स्वर्गदेखि ठमेलको कफिसपसम्म

भाग -1

स्वर्गदेखि ठमेलको कफिसपसम्म

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  फाल्गुन २४, २०७५

‘साइन्स फिक्सन’ लेखन तथा पठन पाठन आफैंमा अति रोचक तथा पूरा हुन नसकेका आफ्ना इच्छा पूरा गर्ने सरलतम् उपाय हो । यसै विधामा लेखिएको उपन्यासलाई हामी धारावाहिक रुपमा प्रकाशित गर्न गइरहेका छौं । आशा छ यसले पाठकहरुलाई यथेष्ट मनोरञ्जन दिनुका साथै ज्ञानवर्धन पनि गर्नेछ । प्रत्येक शनिवार प्रस्तुत गरिने यस श्रृंखलाको पहिलो आवृति । 
   
स्वर्गको ‘क्लाइमेट’ मा अचेल निकै चिसो बढेको थियो । यसो हुनुको कारण ब्रम्हाजीको नयाँ इच्छा थियो । उनी पृथ्वीजस्तै जीवनले सम्पन्न एउटा नयाँ थलो विकास गर्न चाहन्थे ।

अनेकन विज्ञजनसँग कैयन छलफलपछि निर्णय पारित भयो— नयाँ थलो सर्पिल आकाशगङ्गा (स्पाइरल ग्यालेक्सी ) समूहमा नबनाएर ( झण्डै ८० प्रतिशत आकाशगङ्गा सर्पिलाकार छन) दीर्घ वृत्ताकार  (इलिप्टिकल ग्यालेक्सी) आकाशगङ्गा समूहको एउटा आकाशगङ्गा (यस प्रकारका आकाशगङ्गाहरूको प्रतिशत १७ रहेको छ ) मा बनाउने सर्वसम्मति भयो । हुन त विश्वकर्माको चाहना सर्पिल समूहकै ‘एण्ड्रोमेदा’ आकाशगङ्गाको मध्यभागबाट उत्तरी भुजामा ५१ हजार प्रकाशवर्ष टार्ढा स्थित ‘ह्वाइट डार्फ’ ग्यालेक्सी मा नयाँ थलो ‘डेभलप’ गर्नु रहेको थियो ।

तर नारदको हस्तक्षेपले उनको प्रस्ताव ‘टेवुल’ हुनासाथ अस्वीकृत भयो । नारदको तर्क थियो, पृथ्वीवासीका यान आउँदो केही वर्षमै ‘एण्ड्रोमेदा’ मा रहेका सवै ग्रह–नक्षत्रमा ‘वीकेण्ड’ मनाउन ओर्लिनेछन् । यसले देवकार्यमा बाधा पुग्नेछ । भर्खरै पृथ्वी भ्रमण गरी फर्किएका नारदको यस स्पष्टोक्तिपछि दीर्घ वृत्ताकार आकाशगङ्गा समूहको ‘ड्राफ इलिप्टिकल’ आकाशगङ्गाको बिल्कूल ‘सेन्टर’ मा रहेको एउटा ग्रहलाई इन्द्रेणी नाम प्रदान गरी त्यहीँ व्रम्हाजीको इच्छा पूरा गर्ने निधो भयो ।

इन्दे्रणीलाई पृथ्वीका माफिक अझ उन्नत ढङ्गले ‘मैकेनिकली डेभलप’ गर्ने अभिभारा इन्द्रलाई प्राप्त हुनआयो । इन्द्रलाई यो दायित्व सुम्पनुका पछाडि पनि रोचक कथा थियो ।

पृथ्वी ग्रहको नेपाल देशबाट लक्ष्मीप्रसाद देवकोटा नामक एक कवि पृथ्वीको आफ्नो बसाइ सकेर जब स्वर्ग पुगे, उनको मुनामदनको ख्याति भने उनीभन्दा पहिला नै त्यहाँ पुगिसकेको थियो । इन्द्रले देवकोटासंग मुनामदन सुनाउन आग्रह गरे । कविज्यू हर्षले गद्गद् हुनुभयो र सहर्ष इन्द्रको आग्रह स्वीकार्नुुभयो ।

मदनलाई भोट पुर्‍याउँदा नपुर्‍याउँदै, ‘कविज्यूलाई चुरोटको तलतल’ लाग्यो । उहाँले ‘लौ न प्रभु, चुरोट नखाए त घाँटी नै खुलेन’ बिन्ति गर्नुभयो । तर, स्वर्ग जतिसुकै ‘एड्भान्स’ भए पनि त्यहाँ चुरोटको चलन रहेनछ । इन्द्रले त्यहाँ सुराको मात्र प्रचलन भएका,े धुम्र उपलव्ध नभएको जानकारी दिदै उर्वशीलाई कविसमक्ष सुरा पेश गर्ने इशारा गरे ।

कविज्यूले ‘प्रभो ! म बाहुनको छोरो !! सुरापान कसरी गरौं ? यसले त मेरो कुल, मर्यादा र तीनै लोक बिगार्छ ।’ भनी असमन्जस्यता पोखे ।

शिवजी नानाभाँतिका तम्वाकु, गाँजा, चिलिम नन्दीलाई वोकाएर स्वर्ग आइपुग्नुभयो । इन्द्रसँग रिसाउँदै भन्नुभयो, ‘स्वर्ग आएको पाहुनालाई तिमीले आराम पनि गर्न नदिई काम गर्न लगायौ ? तिमीलाई थाहा छैन, धुम्रपान सेवन गर्ने सबै मेरा भक्तजन हुन्, कविले धुम्रपान माग्दा तिमीले उपलब्ध नगराएर उनको होइन, मेरो अपमान गर्‍यौ । स्वर्गमा निर्बाध मदिरा उपलव्ध छ भने चुरोट किन छैन ?’

इन्द्रले अट्टहास गर्दै भने, ‘हे कवि ! सबै आचरणको फलस्वरुप तिमीलाई स्वर्ग पाइएको हो । तिमी आचरण धारण गर्ने पृथ्वीमा छैनौ, स्वर्गमा छौ । यहाँ कुनै कर्मको प्रतिफल हुँदैन । निसङ्कोच भएर सेवन गर ।’
‘हुन त हो प्रभु, मैले पृथ्वीमा रहँदापनि एक पटक त्यो मायानगरी मुम्वईमा ‘बीफ’ सेवन गरेको थिएँ तर पनि स्वर्ग नै प्राप्ति भयो ।’ यति भन्दै कविज्यूले सुरापान गर्दै कविता पाठ पूरा गरे ।

यो सारा वृतान्त इन्द्रसँग रिसाएको कुनै एक देवगणले फूलबुट्टा भरेर शिवजीलाई सुनाइदिएछन् । शिवजी नानाभाँतिका तम्वाकु, गाँजा, चिलिम नन्दीलाई वोकाएर स्वर्ग आइपुग्नुभयो । इन्द्रसँग रिसाउँदै भन्नुभयो, ‘स्वर्ग आएको पाहुनालाई तिमीले आराम पनि गर्न नदिई काम गर्न लगायौ ? तिमीलाई थाहा छैन, धुम्रपान सेवन गर्ने सबै मेरा भक्तजन हुन्, कविले धुम्रपान माग्दा तिमीले उपलब्ध नगराएर उनको होइन, मेरो अपमान गर्‍यौ । स्वर्गमा निर्बाध मदिरा उपलव्ध छ भने चुरोट किन छैन ?’

महादेवको गर्जन सुन्नासाथ इन्द्रको प्रज्ञाले बुझ्यो – अव केही अनर्थ हुनेछ । स्तुतिको लयमा क्षमायाचना गर्दै उनले भने—‘महाकविको महाकाव्य श्रवणलोभ संवरण गर्न नसकेर मबाट यस्तो अपराध हुनगयो, क्षमा पाउँ महादेव !’

महादेवले व्यङ्ग्यमिश्रित स्वरमा भन्नुभयो, ‘इन्द्र तिमीलाई थाहै छ म आफूप्रति भएको अपराधको त क्षमा दिन सक्छु तर भक्तप्रति भएको अपराधलाई क्षमा गर्नु जगतको ‘फण्डामेन्टल स्ट्रक्चर डिष्टर्व’       -MATRIX_  गर्नु हो । यो सम्भव छैन । कविले पृथ्वीको समयानुसार झण्डै ४१ मिनेट जति कविता पाठ गरे, तिमीले ४१ वर्ष पृथ्वीमा गएर बिताउनुपर्छ । कुन रूपमा बिताउने, त्यसको निर्धारण कविज्यूले गर्नुहुन्छ ।’

अब क्षत्रियको छोरोलाई विनम्रतामा भोटेको पाऊ छुन लगाउने बाहुनकै छोरोको हृदयको विशालता भला इन्द्रलाई के थाहा हुनु ? इन्द्रको मनस्थिति निर्वाचनताका हुने हाम्रा नेताहरूको झैं थियो । एकजना मेरा पनि (यो लेखकका) मित्र चुनाव लडेका थिए– नारायण ढकाल, काठमाडौँबाट । चुनावपछि न्यूरोडको पिपलबोटमा आफ्नो अनुभव उनले यसरी सुनाए – दुबै हात जोडेर सबैलाई नमस्कार गर्दागर्दा सपना पनि नमस्कार मुद्राकै आउन थाले । एक दिन चुनावी सभाबाट फर्किँदै गर्दा झिस्मिस् अँध्यारो भईसकेको थियो । केहि पर एक व्यक्ति उभिएको देखेँ, मैले परैबाट नमस्कार उद्घोष गरेँ, नजिक पुगेर हेर्दा त रूख पो रहेछ । इन्द्र पनि नारायण ढकाल झैं चुनावी मुद्रामा, कविज्यूतिर काँतर निगाहले हेर्दै थिए ।

कविज्यूले महादेवसमक्ष विनितभावले भने, ‘प्रभू ! यो चोला पृथ्वीलोकमा रहँदा ‘अक्सफोर्ड’ मा गएर पढ्ने खूब तमन्ना थियो, तर पटनाभन्दा पर पुग्न सकिएन । मेरो इच्छा छ, उहाँ नेपालमा जन्म लिएर ‘अक्सफोर्ड’ मा गई पढ्नेगरी पृथ्वीलोक जानुहोस् ।’

महादेवले इन्द्रलाई वचनले लतार्दै भन्नुभयो ‘अब त बुझ्यौ होला इन्द्र, ब्राह्मणलाई श्रेष्ठ किन भनिएको हो ? कविले श्रापलाई वरदानमा परिणत गरिदए । तिमी पृथ्वीलोक समयानुसार एकचालिस वर्ष स्वर्गबाट निष्कासनमा जाऊ ।’ हावाबाट मोवाइल जस्तो ‘डिभाइस’ प्रकट गरेर त्यसमा केही गणना गरी उहाँले भन्नुभयो— ‘यो ‘टाईम डाइलेटर डिभाइस’ अनुसार पृथ्वीको एकचालिस वर्षको समय स्वर्गलोकको आधा सेकेण्डभन्दा केही कम हुनेछ ।’

कविको तिमीप्रतिको करुणाभावका लागि श्रेष्ठ ब्राह्मणत्व आचरण प्रदर्शनका लागि उनलाई तिम्रो पदमा प्रतिस्थापन गर्ने मेरो निर्णय कार्यान्वयन होस् । उर्वशी र मेनका दुबैले उनलाई राजकाजमा सहायिका झैँ सघाउन् । र, म पनि कैलाश प्रस्थान हुनुअघि कविसँग पञ्चचामर छन्दको एउटा रचना सुनाउने आग्रह गर्दछु ।’

जटाभुजंगपिंगलं स्फुरत्फणामणिप्रभा,
कदंबकुंकुम द्रवप्रलिप्त दिग्वधूमुखे ।

मदांध सिंधु स्फुरत्वगुत्तरीयमेदुरे,
मनो विनोदद्भुतं बिंभर्तु भूतभर्तरि ।।

कवि ज्यूले साक्षात शिवजी कै अगाडि उनकै बन्दना गर्ने अबसर किन गुमाउँथे ।

०००

शिवजीको दण्ड र कविज्यूको दमित चाहनारूपी करुणाले गर्दा इन्द्रले कान्तिपुरी नगरीमा जन्मिनु पर्‍यो । इन्द्र गर्भबाट बाहिर आएको दिन नेपाल देशमा हलचल हुनु स्वाभाविक नै थियो । त्यै दिन हो– राजा महेन्द्रले शासन सत्ता आफ्नो हातमा फर्काए । अब स्वर्गकै राजा पृथ्वीमा आउँदा यहाँका राजाको पनि त रौनक फर्किनुपर्‍यो !

इतिहासविदले २०१७ सालको परिवर्तनको जति कारण खोजे पनि परिणाम बाबाजीको चिम्टा ! ए, तपाईले ठुल्लु पढ्नुभएको थियो । हेर्नुस्, म यताउताबाट चोरी–चकारी गरे पनि मूल रूपमा मौलिकतामा विश्वास गर्ने मानिस हुँ । ‘कपी पेष्ट’ कर्ता होइन । शङ्कर लामिछानेबाट शब्द उन्नयन र वाक्य संयोजन सिक्न नसके पनि मान्नुस् केही त सिकेकै छु । मैले इतिहासवेत्तालाई पञ्चायत आउनुको ‘डिभाइन सिक्रेट’ भनिदिएँ । श्रद्धा हुनेले विश्वास गर्नुस् र दया एवम् विश्वासको अगुवाइमा श्रद्धा, आस्था, करुणा, नम्रतालाई छापामार युद्धमा सहिद बनाइसकेका वामपन्थीलाई त झनै सजिलो भयो । अब सोझै इन्द्रलाई गाली गरे भयो ! 

अब योे संयोग नै हो, इन्द्र आफ्नो श्रापावधि पूरा गरेर फर्किनुअघि ठमेलमा मसँग ठोक्किन पुगे । ‘एक्स्प्रेसो’ पिउने नयाँ–नयाँ सोख लागेको थियो मलाई । चाक्सीबारीमा गणेशमानजीको इच्छाअनुसार ‘मेमोरियल’ नबनाएर छोराहरूले ‘सपिङ कम्प्लेक्स्’ बनाए, त्यहीँ दोश्रो तल्लामा थियो हिमालयन क्याफे । 

त्यहीँ भेट भयो इन्द्रसँग, मभन्दा पहिलादेखि बसेर उनी ‘एक्सप्रेसो’ पिइरहेका थिए । उनकै सामुन्नेको टेबुलमा मैले पनि आफ्नो देह कुर्सीमा अड्याएर कफी अर्डर गरेँ । मसँग भएकी कन्याले ‘एक्सपे्रसो’ संँग  ‘चीज केक’ को ‘टेष्ट’ मेरो पनि जिब्रोका लागि ‘वाह उस्ताद !’ बनाइसकेकी थिइन् । तीतो र मीठोको अपूर्व सङ्गम ! 

हुन त विज्ञानले घोषणा गरिसक्यो, हाम्रो जिब्रोसँग जम्मा पाँचवटा स्वाद चिन्ने क्षमता हुन्छ– गुलियो, नुनिलो, पिरो, अमिलो, र मासु (अजिनोमोटोमा मासुको स्वाद हुन्छ) यी बाहेकका समस्त स्वादका लागि जीब्रोसँग ‘रिसेप्टर्स’ (रिसेप्टर्सले मष्तिस्कमा सिग्नल पठाउँछन्) हुन्नन् । त अरु अन्य स्वाद हामीले कसरी पाउछौँ ?  जवाफ छ हजुर नाक ! हाम्रो नाकसँग  हजाराैँ ‘फ्लेवर्स’ का लागि ‘रिसेप्टर्स’ हुन्छन ।  नाक बन्द गरेर खाएर त हेर्नुस्, स्वादको मस्ती ‘उडन्छु’ हुन्छ । हो, माक्र्सले भने झँै रोटी र पेटकै लागि सबै सङ्घर्ष हुन्छन् तर सबै भोक पेटका हुन्नन् । हामी त पेटको भोक अनुभव नै नगरी मस्तिष्ककै भोक शान्त गरिरहेका हुन्छौं । नाकका ‘रिसेप्टर्स’ ले ‘फ्लेवसर्’ ‘ट्रान्समिशन’ गर्छन् मस्तिष्कलाई र सुगन्ध पाउनासाथ भोक जागृत भइदिन्छ । त के नाक हो भोक र स्वादको प्रमुख अङ्ग ? होइन पाठकबृन्द, मस्तिष्कभित्रको पनि एउटा सानो भागलाई ‘हैपोथालमस’ भनिन्छ । जिब्रो र नाकमा रहेका ‘रिसेप्टर्स’ ले सारा सन्देश यहीँ पुर्‍याउँछन, तृप्ति पेटको होइन, मस्तिष्ककै यसै सानो भागको सौभाग्य हो । 

हुन त विज्ञानले घोषणा गरिसक्यो, हाम्रो जिब्रोसँग जम्मा पाँचवटा स्वाद चिन्ने क्षमता हुन्छ– गुलियो, नुनिलो, पिरो, अमिलो, र मासु (अजिनोमोटोमा मासुको स्वाद हुन्छ) यी बाहेकका समस्त स्वादका लागि जीब्रोसँग ‘रिसेप्टर्स’ (रिसेप्टर्सले मष्तिस्कमा सिग्नल पठाउँछन्) हुन्नन् । त अरु अन्य स्वाद हामीले कसरी पाउछौँ ? जवाफ छ हजुर नाक ! हाम्रो नाकसँग हजाराैँ ‘फ्लेवर्स’ का लागि ‘रिसेप्टर्स’ हुन्छन । नाक बन्द गरेर खाएर त हेर्नुस्, स्वादको मस्ती ‘उडन्छु’ हुन्छ ।

हामीले तेश्रो ‘एक्स्प्रेसो अर्डर’ गर्दा सामुन्ने बसेका व्यक्ति हामीतिर हेरेर मुसुक्क हाँसे । मेरी जर्मन मित्रले पनि प्रत्युत्तरमा ‘वी लभ इट’ भन्दै ‘व्हाई नट यू ज्वाइन अस’ भनिन् ।

परिचय भयो, २० वर्ष बेलायतमा पढाई, बसाई गरेर नेपाल फर्केका युवक रहेछन् । राजा महेन्द्रले आफ्नै अग्रसरतामा ‘अक्सफोर्ड’ पढन पठाएका थिए पञ्चायतकालमा । अणु भौतिकीमा ‘डक्टरेट’ गरेर विभिन्न ‘युनिभर्सिटी’ मा अध्यापन गरी एक महिना पहिला मात्र नेपाल फर्केका रहेछन् । मेरी जर्मन साथीले मलाई देखाउँदै ‘ऊ पत्रकार र साहित्यकार हो र दर्शनमा पनि रुचि राख्छ’, भनेर मेरो परिचय दिइन् । साहित्यमा रुचि सुनेर उनले बालकृष्ण समबारे सोधे, ‘के तपाईले ‘स्वास्नी मान्छे’ पढ्नुभएको छ ?’ मैले स्वीकृतिमा टाउको हल्लाएपछि उनले औधी खुशी मान्दै भनेँ, ‘म यसबारे तपाईंसँग चर्चा गर्न  र साथै चोभार डाँडा पनि हेर्न चाहन्छु । गजबकै कल्पना छ समज्यूको ।’ सौभाग्यले हामी तीनैजना ठमेलकै फरक–फरक गेष्टहाउसमा बसेका रहेछौँ । भोलिपल्ट ‘बे्रकफाष्ट’ पछि चोभार डाँडा घुम्न जाने भनी हामी छुट्टियौँ ।

दिनभरि चोभार डाँडा घुम्दै समका बारेमा अनेक कुरा गर्दै हामी साँझमा ठमेलकै एउटा रेष्टुरेन्टमा बसिरहेका थियौँ । मेरो महिला मित्रले भनिन्, ‘समको व्यक्तित्व वास्तवमै रहस्यमय छ, यस्तो प्रतीत हुन्छ, बेलामौका यिनको अन्य कुनै ग्रहसँग सम्वन्ध स्थापित हुन्थ्यो ।’ तर म हाम्रा नयाँ मित्रसँग अणु भौतिकीको बारेमा जान्न इच्छुक थिएँ । उनले ‘क्वान्टम फिजिक्स्’ माथि लामै व्याख्यान दिए । हाम्रा लागि अधिकांश कुरा बुझाइभन्दा बाहिरका थिए । भोजनपश्चात् हामी आ—आफ्ना गेष्टहाउसतिर लाग्यौँ ।

हाम्रो भेट भएको तेश्रो दिन हामी बौद्धनाथ घुमिरहेका थियौँ । मेरो महिला मित्र बुद्धधर्म दर्शनकी स्व–अनुयायी थिइन् । तिब्बत, भुटान, भारत र नेपालका अधिकांश ‘मोनाष्ट्री’ पुगिसकेकी थिइन् । अनेकौँ लामा र रिम्पाेंछेहरूसँग उनको चिनजान थियो । आज उनै हामीलाई बौद्धनाथमा रहेका विभिन्न ‘मोनाष्ट्री’ घुमाउदै थिइन् । 

हामी थाकेर चुर भइसकेका थियौँ । एउटा ‘रूफटप रेष्टुरेन्ट’ मा हामी कफी पिउन बस्यौँ । थाकेकाले हामी सबै मौन थियौँ । टेबुलमा एकापट्टि म र जर्मन मित्र थियौँ भने अर्कोपट्टि ‘अक्सफोर्ड रिटर्न’ मित्र बसिरहेका थिए । अचानक उनको शरीरमा तीव्र कम्पन हुन थाल्यो, अनुहार पूरै निलो भयो, हामीले केही गर्नुभन्दा पहिला नै उनी हामीले नबुझ्ने भाषामा केही भन्न थाले । एक मिनेटमै उनको अनुहार यति तेजमय भयो कि हामीले सिधै उनको अनुहारमा हेर्न सकेनौँ । मैले सोधेँ, ‘हैन तपार्इं सञ्चै हुनुहुन्छ, के भएको तपाईलाई ?

‘वत्स, जे हुनु थियो त्यै भयो’ । उनको स्वर मैले पृथ्वीमा पहिला कहिल्यै पनि नसुनेको स्वर जस्तै अद्भुत थियो । मैले केही बुझ्न सकिन् । 

उनैले भने, ‘वत्स अब मसँग धेरै समय छैन, मेरो जाने बेला भयो । मलाई आफ्नो मूल स्वरूपको ज्ञान भयो, जुन कारणहेतु म पृथ्वीमा आएको थिएँ,  त्यस कारणको अवधि समाप्त हुँदैछ । यो शेष रहेको अवधिभरि म तिमीहरूसँगै हुनेछु ।’ 

मेरी जर्मन मित्रले भनिन्, ‘शायद् तपाईलाई सञ्चो भएन, हस्पिटल जाने कि ?’

आहा, के दिव्य हाँसो ! मानौ एकैपटक हजाराैँ षोडशी बालाहरूले खित्का छाडेका हुन । अनि उस्तै दिव्य स्वरमा सुनियो, ‘सौभाग्ये, यो जुन तिमीलाई आभाष हुन्छ, ‘टिग्रिस’ नदी किनारको सभ्यताकी तिमी रानी थियौ र भट्किँदै आएको एउटा युवकको प्रेममा समर्पित भएकी थियौ, यो सत्य हो र यो पनि सत्य हो – यो युवक पनि त्यही तिम्रो प्रेमी हो ।’

महिला मित्रले रिसले मतिर हेरिन् । 

‘होइन, होइन, तिमी व्यर्थमा क्रोध नगर । यी युवाले तिम्रो विषयमा मलाई केही जानकारी दिएका होइनन् । स्मरण गर– हामी तीनैजना सँगै भेट्थ्यौँ । त्यो बाहेक यी युवा तिम्रै सान्निध्यमा हुन्थे ।’
 ‘ठीक हो तर तपाईंले कसरी थाहा पाउनु भयो ?’ महिला मित्रले सोधिन् ।

‘सौभाग्ये, बुझ्ने प्रयास गर । अघिसम्म म पृथ्वीको सामान्य मानिस थिएँ, तर अब म सामान्य मानिस होइन् ।’
‘सामान्य मानिस नभए तपाई देउता हो ?’ महिला मित्रले अलिक तिखो स्वरमा सोधिन् ।

 ‘तिम्रो आवेग स्वाभाविक हो निलोत्तमा ! र, तिमीले भनेको पनि सत्य हो,  म देवराज इन्द्र हुँ । श्रापवश पृथ्वीलोकमा एकचालीस वर्षका लागि आएको थिएँ । पृथ्वीमा जन्मेदेखि मलाई यसको बोध थिएन, अब जब त्यो अवधि समाप्त हुन लागिरहेको छ, मलाई आफ्नो स्वरूपको बोध भएको छ । अब म देवराज इन्द्र आफ्ना सारा शक्तिले सम्पन्न छु । यस लोकमा मेरा लागि केही अशक्य छैन ।’
हाम्रो मस्तिष्कमा दश ‘रेक्टर स्केल’ को भुँइचालो गयो । 

हाम्रो तर्फबाट कुनै प्रतिक्रिया नभएकाले देवराजले भन्नुभयो– ‘वत्स हो, तिमीहरू तन्त्रको माध्यमले परम ज्ञान पाउन चाहन्छौ, अहिले पृथ्वीमा यसको ज्ञान लोपप्रायः भइसकेको छ । म तिमीहरूलाई यो ज्ञान प्रदान गर्न सक्छु ।’

भएभरको साहसलाई बटुल्दै मैले भनेँ – ‘प्रभो, हामी कसरी विश्वास गरौँ – हजुर देवराज होइसिन्छ ?’

तिमी आफ्नो कुनै इच्छा व्यक्त गर, म निमेषमै त्यसलाई पूरा गरिदिन्छु । पृथ्वीदेखि सूर्यसम्म अनन्त विस्तारसम्म तिमीले जे चाहन्छौ, म त्यो तत्काल पूरा गरिदिन्छु ।

‘हे देवराज ! मेरो अज्ञानतालाई क्षमा गर्नुहोस्, हजुरको अनुकम्पाले म बद्रीनाथ भगवानको दर्शन गर्न चाहन्छु ।’
 

क्रमशः