कोरोना सङ्क्रमणको कहरः सीमाबन्दी चोर बाटो सुरक्षाकर्मीका लागि चुनाैती !

कोरोना सङ्क्रमणको कहरः सीमाबन्दी  चोर बाटो सुरक्षाकर्मीका लागि चुनाैती !

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २२, २०७७

काठमाडौँ । कोरोना भाइरस (कोभिड –१९)को जोखिम हुन नदिन सरकारले सीमा नाकामा कडाइ गरे पनि चोर बाटो रोक्न हम्मे हम्मे परेको छ । चोर बाटो हुँदै नेपाल प्रवेशको क्रम अहिले पनि रोकिएको छैन । भारतसँग सीमा जोडिएका जिल्लाका सीमा क्षेत्रमा घोषित तथा अघोषित सबै नाकामा प्रहरीको उपस्थिति रहेको छ । घोषित नाका बन्द भएपछि लुकेर अघोषित नाकाबाट मानिसहरू नेपाल प्रवेश गर्न थालेपछि सम्बन्धित जिल्लाहरूले कडाइ गरे पनि पर्याप्त सुरक्षाकर्मीहरु परिचालन हुन नसक्दा रातीराती नेपाल प्रवेश नरोकिएको स्थानीयहरूले बताएका छन् । नेपालमा कोरोना सङ्क्रमित मध्ये आधाभन्दा बढी भारतीय नागरिक रहेको र भारतमा सङ्क्रमण फैलिन थालेपछि नेपाल प्रवेश गरेका थिए । प्रहरीका अनुसार उनीहरू त्यहाँ सङ्क्रमण छल्न आफन्त भेट्न बहाना बाजी गर्दै नेपाल आएका थिए । आएका मध्य धेरै जसो मस्जिदमा बसोबास गरिरहेका भेटिएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले सबै प्रकारका नाकामा सरकारी उपस्थिति रहेको दाबी गरे । ‘मुख्य नाका तथा छोटी नाकमा सरकारी उपस्थिति छदैछ तर चोर बाटोबाट पनि प्रवेश गरेको समाचार आउन थालेपछि भने त्यहाँ पनि प्रहरीको निगरानी र उपस्थिति बढेपछि अहिले सबै सीमा नाका बन्द भएका छन्’, मन्त्रालयका प्रवक्ता शर्माले भने । उनका अनुसार सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली पनि खटिएको छ भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आवश्यकता अनुसार दुवै प्रहरीलाई जिल्लाका विभिन्न भागमा खटाएको छ ।

भारतको युपीसँग सीमा जोडिएका बाहेक नेपाल भारतबिच काकरभिट्टा, विराटनगर वीरगन्ज र भीमदत्त नगरमा ठुला भन्सार नाका छन् । त्यस्तै पशुपतिनगर, गौरीगञ्ज, रंगोली, भान्टावारी, जनकपुर, जलेश्वर, मलंगहवा, गौर, ठोरीमा पनि छोटी भन्सार नाका रहेका छन् । यहाँबाट पनि नेपालमा सहज रूपमा विदेशीहरू नेपाल प्रवेश गर्न पाउँछन् । त्यस कारण पनि सकारले सबै प्रकारका चोर बाटोमा पनि प्रहरीको गस्ती र निगरानी बढाएको छ ।

कैलालीको त्रिनगर, गौरीफण्टा, कञ्चनपुरको गड्डाचौकी, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही, दार्चुला तथा दुई नं प्रदेशका ८ जिल्ला , पूर्वमा मोरङ, सुनसरी, झापा लगायतका सीमावर्ती जिल्लाहरूबाट खुला सीमाका कारण भारतबाट नेपाल तर्फ नागरिकहरू आवतजावत गर्ने भएकाले कडाइ गरिएको गृह मन्त्रालयले जनाएको छ ।

प्रदेश २ प्रहरी कार्यालयका प्रमुख डिआइजी धिरज प्रताप सिंहले दिएको जानकारी अनुसार  नेपाल भारत सीमा नाकामा  थप कडाइ यसका लागि आठ जिल्लाका  १०६ सीमा नाकामा  पाँच हजार ७३० प्रहरी परिचालन गरिएको छ ।

सीमा नाकाबाट  नेपाल प्रवेशलाई पूर्ण रोक लगाइएको उनको दाबी छ ।  लकडाउनका समयमा नाकाबाट लुकीछिपी स्वदेश फर्किने क्रम नरोकिएपछि प्रहरीले सीमामा थप कडाइ गरेको हो । भारतबाट स्वदेश फर्किनेको  प्रहरीले स्थानीय तहको सहयोगमा खोजी कार्य जारी राखेको छ । उनका अनुसार लकडाउनलाई प्रदेशका आववटै जिल्लामा प्रभावकारी कार्यान्वयन भइराखेको छ ।  कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएका बिरामीलाई परीक्षण गर्न प्रदेश २ मा १४ वटा अस्पतालमा १७६ श्यया, १७ वटा अस्पतालमा  १६२ आइसोलेसन श्यया र  १९ वटा क्वारेन्टाइन  स्थापना गरिएको छ । खुला सीमामा आवागमन पूर्ण रूपमा रोक्न ठुलो सङ्ख्यामा सशस्त्र  प्रहरी परिचालन गरिएको छ । ८२ किलोमि सीमामा पूर्ण रूपमा आवागमन रोक्न सशस्त्र प्रहरी परिचालन भएको हो ।

कोरोना भाइरसको महामारी रोकथामका लागि भारत सरकारले नेपालसँग सिमाना जोडिएका रानीगञ्ज, रक्सौल, बनवासा र सुनौली बाहेक सबै नाका बन्द गरेपछि भारतको पश्चिम बङ्गालको रानीगञ्ज नाकासँग जोडिएको नेपालको काँकडभिट्टा नाकामा  चेक जाँचमा कडाइ गरेको थियो । जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्ण कोइरालाका अनुसार नेपाल भारत सीमा नाकामा कडाइ गरिएको छ । हरेक नगरपालिका र  गाउँपालिकामा  नयाँ व्यक्ति प्रवेशको तथ्याङ्क सङ्कलन समेत गरिएको छ । जनप्रतिनीधिहरुले पनि अहिले सहयोग गरिरहेको झापा प्रहरीले जनाएको छ ।
एसपी कोइरालाका अनुसार ९ जना प्रहरी निरीक्षकको कमान्डमा गौरीगन्जसम्म नाका कडाइ गर्नका प्रहरी परिचालन  गरिएको छ । सीमा अहिले भइरहेको भन्दा १ सय ५० भन्दा सुरक्षाकर्मी खटिएको झापाका एसपी कोइरालाले बताए । ‘यसपछि सबै चोर बाटो बन्द हुन्छन्, हामीले सीमा निगरानी समूह भनेर स्वयंसेवक पनि खटाउँदै छौ’, उनले भने । थप तीन स्थानमा बेस क्याम्प पनि राख्न लागिएको एसपी कोइरालाले जानकारी दिए । सशस्त्र प्रहरीले पनि यसै गरी सीमा क्षेत्रमा कडाइ गरिरहेको छ ।

त्यसैगरी बर्दियामा पहिलेदेखि सीमामा प्रहरीले कडाइ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजेशनाथ बास्तोलाले बताए । ‘सीमा सुरक्षा थप प्रभावकारी बनाउँन थप प्रहरी परिचालित गरिएको हो।’ यता, सीमा क्षेत्रमा रहेका नेपाल प्रहरीका युनिटले कडाइका साथ सीमा आवागमन रोक्न लागि परेको छ । ‘नेपाल प्रहरीका युनिटले सीमामा निगरानी बढाई रहेको छ,’ बर्दियाका एसपी राजेशनाथ बास्तोलाले भने, ‘लुकीछिपी नेपाल छिर्नेलाई सयौँ जना प्रहरीले क्वारेन्टाइनमा ल्याएर राखिएको छ ।’ उनका अनुसार सुदूरपश्चिममा कोरोना सङ्क्रमण पुष्टि भएसँगै अन्तर जिल्ला र एक देखि अर्को पालिका प्रवेशमा समेत पूर्ण रूपमा प्रहरीले रोक लगाएको छ ।

कञ्चनपुरका एसपी मुकुन्द मरासिनीका अनुसार अहिले नेपाल भारत छिर्ने सबै नाका बन्द भएका छन् । खुला सीमा नाका कारण जुनसुकै स्थानबाट पनि नेपाल प्रवेश गर्न सक्ने भएकाले प्रहरीले ती सबै क्षेत्रमा निगरानी बढाएको उनले बताए ।  यसबाहेक सीमा नाका रहेका दुवै देशका सुरक्षा अधिकारीहरूबिच समन्वय पनि गरिरहेका छन् । स्थानीय प्रशासनको आँखा छलेर उनीहरू नेपाल आइरहेका छन् । ‘कतिपय सन्दर्भमा उनीहरू भागेर नेपाल आइरहेका छन्, केही दिन अघि भारतीय अधिकारीहरू आफैलेपनि सर्लाहीको सीमा क्षेत्रमा ल्याएर छाडेका थिए, उनीहरूलाई हामीले केही नेपाल र केहीलाई भारततर्फै फर्कायौ’, गृह मन्त्रालयका एक अधिकारीले भने ‘चोर बाटो रोक्न समस्या भएको छ केही दिनभित्रमा ती मार्गमा पनि हामी सुरक्षापोष्ट राख्दै छौ ।’ मन्त्रालयले चोर बाटो छेक्न विभिन्न उपाय अपनाए पनि सुरक्षा कर्मी अभावका कारण सम्भव नभएको भन्दै सुरक्षा कर्मी थप गर्ने विषयमा सुरक्षा सङ्गठनसँग छलफल समेत गरिरहेको छ ।