धनचन्द्र राई | साहित्य | बैशाख २७, २०७७
सहर सिकिस्त बिरामीछ भनेको सुनें
हल्लै त हो भनेर टारें
सहरले गाउँमा बास मागिरहेको सुनें
यो पनि हल्लै त हौ भनेर टारें ।
एक साँझ अचानक घाम डुब्नु सँगै
मेरो आँगनमा उभिएर शहरले बास माग्यो
म अलमल्ल परें,
आश्चार्यमा परें
यो अजंगको सहर
मेरो झुपडीमा
कि भोक बोकेर आयो ?
कि शोक बोकेर आयो ?
घाम डुब्दैछ या उदाउँदैछ ?
कि अनिष्टको संकेत
पश्चिमबाट घाम झुल्किँदैछ ?
म भ्रममा परें ।
पोरपरार तिमिले छोडेर जाँदा
तिम्रो ढाकर अगाडी लागेपछी
हाम्रो केटाकेटी रोएको थियो
केटाकेटी सँगै मैले पनि
भित्ताको कमेरो कोट्याएको थिएँ
भोली भाँडाकुटी खेल्दा
केटाकेटीले के सम्झ्यो खै ?
मैले अगेनमा आगो मर्दा
हलि, बाउसे सँगै रोपाईँ गर्दा
तिमिलाई सम्झेको थिएँ ।
तिमिले मलाई दिई राखेको
बुछालुमा सिस्नु पाक्दा
तिमिलाई सम्झेको थिएँ ।
आज एक्कासी
यहि झुपडीमा बास माग्नु आउँदा
म कसरी नदिउँ ?
उ बेला,
यो ठाउँको पानि खाँदिन भनेर हिँडे पनि
यो ठाउँको धुलो टेक्दिन भनेर हिडे पनि
तिमिलाई सप्पै माफ छ
दाउरा बालेर मनतातो पानि पिलाउँला
पानि छर्केर हल्का धुलो मेटाउँला ।।
तिमिलाई मेरो भान्सा रुचेन भने
तिम्रो भोकको पाप लाग्ला
तिमिलाई मेरो ओछ्यानले निन्द्रा दिएन भने
तिम्रो अनिदोको श्राप लाग्ला
मलाई सप्पै माफ गर,
नाङलोमा च्याँक्ला छिन्काएर थेप्ला पकाउँला
घुरेनको सिस्नु टिपेर
गुन्द्रुक अचारसँग भोक मेटाउँला
आकाशबाट तारा खसेको हेर्दै
सिकुवाकै खटियामा निन्द्रा सुताउँला ।।
अप्ठ्यारो नमान तिमि
यो गाउँसँग तिम्रो पनि पुरानो साइनो छ
याद होला नि ?
मिरमिरेमा जरुवाको पानि भर्न गएको
याद होला नि ?
ढोडिया बोकी घरुवाको माछा मार्न गएको
शायद,
यहाँको टारीहरुले तिमिलाई बिर्सेको छैन
शायद,
यहाँको बारीहरुले तिमिलाई भुलेको छैन
यति मिठो यादको कोसेली बोकेर
यो झुपडिमा आयौ
बास कसो नदिउँला त ?
यहाँ एम्बुलेन्सको साईरनले सपना बिथोल्दैन
गस्तिहरु परेड खेल्दै सडकमा बुट बजार्दैन
यो रात मस्त निदाउँनु
अर्को रात,
मिठा मिठा कुरागर्दै
अतितको मैंझारो गरौंला ।।