त्यो लडाइँ, यो लडाइँ

पुस्तक अंश

त्यो लडाइँ, यो लडाइँ

हस्तबहादुर थापा (पल्लीमगर)  |  समाज  |  फाल्गुन २४, २०७५

मैले जीवनको पाँच दशकभन्दा बढी समय फौजमा बिताएँ । तर, ज्यानको बाजी लगाएर युद्धको मैदानमा बन्दुक पड्काउनु भने परेन । मैले लडेका ठूला युद्धहरू भनेकै बेलायतको रोयल टुर्नामेन्ट तथा एडेनबरा टट्टु जस्ता ‘म्युजिकल पर्फर्मेन्स’हरू हुन् । अनि मेरा हतियार भनेका युफोनियुम, कर्नेट, ट्रम्पेट जस्ता बाजाहरू हुन् । यी बाजामार्फत लडेका लडाइँ बेलायतमा मात्र सीमित छैनन् । अस्ट्रेलिया, सिङ्गापुर,

हङकङ, फ्रान्स हुँदै नेपालमा समेत म थुप्रै पटक यस्ता लडाइँ कहिले नेतृत्वकर्ताका रूपमा त कहिले सहभागीका रूपमा  लडेको छु । 

हामी फौजीका लागि, हामीलाई सुम्पिएका हरेक जिम्मेवारी लडाइँकै फरक–फरक रूप हुन् । म सहभागी मात्र भएका वा मैले नै ‘कन्डक्ट’ गरेका यस्ता ‘म्युजिकल पर्फर्मेन्स’ मेरा लागि हरहालतमा जित्नैपर्ने युद्ध थिए । यी जिम्मेवारी पूरा गर्न खटिँदा मैले कहिल्यै पनि यिनलाई युद्धभन्दा कम सम्झिनँ । 

त्यति लामो फौजी जीवन र यति धेरै लडाइँका मोर्चामा सहभागी हुँदा बुझ्न नसकेको युद्धको खास अर्थ अहिले चौरासी वर्ष पुगेपछि थलिएर बिस्तारामा लडिरहँदा बुझ्न थालेको छु । सबैभन्दा ठूलो लडाइँ त आफ्नै जिन्दगीसँग पो हुने रहेछ । भित्रभित्रै सल्किएर शरीरलाई गलाउँदै लगेको रोग र अझै लामो समय बाँच्ने जिन्दगीको अभिलाषाबीचको लडाइँ पो सबैभन्दा ठूलो लडाइँ रहेछ । थाहा छैन, केको आकर्षणले मानिसलाई थप समय बाँचिरहने लोभ लाग्छ ? के चाहिँ छ, भोलिका दिनसँग ? जसलाई देख्ने लालसाले म हार स्वीकार्न तयार छैन, मलाई भित्रभित्रै गाँजिरहेको रोगसँग ?

आजभन्दा तीन वर्षअघि, अर्थात् २०७२ साल फागुन १० गते मेरो चौरासी पूजा भयो । चौरासी पूजा गरेको दिन नै हर्षोल्लास र उमङ्गकोे दिन थियो । यो पूजाका दिन मेरो मन उमङ्गले भरिएकै थियो । साथीभाइ, इष्टमित्र, नातागोता सबैमा हर्षोल्लास पनि छाएकै थियो । तर, म विजयी थिइनँ । आफ्नै शरीरसँग लड्दै थिएँ । र, यो लडाइँको नतिजा थाहा थिएन । किनकि म तीन–चार दिन पहिलेदेखि नै बिरामी परेको थिएँ ।
जेठको प्रचण्ड गर्मी हुने समय भए पनि दुई–चार दिनदेखि पानी परिरहेकाले जाडो भयो । पहिलेदेखि नै मेरो छातीमा समस्या थियो । त्यसैले छातीमा कपडा राखेर सुत्ने गर्थेँ । राति म निदाएछु, धेरै पसिना आएर कपडा भिजेछन् । त्यहीँबाट चिसो पसेछ । त्यही चिसोले म थलिएको थिएँ । सायद निमोनिया भएको थियो । 

म पनि त्यसै रोगको फेला परेँ । बडो मुस्किलले बाँचेको हुँ । बुढ्यौलीले छोएपछि ठ्याक्कै तिथिमिति सम्झन पनि समस्या हुँदो रहेछ । २०६४ सालतिर हुनुपर्छ । त्यो दिन सशस्त्र प्रहरीको आइजिपीकोमा ‘मिटिङ’मा जानुपर्ने थियो । त्यति बेला म सशस्त्र प्रहरी बलको ब्यान्डमा करार सेवामा ‘म्युजिक डाइरेक्टर’ (एसपीसरहको) पदमा कार्यरत थिएँ । अघिल्लो दिन अफिसमै खुट्टा सुन्निएका थिए । त्यहीँ तेलले केही बेर मालिस गरेँ । साँझ पनि हल्का मसाज गरेँ । झन्–झन् खुट्टा सुन्निए । बिहान उठेर तेलले आगोमा सेकाउँदै मालिस गरिदिएपछि त लाखौँ किराले एकै पटक टोके जस्तो गरी दुःख्न सुरु गर्‍यो । दौडादौड गरी प्रहरी हस्पिटल पुगेँ । त्यहाँ डाक्टर सुमनशमशेर राणाले भने, “अहो सर, तपाईंको त डिभिटी भए जस्तो छ, तुरुन्तै टिचिङ अस्पताल जानुपर्‍यो ।”

त्यस बेला घरमा चौरासी पूजाको दौडधुप थियो । गाउँघरमा हुँदो हो त यस्तो धेरै कामको बोझ हुने थिएन । एउटा–एउटा टिम बनेर छिमेकीहरू आफैँ सहयोगका लागि आउँथे । आज फलानाको चौरासी पूजा छ भनेपछि सबै काम बाँटफाँड गरी सहयोग गर्न तयार हुन्थे । त्यसपछि यताउती जे–जे गर्नुपर्ने हो, गर्नू भनी अह्राएपछि आफू ढुक्कले बस्न पाइन्थ्यो । दान–दक्षिणाको जिम्मेवारी पनि कुनै एक जनालाई दिएपछि पुग्थ्यो । चौरासी पूजा गर्ने बूढाबूढीलाई केही ‘टेन्सन’ नै हुँदैनथ्यो । 

तर यहाँ काठमाडौँमा त चौरासी गर्ने भनेपछि आफैँलाई ‘टेन्सन’ हुने रहेछ । मेरा छोराछोरीले यस्तो पूजाआजाको प्रक्रिया केही पनि जान्दैनन् । टोल–छिमेकमा यसोउसो चौरासी पूजा गरेको त देखिन्छ, तर यिनीहरू त्यहाँ जाने, घुलमिल हुने, सिक्न खोज्ने पनि गर्दैनन् । केही थाहा नै छैन । कसरी गर्ने हो, के गर्ने हो ? कस–कसलाई निम्तो गर्ने हो ? दान–दक्षिणा के–कसो गर्ने हो ? त्यो पुरोहितलाई के–कसो गर्नुपर्छ ? कुन रीतिबाट के–कसरी काम सम्पन्न गर्ने ? यी सबै काम ‘ए टू जेड’ आफैँले गर्नुपर्‍यो । 

दान–दक्षिणा ठिक्क पारेर राखिदिएको छु । नाम पनि लेखेको छ । तर, निम्तालुलाई उनीहरू चिन्दैनन् । कसरी दिनु ? म जग्गेमा बसिरहेको छु । आएर सोध्छन्, यसो र उसो गर भनी त्यहीँबाट भन्नुपर्ने । यस्तो धपेडी त छँदै थियो । त्यसमाथि त्यो जग्गेमा बस्दा धुवाँले पनि मलाई धेरै नै अप्ठ्यारो पार्‍यो । १० फागुनमा स्वस्थानी पूजाको साङ्गेका दिन मेरो चौरासी पूजा भयो । आज १ जेठ । अबको एक महिना एक्काइस दिनपछि २०७३ असारको २१ गते म चौरासी वर्ष पुगेर पचासीमा लाग्छु । तर, अहिले अवस्था यस्तो भएको छ, थाहा छैन, मैले त्यो दिन देख्न सक्छु, सक्दिनँ ।

सुरुमा ज्वरोले एकदमै सिकिस्त पार्‍यो । त्यसपछि खप्नै नसक्ने गरी साह्रो पार्‍यो । सबै पाहुनालाई समय दिन, कुराकानी गर्न पनि सकिनँ । खासखास पाहुनालाई ढोग गरेर बिस्तारामा गएँ । त्यसपछि त सुतेको सुत्यै भएँ । अर्को दिन प्रहरी हस्पिटलमा पुर्‍याए । ‘इमर्जेन्सी’मा राख्यो । मेरो कान्छो छोरो, साइँली छोरी, माइला ज्वाइँ प्रहरी सेवामै हुनुहुन्छ । मै पनि एसपी भएर अवकाश पाएको हुँ । त्यसैले पनि मेरो परिवारमा प्रहरी अस्पतालसँगको राम्रो सम्बन्ध छ । 

त्यहाँबाट औषधि सुरु भयो । मलाई बिमार बढेको बढ्यै छ, औषधि थपेको थप्यै छ । दस–बाह्र दिन अस्पतालमै बस्दा पनि निको भएन । चिनेका सिनियर डाक्टर साहेबहरू हुनुहुन्थ्यो । अस्पतालको निर्देशक एआइजी सुमनशमशेर राणा हुनुहुन्थ्यो । उहाँ पनि छक्क पर्नुभयो । मेरी छोरी दुर्गा पनि त्यहीँ डाक्टर (डिआइजी) छिन् । त्यहाँ निको हुने कुनै लक्षण नदेखिएपछि बाहिर लैजानुपर्छ कि क्या हो भनेर सल्लाह गरेछन् । त्यहाँबाट नर्भिक अस्पताल लगे । त्यहाँ डाक्टर चोखानी (डा. रमेश चोखानी)को रेखदेमा बसेँ । मलाई त निमोनियाले भेटिसकेको रहेछ । त्यहाँ पनि त्यति साह्रो ‘प्रगति’ भएन । तर, आठ दिनजतिमा अलि–अलि बिसेक भए जस्तो भयो । अनि डिस्चार्ज गरिदियो । 

नर्भिककै डाक्टर गुप्ता (डा. सुरज गुप्ता)लाई आवश्यक परेमा घरमै आइदिनुस् है भनेर मिलाएको थिएँ । उहाँले यो भाइरल हो । अहिलेको भाइरल एकदम कडा छ । केही दिनमा सन्चो हुन्छ । केही दिनलाई जीवनजल ल्याएर खानुहोस् भन्नुभयो । त्यसै गरेँ । तर, फेरि नयाँ समस्या देखियो– हातखुट्टा सुन्निने । बिस्तारै शरीर पूरै सुन्नियो । पिसाब आउन रोकियो । शरीर झन्–झन् सुन्नियो । । त्यहाँका डाक्टरले पहिले जाँचिसकेकाले उनीहरूलाई मेरो ‘हिस्ट्री’ थाहा छ भनेर परिवारले फेरि त्यही नर्भिक अस्पताल नै लगे । तर, त्यहाँ त बेड नै खाली रहेनछ । अब कहाँ लैजाने भन्ने अर्को झमेला थपियो । मेडिकेयरमा जाने कि भन्ने भयो । फेरि त्यहाँ नजानु, जानुभयो भने पनि चोखानी (डा. रमेश चोखानी)ले हेर्दैनन् । बरु प्रहरीकोमा जानुहोस् भन्ने सुझाव गुप्ता डाक्टरले दिए । त्यस बेला मलाई पनि, बच्चाबच्चीलाई पनि आपत् पर्‍यो, के गर्नु, कसो गर्नु भयो । 

नर्भिकमा सुरक्षाको जिम्मा रिटायर्ड प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्रबहादुर सिंह हुनुहुन्थ्यो । उहाँसँग साइँली छोरी दुर्गाले कुरा गरेर सिसियूमा भए पनि राख्ने व्यवस्था मिलाइन् । जाँच गर्न एक जना महिला डाक्टर आइन् । मैले उनको नाम सोधिनँ । 

उनले ‘पिसाब आएको छ कि छैन’ भनेर सोधिन् । 

मैले ‘छैन’ भनेँ । 

पिसाब नआएकाले शरीर सुन्निएकोे हो भन्दै पाइप हालेर निकालिदिइन् । त्यसपछि अलि हल्का महसुस भयो । यस पटक फेरि थप तेह्र दिन म नर्भिक बसेँ । त्यसपछि फेरि प्रहरी अस्पताल पु¥याए । ‘ब्लड कल्चर’ गर्दा निमोनिया देखियो । त्यसपछि घर ल्याए । ग्रह बिग्रेर हो कि भनेर हेराउने, भाकल गर्ने, पूजाआजा गर्ने अनेक गरे । केटाकेटी धेरै नै आत्तिए । औषधि–पानी गरेकै छ, प्रगति केही छैन । त्यस बेला धेरै आत्तिने पनि भए । 

अहिले अलि ठीक भएको छ । निमोनिया ‘क्लियर’ हुन समय लाग्छ रे । ‘बीचमा गाह्रो भयो भने आउनुहोला’ भनेका छन्, चोखानी डाक्टरले । उनका जुनियरहरूलाई आइदेऊ न भन्यो भने खुरुखुरु यहीँ घरमै पनि आइदिहाल्छन् । छोराले घरलाई नै हस्पिटल जस्तै बनाइदिएको छ । अक्सिजनको सिलिन्डर राखेको छ । झन्डै पन्ध्र मिटर लामो पाइप राखेर ट्वाइलेटसम्म पनि पुग्ने गरी बनाएको छ । अहिले तै बिसेक भएर अक्सिजन लगाउन पनि छोडेको छु । औषधि त खाइरहनुपर्छ । फोक्सो, छातीतिर पनि समस्या देखिएको छ । हात काँप्छन् । लेख्न समस्या छ । चेकमा गर्ने हस्ताक्षरसमेत धेरैजसो बिग्रिन्छ । 

चौरासी पूजामा मेरा आफन्त, नातेदारलाई पनि बोलाएको थियो । आफ्नै जन्मगाउँ स्याङ्जाबाट थुप्रै सङ्ख्यामा दाजुभाइ भेट्न आएका थिए । तर, मलाई साह्रै गाह्रो भएकाले मैले उहाँहरूलाई पर्याप्त समय दिन सकिनँ । चौरासी पूजा भनेको एउटा उत्सव जस्तो रहेछ । भेटघाट हुने बहाना पनि भयो । म झन् थलिएका कारणले पूजापछि हुने सन्तुष्टिको आनन्द मैले उठाउन पाइनँ । पहिलेदेखि नै म बिहान रेडियो–टिभीमा धार्मिक कार्यक्रम सुनिबस्थेँ । धेरैजसो प्रवचनको सार, कर्मकाण्ड गर्ने हो भने एकरत्ती बिराउनुहुँदैन भन्ने पाएँ । कर्मकाण्डमा अलिकति बिग्रियो भने फलभन्दा दोष पाइन्छ भन्छन् । 

अहिले धर्मसम्बन्धी विभिन्न कोणबाट बहसहरू चलिरहेका छन् । तर, मेरी आमा हिन्दू धर्म मान्नुहुन्थ्यो । एकादशी व्रत लिने, सत्यनारायणको पूजा गर्ने गर्नुहुन्थ्यो । त्यस्तो संस्कारबाट हुर्किएकाले मलाई पनि हिन्दू धर्ममा रुचि हुनु स्वाभाविकै थियो । त्यसैले चौरासी पूजा सहर्ष चन्द्र दर्शन भनेपछि चौरासी कुण्ड र सबै देवीदेवतालाई पुज्ने भएँ । त्यसमा केही रीति बिराएपछि दोष लाग्छ भनेको सुनेको थिएँ । मैले मात्र होइन, त्यहाँ पाठ गर्ने पण्डितहरूले बिराए पनि दोष लाग्छ रे भन्ने पनि सुनेको थिएँ । त्यस्तै केही भयो कि सबै थाहा छैन ।

सात–आठ जना पण्डित थिए । म बिरामी भएकाले बसिरहन नसकेपछि दान–दक्षिणा गरेर विसर्जनका लागि जेठो छोरो टीकालाई बसालेँ र म आराम गर्न निस्केँ । थाहा छैन, भगवान् त खुसी भए–भएनन् तर मै पूर्ण खुसी हुन सकिनँ । मैले पूर्ण गर्न सकिनँ ।

आएका निम्तालुहरूलाई कत्तिको राम्रो गर्न सकियो–सकिएन, त्यो पनि मैले हेर्न पाइनँ । निम्तालुहरू करिब दुई सय जनाजति थिए । छिमेकीलाई पनि चुलै निम्तो गरेको थिएँ । टाढा–टाढका खास ठूला मान्छेलाई बोलाइनँ । आफन्तहरू सबै आएका थिए । अहिले आएर सोच्दा लाग्छ– त्यहीँ केही गल्ती गरिएछ कि ?

केही गरी निको नभएपछि ज्योतिषीलाई पनि के भएको भनेर हेराएँ । ज्योतिषीले ‘साउनको महिनासम्म (२०७३ को) अलि खड्को छ, त्यसलाई स्वस्ति–शान्ति गर्नुपर्छ, मृत्युञ्जय पाठ गर्नुपर्छ’ भने । पैसा दिएपछि उनैले गरिदिने रहेछन् । ‘आ–आफ्नो विश्वास र धर्म हो, जेजे गर्नुपर्छ गरिदिनू’ भनेँ । 

अहिले तीन महिनापछि आएर अलि निको भएको छ । बिहान पाँच बजे रेडियोमा धार्मिक कार्यक्रम सुन्छु । नित्यकर्म सकेर यताउति गर्दैमा बिहान सकिन्छ । मैले बेलायतमा सिकेको सङ्गीतसम्बन्धी जति ज्ञान छ, त्यसलाई सरलीकृत गरेर सबैले बुझ्ने गरी नेपाली भाषामा सङ्गीतका किताब लेख्न सुरु गरेको थिएँ । त्यो पनि दुई ओटा प्रकाशित भएपछि थप अगाडि बढ्न सकेको छैन । प्राथमिक सुर समता मार्ग–१ र २ गरी दुई ओटा पुस्तक छापेँ । तेस्रो लेख्दै छु । थाहा छैन, कहिले सकिन्छ ? लामो समयसम्म बस्न सक्दिनँ । त्यसैले अलि ढिलो भइरहेको छ । मलाई ‘डिभिटी’ भन्ने अर्को रोगले पनि गाँजेको थियो । नेपालमा पहिले यो रोगबारे खासै सुनिँदैनथ्यो । अचेल अलि–अलि सुनिन्छ । मोटरमा सवारी गर्दा बूढाबूढीको खुट्टा सुन्निएको थाहा थियो । अझ रक्तनलीमा रगत जम्यो भने झन् त्यस्तो हुँदो रहेछ ।

म पनि त्यसै रोगको फेला परेँ । बडो मुस्किलले बाँचेको हुँ । बुढ्यौलीले छोएपछि ठ्याक्कै तिथिमिति सम्झन पनि समस्या हुँदो रहेछ । २०६४ सालतिर हुनुपर्छ । त्यो दिन सशस्त्र प्रहरीको आइजिपीकोमा ‘मिटिङ’मा जानुपर्ने थियो । त्यति बेला म सशस्त्र प्रहरी बलको ब्यान्डमा करार सेवामा ‘म्युजिक डाइरेक्टर’ (एसपीसरहको) पदमा कार्यरत थिएँ । अघिल्लो दिन अफिसमै खुट्टा सुन्निएका थिए । त्यहीँ तेलले केही बेर मालिस गरेँ । साँझ पनि हल्का मसाज गरेँ । झन्–झन् खुट्टा सुन्निए । बिहान उठेर तेलले आगोमा सेकाउँदै मालिस गरिदिएपछि त लाखौँ किराले एकै पटक टोके जस्तो गरी दुःख्न सुरु गर्‍यो । दौडादौड गरी प्रहरी हस्पिटल पुगेँ । त्यहाँ डाक्टर सुमनशमशेर राणाले भने, “अहो सर, तपाईंको त डिभिटी भए जस्तो छ, तुरुन्तै टिचिङ अस्पताल जानुपर्‍यो ।”

प्रहरी अस्पतालमा बिरामीलाई यताउति सहयोग गर्न हवल्दार बसेको हुन्छ । उसलाई भनेँ, “टिचिङमा गएर तुरुन्त बुझ्नु, त्यहाँ यो रोग हेर्ने सिनियर डाक्टर को छ ?”

उसले ‘अहिले यो रोग हेर्ने सिनियर डाक्टर कोही पनि छैन, इमर्जेन्सीमा मात्र उपचार गराउन सम्भव छ, दुई बजेपछि मात्रै डाक्टर भेटिने रहेछन्’ भन्ने खबर लिएर आयो । आफूलाई दुःखेर बसिखान छैन, दुई बजेसम्म कसरी कुर्नू ?

डाक्टर भगवान कोइराला मेरी माइली छोरीसँग रसियामा सँगै पढेका रहेछन् । डाक्टर रवि मल्ल पनि अस्कलमा पढ्दा मेरी साइँली छोरीको ‘क्लासमेट’ रहेछन् । यिनीहरूलाई चिनेको छ । त्यसैले यहाँ धेरै बेर कुर्न सकिँदैन, सहिद गङ्गालाल हृदय केन्द्र बाँसबारी जाऔँ भन्ने भयो । 

दुवै डाक्टर त्यहीँ थिए । लौ यो त ‘दिप्भ्यन थ्रोम्बसिस’ नै हो, उपचार गरिहालौँ भने । उपचार सुरु भयो । भेनबाट औषधि दिइयो । रगत निकालेर जाँचेको–जाँच्यै । डेढ–डेढ घण्टामा रगत निकालेर जाँच्नुपर्ने भयो । त्यहीअनुसार औषधि थप्ने कार्य भयो । अहो ! त्यो रात बस्न–खान भएन । म बेडमै थिएँ । भोलिपल्टको बिहानपख आँखा भित्ताको मोनिटरमा पुगेछन् । पल्स १० बाट ९ हुँदै तल झरेको देखेँ । भर्खरैसम्म ठीकै भएको मान्छे अहिले नै यस्तो भयो । यस्तो देखेपछि त मैले केही चालै पाइनँ । डाक्टरलाई कोट्याउनसम्म भ्याएछु र बेहोस भएछु । केटाकेटीहरू रुन–कराउन थालेछन् । मुखबाट समेत रगत निकालेछु । त्यहाँ सोह्र दिन आइसियूमा बसेँ । त्यो एउटा ठूलो कालबाट त्यसरी निस्किएको, अहिले दस वर्षपछि आएर अर्को कालबाट पनि त्यसै गरी निस्किएँ । 

 रत्न पुस्तक भण्डारद्वारा प्रकाशित थापाको आत्मकथा ‘मेरो जीवनयात्रा’ २०७५ फागुन २५ गते शनिबार विमोचन हुँदैछ ।