जनप्रतिनिधिको एक महिनाको सेवा सुविधा ‘कोरोना व्यवस्थापन कोष’मा

जनप्रतिनिधिको एक महिनाको सेवा सुविधा ‘कोरोना व्यवस्थापन कोष’मा

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  बैशाख २२, २०७७

काठमाडाै‌ । इन्द्रावती गाउँपालिकाका जनप्रतिनिधिले एक महिनाको सेवा सुविधाबापतको रकम स्वेच्छिकरुपमा ‘कोभिड– १९ सङ्क्रमण रोकथाम तथा उपचार कोष’मा जम्मा गर्ने भएका छन् । 

आइतबार सो गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङको अध्यक्षतामा बसेको ४६ औँ गाउँ कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष  तामाङ र उपाध्यक्ष मिरा लामा अधिकारीसहित १२ वटै वडाका वडाध्यक्ष तथा सदस्यले कोषमा रकम जम्मा गर्ने निर्णय गरेको जनाइएको छ । 

गाउँपालिकाभित्र कार्यरत शिक्षक तथा कर्मचारीको हकमा अधिकृतस्तरकाले पाँच र अन्यले तीन दिनको तलब स्वतःस्फूर्तरुपमा पालिकाले स्थापना गरेको सो कोषमा जम्मा गर्ने निर्णय भएको अध्यक्ष तामाङले जानकारी दिनुभयो । 

कोषमा जम्मा हुने रकम कोरोना भाइरस नियन्त्रणका लागि आवश्यकताका आधारमा खर्च गरिने गाउँपालिकाले जनाएको छ । बैठकबाट गाउँपालिकाका विभिन्न विषयगत समितिमा पुनरावलोकन गरी सदस्यको पूर्णता दिनुका साथै सामुदायिक विद्यालयमा छिटो र छरितो माध्यमबाट विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन आवश्यक सहजीकरण गर्ने निर्णय भएको छ । इन्द्रावती गाउँपालिकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, खाद्य तथा पोषण सुरक्षा आयोजनासँगको समन्वय र सहकार्यमा गाउँपालिकाभित्रका सम्पूर्ण कृषकलाई धरातलीय दृष्टिकोणले उपयुक्त स्थानमा नेपाल सरकारको सिफारिसमा गरेका वर्षायाममा लगाउन मिल्ने उन्नत जातको खाद्यान्न तथा तरकारी बालीको बीउबिजनसमेत वितरण गर्ने व्यवस्था मिलाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलले जानकारी दिनुभयो ।