्तुत गर्दै विज्ञानलाई निषेध गर्ने, विज्ञानको हार भएको ठान्ने कुरा सोरै आना गलत हुन्छ । कोरोना लगायतका अहिलेका संकट विज्ञानको कारणले होइन, विज्ञानको दुरुपयोग र ज्ञानको सङ्कीर्णताका कारणले भएको हो । 

विज्ञानले ज्ञानको विस्तार गर्छ । विज्ञानलाई निषेध गर्नु भनेको ज्ञानको पनि निषेध हो, अज्ञानतातिरको यात्रा हो । उदाहरणका लागि हामी कोरोनाबाट बच्ने कुरा नै हेरौँ, साबुन पानीले हात धुनु, माक्स लगाउनु, भौतिक दुरी कायम गर्नु विज्ञान हो । त्यसको बारेमा थाहा पाउनु ज्ञान हो । अनि बालकृष्ण समकै भाषामा भन्ने हो भने यी कुरालाई अनुसरण गर्नु 'ज्ञान विज्ञानको हात जोड्नु पर्दछ कर्ममा' हो । समले ज्ञानलाई विवेकको सन्दर्भमा प्रस्तुत गरेको कुरालाई लकडाउनका सन्दर्भमा पनि हेर्न सकिन्छ । अहिले लकडाउन गर्नैपर्छ । लकडाउनको विज्ञान भनेको मानिसको आवतजावत बन्द गर्नु हो । तर त्यो विज्ञानलाई अन्ध रुपमा प्रयोग गर्दा मान्छेले खान नपाउने, बिरामी हुने अवस्था सिर्जना हुन्छ, त्यो अर्को विज्ञान हो । यहाँनेर लकडाउनको विज्ञान र भोकको विज्ञानलाई उचित रुपमा जोड्नका लागि विवेक चाहिन्छ, त्यो भनेको कोरोना सङ्क्रमणबाट बच्ने विज्ञानलाई खलल नपुग्ने गरी भोकको विज्ञानको समाधान गर्नु । तर कतिपय शासकहरू त्यो कुरा बुझ्न चाहँदैन वा बुझेर पनि जसो गर्दा आफ्नो फाइदा हुन्छ, त्यही गर्छन् । अनि विज्ञान विज्ञानलाई भिडाइ दिन्छन् । दुनियाँमा भएको यही नै हो । शक्ति राष्ट्रहरू र अहङ्कारी शासकहरूकै कारण विज्ञानको दुरुपयोग भयो, भौतिक विकासको होड भयो, प्रकृति र जीवनका विज्ञानमाथि हस्तक्षेप भयो । फलतः मानिसमा वर्ग विभेद भयो । जात, धर्म, वर्ण, लिङ्ग, क्षेत्र आदिका विभेद पनि यसरी नै जन्मेका हुन् । त्यसैले समस्या विज्ञानमा होइन, विवेकहीन शासकमा र शक्तिको उन्मादमा छ । 

(ख) भौतिकवाद र अध्यात्मवाद बारेको बुझाइ 

भौतिकवाद र अध्यात्मवादका पक्षधरहरूले भौतिकता र भौतिकवाद, आध्यात्मिकता र अध्यात्मवादलाई समानार्थी रुपमा प्रयोग गरेको देखिन्छ, त्यो पनि गलत छ । भौतिकवाद र भौतिक सुख सुविधाको मोह एउटै कुरा होइन । भौतिकवादी हुनु भनेको भौतिक सुख, सुविधामा लम्पट हुनु होइन । त्यसरी नै आत्म चिन्तन गर्ने, एकान्त तथा प्रकृतिसँग नजिक हुने प्रवृत्ति अध्यात्मवाद होइन । भौतिकवाद जीवन जगतलाई हावाका भरमा, कल्पनाका आधारमा, कुनै अदृश्य शक्ति वा ईश्वरले सृष्टि गरेको भन्ने अप्रमाणिक कुराका आधारमा नभएर खोज, अनुसन्धान, प्रामाणिकताका आधारमा अध्ययन गर्नुपर्छ भन्ने सिद्धान्त हो । कोरोनाले भौतिक वस्तुप्रतिको मोह, सुख, सयल, लोभ ,लालचा, अहङ्कार, आडम्बरप्रति पुनर्विचार आवश्यक छ भन्ने शिक्षा चाहिँ दिएको छ । त्यो भनेको भौतिकवाद होइन उपभोक्तावाद हो । 

भौतिकवाद बुझेको मान्छेले नै भौतिक वस्तुको उपादेयता र तिनको कुशल प्रयोग गर्न जान्दछ । अपवादलाई छोडेर हेर्ने हो भने संसारमा कम्युनिस्टहरू नै बढी साधा जीवन बाँचेका छन्, आफूलाई ठुला ठुला योगी, सन्यासी, सन्त भन्नेहरूको भौतिक सुख, सुविधा, ऐस, सुरा, सुन्दरीको तामझाम हामीले नदेखेको होइन । कुन खाद्य शरीरका लागि ठिक छ ?  कुनले हानि गर्छ ? कुन रोगमा कस्तो औषधी प्रयोग गर्नुपर्छ ? भन्ने जस्ता कुरा भौतिकवाद र विज्ञानबाट थाहा भएको हो । गुर्जो, लसुन, कागती, अदुवाहरूले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भन्ने कुरा आँखा चिम्लिएर 'राम राम !!' जप्नेहरूले होइन, बर्सौंसम्म अध्ययन अनुसन्धान गर्ने वैज्ञानिक ऋषिमुनिहरूले पत्ता लगाएका हुन् । दारी पालेका, जंगल जंगल डुल्ने भन्दैमा ऋषिमुनिहरू सबै अध्यात्मवादी थिए भन्ठान्नु गलत हुन्छ । जीवन र जगत्का तथ्य, तत्त्वको खोजी, अनुसन्धान, साधना भौतिकवादी र विज्ञानसम्मत काम हो ।

शासकहरूले, शक्तिशालीहरूले शक्ति, धन र बुद्धिको दुरुपयोग गरेर अरुमाथि शासन गरे । यहीनेर ईश्वर, धर्म र आध्यात्मिकतालाई पनि मानिस मानिसका बिचमा विभाजन, विभेद र शोषण गर्ने हतियारका रुपमा प्रयोग गरियो । त्यही मेसोमा हाम्रा ऋषि मुनिहरुका विज्ञानसम्मत र भौतिक ज्ञानलाई पनि आध्यात्मिताले आफ्नो बनायो । पूर्वीय ज्ञानविज्ञान ओझेलमा पर्ने मूल कारण यही हो । यति सम्म कि पूर्वीय वैज्ञानिकहरुले विकास गरेका चिकित्सा विज्ञान र खगोल विज्ञान (ज्योतिष) लाई समेत हामीले ईश्वर र धर्ममा रुपान्तरण गरिदियौँ । फलतः हामी हरेक कुरामा पश्चिमको भर पर्न विवश भयौँ । 

भन्न खोजेको कुरा, कोरोना संक्रमणको विश्वव्यापीकरण भौतकवादले सिर्जना गरेको समस्या होइन । जसरी हुन्छ कमाउनुपर्छ भन्ने पुँजीवाद, पुँजीवादी ग्राहक बिस्तारका लागि उसले विकास गरेको 'खाउँ, पिउँ र मस्ती गरौँको मनोविज्ञान' उपभोक्तावाद अनि त्यसको बजार बिस्तारका लागि निर्मित विश्वव्यापीकरण अहिलेको समस्या हो । कोरोनाको विश्वव्यापी फैलावट त्यसैको परिणति मात्रै हो । पुँजीवाद र उपभोक्तावादले गरेको विज्ञानको दुरुपयोगको समस्या हो । जहाँसम्म कोरोनाको उत्पत्तिको कुरा छ, त्यो त संसारको सामान्य नियम हो । संसारमा कोरोना जस्ता लाखौँ भाइरसहरू छँदैछन्, नयाँ पनि जन्मिन्छन् । कुनै बेला मानिस थिएन, अहिले छ । कुनै बेला डायनोसर थियो, अहिले छैन । कोरोना पनि यस्तै हो । त्यसलाई भौतिकवाद र विज्ञानले जन्माएको होइन, यदि विज्ञानले जन्माएको रहेछ भने त्यो दुरुपयोग हो । र, यसलाई अध्यात्मवादले रोक्ने पनि होइन । यदि अध्यात्मवादले कोरोना रोक्थ्यो हो त दुनियाँ यति बेला लकडाउनमा नभएर तीर्थयात्रामा हुन्थ्यो । 

कतिपयले विज्ञानलाई भौतिकवाद र ज्ञानलाई अध्यात्मवादसँग जोडेर हेर्ने गरेका छन्, कोरोना चिन्तनमा पनि त्यही देखियो । निश्चय नै विज्ञान भौतिकवादकै नजिक छ तर ज्ञान पनि भौतिकवादभन्दा टाढा चाहिँ छैन । जतिसुकै अभौतिक ईश्वरको कुरा गरे पनि अध्यात्मवादको प्रवेशमा राम, कृष्ण, देवी, यिसु जस्ता भौतिक मानवहरू आउँछन् । मूर्ति पूजा नगर्ने भन्दाभन्दै पनि मस्जिद, चर्चहरू बनाउनै पर्छ । ध्यान, साधनाबाट निराकार ईश्वरसँग भेट्ने भनेर बर्सौं साधन गर्दा पनि ॐ कारको भर्‍याङ नचढी सुखै छैन । आखिर अध्यात्म चिन्तन भनेको अन्ततः भौतिकताबाट मुक्ति हुने असफल प्रयास मात्रै हो । फरक यति हो, भौतिकवादले जीवन जगत्का शाश्वत सत्यलाई विज्ञानद्वारा ज्ञात गर्न खोज्छ, अध्यात्मवादले त्यसलाई ईश्वरद्वारा सिर्जित रहस्य मान्छ र वस्तुको तथ्य जान्ने झन्झटबाट मुक्त हुन ईश्वरको सहारा लिन्छ । 

ज्ञान र विज्ञान दुवैका सीमा छन् । दुवैले जीवन र जगत्का तथ्यहरू (रहस्य भने पनि हुन्छ) खोजीरहेका छन् । तर यत्रो विशाल संसारका सबै तथ्यहरूमा विज्ञान पुग्न सकेको छैन, भौतिकवादी त्यसमा प्रयत्नरत छन् । यहीँनेर अध्यात्मवादीहरूले चलाखी गरेर थाहा पाउन बाँकी, खोज्न बाँकी कुरालाई ईश्वरको जिम्मा दिएका हुन् । सुमेरु पर्वत घुमेर आउने कुमार र शिवपार्वतीलाई नै सुमेरु पर्वत ठानेर उनीहरूकै परिक्रमा गर्ने गणेशको स्वस्थानीको कथालाई क्रमशः भौतिकवादी विज्ञान र अध्यात्मवादी ज्ञानको प्रतीकका रुपमा लिन सकिन्छ होला भन्ने लाग्छ । भौतिकवादी विज्ञानले सुमेरु पर्वत घुम्ने धृष्टता गर्छ, अध्यात्मवादी भनिने ज्ञानले महादेव र पार्वतीलाई नै सुमेरु पर्वत मान्ने सजिलो बाटो खोज्छ । मैले बुझेअनुसार विज्ञान र ज्ञानको, भौतिकवाद र अध्यात्मवादको भिन्नता मूलतः यति नै हो । 

२. सांस्कृतिक चिन्तनको धारा

 कोरोनासँगै नमस्कार गर्ने, घरभित्र प्रवेश गर्नुअघि र खाना खानुअघि हातखुट्टा धुने, खाना खाने बेलामा सफा कपडा लगाउने, राम्ररी पकाएर खाने, कागती, बेसार, लसुन, अदुवा, तातोपानी खाने, माछा मासु कम खाने, पानीले दिसा धुने, अरुको जुठो नखाने जस्ता पूर्वीय खानपान तथा आचारव्यवहारहरू ठिक रहेछन् भन्ने बहस, चर्चा चलेको पाइन्छ । हात खुट्टा धुने, सफा, सुग्घर हुने कुरा राम्रो हो । त्यो सबैले गर्दै आएकै छन् । नमस्कार संस्कृति पनि आफ्नो ठाउँमा ठिक छ, कोरोनामा त साँच्चै ठिक देखियो । त्यसो भन्दैमा अरुका खानपान, व्यवहार, आचार व्यवहार पूरै बेठिक, गलत छन् भन्न मिल्दैन । रोगी, अपरिचितहरूसँग आलिङ्गन, चुम्बन नगर्ने कुरा ठिक हो भन्दैमा प्रेमीप्रेमिका, पतिपत्नी, छोराछोरी, बाबुआमासँगको आलिङ्गन पनि बेठिक रहेछ, त्यसो गर्नेहरू असभ्य हुन् भन्न थालियो भने आजसम्मको हाम्रो संस्कृति, परम्परा, इतिहास पूरै गलत थियो भन्नुपर्ने हुन्छ, त्यसो त होइन । राम्ररी पकाएर खानुपर्छ भन्दैमा काँक्रा, गाँजर, मुला जस्ता काँचै खाँदा फाइदा गर्ने खानेकुराहरू पनि पकाएर मात्रै खाऊ भन्नथालियो भने त्यो अतिवाद हुन्छ । मांसहारीभन्दा शाकाहारी राम्रो भन्ने कुरा छँदैछ तर मांसहार अब हुँदै हुन्न भन्न थालियो भने त्यो पनि व्यावहारिक र सम्भव हुँदैन । 

कोरोना चीनको उहानमा सबैभन्दा पहिले देखिएको कुरालाई आधार मानेर धेरैले चिनियाँ खानपान र जीवनशैलीलाई नकारात्मक रुपमा चित्रण गरेको देखिन्छ, त्यो ठिक होइन । कुनै एउटा रोग कतैबाट देखिनु संयोग मात्रै हो । यदि चिनियाँ खानपान र जीवनशैलीकै कारण कोरोना जन्मिएको भए अमेरिका, युरोप र भारतमा समेत त्यो किन फैलियो त ? हरेक संस्कृतिका आफ्ना विशिष्टता हुन्छन् । हरेकका राम्रा नराम्रा पक्ष हुन्छन् । मासु बढी खाने, काँचो सागसब्जी खाने, खानेकुरा कम पकाउने जस्ता चिनियाँ खानपिन संस्कृतिका केही विशिष्टता छन् । हजारौँ वर्षदेखि उनीहरू त्यही संस्कृतिमा रमाइरहेका छन् । त्यही खानपानबाट उनीहरू स्वस्थ र तन्दुरुस्त हुँदै आएका छन् । अहिले संयोगवश कतैबाट रोग देखियो भन्दैमा उनीहरूको खानपान, संस्कृतिलाई लाञ्छित गर्नु मुर्ख्याइँ मात्रै हो । 

मननीय कुरा  हामी अलिक बढी नै पश्चिमा संस्कृति, प्रविधिप्रति लहसिएको चाहिँ हो । आधुनिकताका नाममा, विज्ञानका नाममा हामीले हाम्रा पुली खानपान, आचार व्यवहारलाई छाडेर अरुको नक्कल गरेका छौँ । हाम्रो यस्तो व्यवहारलाई भने कोरोनाले सबक सिकाएको छ, यदि सिक्ने हो भने । हरेक मानव पुर्खाले व्यवहारमा ल्याएका आचार, व्यवहार, प्रचलनमा खालि अन्धविश्वास मात्रै हुँदैन, त्यहाँ लामो अनुभव हुन्छ, विज्ञान हुन्छ, परिवेशगत अनुकूलता हुन्छ भन्ने कुरालाई हामीले आत्मसात् गरेनौँ । हाम्रा पुर्खा चाहिँ खालि मूर्ख थिए अनि पश्चिमा र अरुहरू चाहिँ वैज्ञानिक, जान्ने थिए भन्ने ठुलो भ्रम हामीसँग छ । त्यो भ्रमबाट चाहिँ हामी मुक्त हुनुपर्छ । हाम्रा खानपान, संस्कृतिलाई धर्म, ईश्वरसँग जोडेर होइन, ज्ञानविज्ञान, अनुभव, अनुकूलताका आधारमा थप अध्ययन गर्दै तिनको संवर्धन, विकास र अनुसरणमा ध्यान दिनुपर्छ भन्ने शिक्षा कोरोनाले दिएको छ । 

३. राजनीतिक तथा आर्थिक प्रणाली सम्बन्धी चिन्तनको धारा 

कोरोनाले पुँजीवादी, उपभोक्तावादी आर्थिक तथा राजनीतिक प्रणाली बेठिक छ भन्ने प्रमाणित गरिदिएको चाहिँ हो । पुँजीवादले सिर्जना निर्माण गरका भोगवादी उपभोक्ता, उसले सिर्जना गरेका विश्वव्यापीकरणको बजार, जनताका स्वास्थ्य, रोजगारी आदिलाई ध्यान नदिने तर दुनियाँसामु शक्ति प्रदर्शन गर्ने शक्ति राष्ट्रहरू कोरोना नियन्त्रणमा असफल देखिनुले पुँजीवाद, उपभोक्तावाद र त्यसले सिर्जना गरेको विश्वव्यापीकरण ठिक रहेनछ भन्ने स्पष्ट भएको छ । यसका साथै पश्चिमा ढाँचाको मानवाधिकार, लोकतन्त्र र स्वतन्त्रतामाथि पनि प्रश्न खडा भएको छ । पहिलो पटक कोरोना देखापरेको र संसारको सबैभन्दा धेरै जनसंख्या भएको चीनले त्यसलाई एउटा निश्चित क्षेत्रमा सीमित गर्न सक्नु, महिनौँसम्म डेढ अरब जनतालाई लकडाउनमा राखेर पनि पाल्न सक्नु तर संसारका मै हुँ भन्ने देशले दुई चार करोड जनतालाई एक महिनासम्म लडकडाउनमा राखेर पाल्न नसक्नुले राज्यको चरित्र कस्तो हुनुपर्ने रहेछ ? कस्तो राजनीतिक तथा आर्थिक प्रणाली ठिक रहेछ ? भन्ने कुराको एउटा चित्र भने देखाइदिएको छ । 

 भनिन्छ, हरेक संकटले अवसर पनि ल्याउँछ । हाम्रा आचरण, व्यवहार, आर्थिक तथा राजनीतिक प्रणाली, चिन्तन, बुझाइलाई कोरोनाले चुनौती दिएको छ । साथसाथै यसले अब हामी कतातिर जानु ठिक छ भन्नेतर्फ पनि संकेत गरेको । कोरोना संकटलाई अवसरमा बदल्न चाहने हो भने त्यो सम्भव छ । भविष्यमा दुनियाँले यसलाई अवसरमा रुपान्तरण गर्छ वा बिर्सन्छ, त्यो भने हेर्न बाँकी छ ।