कोराेनाको छालमा डुबेर मर्ने कि पौडिने हिम्मत गर्ने ? प्रविधि साक्षर अभिभावक र प्राविधिक शिक्षकबाट मात्र सिकाई सम्भव
बैशाख २२, २०७७

जे भयो नसोचेको भयो । कसले सोचेको थियो र ? कोरोन उर्फ कोभिड–१९ ले संसारलाई यति नराम्ररी हल्लाइदिन्छ भनेर ? कसले सोचेको थियो र ? महिनौँ सम्म आफ्नै घर भित्र बन्दी बनेर बस्नुपर्नेछ भनेर ? जे भयो सबै कुरा अचानक भइदियो । विद्यालय र विश्वविद्यालयहरू बन्द भए । लकडाउनले सबै बालबालिकाहरू घर–घरमै थन्किए । आमा–बाबुको थाप्लोमा छोराछोरीहरूको शिक्षक र साथी पनि बन्ने जिम्मेवारी समेत थपियो ।  

लकडाउन एक पछि अर्को हप्ता हुँदै लम्बदै छ । यो अवस्था अझ कति लामो जान्छ ? न तपाइलाई थाहा छ, न मलाई । लकडाउन खुलिसकेर पनि सबैभन्दा पछि खुल्ने भनेको विद्यालय नै हो । यसको अर्थ तपाईँका छोराछोरीहरू फेरि पनि तपाइसँगै हुनेछन् । यहाँनेर एउटा कुरा सोध्न मन लाग्यो, तपाईँलाई के लाग्छ ? छोराछोरीहरूको बाबु–आमा बन्न सजिलो कि साथी ? या शिक्षक बन्न ? शिक्षक र साथी बन्ने बोझ समेत थपिए जस्तो लाग्छ या अवसर पाए जस्तो ?

यदि यी प्रश्नहरू लकडाउनको पहिलो हप्ता सोधिएको थियो भने उत्तरमा ‘अवसर’ भन्नुहुन्थ्यो होला ।  आजको दिनमा उत्तर अर्कै आउन सक्छ । जे होस्, आमा–बाबु, शिक्षक र साथी सबैको आ–आफ्नै ठाउँमा महत्त्व  हुँदो रहेछ भन्ने कुराको प्रयोगात्मक रूपमै अनुभव गर्न पाउनु भएको छ । यति बेला अभिभावकहरूको मुखमा केही समान जिज्ञासाहरू छन्, ‘लकडाउनमा केटाकेटीहरूलाई थेग्नै सकिएन, के गर्ने होला ? विद्यालय कहिले खुल्छ ? अनलाइन कक्षा भए पनि सञ्चालन गर्नुपर्‍यो । फलाना स्कुलले यसो गरिसक्यो ढिस्काना स्कुलले उसो गरिसक्यो । हाम्रो स्कुल के गर्दै छ ?’  यी सबै जिज्ञासाहरूको मूल आशय भनेको, छोराछोरीहरूको जिम्मा अरू कसैले लिइदिनुपर्‍यो भन्ने नै हो । अभिभावकहरूमा यो भ्रम छ कि अनलाइन कक्षा सुरु हुनासाथ दिनभरि बच्चाहरूलाई स्कुलले जिम्मा लिनेछ, शिक्षकहरूले हेरविचार गर्नेछन् आदि । 

हुन पनि हो, दिनभरि केटाकोटीहरु स्कुल जान्थे । अभिभावकहरू निस्फिक्री आफ्नो काममा लाग्न पाउनुहुन्थ्यो । कहिलेकाहीँ बिदा भइदिए, मजाले घरमा बसेर केटाकेटीहरूसँग खेल्न पाइन्थ्यो जस्तो लाग्थ्यो । लकडाउन अघि बिहान बेलुकी एक एक छिन सेलिब्रेटी जस्तो केटाकेटीहरूसँग बोलिदिए पुग्थ्यो, खेलिदिए पुग्थ्यो । बाँकी कुरा सबै विद्यालयलाई, शिक्षकलाई जिम्मा लगाइदिए पुग्थ्यो । खाना खाएन, शिक्षकले सिकाएन । टिभी धेरै हेर्‍यो शिक्षकले रोकेन । मोबाइल–कम्प्युटरमा धेरै झुम्मियो, स्कुलले वास्ता गरेन आदि कुरा गरे पुग्थ्यो । तर अहिले ? 

अहिले त केटाकेटीहरू आफैसँग छन् । कसलाई भन्नु ? कोसँग कराउनु ? उल्टो केटाकेटीहरू कराइदिन्छन्, उनीहरूको कुरा सुन्नै पर्‍यो । उनीहरूलाई भोक लाग्यो, खुवाउनै पर्‍यो । उराठ लाग्यो, मन बहलाइदिनै पर्‍यो । विभिन्न प्रकारका जिज्ञासाहरूको समाधान गर्नै प¥यो । यदि त्यसो गर्न सकिएन भने आफूसँगै बसेर पनि उनीहरू टाढा पुगिसकेको कुरा पत्तो पाइन्न । केटाकेटी भनेर उनको कुरालाई ध्यान दिइएन वा उनीहरूको कुरा सुनिएन भने उनको मर्म बुझ्ने टिभी–इन्टरनेट घरमै छ । तिनकै साहारा लिने भइहाले । बाबुआमाले पो हप्काउँछन् त !  अनलाइन गेमले कहिल्यै हप्काउन्नन् क्यारे ! टिभी इन्टरनेटले बेवास्ता पनि गर्दैनन् । कचकच गर्ने त झन् कुरै भएन । अनि आफ्नो मनको कुरा बुझ्ने साथी घर भित्रै पाए पछि केको बाबुआमा ? केको छरछिमेक ? यसरी हेर्दाहेर्दै छोराछोरीहरू निकै टाढा पुगिसकेका हुन्छन्, पत्तै पाइन्न । 

छोराछोरीहरूले पाठ्यपुस्तक पल्टाएको र कापीमा लेखेका कुरालाई मात्र पढाई मान्नुहुन्छ भने त्यो भ्रमलाई मनबाट तुरुन्तै हटाउनुहोस् । स्कुलमा शिक्षकले दिएको गृहकार्य मात्र गर्ने बच्चा र लिखित परीक्षामा पूर्णाङ्क ल्याउने बच्चालाई मेधावी ठान्नुहुन्छ भने तपाईँका छोराछोरीले मात्र होइन, अब कुनै पनि बच्चाले आफ्नो बाबुआमालाई खुसी बनाउन सक्ने छैनन् । किनकि उनीहरूले बाबुआमाको त्यो इच्छालाई कहिल्यै पुरा गर्ने छैनन् । 

लेबनानी मूलका विश्व विख्यात अमेरिकी लेखक तथा कवि खलिल जिब्रानले आफ्नो प्रसिद्ध कविता  ‘केटाकेटी’ मार्फत यस्तो सन्देश दिएका छन्, ‘तपाईँका सन्तान तपाइका होइनन् । उनीहरू जीवन चक्रको निरन्तरता मात्र हुन् । उनीहरू तपाई मार्फत जन्मेका हुन, तपाईँले नै जन्माउनु भएको होइनन् । उनीहरू तपाईँको साथमा त छन्, तर पनि तपाईँको सम्पत्ति भने होइनन् । उनलाई तपाई माया दिन सक्नुहुन्छ, तर तपाईँको बिचार लाद्न सक्नुहुन्न ।’ 

झट्ट पढ्दा मन नपर्न सक्छ । तर गहिरिएर बिचार गर्ने हो भने आखिर त्यही नै हो सत्य । छोराछोरीहरू हामी मार्फत यो धरती टेकेका छन् । उनीहरू सक्षम र सबल नबनेसम्म उनीहरूको रेखदेख गर्ने जिम्मा हामीमै हुन्छ । पछि उनीहरूले पनि आमाबाबु मानेर हाम्रो मान सम्मान गर्नु छुट्टै कुरा हो । हामी मार्फत जन्मेकाले उनीहरूमा पनि जिम्मेवारी बोध हुनु र हाम्रो बुढेसकालमा हामीलाई हेर्नु छुट्टै कुरा हो । तर अहिल्यै हामीले आफ्नो सम्पत्ति ठानेर व्यवहार गर्नु उचित हुँदैन । लकडाउनको अवधिमा केटाकेटीहरूलाई धेरै कचकच नगरौँ । खाली पढ–लेख, पढ–लेख भन्ने नारा मात्र नभट्ट्याऊँ । 

मैले सुरुमै उल्लेख गरेका ‘केटाकेटीहरूलाई घरमा थेग्नै सकिएन, के गर्ने होला ? विद्यालय कहिले खुल्छ ? आदि जस्ता अभिभावकका जिज्ञासाहरूको पछाडि पनि सोही राज लेकेको छ । आमाबाबुले सन्तानलाई सम्पत्ति सोचेर जे मन लाग्यो त्यही, जसरी मन लाग्यो त्यसरी प्रयोग गर्न खोज्नुको नतिजा हो । हप्ताको सातै दिन, चौबिसै घण्टा आमाबाबुले गरेको एकै प्रकारको व्यवहार, एउटै डाइलग सुन्दा सुन्दा वाक्क लागेका केटाकेटीहरू पनि, ‘हे भगवान् ! स्कुल चाँडै खेलिदेऊ । मम् भन्दा म्याम् धेरै असल छन् ।’ भन्न थालिसकेका छन् ।

विश्व विख्यात अमेरिकी शिक्षाविद् तथा होम स्कुलिङ अभियानका अग्रणी प्रवक्ता जोन हल्टले भनेका छन्,  ‘केटाकेटीले त्यति बेला सबभन्दा राम्ररी सिक्छन् जब स्वयं कुनै कुरा सिक्न चाहन्छन्, जब कहिले र कसरी सिक्ने भनेर स्वयं निर्णय लिन्छन् । कुनै कुरा अरू कसैले भनेको आधारमा होइन, स्वयं आफ्नो जिज्ञासा शान्त पार्नका लागि सिक्छन् ।’ यसको अर्थ केटाकेटीहरूलाई के सिक्ने, कति बेला सिक्ने र कसरी सिक्ने भन्ने कुरा तपाई हामीले निर्धारण गर्ने विषय होइन । तपाई हाम्रो काम त उनीहरूले जुन बेला जे सिक्न चाहन्छन्, त्यसको वातावरण तयार गरिदिने मात्र हो ।

अब प्रस्ट हुन जरुरी छ । सिकाई भनेको के हो ? तपाईँको नजरमा केटाकेटीहरूले के गरेको खण्डमा पढेको वा सिकेको मान्नुहुन्छ ? यदि छोराछोरीहरूले पाठ्यपुस्तक पल्टाएको र कापीमा लेखेका कुरालाई मात्र पढाई मान्नुहुन्छ भने त्यो भ्रमलाई मनबाट तुरुन्तै हटाउनुहोस् । स्कुलमा शिक्षकले दिएको गृहकार्य मात्र गर्ने बच्चा र लिखित परीक्षामा पूर्णाङ्क ल्याउने बच्चालाई मेधावी ठान्नुहुन्छ भने तपाईँका छोराछोरीले मात्र होइन, अब कुनै पनि बच्चाले आफ्नो बाबुआमालाई खुसी बनाउन सक्ने छैनन् । किनकि उनीहरूले बाबुआमाको त्यो इच्छालाई कहिल्यै पुरा गर्ने छैनन् । 

कोरोना महाव्याधिले संसारको गति नै उथलपुथल पारिदिएको छ । हिजोका दिनमा सपनामा पनि नचिताएका कुराहरू आज अचानक भइरहेका छन् । हिजोका राम्रा कुरा आज कामै नलाग्ने हुन सक्छ । कोरोना प्रभावले संसार कतातिर मोडिन्छ अझ हेर्नै बाँकी छ । एउटा कुरा प्रस्ट भइसक्यो, हिजो केटाकेटीहरू कम्प्युटरमा बढी झुम्मिए भनेर कराउने हामी आज उनलाई ल्यापटप अनिवार्य छ भन्न थालेका छौँ ।  मोबाइल र ट्याब त छुनै हुन्न भन्थ्यौँ, आज त्यही दिएर अलमलाइरहेका छौँ ।

 तपाई मान्नुस् या नमान्नुस्, दुनियाँ भर्चुअल समाजमा रूपान्तरित भइसकेको छ । अस्ति गाउँका चौतारामा भेला भएर रमाउनेहरू हिजोसम्म आइपुग्दा चिया पसल, क्याफे आदिमा रमाउन सिके । डबलीमा नाटक मञ्चन हेरेर रमाउनेका सन्तान, चलचित्र हलमा जने बने । चलचित्र घरमा रमाउनेका सन्तान टिभी र कम्प्युटरमा रमाउने भए । तिनकै सन्तान आज भोलि भर्चुअल समाज निर्माण गर्दै छन् । कोरोना महाव्याधिको असरले दुनियाँका व्यापार व्यवसाय चुर्लुम्म डुबिरहेको बेला हिजोसम्म नामै नसुनेको भिडायो कन्फरेन्सिङ एप ‘जुम’ का संस्थापक एरिक युआनले चालु तीन महिना भित्रमा ४ अरब अमेरिकी डलर कमाउनुले यसको प्रमाणित गर्दछ । समाजको परिवर्तन सँगसँगै निश्चय पनि शिक्षण सिकाइको प्रक्रिया पनि परिवर्तन हुन्छ नै । 

यसको अर्थ भर्चुअल दुनियाँ अर्थात् अनलाइन कक्षाले सबै कुरा परिपूर्ति गर्न सक्छ भन्ने होइन । देश भरका सबै बालबालिकाहरूमा सहज पहुँच हुन्छ भन्ने पनि होइन । अनलाइन कक्षाका नाममा आउन सक्ने विकृति, प्रविधि मैत्री शिक्षक, पाठ्य सामाग्रीको अभाव आदि जस्ता चुनौतीहरू नभएका होइनन् तर चुनौती छ भन्दै सुरु नै नगर्ने हो भने परिवर्तन असम्भव नै हुन्छ । नेल्सन मण्डेलाले ‘हरेक काम त्यति बेला सम्म असम्भव हुन्छ, जबसम्म कसैले त्यो काम सम्पन्न गर्दैन ।’ भने जस्तै चुनौती मात्र सोच्ने तर त्यस भित्र पनि अवसर नचिन्ने र चुनौतीको सामना गर्ने प्रयास नगर्ने हो भने हामी फेरि ढुङ्गे युगतिर फर्के हुन्छ ।   

मान्नुस् या नमान्नुस्, कोरोनाले हामीलाई ठुलो महासागरमा फ्याँकिसकेको छ । पौडी खेल्न जान्दिन भनेर रोइ बस्ने हो भने डुबेर मर्नुको विकल्प छैन । नबिर्सन क्रुसो जस्तै महासागरमा पौडी खेलेर टापु भेट्नु छ । बाँच्नु छ, तसर्थ समुन्द्रकै छालबिच पौडी पनि सिक्न तम्तयार हुनुपर्छ, चाहे अभिभावक होस्, चाहे शिक्षक । प्रविधि मैत्री बालबालिकालाई शिक्षा दिनका लागि प्रविधि साक्षर अभिभावक र प्राविधिक शिक्षकले मात्र सम्भव छ । त्यसैले सबैलाई फेरि एक पटक सोध्छु, कोरोनाको छालमा डुबेर मर्ने कि पौडिने हिम्मत गर्ने? छनौट तपाईँको ।
 


महर्जन भक्तपुरको बालकोटस्थित माउण्ट भ्यू ई. बो. स्कुलका संस्थापक प्रिन्सिपल, प्याब्सनका प्राज्ञिक सल्लाहकार र क्वेष्ट नेपालका अध्यक्ष हुनुहुन्छ ।