फाँटवालाको दैनिकी

कथा

फाँटवालाको दैनिकी

सीताराम नेपाल  |  समाज  |  फाल्गुन २४, २०७५

‘आज पनि असारको यति लामो दिन सदरमुकामको चौरमा, मालपोतको प्राङ्गणमा प्रचण्ड तेजिलो घाम ओढेर बित्यो । बाली लाउने असारे चटारो असरल्ल पारेर ब्यर्थै आइएछ ।’ यहाँको चालामाला देखेर मेरो मन त्यसै–त्यसै हुँडलिइरहेको छ ।

‘हुन्छ’, ‘हवस्,’ ‘म छँदै छु नि’, ‘गरिहाल्छु नि,’ ‘हेर्नुपर्छ,’ ‘समय छैन,’ ‘यो त च्या’ समय हो,’ ‘फुर्सद भएन,’ ‘ए हो र ! देखा जायगा,’ ‘आज थाकेँ ।’ ‘विहानदेखि नै यत्तिकै छ, टाउकै दुःखी सक्यो ।’ ‘आज भ्याइएन’ भोलि आउनुस् न है, भोलि गरम्ला । दशै बजे आउनुस् ल !’ 

मिल्दैन भन्नु भा’रे’छ तपाईँले । मिला‘र गर्नुस् न, नियम आफू बोल्दैन । कलमको लगाम दफा, उपदफा कहाँ कहाँ के कसरी लगाउनु पर्ने हो मिला’र गर्दिनुस् है, आजै ! आजै सक्दिनुस् ल । जरुरी छ के ।’ अर्का सुकिला–मुकिला, पसिनाको सट्टा अत्तरको सुवास छर्ने, कालो गगल्स टाउकामा अड्याएका, नाडीमा गोल्डेन चेनवाला रोल्याक्स घडी लगाएका, दाया नाडीमा बाक्लो ब्रासलेट भिरेका, घाँटीमा मोटो नम्बरी सुनको सिक्री लगाएका रवाफिला हाकिमले आदेश जारी गरे । नभन्दै त्यो फाँटवालाले अरू सब काम छोडेर लुत्रुक्क परी उसैको काम गर्न थाल्यो । म हेरेको हेर्‍यै भएँ । मेरो आँखा अगाडि फाँटवालाको दैनिकी नाच्न थाल्यो ।

फाँटवालाहरू भने मान्छेको कद, ओहदाको अदब, औकात, हैसियत, त्यो मान्छेको आफूसँगको सम्बन्ध हेरी यस्तो भनिरा’छन् । जैले पनि यहाँ भीडभाड हुन्छ, घुइँचो लाग्छ मान्छेको । भीडका बीचमा फाँटवाला यसै भनिरहेका देखिन्छन् । यसो गर्नु नेपालका फाटवालाको दैनिकी बनिसकेको छ – कुशल ड्राइभरको गाडी चलाउन अभ्यस्त हातखुट्टा जस्तो । आफूले दिनहुँ गर्नैपर्ने काम लिएर आउनेहरूलाई तौली तौली सकेसम्म काम नगरी फर्काउने यो उनीहरुको मौलिक काइदा होला । कार्यालय भित्र शिशा र ग्रीलभित्र सुरक्षित रहेका फाँटवालाले मेरो सामु गायत्रीमन्त्र जपेझैँ दोहर्‍याइ तेहर्‍याइ माथिका लवजहरू एकोरो रटान दे’को म देखिरा’छु । 

‘हामीजस्ता निमुखालाई सेवा दिने भनिएका कार्यालयहरूमा लोकतन्त्र कैले आउला खै ? सरकारी कार्यालयभित्र पस्दै नपसी प्रजातन्त्र गएर लोकतन्त्र आ’छ । हाम्ले पाउने सेवा, सुविधा, पीरमर्का सुन्ने सवालमा भने आजसम्म जुन जोगी आए नि कानै चिरिएको भैरा’छ । कैले आउला सरकारी कार्यालयहरूमा सक्रियता, चुस्तता, निस्पक्षता, पारदर्शीता ......।’ 

‘यस्ता फाँटवालहरू यो देशमा कति होलान् ! यस्तो प्रवृत्तिका कर्मचारीले त्यही काम हाकिमको पर्‍यो भने के भन्दा हुन् ।’ मैले आफैँसंग वात गरिरा’थेँ, एकजना हाकिम त्यहाँ टुप्लुक्किए । उनले काम अह्राउनासाथ फाँटवालाको मरेको फुर्ती ब्यूँतियो ।

‘हुन्छ सर !’ 

त्यसको लगत्तै आफू निकट र सोझो हाकिमको काम अह्राउने पालो आएथ्यो । चतुर फाँटवालाले चतुर्‍याइपूर्वक सकेसम्म ऐन, कानून देखाइ आल्टाल गर्न खोज्यो । कुरा बुझेर ऊ चूप लागेर गयो । उसको काम पनि पेण्डिङमा पर्‍यो । 

‘मिल्दैन भन्नु भा’रे’छ तपाईँले । मिला‘र गर्नुस् न, नियम आफू बोल्दैन । कलमको लगाम दफा, उपदफा कहाँ कहाँ के कसरी लगाउनु पर्ने हो मिला’र गर्दिनुस् है, आजै ! आजै सक्दिनुस् ल । जरुरी छ के ।’ अर्का सुकिला–मुकिला, पसिनाको सट्टा अत्तरको सुवास छर्ने, कालो गगल्स टाउकामा अड्याएका, नाडीमा गोल्डेन चेनवाला रोल्याक्स घडी लगाएका, दाया नाडीमा बाक्लो ब्रासलेट भिरेका, घाँटीमा मोटो नम्बरी सुनको सिक्री लगाएका रवाफिला हाकिमले आदेश जारी गरे । नभन्दै त्यो फाँटवालाले अरू सब काम छोडेर लुत्रुक्क परी उसैको काम गर्न थाल्यो । म हेरेको हेर्‍यै भएँ । मेरो आँखा अगाडि फाँटवालाको दैनिकी नाच्न थाल्यो ।

आज अड्डा खुल्नासाथ अर्का बडा हाकिमले फाँटवालालाई बोलाएर काम अह्राए । फाँटवाला दुबै हात मल्दै अगाडि अलिकति झुकेर –‘हवस् सर ! गरिहाल्छु नि ! कामको भीडभाडले मैले ख्याल गरिन छु, सरी सर । त्यति सानो काम रे’छ, छिट्टै भ्याइदिन्छु सर !’ गिडगिडाएर त्यही हाकिमको काम सुम्सुम्याउन लाग्यो । 

हिजै सकिनु पर्ने काम आज पनि टस्कोमस् नभएको रनाहाबाट रन्थनिएको म, फाँटवालाको फुर्ती देखी रनभुल्लमा परी उनको कुरा सुनिरहेँ –‘यी हेर्नुस् त ! आज यो पनि गर्नुपर्ला भनेर सरको यो फाइल, फाइलको चाङको माथि नै राखीसक्या छु सर, काम थाली हाल्नु पर्‍यो भनेर फाइल पल्टाउन मात्र के लाग्या थेँ माथिल्ला सरले आदेश दिइ हाल्नु भो । के गर्नु जागिर जोगाउनै पर्‍यो ।’ बायाँ हातले टाउकाको बायाँ छेउ कन्याउदै फाँटवालाले प्रष्टिकरण दियो ।

‘अब आजको कामको शुभारम्भ सरले भन्नु भएको कामबाट गर्नु पर्ला सर । त्यसो गरे आजको दिन मन फुकाएर हास्छ होला सर !’ 

म उभ्भे’र हेरिरा’छु । 

हाकिमहरूको एकपछि अर्को आदेशहरूको जवाफ दिइसक्न नभ्याउदै स्वघोषित जनप्रतिनिधिको कराउने पालो आयो ।

‘खै गर्नू भएन मेरो काम ? कति धाउनु ? धाउँदा धाउँदा हैरान भैसकेँ । त्यति सानो काम नगरी कस्तरी झुलाउन सक्या होला माडसाबले !’ स्वघोषित प्रतिनिधि घुर्की र धम्की मिश्रित भाषामा कराउँदै गयो । 

‘काम पट्टयाउन त कि हाकिम हुनुपर्ने रे’छ, कि खुसी पार्न सक्नु पर्ने रे‘छ । कि सिडिओ कार्यालय, कि विशेष प्रहरी, कि अख्तियारको स्टाप हुनुपर्ने रे‘छ । के गर्नु आफू त त्यस्तोमा परिएन, दुःख पाइयो । जनताको काम कैले जाला घाम गर्नु भएन है, माडसाब !’ दायाँ हातले पार लगाउदै जनप्रतिनिधि भनाउँदोले चेपारे पारामा व्यङग्य मिसाएर बोल्यो । 

‘के गर्ने चार हात छैन मेरो ! यी देखिर’नु भा’छ । काम गरिरा’छु । पानी प्युने फुर्सद छैन । गर्दैछु, समय त लागिहाल्दो रेछ । पेण्डिङ धेरै छ । खरिदारको दर्बन्दी खाली भा’को बर्षौ बित्यो । मान्छे आ’ छैन । गर्ने कोई छैन । सबै आदेशै मात्र दिने हुन् ।’ फाँटवाला पनि के कम, घमण्डकासाथ अफिसको सबै नालीबेली खोल्यो । 

आज पनि उभ्भेको उभ्भेइ गयो मेरो समय । काम नपाएर बजारतिर चटकेको रमिता हेर्न गएझैँ मान्छेका कामका कुरा र फाँटवालाको जवाफ सुनेरै बित्यो समय । ५ बज्यो, तर मेरो र मजस्ता ज्याक लगाउन नसक्ने वा नजान्ने निमुखाहरूको काम भएन । अफिस बन्द भयो । फाँटवालाको रवैया देखेर मलाई निक्कै झोक चल्यो । केहीबेर कार्यालयनेरको चौतारीमा बसेर सोचेँ । मजस्ता काम पट्टयाउन नसक्ने सर्वसाधारण धेरै थिए । उनीहरूलाई साथ लिएर प्रशासनिक ढिलासुस्तीका विरुद्ध अनशन बसे । 

‘हाम्रो अनशन जारी छ । कैले टुङ्गिएला हाम्रो यो अनशन ।’