विश्व शान्तिको खोजीः युद्धले जित्न जान्दैन, शान्तिको विजयमा कसैको हार हुँदैन

विश्व शान्तिको खोजीः  युद्धले जित्न जान्दैन, शान्तिको विजयमा कसैको हार हुँदैन

रमेश भट्टराई ‘सहृदयी’  |  दृष्टिकोण  |  बैशाख २५, २०७७

महात्मा गौतम बुद्धका एक जना शिष्यले एक भिखारीलाई भेटेर उपदेश दिने चेष्टा गरेछन् । बिचरा भिखारीले सन्देशलाई कसरी सुन्थे र ! शिष्यले बुद्धका अघि आएर भने– एक जना भिखारीलाई उपदेश दिएको तर ती मूर्खले मेरो कुरालाई ध्यानै दिएनन् ।

बुद्धले आदेश दिए– ‘तिनलाई तुरुन्त बोलाऊ ।’ अनि बुद्धले पेटभरि खाना खुवाएर पठाए । शिष्यले सोधे– ‘तपाईँले उसलाई सन्देश नदिई किन खाना मात्र खुवाएर पठाउनुभयो ?’ 

बुद्धले भने– ‘उनलाई यस समयमा प्रवचनभन्दा धेरै भोजन र अन्नको आवश्यकता थियो । यो नै उनका लागि साँचो उपदेश हो ।’ शिष्य निरुत्तर भए ।

‘संसार एउटा तितो वृक्ष हो जसका दुईवटा फल मात्र मीठा हुन्छन् एक मधुर वाणी र दोस्रो सज्जनको सङ्गत ।’                                – चाणक्य

‘हामीभित्रै भएको आनन्द र शान्तितर्फको ध्यानलाई एकाग्र गर्‍यौँ भने हामीले बुझ्नेछौँ– यो जीवनको सबैभन्दा ठुलो उपहार र सफलता यही हो किनकि सुख–शान्ति अनुभव गर्ने चीज हो ।’   प्रेम रावत (अन्तर्राष्ट्रिय शान्तिका वक्ता)

‘हामीले बलद्वारा शान्ति प्राप्त गर्न सक्दैनौँ । मात्र समझदारीबाट शान्ति कायम राख्न सकिन्छ ।’ – अल्बर्ट आइन्स्टाइन    

‘कमजोरले कहिल्यै क्षमा दान गर्न सक्दैन, क्षमा दिने गुण विशिष्ट व्यक्तिमा हुन्छ ।’ – महात्मा गान्धी

‘कसैलाई पनि आफ्नो दुस्मन नबनाई आफ्नो लक्ष्य प्राप्त गर्ने कला चातुर्यता हो ।’  – सर आइज्याक न्युटन  

‘जिब्रो एउटा त्यस्तो छुरी हो जसले रगत ननिकाली काट्न सक्छ । हजार खोक्रा शब्दभन्दा शान्ति दिने एक शब्द नै उत्तम हुन्छ ।’ – महात्मा गौतम बुद्ध

सायद कोरोना महामारीले मच्चाएको ताण्डवले मानिसमा एउटा बुद्धि त पलाउनुपर्ने हो– मान्छेलाई मार्न हतियारको प्रतिस्पर्धा आवश्यक छैन । युद्ध र हिंसाका निम्ति अरबौँ डलर खर्चिने बुद्धिको विपरीत मानवता र शान्तिका लागि खर्चिने हो भने यो पृथ्वीमा शान्तिको सुगन्ध फैलाउन समय लाग्दैन । आखिर शस्त्र–अस्त्रको प्रतिस्पर्धाको परिणाम दुःख नै हुन्छ । हिंसा मानिसको आफ्नो प्रकृतिभित्र पर्दैन । संसारलाई स्वर्ग बनाएर यहाँका देवता बन्ने बुद्धि र क्षमता मानिस स्वयम्सँग छ । त्यसैले यो संसार नै क्रान्ति भूमि पनि हुन सक्छ र शान्ति भूमि पनि । 

नेपाल आफै‌मा शान्ति दूत बुद्धको भूमि हो, राजर्षि जनक र सीताको आदर्श भूमि हो । २५६४ औँ वर्षअघि जन्मेका बुद्ध वाणीलाई टेकेर राज्यसत्ता चल्ने हो भने नेपाल र नेपालीमा समृद्ध नेपाल र सुखी नेपालीको चाहना पूर्ति हुन्थ्यो । 

अरबौँ डलर मानिस मार्नमा खर्चिएका छन्, अमूल्य समय खर्चेर मानवकै संहार हुन्छन् तर शान्तिका लागि कति समय र श्रम खर्चिएका होलान् त ! अब कोरोना महामारीको कारणले मच्चाउन सक्ने खाद्य सङ्कट तथा बेरोजगारताको चक्रव्यूहमा पिल्सिने गरिब र निम्न वर्गका मानिसप्रति सहानुभूति देखाउने बुद्धि यदि सम्पन्न मानिसमा आउँदो हो त त्यो समस्या समस्या नै बन्दैन ।

हिन्दु परम्परामा मन्त्रहरूले सदियौँदेखि ‘अन्तरिक्ष शान्ति, पृथ्वी शान्ति, वनस्पति शान्ति’ भन्दै सर्वत्र शान्तिको माग गरिरहेका छन् । वेद र वेदान्त दर्शन, भागवतको ‘निष्काम कर्म’ शान्तिमै अडिएका सारभूत ज्ञान सागर हुन् । सामवेदले सङ्गीतलाई आत्मिक आनन्दको अनुभूत गराउँछ । अतः आध्यात्मिक, आत्मिक, व्यावहारिक, भौतिक वा मानसिक शान्ति प्राप्तिका युगीन विषयलाई वेदको षड्दर्शनले आज पनि समय सान्दर्भिक बनेर पुकारिरहेको छ । ब्रह्म शान्तिको बाटोमा छ, हिन्दु सनातन । बसुधैव कुटुम्बकम्को भावनामा मानव मात्रलाई दया गर्ने संस्कारबाट हामी विश्व शान्तिमा खुकुला लाग्दैनौँ । 

संसारमा दुःख छ, दुःखको कारण छ, दुःख शान्त छ अनि दुःख निवारणको उपाय छ– बुद्धत्व ज्ञानका आर्य सत्य कति शान्तिवादमा अर्पित छन् । ‘निर्वाण’ अथवा दुःख हटाउने आठ साधनाको फलतः ‘पूर्ण शान्ति प्राप्त हुने अवस्था’ नै बुद्धको सार सन्देश हो । प्रकृतिको कलात्मक भञ्जनमा कवि लालित्य लहरबाट प्राकृतिक हिसाबमा महाकवि देवकोटा भन्छन्– 

‘पाइन्न शान्ति किन हो कुन ठाउँ मिल्छ, 
तर्किन्छ त्यो रुखमुनि जुनसाथ मिल्छ ।’ 

जय पृथ्वीबहादुर सिंहको योगदान अनि शान्ति प्रेमी भाव र मानवता झनै अतुलनीय लाग्छ । हिमालको शीतलता, खोला वन–पाखाका मुस्कुराहटले हामीलाई शान्ति कामी बनाएकामा त गौरवान्वित छँदै छौँ । यसर्थ विश्व शान्ति र अहिंसाको छ– नेपाली संस्कृति संसार ।

अकारण मृत्युवरण गरेका आला लासहरूका आत्मा तड्पिरहेका हुन्छन् । हतियारमा साँध लगाएका युद्ध पिपासुले शान्तिको गीतमा कान थुन्ने गरेका छन् । त्रासदीको अन्तर पीडामा बाँच्नेले मुख खोल्न नसकेर निशानाको जलनसँग तड्पिनुपरेका भयावह दृश्य हेर्न मानिस अभ्यस्त भइरहेका छन् । मानवता बङ्गालको खाडीमा जाकिरहँदा विश्वले साम्यवादको असम्भव स्वपना देखेर युद्ध गर्छ । रक्त भेलमा पौडिरहेका बेला काख रित्याइएकी अनि सिन्दूर पुछिएकी नारीको रोदनलाई काखको बालकले कलिलो क्रन्दनसँग स्वतन्त्रता खोज्दै पछ्याइरहेको छ । मान्छे अचेल वेदना देखेर छटपटाउन छोड्यो, अरूका दर्द र शोकका जटिल संवेदनालाई चुट्किला बनाउन थालेको छ । बुद्ध वाणीहरूको लेपन लगाएर महत्वकांक्षाका जोसिला भाषणले शान्ति प्रेमीलाई युद्धमा लतारिँदै छ; विध्वंसको अग्नि ज्वालाभित्र । विलासिता, सत्ता मोह, स्वार्थ–चुक्लिको रापले समाजको संरचना विकृत बनिरहेको छ, आदर्शका अमर भनिएका वाणी मिथ्या साबित गर्नुलाई विजयी ठान्न थालिएका छन्, बसुधैव कुटुम्बकम् उपहासको सूचीमा परेको छ ।

युद्ध विभीषिकाले खङ्ग्रङ्ग बनाएको छ– यो पृथ्वी समाजलाई । जवानीको जोसलाई समेत परदेशकै भूमिमा व्यतीत गरेर परिवारको उन्नतिका निम्ति दुई पैसा कमाउन चाहने धेरै नेपाली युवायुवतीहरू विश्व अशान्तिको सिकार बनेका घटना ताजै छन् । नेपाल आमा भने यहाँको करुवामा पानी खुवाएर होमस्टेमा हैँस्टे गरिरहेकी हुन्छिन् । कालो बादलले ढाकेको आकाशमा गिद्धले मुख बाइरहँदा परेवा उडाउनेहरूका हात गलिरहेका छन् । 

क्षेप्यास्त्रहरू परीक्षण भएर होला जीवन मरणको दोसाँधमा बाँचेका मृत संवेदनाको रोदन अश्रु बगेर गालामा बसेको खाटा स्पष्टै देखिएका छन् । नरसंहारका गुटबन्दीले बन्धुत्व र मानवताको चीरहरण भएसँगै रावणले सीताको आदर्श खोसिरहेको भईँ लाग्छ– अलिकति विश्वलाई आँखा लगाउँदा । मानव बस्तीमाथि बम, मिसाइल वा ग्रिनेटका ज्वाला खसालिँदा आमाको दूध चुसिरहेको बालकले संसारको अस्तित्वमा स्थान नै नपाएका संवेदनहीनताका पराकाष्ठा सामान्य बन्नु भयावह परिस्थितिको सङ्केत हो । तुँवालोझैँ बनेर धुलो र धुवाँका मुस्ला आकाशमा मडारिएका बेला निरीहका परेलीबाट आँसु बर्सिरहेका छन् –आज बलेँसीहरूमा ।

अन्तर्राष्ट्रिय शान्तिका ख्यातिप्राप्त वक्ता प्रेम रावत भन्नुहुन्छ– ‘शान्ति शब्द होइन, शान्ति अनुभव गर्ने कुरा हो । कसैले मलाई सोध्यो– तपाई कसरी ल्याउनुहुन्छ, यो विश्वमा शान्ति ? मानिस, हरेक मानिस एउटा–एउटा बल्ब हुन् । एउटा स्टेडियम– यो पृथ्वी हो, यो संसार हो । यदि यसमा प्रकाश चाहनुहुन्छ भने मानिसरूपी बल्बलाई बाल्नुपर्छ । जब त्यहाँबाट प्रकाश प्राप्त हुन्छ, तब गएर सारा स्टेडियममा प्रकाश नै प्रकाश उत्पन्न हुनेछ ।’  

हरेक मानिस शान्तिको भोकले तड्पिन्छ तर दुनियाँको व्यवस्थाले अशान्त बनाइदिन्छ । यस पृथ्वी बासी लगभग साढे सात अरब मानिस शान्तिको आशामा तड्पिरहेका छन् । मानव मात्रले गाँस टिपेर पेट भर्न, एक धरो लाउन अनि शिर लुकाउने आवश्यकतालाई पूरा गर्न मात्र नभएर अत्याधुनिकताको कारण, अभावको कारण, समाज र देशको कारण, स्वार्थ दानवीय प्रवृत्तिका कारण या त जीवनलाई चिन्न होस्– शान्ति पनि चाहन्छ । हरेक मानवका मनमा, सबै घरमा, समुदायमा, सबै देशमा अनि पूरा विश्वमा शान्तिको पुकार हुँदो रहेछ– प्राकृतिक रूपमा । प्राणी र वनस्पति वा वातावरण मानवसँगै अशान्त बन्दो रहेछ र मानवसँगै शान्त पनि बन्दो रहेछ ।

विश्वमा देखिएका बोको हराम, आइ.एस्., तालेवान, अल कायदाजस्ता आतङ्कित समूहले पनि केवल अशान्तिको अग्नि ज्वालालाई ठुलो देखेको नहुन सक्ला– शान्ति प्रेमीको निःस्वार्थ मानवतावादी आँखाले हेर्दा । 

जर्ज वर्नाड शाले भनेका छन्– ‘विचारहरूको युद्धमा पुस्तकहरू नै अस्त्र हुन् ।’ अब हतियारको युद्धलाई त्यागेर विचार र बौद्धिक युद्धमा समेट्नु आवश्यक छ । असमानताका, महत्वाकांक्षाका धब्बाहरूलाई खारेज गरेर विभेदका खाडललाई अन्त्य गरिनुपर्छ । हिरोसिमा र नागासाकीमा बम खसाउनेलाई आनन्द मिलेन । शीतयुद्धमा होमिन चाहेका कुरा हुन् या असंलग्न आन्दोलनका प्रयास हुन्– विश्व अब शान्तिको महायज्ञमा संलग्न हुन चाहन्छ । पञ्चशील सिद्धान्तका कुरामा हुन् या संयुक्त राष्ट्र सङ्घको अपिल, सार्क राष्ट्रको लोगोमा अङ्कित परेवासँग शिखर सम्मेलनको साङ्गठनिक संयोजनले गरेको प्रयास; आखिर शान्तिकै पदयात्रामा छ– सारा विश्व । जापान र इटालीको टकराबले प्रथम विश्व युद्धमा मुछिएको परिणाममा बगेको रक्त होलीले मानव संहार गर्‍यो । हिटलरको महत्वकांक्षा भएको दोस्रो विश्व युद्धले परिणाममा मानवकै विनाश भएको हो । 

शान्तिले शान्ति जन्माउँछ, युद्धले युद्धै मच्चाउँछ । युद्धले जित्न जान्दैन तर शान्तिले हार्नु हुँदैन । युद्ध पशुको स्वभाव हो तर शान्ति र मानवता मानिसको स्वभाव हो किनभने शान्तिको विजयमा कसैको हार हुँदैन, केवल जित मात्र हुन्छ– यही हो नेपाली आदर्श । तसर्थ हतियार बनाउने र समाउनेहरूले कलम समाऊँ, नवप्रविधिको समुन्नतिमा जागून् । ‘जसले तरबार उठाउँछ, उसको विनाश तरबारबाटै हुन्छ’– जिससको भनाइ छ । 

विश्वको त्रासदी परिवेशले मानिस आक्रान्त छ । अशान्ति मानिसलाई हुन्छ र यसको सृजना मानिस स्वयम्ले गर्दो रहेछ । आज हत्या र हिंसाजन्य घटना नै प्रमुख समाचार बनिरहेको देख्दा मानिसमा शान्तिको अभाव स्वतः खट्केको कुरा हो । ‘विश्वका सबै देशमा हिंसा, युद्ध, आतङ्कका घटना नभएको स्थिति; विश्वमा कायम भएको शान्ति तथा अमनचैनलाई’ प्रयोगात्मक नेपाली शब्दकोशले विश्व शान्तिको परिभाषा दिएर प्रस्ट्याएको छ । नियालेर हेर्दा युद्धपछिको शान्तिको अपेक्षा गरेका इतिहास जति चम्किला छन् तीभन्दा शान्तिकै बाटोका प्रयास भने तुलनात्मक हिसाबमा गौण चर्चामा देखिन्छन् । शान्तिका दूतको कर्म शीलतालाई सही निर्क्योल गरेर सहयोगी हात बढाउनु पनि विश्व शान्ति अभियानको प्रमुख सार्थकता नहुने भन्ने लाग्दैन ।

इतिहासमा युद्धले होइन सहकार्य र प्रेमको हात फैलाएर मानवीय शान्तिको स्थापनामा अर्पित व्यक्तित्वहरूलाई तमाम पृथ्वीवासीले स्मरण गर्नैपर्छ । धर्तीले गर्भमा राखेका बच्चालाई पुग्ने अन्न नउब्जाएको अवश्य होइन तर भोकमरीको पीडामा तड्पिएर प्राण त्याग्न विवश बनाएको मानिसले नै हो । पुँजी बजार व्यवस्थापनको सन्तुलनका नाममा हजारौँ टन अन्न समुद्रमा फ्याँकिन्छ । आज हातहतियार र युद्धमा जति खर्च गरिएको छ त्यति शान्ति र मानवताका लागि खर्चिन थाल्ने हो भने विश्व शान्तिले मोहोडा फेर्थ्यो होला । 

अरबौँ डलर मानिस मार्नमा खर्चिएका छन्, अमूल्य समय खर्चेर मानवकै संहार हुन्छन् तर शान्तिका लागि कति समय र श्रम खर्चिएका होलान् त ! अब कोरोना महामारीको कारणले मच्चाउन सक्ने खाद्य सङ्कट तथा बेरोजगारताको चक्रव्यूहमा पिल्सिने गरिब र निम्न वर्गका मानिसप्रति सहानुभूति देखाउने बुद्धि यदि सम्पन्न मानिसमा आउँदो हो त त्यो समस्या समस्या नै बन्दैन । तर, मागेर धनी होइनन् र दिएर गरिब हुँदैन भनेझै‌ हाइटीको शैलीभन्दा रोजगार प्रदान गर्ने शैलीको अनुसरण हुनु आवश्यक छ । अतः शान्तिका निम्ति कसैको अमूल्य शरीरले अकाल मृत्युसँग पौँठा जोरी खेल्नु आवश्यक छैन । तसर्थ अहिंसावादी महात्मा गान्धीले भनेका छन्– ‘शान्ति तरबारको जोडले आउँदैन, प्रेमको जोडले आउँछ, प्रेमभन्दा ठुलो वस्तु यो संसारमा अरू छैन ।’