म्याद गुज्रेको मैदासहित व्यापारी पक्राउ

म्याद गुज्रेको मैदासहित व्यापारी पक्राउ

लोकसंवाद संवाददाता  |  समाज  |  बैशाख २२, २०७७

लहान । मुलुकमा जारी लकडाउनको मौका छोपी म्याद गुज्रेको मैदा बिक्री गरिरहेको अवस्थामा सिरहाको लहानबाट संयुक्त अनुगमन टोलीले एकजना व्यापारीलाई पक्राउ गरेको छ । 

म्याद गुज्रेको मैदा बिक्री वितरण भइरहेको प्राप्त सूचनाका आधारमा खटिएको संयुक्त अनुगमन टोलीले म्याद गुज्रेको २८ बोरा मैदासहित मुन्धडा इन्टरप्राइजेजका सञ्चालक पवन मुन्धडालाई पक्राउ गरेको हो । 

इलाका प्रशासन कार्यालय लहानका प्रमुख उपसचिव कमलराज भण्डारीको नेतृत्वमा खटिएको अनुगमन टोलीले म्याद गुज्रेको मैदासहित मुन्धडालाई पक्राउ गरेको राष्ट्रिय उपभोक्ता मञ्च सिरहाका अध्यक्ष रमानन्द गुप्ताले जानकारी दिनुभयो । पक्राउ परेका मुन्धडालाई इलाका प्रहरी कार्यालय लहानमा राखेर आवश्यक कारवाही अघि बढाइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक शरत थापा क्षेत्रीले जानकारी दिनुभयो ।

यसअघि सदरमुकाम सिरहामा कालोबजार गरेको आरोपमा एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको थियो । यस्तै वन कर्मचारीको गस्ती टोलीले सिरहाको लहान नगरपालिका–१७ स्थित राजदेवी सामुदायिक वनभित्र अवैधरुपमा कटान गरिएको साखु तथा खयरका काठ दाउरा बरामद गरेको छ । 

अवैधरुपमा काठ दाउरा कटान गरिरहेको गोप्य सूचनाका आधारमा खटिएको वन कर्मचारीको टोलीले साखु र खयर जातको काँचो काठ दाउरा कटान गरिएको अवस्थामा बरामद गरेको हो । गस्ती टोलीलाई देखेपछि तस्कर फरार भएको डिभिजन वन कार्यालय लहान, सिरहाका प्रमुख सुभाषचन्द्र दासले जानकारी दिनुभयो ।