थुनुवाको डायरीः साहित्य सम्मेलनमा  दोस्रो पुरस्कार पाउँदा पनि मन चाहिँ खिस्रिक्क !
नखाएको विष
बैशाख २७, २०७७

पन्ध्रौं दिन   २०६७/०७/०४ बिहिवार (२१ अक्टोवर २०१०) 

ओम शान्ति गएँ । आज विहिवार । बाबालाई फलफूल भोग चढाउने दिन । मुरली सुनि सकेपछि प्रसाद वितरण गरियो । सित्तै प्रसाद खानु हुँदेन भनेर चन्दा वाकसमा केही रुपैयाँ हालेँ । कार्तिक ६ गते शनिवार सेन्ट्रल जेलमा ओम शान्ति इकाईको वार्षिकोत्सव हुँदैछ । त्यसदिन भद्रवन्दी गृहबाट पनि भाग लिन जाने भनेर मैले पनि नाम लेखाएको थिएँ । त्यसदिन सेन्ट्रल जेल घुम्न जान पाउने आशाले रोमाञ्चित भएको थिएँ । 'सेन्ट्रलमा ६ गते कार्यक्रम नहुने भयो । अब १६ गतेमात्र हुने भयो ।' ओम शान्तिका हर्ताकर्ता नोर्बु भाइले भन्नुभयो ।

६ गते सेन्ट्रल जाने आशाले निरजलाई शनिवार नआउनु भनेको थिएँ । ओम शान्तिबाट बाहिर आएँ । मेट्रो एफएम ९४. ६ मेगाहर्ज सुनेँ । नेपाल भाषाको समाचार आइरहेको रहेछ । उक्त समाचारमा विराट नेपाल भाषा साहित्य सम्मेलन भक्तपुरमा मंगलवार र बुधवार दुई दिन भएको साहित्य सम्मेलनमा मेरो कथा 'पुनारांया च्यूता' प्रतियोगितामा दोस्रो भएको, कवितामा रश्मि नापित दोस्रो र राज्यरत्न बज्राचार्य तेस्रो भएको समाचार दियो । आफूले पुरस्कार पाउँदा मेरो मन हर्षित हुनुपर्ने हो तर मेरो मन खिस्रिक्क भयो । यदि म यहाँ नभइ बाहिर भएको भए सम्मेलनमा रचना पाठ गर्न जान्थेँ । पुरस्कार थाप्न जाँदा कति ताली बज्थ्यो होला । कति बधाई पाउँथेँ । तर अहिले पुरस्कार पाएर के गर्नु ? हुन त उक्त कथा प्रतियोगितामा नराख्ने भनेर मैले डा. तुयू बहादुर महर्जनलाई भनेको थिएँ । उहाँले प्रतियोगितामा राखी दिनुभयो होला । जसले गर्दा एकजना नयाँ कथाकार पुरस्कार लिनबाट बञ्चित भयो ।

११:३० बजेतिर ज्यापु महागुथिको अध्यक्ष विपिन महर्जन, राजभाइ जकःमि र शेष नारायण महर्जन तीनजना मलाई भेट्न आउनुभयो । उहाँहरूसँग कुराकानी भयो । मैले घटनाको वास्तविकता र अहिलेसम्म के भइरहेछ भन्ने सबै कुरो बताएँ ।

'हामीलाई पूरा विश्वास छ तपाई निर्दोष हुनुहुन्छ । अस्ति तपाईं हनुमान ढोका छँदा उमेश स्थापितले बच्चाहरूलाई भेट्न जानु भएको थियो । त्यतिबेला बच्चाहरूले तपाईं विरुद्ध त्यस्तो खासै नराम्रो कुरा गरेका थिएनन् । त्यसैले उमेशले नजरराम दाइलाई फसाइएको हो भनेर सबैको अगाडि भनेको थियो । तपाईंसँग भेटेर घटनाको वास्तविकता बुझेँ । अब हामीलाई अरूसँग कुरा गर्न सजिलो हुने भयो ।' विपिनले भन्नुभयो ।

'नजरराम दाइको कथा विराट नेपालभाषा साहित्य सम्मेलनमा दोस्रो भएकोमा बधाई छ । ल हेर्नुस् पत्रिका' भनेर राजभाइले सन्ध्या टाइम्स पत्रिका दिनुभयो । साथै 'अन्तोन चेखोवको नाटक' किताब दिनुभयो । आधाघण्टा जति कुराकानी गरेपछि हाम्रो समय सकियो । हामी छुट्टियौं ।

अब त मलाई भेट्न कोही पनि आउँदैन होला भनेर बेडमा पल्टिरहेँ । मलाई आँखा लागेको मात्र थियो । माईकबाट फेरि नाम बोलायो । बाहिर छोरी प्रभा र ज्वाईं जितेन्द्र बसिरहेको देखेँ । कुराकानी भयो । म जेल परेकोमा उनीहरूले दुःख माने र ती बच्चाहरूप्रति आक्रोस पोखे । ती दुईजनाले गर्दा मेरो संस्थाका सम्पूर्ण बालबालिका माथि मेरा आफन्त, नातेदार र शुभचिन्तकहरूका मनमा घृणा पैदा गराइ दियो । उनीहरूले मेरो लागि कुखुराको मासु र चिउरा ल्याएका रहेछन् । पीर नलिनू ! स्वास्थ्यको ख्याल गर्नु भनेर उनीहरू गए ।

'आजभन्दा वीस वर्ष पहिले तपाई जवान हुनुहुन्थ्यो । हामी पनि त २२/२४ वर्षकी थियौं । त्यसबेला हामीसँग त त्यस्तो कुनै व्यवहार गर्नु भएको थिएन । सबै केटीहरूलाई अभिभावकत्व प्रदान गरेर पढ्न प्रेरणा दिने महिलावादी नेताले अहिले बुढेशकालमा आफ्ना छोरी, नातिनीजस्ता बच्चाहरूलाई त्यस्तो दुव्र्यवहार गर्‍यो भनेर कसरी विश्वास गर्ने  ?' नीलमले एकैसासमा भनिन् । अनि ती बच्चाहरूप्रति आक्रोश र घृणा व्यक्त गरिन् ।

दशैंको बेला अरूहरू सात समुद्र पारीबाट घरमा आउँछन् । म भने यस्तो जेलमा बस्नु परिरहेको छ । हरेक पल पलमा मेरो मन दुखिरहेको छ । तै घरका मान्छेहरू, आफन्तहरू यहाँसम्म आएर मलाई भेट्न आइरहेका छन् । नत्र मेरो मन कसरी राख्ने ?  मैले त मन दुखाएँ । मेरो घरका मान्छेहरूले कसरी मन थामिरहेका होलान् ?

सोह्रौं दिन  

आज अस्पतालमा डाक्टर आउने दिन । मैले पनि डाक्टर देखाउनु थियो । त्यसको लागि पूर्जी बनाएर डाक्टर देखाउन गएँ । मलाई डायबिटिज छ भनेँ । पुरानो प्रेश्क्रिप्सन माग्नु भयो । मसँग पेश्क्रिप्सन छैन तैपनि ग्लाइजिड ४०, ओग्लो—१५ र इकोस्प्रिन–७५ खाइरहेको छु भनेँ । मेरो रोगको लागि बरिष्ठ डाक्टर आइतवार आउनु हुन्छ । उहाँले नै औषधीको सिफारिस गर्नुहुन्छ भन्नुभयो ।

आज छोरा र श्रीमती भेट्न आए । श्रीमतीसँग आमने सामने बसेर कुरा गरेँ । पहिले सञ्चो विसञ्चोको कुराकानी भयो । श्रीमती त साह्रै दुब्लाइसकिछिन् । 'तिमी त साह्रै दुब्लाएकी छौ । के भयो?' मैले सोधेँ ।

'मेरो ब्लडप्रेशर बढेको छ । तपाईं घरबाट निस्कनु भएको आज पूर्णिमा एक महिना भइसक्यो । एक महिनामा न राम्ररी सुतेको छु न खाएको छु ।' श्रीमतीले भनिन् ।

मलाई कसरी यहाँबाट निकाल्न सकिन्छ भनेर सबैजना चिन्तित रहेको कुरा बताइन् । मैले दशैँमा खिंचेको फोटोहरू दिएँ । उनीहरूले मेरो लागि खाजा ल्याएका रहेछन् ।
उनीहरूसँग विदा भएर भित्र आएको मात्र थिएँ ज्वजलपा पत्रिकाको सम्पादक श्रीकृष्ण तण्डुकार आए । उहाँसँग भेट्न गएँ ।

'तपाईं भित्र परेदेखि ज्वजलपा पत्रिका बन्द गर भनेर दवाव दिइरहेका छन् । तर हामी वन्द गर्दैनौं ।' श्रीकृष्णले भन्नुभयो ।

'कसले भनेको त्यसरी ?'

'तपाईंसँग मिल्ने साथीहरूले नै भनेका हुन् । कीर्तिपुरका नाम चलेका व्यक्तिहरूले नै त्यसो भनेका हुन् । विराट नेपालभाषा साहित्य सम्मेलनमा तपाईंको कथा दोस्रो भएको थियो । तर कथा पढ्न नआएको भनेर पुरस्कार अरूलाई नै दियो ।'

उहाँसँग कुरा गरिरहेको बेला निलम सुवेदी र रुद्र आए । श्रीकृष्ण मसँग विदा भएर जानुभयो । निलम सुवेदी उनी नै हुन् । जसलाई २१ वर्ष पहिले पार्टीको काममा लाग्दा चिनेको थिएँ । त्यतिबेला उनी ठाकुर राम क्याम्पसमा बिए पढ्थीन् । एमाले सम्बद्ध अखिलका महिला नेतृ पनि थिए । जन आन्दोलनमा पनि उनले सक्रिय भाग लिएकी थिइन् । आन्दोलनको सफलतापछि माईस्थानमा भएको सभामा नेकपा मालेका तर्फबाट उनले बोलेकी थिइन् । उनको भाषणबाट म निकै प्रभावित भएको थिएँ । पार्टी निर्माणको क्रममा उनीसित पर्सा जिल्लाको गाउँ गाउँ घुमेर संगठन निर्माण गरेको थिएँ । त्यतिबेला सुशीला पौडेल, शान्ता बराल, सरस्वती अधिकारी, टीना सुवेदी, ममता गिरी आदिलाई लिएर गाउँ जान्थेंँ । कति कति दिनसम्म त गाउँमै बास बस्थेँ । त्यतिबेला म उनीहरूको अभिभावक बन्थेँ । त्यसैले त केटीहरू म नगइकन गाउँमा जान तयार हुँदैनथ्यो । डिप्लोमा पास गरी सकेपछि मास्टर डिग्री पढाउन उनलाई र लक्ष्मी उप्रेतीलाई काठमाडौं ल्याएको थिएँ । कीर्तिपुरको मेरो घरमा राखेर पढाएको थिएँ । त्यसबेलादेखि लक्ष्मी र निलम काठमाडौंमै छिन् । शान्ता र टीनालाई मैले नै विवाह गराइ दिएको थिएँ । सुशीला पनि विवाह गरेर गइन् ।

'तपाई जेल परेको बेला म हेटौंडा गैसकेको थिएँ । हिजो आएको । यो खबर सुनेर साह्रै दुःख लाग्यो । तपाईंमाथि जुन आरोप लगाइएको छ । त्यसमा रतिभर पनि हामीलाई विश्वास छैन ।' निलमले भनिन् ।

'मलाई चिन्नेहरू कसैले विश्वास गरेका छैनन् । तर के गर्ने परिवन्दले मलाई यहाँ ल्याइपुर्‍यायो ।' मैले भनेँ ।

'आजभन्दा वीस वर्ष पहिले तपाई जवान हुनुहुन्थ्यो । हामी पनि त २२/२४ वर्षकी थियौं । त्यसबेला हामीसँग त त्यस्तो कुनै व्यवहार गर्नु भएको थिएन । सबै केटीहरूलाई अभिभावकत्व प्रदान गरेर पढ्न प्रेरणा दिने महिलावादी नेताले अहिले बुढेशकालमा आफ्ना छोरी, नातिनीजस्ता बच्चाहरूलाई त्यस्तो दुव्र्यवहार गर्‍यो भनेर कसरी विश्वास गर्ने  ?' नीलमले एकैसासमा भनिन् । अनि ती बच्चाहरूप्रति आक्रोश र घृणा व्यक्त गरिन् ।

'मलाई अहिले पनि ती बच्चाहरूले आफू खुशी मलाई यस्तो आरोप लगाएको होला जस्तो लाग्दैन । उनीहरू ‘भ्वाइस अफ चिल्ड्रेन’को षड्यन्त्रको शिकार बनें ।' मैले भनेँ ।

'यस्ता डलरधारी संस्थाहरूले गर्दा त आज देशै वर्वाद भइसक्यो । पखनुहोस् हामी त्यो ‘भ्वाइस अफ चिल्ड्रेन’ सँग पनि कुरा गर्न जान्छौं ।' नीलमले भनिन् ।

उनीहरूसँग कुरा गरिरहेको बेला सरव र चन्द्रमाया आए । नीलम र रुद्र गए । सरवसँग कुराकानी भयो । मेरो केसको बारेमा कुष्णगोपाल श्रेष्ठ र रामेश्वर फुयालसँग कुरा गरेको तर यस्तो केसमा कसैले मद्दत गर्न नसक्ने कुरा बतायो ।

'के उनीहरूले मलाई अपराधी ठानेका छन् ?' मैले सोधेँ ।

'तपाईं निर्दोष हुनुहुन्छ । तपाईंलाईं साह्रै नराम्रो केसमा फसायो भने ।'

सरवसँग पनि विदा भएर आएँ । मलाई पनि थाहा छ मेरो यो केसमा कुनै नेता या मन्त्रीलेसम्म पनि केही गर्न सक्दैन । मेरो निर्दोषीताको प्रमाण न्यायाधीशलाई दिन सक्नु पर्छ । अनिमात्र मैले सफाई पाउन सक्छु होला ।

आज मेरो दिन बाहिरै बसेर बित्यो ।

सत्रौं दिन 

कोठामा बसेर डायरी लेखिरहेँ । विहान १० बजे औषधी खान जान लागेको बेला माईकबाट मेरो नाम बोलायो । गेटमा गएको त भतिजा वद्रिमान आएको रहेछ । धुसिटोलका दाजुभाइ खलकमध्ये मलाई भेट्न आउने ऊ पहिलो व्यक्ति भयो । उसँग भेट्न गएँ । सञ्चो विसञ्चोको कुरा भयो । उसको श्रीमती उषा पनि आएकी रहिछिन् तर परिचय पत्र नभएर भित्र आउन नदिएको जानकारी दियो । यसपाली दशमा दाजुभाइ मिलेर गर्ने ‘सिकाभु’ गरेन । ठूलो बा कृष्णबहादुर जिउँदो छँदाछँदै द्वारिका भाइ दाइले थकाली बन्न मान्नु भएन । हाम्रा आफ्ना बाजेका सन्तानहरूमात्र बसेर सिकाभू गर्ने कुरा चल्दा म जेल परेको बेला सिकाभू नगर्ने निर्णय गरेछ ।

यस्तै कुराकानी गरेर हामी छुट्टिएर आयौँ । खाना खान गएँ । खाना खाएर मन्दिर प्रांगणमा बसेर पत्रिका पढिरहेको बेला गेटमा बोलायो । जुजुभाइले भेट्न आएको रहेछ । कुराकानी भयो । उनीहरूले पनि सक्दो प्रयास गरिरहेको कुरा बतायो । डा. डंगोल अर्को हप्ता आउने जानकारी पनि दियो । शिक्षकहरूको झुठो वयानको कारण म पुर्पक्षको लागि कैदी जीवन बिताउनु परेको छ । उनीहरूले त्यस्तो वयान दिएको होइन भन्यो । प्रहरीले वयान बिगारेर सहीछाप गराएको हो भने अबको पेशीमा उनीहरूले मेरो पक्षमा बोल्नु पर्‍यो । यदि यसो भयो भने मैले सफाई पाउने ठूलो आशा छ भनेँ ।

‘शिक्षकहरूले तपाईंको विरुद्ध बोलेकै होइन । प्रहरीले झुक्याएर सहिछाप गराएको भनेको छ ।’ जुजुभाइले भन्यो ।

१८औँ दिन

आज अस्पतालमा डा.  केदार नरसिंह के.सी. आउनुभयो । उहाँले मेरो स्वास्थ्य परीक्षण गर्नुभयो । डा. ज्योति भट्टराईले दिनु भएको औषधी उहाँले फेर्ने हिम्मत गर्नु भएन । त्यही पुरानै औषधी लेखी दिनुभयो । अबदेखि मैले डायबिटिजको औषधी निशुल्क खान पाउने भएँ । अब दैनिक तीस रुपैयाँको औषधी खर्च बच्ने भयो ।

भतिजा रबि भेट्न आयो । मैले बन्दी जीवन बिताउनु परेकोमा उसले साह्रै अपशोच जनायो । उसबाट हुनसक्ने जुनसुकै सहयोग गर्न पनि तयार रहेको बतायो । यसपालि म घरमा नभएर दशैँमा ‘सिकाभू’ नगरेको जानकारी दियो ।

रबिसँग छुट्टिएर आएँ । एकछिन पछि फेरि मलाई माईकबाट बोलायो । कृष्णहरि दाइ र शिक्षक देवआनन्द महर्जन आउनु भएको रहेछ । उहाँहरू पनि मलाई यहाँबाट कसरी निकाल्न सकिन्छ भनेर छटपटाईरहनु भएको रहेछ ।

'मैले त कोही चिनेको छैन । यस्तो मुद्दा मामिला मलाई थाहा पनि छैन । धरौटी राखेर निस्कन हुने भए धरौटी राख्नु । तिमीसँग पैसा नपुगे म पनि सहयोग गर्छु ।' कृष्णहरि दाइले भन्नुभयो ।

'म धरौटीमा छुट्न चाहन्न । मैले गर्दै नगरेको अपराधमा कसरी सजायँ पाउँछु होला । जिल्ला अदालतबाट सफाइ पाएर नै जान चाहन्छु ।' मैले भनेँ ।

'हुन त हो । अलि नाम चलेका मानिसहरूलाई फसाउने नै यस्तो मुद्दामा हो ।' कृष्णहरि दाइले भन्नुभयो ।

'जसले जे भने पनि तपाईंले बच्चाहरूलाई त्यस्तो दुव्र्यवहार गर्नुभयो होला भनेर मलाई विश्वास छैन । मैले कीर्तिपुर मा।वि।का बच्चाहरूसँग तपाईको बारेमा सोधेको थिएँ । सबैले बाबुले जस्तै माया गर्नुहुन्छ भनेका थिए ।' देवआनन्दले भन्नुभयो ।

'जे भए पनि पीर नलिनु । स्वास्थ्यको ख्याल गर्नु । अदालती प्रोसेस पुरा हुन अलि समय लाग्न सक्छ । तिमीले सफाइ पाउँछ भन्नेमा हाम्रो पूरा विश्वास छ ।'कृष्णहरि दाइले भन्नुभयो ।

उहाँहरूसँग छुट्टिएर आएँ । एकैछिनमा फेरि माईकबाट मेरो नाम बोलायो । गेटमा गएर हेरेको त छोरा आएको रहेछ ।

'१७ नं. मा पुनरावेदन गर्न अदालती दस्तुर तिरेर आइसकेँ । त्यसैले यहाँ आउन अबेर भयो । अब ५ बजे मदन रेग्मी वकिल कहाँ जानुपर्छ' भनेर छोरा गयो ।

मलाई दिनभरिमा माईकबाट कति पटक बोलायो भनेर गनी रहेकाहरू पनि रहेछन् ।

'ओहो ! आजकल त तपाईंलाई भेट्न आउनेहरूको लाइनै लागेको छन् ।' गेटबाट भित्र पस्ने बित्तिक्कै एकजनाले भन्यो ।

‘विचरा बालाई फसाइएको भन्ने सबैलाई थाहा छ । बुढो मान्छे कस्तो छ भनेर हेर्न आएका नि ?’ अर्कोले भन्यो ।

केही पनि नभनिकन म आफनो नम्बरमा आएँ ।

याे पनि 

थुनुवाको डायरी: दुई वर्षदेखि साहुनीसँग यौन आनन्दमा, साहूजीले देख्नासाथ जवरजस्ती करणी र पुर्पक्षको लागि थुनामा !

थुनुवाको  पहिलो दिनको डायरी: नखाएको विष

थुनुवाको डायरीः 'बाजिगर', झुठो आरोप र जेलकाे बास

थुनुवाको डायरी: शिक्षाकहरुकाे झुठाे बयान र भद्रवन्दी गृहकाे मेरो पहिलो रात

थुनुवाको डायरीः भद्र बन्दी गृह भित्रको देशै‌, श्रीमतीद्वारा आत्महत्या, श्रीमान् पुर्पक्षको लागि थुनामा