आफ्नै पहिचानको खोजीमा मः अलिना भट्ट, कार्की हुँदै राज्याधिकारीको पदवी र गुरु साम्वभक्त

फर्कलान् र ती दिनहरु

आफ्नै पहिचानको खोजीमा मः  अलिना भट्ट, कार्की हुँदै राज्याधिकारीको पदवी  र गुरु साम्वभक्त

हरिविनोद अधिकारी  |  साहित्य  |  बैशाख २७, २०७७

आजभन्दा करिब ६० वर्ष पहिलेको शिक्षा प्राप्ति एउटा जटिलतम कार्य थियो ।  तर पनि  विद्या विहीनलाई पशु समान मान्ने पनि हाम्रै संस्कार थियो । त्यस बेला भनिन्थ्यो- यदि बच्चालाई पढाइएन भने आमा पनि बैरी, पिता पनि शत्रु हुनेछन् । जस्तो कि त्यो बच्चा बास्नादार फूलहरूका माझमा पलासको फूलझैँ हुनेछ । समाजमा किनभने पढेकाहरूले जीवन सहज तरिकासँग सम्पादन गर्नेछन् । 

विद्यालय भनेको गुरुकुल थियो पहिले अर्थात् गुरुका घरमा गएर पढ्ने उपनयनका पश्चात् । ब्राह्मण र क्षेत्रीका सन्तानहरूले पढ्न पाउँथे र नेवार जातिलाई श्रेष्ठको रूपमा व्यापारी हुनाले हिसाब किताबका लागि पक्कै गुरुसँग पढ्थे होलान् । तर पहिले पनि ब्राह्मणका सन्तानले जसरी पनि शिक्षा ग्रहण गरेर पुराण भन्ने, दैनिक र परम्परागत वैदिक कर्म अर्थात् कर्मकाण्ड वा जीवनका लागि आवश्यक षोडशोपचार गरिन्थ्यो । 

सायद,  आजभन्दा ३०० वर्ष पहिले पनि विद्याध्ययनका लागि काशीमा गएर पढेका विद्वानहरूले गाउँमा आएर पढाउँथे । जसरी पनि परम्परागत र सनातनदेखि चलेका चलनलाई पण्डितका रूपमा, ज्योतिषीका रूपमा र सामान्य वेदको अध्ययन गरेर श्राद्ध गर्ने, पूजा लगाउने आदि काम वैदिक ब्राह्मणबाट नै गरिन्थ्यो होला ।

 यही क्रममा जुम्लाका अलिना भट्टहरू त्यहाँ नै कसरी आए, त्यो त इतिहासको खोजीको विषय हो तर पनि कोही दैलेख हुँदै पश्चिम गए होलान् ।  राजाका गुरु पुरोहित हुँदै त कोही राजाको प्रतिनिधि हुँदै उदयपुर हालको प्युठानमा राजा नै भएर बसेछन् । त्यसै बेलामा कोही कास्की अहिलेको पोखरामा आएर बसेछन् । अझ बुझिन्छ, सेन वंशी राजाका गुरु पुरोहित भएर पोखरामा आएर बसोबास गरेका होलान् र त्यसै बेलादेखि सायद ती अलिना भट्टहरूको थर पनि अधिकारी भयो होला । प्युठानका अधिकारीहरूले राज्य सञ्चालन गर्नका लागि छोरा नभएका राजाबाट राज्याधिकारीको पदवी पाएका र कार्की थरले सुशोभित भएका देखिन्छन् । 

उपाध्याय ब्राह्मण भएर पनि कार्की थर किन राखे या राजाले त्यो पदवी किन दिए, त्यसको व्याख्या इतिहासविद्हरुले दिनुहोला तर अधिकारी पदवी पनि सायद जुम्लामा नै पाएको हुनुपर्छ । अधिकारीहरूको थर एउटै भए पनि गोत्रका आधारमा भारद्वाज, अत्रि, माण्डव्य र काश्यप गोत्र पाइन्छ । अरू गोत्रकाले पनि अधिकारी लेख्दा हुन् किनभने यादवहरूमा पनि अधिकारी पाइन्छ, दनुवारहरूमा पनि अधिकारी पाइन्छ र थारुहरूमा पनि अधिकारी थर पाइन्छ । ब्राह्मणमा काश्यप गोत्रीय अधिकारीहरूको बाहुल्य छ । अझै पनि कश्यप हो कि काश्यप हो भनेर कतै कतै विवाद भएको  पनि देखिन्छ । 

हुन त विभिन्न थरका ब्राह्मण र क्षत्रीहरु काश्यप गोत्रीय पाइन्छन् र सम्पूर्ण जगत् नै ऋषि कश्यपका सन्तान भएकाले थर, गोत्र थाहा नभएका सम्पूर्ण प्राणीलाई काश्यप गोत्रीय भनेर भने हुन्छ भन्ने मान्यता छ । तर उपाध्याय ब्राह्मणहरूमध्ये प्रचलित थरहरूमा घिमिरेहरू पनि काश्यप गोत्रीय हुन् । एउटै गोत्रमा विवाह नहुने वैदिक परम्परा र सनातनी चलन हुनाले घिमिरे र अधिकारी काश्यप गोत्रीयका बिचमा विवाह नगर्ने पनि चलन छ र कतै कतै कश्यप गोत्र र काश्यप गोत्र भएकाले विवाह भएको पनि पाइन्छ । 

यसलाई प्रगतिशीलता मान्दा पनि हुन्छ र समयानुकूल प्रचलनमा सुधार गरेको मान्दा पनि हुन्छ । वैदिक परम्परा मान्नेहरूका लागि गोत्रीय परम्पराले अझै पनि छोडेको छैन । प्राचीन कालमा या पौराणिक कालमा एक अर्कासँग भेट्दा परिचय गर्नका लागि आफू जुन गोत्रको हो, त्यसको नाम लिएर परिचय दिएको पाइन्छ । जस्तै म भारद्वाज कुमार हुँ अनि तपाईँ नि ? भन्दा अर्को ऋषिले आफ्नो परिचय दिन्थे- म अत्रि ऋषिको सन्तान आत्रेय हुँ र नाम छ भने नाम पनि भन्थे रे । पुराण सुन्दा या पढ्दा यस्तो पाइन्छ । 

जब कुनै व्यक्ति चेतनशील हुँदोरहेछ, उसले आफ्नो परिचय खोज्दो रहेछ । मलाई पनि म को हुँ भन्ने परिचय माग्ने विचार आयो र बाको पनि जेठी फुपू, जसलाई घरमा सबैले ठूल्दिदी भनेर पुकारिन्थ्यो, उहाँलाई एक दिन सोधेँ । ठूल्दिदी हामी को हौँ ?  कहाँबाट आएका हौँ र यो ग्वाल्टारमा कसरी आइपुग्यौँ ? 

ठूल्दिदी कडा स्वभावकी हुनुहुन्थ्यो । तर सबैले उहाँको सम्मान गरेको हामी पाउँथ्यौँ सानामा । मैले होस समाल्दा नै उहाँ राम्रोसँग बस्न सक्नु हुन्थेन सायद बाथको रोग थियो किनभने भात खाँदा पनि उहाँ एउटा खुट्टा तेर्स्याएर बस्नुहुन्थ्यो । उहाँले तर मेरो प्रश्नको उत्तरमा यति भन्नुभयो- तेरो हजुरबालाई साँगा पूर्वको साहु बनाउन मैले धेरै पसिना बगाएँ । अरूका बुढी फुपूहरू आफ्ना आफ्ना घरमा हुन्थे तर उहाँ माइतमा नै हुनुहुन्थ्यो । उहाँ बाल विधवा हुनुहुँदो रहेछ र माइतमा नै बसेर माइतीलाई नै आफ्नो जन्म घर र कर्म घर बनाउनु भएको रहेछ । 

सायद, उहाँको नाम सुभद्रादेवी जस्तो लाग्छ । सामान्यतया आफूभन्दा ठुलाको नाम काढेर बोलाउने चलन थिएन र अझै छैन पनि ।   तीन  पाटनका कोइरालालाई दिएको थियो रे । ४२ ओटा बाछा बाछी थिए रे गोठमा, भैँसीहरू गोठ भरी थिए रे, ४०० मुरीको खलो थियो रे तीन पाटनमा । सायद तीन पाटनमा गएका कोइरालाहरू दुम्जाकै होलान् या तिमालका कोइरालाहरू होलान् । ७ वर्षकी हुँदा बिहे भएको थियो रे र ८ वर्षमै ठुलो महामारी आयो र बस्तुभाउ सबै मरे, परिवारका अरूसहित नै उहाँका श्रीमानको निधन भयो, त्यही बर्खामा खेत पनि खोलाले बगाएर लग्यो । त्यसपछि उहाँ आफ्नो जन्म घरमा नै रहनु भयो आफ्नो सानो भाइको रक्षा गर्दै । जेठी दिदी भए पनि उहाँहरूको एउटै भाइ जन्म्यो जो मेरा हजुरबा चन्द्रकान्त उपाध्याय अधिकारी हुनुहुन्थ्यो । 

उहाँका बा भनेको मेरा हजुरबाका पनि बा प्रद्युम्न उपाध्याय अधिकारी र हजुरबा  छविलाल उपाध्याय हुनुहुन्थ्यो जो दाप्चाबाट आफ्नो मावली हैबारमा गएर बस्नु भएको थियो । भनिन्छ, छविलाल पाध्येको पिता तत्कालीन दाप्चा क्षेत्रका ठुला पण्डित दामोदर पाध्ये हुनुहुन्थ्यो रे । सेन वंशी राजाले पोखराबाट गुरुलाई कुश बिर्ता दिएका रामानन्द पाध्येका नवौँ पुस्ताका सन्तान जो पण्डितका रूपमा सेन वंशी दरबारमा सम्मानित हुनुहुन्थ्यो । ठूलदिदीको भनाइ अनुसार केशवानन्द र रामानन्द दाजुभाइ थिए जो बाटा माथि र बाटा मुनिको ठाउँ रोजेर बसेका थिए । हामी रामानन्दका सन्तान हौँ रे र कुनै पनि समस्या आए रामानन्द रामानन्द भनेर ध्यान गरेपछि समस्या टरेर जान्छ भन्ने चलन थियो भनेर भनिएको थियो । तिनै नवौँ पुस्ताका छविलाल पाध्ये पण्डितमध्येका पनि ज्योतिषी हुनुहुन्थ्यो र आफ्नो मावली हैबार गएर बस्दा नै घोक्सिलाका बराल ब्राह्मणकी छोरी बिहे गरेर उतै बस्नुभयो । 

अर्का भाइले भने आफू मावलीमा गएर नबस्ने भनेर अन्तै कतै गए । दामोदर पाध्येका तीन भाइ छोराहरू थिए रे । छविलाल अधिकारीको विद्वताले राम्रो प्रभाव पारेको थियो र आफ्नो कुलका दशौँ पण्डित हुनुहुन्थ्यो रे । उहाँका छोराहरूमध्ये साहिँला प्रद्युम्न जसलाई पर्तिमन पाध्ये भनिन्थ्यो, अन्तरे कृष्णभक्त पाध्ये भनिन्थ्यो र अरू भाइहरूको त्यति प्रख्याती भएन । साहिँला रहँदा बस्दा पुरोहितको रूपमा र साहुको रूपमा प्रख्यात हुनुभयो भने कृष्णभक्त पाध्ये पण्डितको रूपमा प्रख्यात हुनुभयो । पछि कृष्णभक्त बाजेका दुई ओटा छोरामध्ये जेठाचाहिँ कुलनाथ उपाध्याय अधिकारीले न्याय शास्त्रीको रूपमा र एउटा शिक्षा प्रसारकमध्ये मुख्य भूमिका निर्वाह गर्नु भएको देखिन्छ । त्यसलाई निरन्तरता दिने उहाँका जेठा छोरा रामहरि उपाध्याय वेदका नामुद गुरुका रूपमा हुनुहुन्थ्यो । 

रामेछापमा म कक्षा ७ मा भर्ना हुन गएको थिएँ । दाजु पीताम्बर कक्षा ६ मा । तर मलाई मेरा पुराना साथीहरूले के भने भने हामी तँलाई सिकाउँछौँ हामी त कक्षा ८ मा छौँ । तैँले पोहोर नपढेकोले अहिले कक्षा ७ मा भर्ना हुनुपर्छ । कुरा त एकदम ठिक थियो तर मेरो स्वाभिमानमा चोट लाग्यो अनि गुरुसँग मैले जिरह गरेँ—गुरु ! म त कक्षा ८ मा भर्ना हुने । गुरु छक्क पर्नुभयो तर एउटा मनोवैज्ञानिक गुरु हुनु भएकाले उहाँले मेरो कुरालाई सहर्ष स्वीकार गर्नुभयो र मलाई कक्षा ८ मा नै भर्ना गर्नुभयो । सायद गुरुबाहेक अरू कोही भएको भए या त म कक्षा ७ मा नै भर्ना हुन्थेँ या त रामेछापमा नै पढ्दैनथेँ ।

कुलनाथ बाजेका कान्छा छोरा कृष्णहरि अधिकारी समाजसेवामा रम्नुभयो र अझै पनि सामाजिक जीवनमा सक्रिय हुनुहुन्छ । साहिँलाका सन्तान चन्द्रकान्त अधिकारी बाबुको एउटा मात्र छोरो भएकाले घरबाट बाहिर जाने चाँजो परेन मायाले वा पिताजीलाई कृषि कर्म र साहुकारीमा सहयोग गर्नका लागि । बुढेसकालको छोरो भएकाले सामान्य पुरोहितको शिक्षा मात्र वा वेद, रुद्री र चण्डीको मात्र शिक्षा लिएको देखिन्छ किनभने छविलाल पाध्येले जस्तो वेद लेखेर राखेको पनि पाइएन र प्रतिमन पाध्ये जसको पनाति म हुँ उहाँको पनि लेखोट त्यस्तो केही पनि पाइएन तर आफ्ना बाको सङ्गतले पुराण भन्ने र ज्योतिषको काम गरेको पाइन्छ । प्रद्युम्न पाध्येको बिहे परेबाडाँडाकी दाहाल कन्यासँग भएको बुझिन्छ किनभने ठूलदिदी र हजुरबाको मावल परेबाडाँडाका दाहाल हुन् भनेर ठूल्दिदीले भनेको सुनेको हुँ । पछि म परेबाडाँडामा निम्न माध्यमिक विद्यालयको प्रधानाध्यापक भएर २०३१ सालमा त्यहाँ जाँदा विद्यालय बनाउनका लागि जग्गा दिनेमा तिनै बुढा मावलीमध्येका बद्री दाहालले मेरो कारणले पनि विद्यालय बनाउन सहयोग गर्नु भएको थियो । बरु अचेल बद्री काकासँग भेट भइरहन्छ । भन्नुहुन्थ्यो, त्यो निम्न माध्यमिक विद्यालय अहिले हाइ स्कुल भएको छ, त्यसको भवन उद्घाटनमा बोलाउँला, सायद म युरोपमा भएको बेलामा उद्घाटन भएकाले होला, मलाई कुनै निम्तो पनि आएन तर ग्वाल्टार जोदा आउँदा बाटैबाट आफ्नो पहिले कर्मथलोलाई नियाल्छु गाडीबाटै । 

बाको मावल ग्वाल्टारकै बराल हुनुभयो । अर्थात् छविलालका ससुराली बराल, मावली कोइराला, प्रतिमन पाध्यको ससुराली दाहाल अनि मेरा बाको ससुराली ढुङ्गेल । अब मेरो पहिचान कस्तो भयो त ?  

म को हुँ भनेर पहिचान खोज्दो रहेछ आफैँमा आफैँले । मेरो मावलका हजुरआमाको माइती बडी मुहान चिसापानी रामेछापका घिमिरे । म अधिकारीको सन्तान जेठोको हाँगो समात्दै हजुरबाको एउटै, उहाँका जेठो छोरोको जेठो छोरो । मेरा पनि छोराहरू र छोरीहरू भए अहिले नातिनीहरू पनि छन् । 

अब पहिचानको प्रश्न आएको छ र आफ्ना पुर्खाको बारेमा जानकारी राख्नु आवश्यक भएको छ ।  एक्काइसौँ शताब्दीमा कहाँको सम्प्रदायको खोजी, कहाँको पुर्खाको नाममा अहिले बाँच्ने चलन एकातिर भने अर्कोतिर म कहाँबाट कसरी आजको दिनसम्म कसरी आएँ भन्ने जानकारी राख्न पूर्व जन्मको बारेमा सम्झना नभएकोले भएकै भौतिक परम्परालाई स्मृतिमा ल्याउने चलन अचेल चलेको छ र आफ्ना अतीतका वारेका सोधखोज गर्ने चलन चलेको छ । यसरी मैले थाहा पाएसम्म दामोदर, छविलाल, प्रद्युम्न, चन्द्रकान्त, रामप्रसाद अनि म हरिविनोद । 

कवि शिरोमणि लेखनाथ पौडेलले आफूलाई चिन्ने क्रममा सोध्नु भएको छ आफैँलाई । 
कहाँ थियो बास अघि म को थिएँ, 
कसो हुँदा यो पिँजडा लिँदो भएँ , 
कहाँ छ जानु कुन साथ लिकन, 
तँलाई मालुम छ कि यो कुरा भन ?

वास्तवमा मालुम त कसैलाई पनि छैन जस्तो छ । हुन त डाक्टर पिनाकीप्रसाद आचार्यले त्यसको जबाफ पनि दिनु भएको थियो क्या रे १ तर ती आध्यात्मिक चिन्तनका बारेमा एउटै मत छैन आज पनि बुद्धिजीवीहरूका बिचमा । 

प्रसङ्ग बाको शिक्षाको पनि छ । बा पनि हजुरबाको बुढेसकालको छोरो । घरबाट बाहिर पठाउन सक्नु भएन छ । सिन्धुलीगढीमा पं दिव्यदेव कोइराला (जसलाई हामीले भानिज बा भन्थ्यौँ अर्थात् बाले भान्दाइ भन्नुहुन्थ्यो )सँग कुलचन्द्र काका ( पं दिव्यदेवका भाइ) पनि हुनुहुन्थ्यो क्या रे ! तर प्रथमा पढ्दा पढ्दै हजुर बा बिरामी हुनुभएकाले घरमा बोलाइयो र फेरि कहिल्यै औपचारिक शिक्षाका लागि भर्ना हुनु भएनछ । बालाई  एउटा अव्यक्त कुण्ठा रहेछ पढ्न नपाएको ।  संस्कृत पढ्ने बेला थियो त्यो । पण्डित हुने बेला थियो त्यो । कम्तीमा पनि मध्यमा पास गरेपछि पुराण भन्नका लागि पण्डित मानिन्थ्यो । पुराण त प्रथमा गर्नेले पनि भन्थे रे ! सामान्यरुपमा वाचन चलेपछि र भागवत कण्ठ गर्न सकेपछि टीका हेरेर पुराण भन्ने पनि हुन्थे रे !  खास गरी पण्डित खाल नै थियो त्यो कोइराला परिवार ।  दिव्यदेव, लक्ष्मीप्रसाद, कुलचन्द्र र यज्ञेश्वर काकाहरू पाँचौँ पुस्ताका पण्डितहरू हो क्यारे ! अहिले त्यो परिवारमा संस्कृतकै विद्वानको रूपमा पुराण नै भन्ने विद्वान त कोही पनि छैन तर अनुसन्धानको क्षेत्रमा भाइ जीवनचन्द्र कोइरालाले गरिरहेका छन् पूर्वीय वाङ्मयको सेवा । 

मेरा बाको लागि विद्यालय खोल्नु भनेको मन्दिर बनाउनु जस्तै थियो किनभने सबैले पढ्न पाऊन् भन्ने धारणा भएकैले आफ्नो क्षेत्रमा एकै पटक धेरै विद्यालयहरूको स्थापना गर्ने कोसिस गरेको पाइन्छ । तर ती सबै प्राथमिक विद्यालय थिए । त्यस बेलामा हाइ स्कुल भनेको कि त रामेछापमा गौरीशङ्कर हाइ स्कुल थियो कि सिन्धुलीमा कमला हाइ स्कुल थियो । पूर्व २ नम्बरका लागि खुलेको विद्यालय बिस्तारै सिन्धुली र रामेछापका लागि फरक फरक विद्यालय बनेछ । 

ग्वाल्टारमा कक्षा ६ को अध्ययन पछि म सानो भएकाले रे ! बाले बाहिर पठाउनका लागि मन गर्नु भएनछ । एक वर्ष ग्वाल्टारमा नै गुरु साम्यभक्त सुवेदीसँग सामान्य नीतिको श्लोकहरू पढियो । सायद गुरुका कान्छा पुत्र अनन्त दाइ पनि ग्वाल्टारमा नै रहनु भएको थियो । मलाई र अनन्त दाइलाई जनकपुरमा संस्कृत पढाउन लैजाने कुरा थियो तर मेरी आमाको लागि त्यो मन्जुर भएनछ । अनि गुरुलाई सविनय भन्नुभएछ- गुरु बा, तपाईँको छोरो नवराज बाबु त काठमाडौँमा विश्वविद्यालयमा पढ्नु हुन्छ क्यारे!  अनि मेरो छोरा र तपाईँको कान्छो छोरालाई किन संस्कृत पढाउने र ? नातामा गुरु बा मेरा आमाको हजुर बा पर्नुहुन्थ्यो ।  हजुरबाको मावली तर्फको नातामा । हजुरबालाई गुरुले भानिज भन्नुहुन्थ्यो । मेरा हजुर बाको मावली दुम्जाका कोइराला हुन् । पछि मेरो साथी रामेश्वर त्यही कुलको रहेछ थाहा पाएँ । अनि २०२३ सालमा रामेछापमा पढ्न जाने भएँ । म र मेरो दाजु पीताम्बर रामेछापको गौरीशङ्कर माविमा पढ्न जाने भयौँ गुरुसँग, गुरुको अभिभावकत्वमा । गुरुको विद्वता र क्षमतालाई नमान्ने मानिस कोही पनि हुँदैनथ्यो ।

गुरु साह्रै नै सरल मानिस हुनुहुन्थ्यो । उहाँका गुणहरूको जति बखान गरे पनि कमै हुन्छ । उहाँ त सदैव अरूलाई उपदेश दिन र शिक्षा दिन तत्पर हुनुहुन्थ्यो । उहाँको एउटै गुनासो नवराज काकासँग रह्यो । भन्नुहुन्थ्यो प्रोफेसर होला भनेको त राजनीतिमा पो लाग्यो । मन्त्री हुनुभन्दा प्राध्यापक हुनुमा गर्व गर्नुहुन्थ्यो । एउटा उदाहरण दिनु हुन्थ्यो गुरुले सुरेशराज शर्मासँगको विषयमा । विष्णुप्रसादजी(सुरेशराजजीको पिताजी) एउटा राजनीतिक कर्मी तर उहाँको छोरो प्राध्यापन तिर लाग्यो, म सदैव शिक्षक रहेँ तर मेरो छोरो राजनीतिमा लाग्यो । उहाँको मनमा कुनै कसैसँग द्वेष थिएन र पूर्वाग्रह पनि थिएन । 

मलाई गुरु कस्तो हुन्छ भनेर कसैले सोधे भने भन्छु- गुरु भनेको साम्यभक्त गुरु जस्तो हुनुपर्छ । न मोह, न लोभ, न रिस न राग । सहभाव । स्थित प्रज्ञा । सम्पत्तिको कुनै सङ्ग्रहको चाहना पनि छैन तर कहिले पनि खान र लाउन कमी भएन । पछि त नवराज काकाले पिताजीका लागि अब कुनै परिश्रम नगर्नुस् भन्नु भयो । अनि अनन्त भिनाजुले पनि बालाई राम्रो सेवा गर्नुभयो । उहाँका तीन भाइ छोराहरूलाई म तीन ओटा नातामा सम्मान गर्छु । ठुला हरि दाइ भन्थ्यौँ, गङ्गादत्त सुवेदीलाई हामी साना बा भन्थ्यौँ किनभने मेरा माहिलाबाटको कान्छी साली सानीमा बिहे गर्नु भएको थियो । माहिला नवराज काका मेरा बाको सानीमाको छोरा, अनि पछि अनन्त दाइको बिहे मेरो पिताजीले विष्णु लक्ष्मी पुज्दै भानिज बाकी छोरीसँग भएकाले भिनाजु हुनुभयो । एउटै परिवारका तीन ओटा दाजु भाइसँग तीन ओटा नाता, त्यो पनि सहजताका साथ सम्मानका साथ । अहिले हरि दाइ स्वर्गबास भएको पनि धेरै वर्ष भयो । 

गुरुले एक पटक मलाई ड्रेस र एडे«सको बारेमा बताउनु भएको थियो । उहाँ धेरै ठुलो विद्वान हुनुहुन्थ्यो । जतिबेर पनि पुस्तक पढिरहने । उपन्यास, कविता, कथा, निबन्ध जे भए पनि । हिन्दी भए पनि, नेपाली भए पनि, संस्कृत भए पनि । 

एक पटक नेपोलियनले एउटा वैज्ञानिकलाई बोलाएछन् । वैज्ञानिक आफ्नो प्रयोगशालाबाट सिधै बोलावट भएको ठाउँमा आएछन् । पहिले जे कामका लागि बोलाएको हो, त्यसका वार्तालाप भएछ । हिँड्ने बेलामा नेपोलियन बाहिर ढोकासम्म छोड्न आएछन् । अनि वैज्ञानिकले पनि अचम्म मान्दै सोधेछन्—अघि तपाईँले नै बोलाएको म आउँदा वास्ता नगरेर बस्नुभएको थियो तर अहिले काम समाप्त भएपछि किन बाहिरसम्म लिएर आउनु भएको हो ? अनि नेपोलियनले भनेछन्—अघि ड्रेसका आधारमा मलाई तपाईँप्रति आकर्षण थिएन तर अहिले तपाईँको विद्वताले मलाई नतमस्तक बनायो र सम्मानका लागि बाहिरसम्म छोड्न आएको हुँ । त्यसैले आफ्नो क्षमता वृद्धि गर्न तिर लाग्नू, सुरुमा ड्रेसले आकर्षण गर्ला तर एड्रेस अर्थात् आत्मबलसहितको क्षमता भयो भने सबैले मान्छन् । नभन्दै गुरुको त्यो सादगीपनमा पनि सबैले मान्ने गुण थियो । स्थितप्रज्ञ, न मानसँग वास्ता, न अपमानसँग वास्ता । आफ्नो क्षमतामा रमाउने, अरूको भलोमा रमाउने अनि कुनै लोभ राग रोष नभएको साधु । 

रामेछापमा म कक्षा ७ मा भर्ना हुन गएको थिएँ । दाजु पीताम्बर कक्षा ६ मा । तर मलाई मेरा पुराना साथीहरूले के भने भने हामी तँलाई सिकाउँछौँ हामी त कक्षा ८ मा छौँ । तैँले पोहोर नपढेकोले अहिले कक्षा ७ मा भर्ना हुनुपर्छ । कुरा त एकदम ठिक थियो तर मेरो स्वाभिमानमा चोट लाग्यो अनि गुरुसँग मैले जिरह गरेँ—गुरु ! म त कक्षा ८ मा भर्ना हुने । गुरु छक्क पर्नुभयो तर एउटा मनोवैज्ञानिक गुरु हुनु भएकाले उहाँले मेरो कुरालाई सहर्ष स्वीकार गर्नुभयो र मलाई कक्षा ८ मा नै भर्ना गर्नुभयो । सायद गुरुबाहेक अरू कोही भएको भए या त म कक्षा ७ मा नै भर्ना हुन्थेँ या त रामेछापमा नै पढ्दैनथेँ । तर गुरुले राती मलाई सोध्नु भयो, तैँले किन ढिपी गरेको कक्षा ८ मा नै भर्ना हुन जबकि तेरो बालाई मैले कक्षा ७ मा नै भर्ना गर्न भनेर लिएर आएको थिएँ जस्तो कि अनन्त पनि कक्षा ७ मा नै भर्ना भयो । अनि मैले पनि गुरुलाई जिरहको कारण बताएँ—गुरु, जो साथीहरूसँग म कक्षा ६ मा पढ्थेँ, आज त्यही साथीहरूभन्दा तलको कक्षामा म कसरी बस्न सक्छु र जबकि मैले गएको एक वर्ष संस्कृत पढेर बसेको थिएँ, त्यसै त बसेको थिइन नि ? गुरु मेरा तर्कसँग सहमत त्यसै पनि हुनुहुन्थ्यो र मेरो स्पष्टवादितामा उहाँले खुसी व्यक्त गर्नुभयो । अनि मैले कक्षा ८ रामेछापको गौरीशङ्कर हाइ स्कुलमा पढेँ । २०२३—२४को शैक्षिक सत्रमा । त्यो बेलामा  प्रधानाध्यापक हुनुहुन्थ्यो रामदेव ठाकुर र सहायक प्रधानाध्यापक हुनुहुन्थ्यो उहाँकै भाइ देवनारायण ठाकुर । 

सायद उहाँहरू भारतीय हुनुहुन्थ्यो । हेडसरले त एमए गर्नुभएको थियो रे १ अङ्ग्रेजी विषयमा भन्थे । सायद नवराज काकाले नै खोजेर ल्याउनु भएको भन्थे किनभने त्यो बेलामा नवराज काका राष्ट्रिय पञ्चायतको सदस्य हुनुहुन्थ्यो रामेछाप जिल्लाको । 
क्रमशः  

याे पनि 

फर्कलान् र ती दिनहरू ! 'नवराज बाबूू जस्तो हुनू' !!

'रामप्रसाद दाइचाहिँ उपाध्याय बाहुन, हरिचाहिँ जैसी बाहुन !' प्रसादबाट विनोद मध्यभाग परिवर्तन !!

द्वन्द्वको मार र त्रासको अनुभूति: काँग्रेसकै आततायीहरूद्वारा काँग्रेसका मतदाता निहत्था मेरा हजुर वाको गोली हानी हत्या !

आमाका घिक्क घिक्क गर्दै बितेका अनुत्तरित क्रन्दनका रातहरू र मेरो मस्तिष्कमा टाँसिएको हिंसाप्रति असन्तोष

बिपीको आग्रहमा पिताजीद्वारा विद्यालयको स्थपनाः पहिलो कक्षा सुरु भएको दिन प्रजातन्त्रको हत्या !