चितवनकाे कोरोना अस्पतालमा चोरी भएको विषयमा अनुसन्धान शुरु

चितवनकाे कोरोना अस्पतालमा चोरी भएको विषयमा अनुसन्धान शुरु

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  बैशाख २३, २०७७

चितवन । कोरोना अस्पतालमा चोरी भएको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान शुरु गरेको छ । 

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार आन्तरिकरूपमा कर्मचारी परिचालन गरी अनुसन्धानको कामलाई अघि बढाइएको छ । टोलीले अनुसन्धानको काम शुरु गरिसकेको र केही दिनमा नतिजा आउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, 'अनुसन्धानको काम भइरहेको छ, यो सकिएलगत्तै कमजोरी पाइएमा कानूनी प्रक्रिया अगाडि बढ्छ ।'

केही समयअघि मात्रै भरतपुर महानगरपालिका-१० मा स्थापना गरिएको कोरोना विशेष (अस्थायी) अस्पतालको सामान कर्मचारीले पोको पार्दै गरेको भिडियो राखेर समाचार बाहिर आएको थियो ।  त्यसलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोरोना अस्पतालका आवश्यक कागजपत्र नियन्त्रणमा लिएको थियो । कर्मचारीले ती सामग्री भरतपुर महानगरपालिकाले लगेको जनाउँदै आएका छन् । तर रातको समयमा पोको पारेर बाहिर लगिएपछि उनीहरुको नियतमाथि प्रश्न उठाउँदै छानबिनको माग गरिँदै आएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस चितवनले अस्पतालमा भएको अनियमितता र चोरीको विषयमा कारवाही गर्न माग गर्दै आन्दोलन गरिरहेको छ । भरतपुर महानगरपालिकाको अगुवाइमा कोरोना आशङ्का भएका बिरामीलाई उपचारका लागि चैत ७ गते सो अस्पताल स्थापना गरिएको थियो ।