अज्ञान, विज्ञान र अध्यात्म : आस्था, आधार र विश्वासहीन  भएर बाँच्नु भन्दा स्वैरकल्पनामै भए पनि अल्झिनु बेस
बैशाख २८, २०७७

मेरा मित्रवत् भाइ ज्ञानमित्र  अनलाइन पत्रिकामा धर्म, दर्शन र विज्ञानका  बारे लेखिरहन्छन्, भनौ चर्चा गरिरहन्छन् । मलाई उनका तर्कहरूले आकर्षित गर्छन् र म त्यो पढ्ने गर्दछु । एकपल्ट उनले यस्तो लेखे के वास्तवमै  भगवानको अस्तित्व छ ? के हाम्रो भाग्य उनैले लेख्छन् ? अझ उनी भन्छन् -'अज्ञानताले छोपेको बेला म भगवानमा विश्वास गर्छु र कट्टर अध्यात्मवादी हुन्छु । तर्कले जितेको बेला म विज्ञानमा विश्वास गर्छु र कट्टर भौतिकवादी हुन्छु'। उनका कुराले 'म निकै दोधारमा परे, के म उनीसँग सहमत हुन सकुँला' ?

जर्मनीका महान् दार्शनिक फ्रेडरिक नीत्शे  दिउँसै बत्ती  बालेर ईश्वर  खोज्न  सडकमा निस्केका थिए । तर उनले भेट्टाएनन् । केही  नभेटे पछि उनले सगर्व  घोषणा  गरे- ईश्वर मरिसकेँ  । मन्दिरहरूमा उनको लास मात्र बाँकी छ । उनी  पछि फ्रान्सका लेखक तथा दार्शनिक ज्याँ  पाल सात्रले   नीत्शेका विचारहरूको खण्डन गर्दै अर्को उद्घोष गरे- नीत्शे  गलत थिए , किन भने ईश्वर  जन्मिएकै थिएनन् । नजन्मिएका ईश्वर मर्दै मर्दैनन् । पाइथागोरसले छ भने, शोपेनहावरले छैन भने । जेनोफिनजले छ भने, एपिक्यूरसले छैन भने । ब्रूनोले छ भने, डिमाक्रेट्स  छैन भने । महर्षि वेद  व्यासले छ भने, बुद्धले निश्चित  छैन भने। किन भने उनले बुद्धत्व प्राप्त गर्न लागेको बेला ईश्वरले बिथोल्न खोजेको कुरा उल्लेख गरिएका  छन् धेरै ठाँउहरुमा  । जातक कथामा जताततै छन्  यस्ता प्रसङ्ग ।

 'छ' र 'छैन'को बिचमा अलमलिएर बसिरहेका म र ज्ञानमित्र (अच्युतम भट्टराई) अलमलमा  छौँ । मलाई साहित्यकार भवानी  भिक्षुको एउटा कविताको सम्झना   अनायास    भयो - 'ऐ  तिमी, जो छ र छैनौ को बिचमा बस्छौ त्यस्ता मित्रलाई प्रणाम' ! हामी दुवै  आफ्नै तर्क र बुद्धिका अधीनमा छौँ । दार्शनिकको शब्दमा 'विचाराधीन'  छौँ । जे पनि हुन सक्छौँ , मतलब कहिले आस्तिक र कहिले नास्तिक। कुनै निर्णयमा पुग्न नसकिरहेको हाम्रो अवस्था छ ।

 जर्जियाको राजधानी सहर अटलान्टा पुग्न लाग्दा मलाई उनको सम्झना भयो । अटलान्टामा स्वामीनारायणको भव्य, विशाल मन्दिर दर्शन गर्ने मेरो कार्यक्रम रहेको थियो   । सिएनएनको  प्रमुख कार्यालय  हेरिसके पछि उतै लाग्ने विचार बनेको थियो । 'राजधानी' नामक समाचारपत्रमा काम गर्दा उनी त्यसमा स्तम्भ लेखाउन मेरो घर खोज्दै  आएका थिए  केही वर्ष अगाडि । उनी विराटनगरका रहेछन् र त्यहाँबाट काठमाडौँ आएर शौखले  पत्रकारितामा लागेका रहेछन् । अहिले तिनै अच्युतम भट्टराई (ज्ञानमित्र) बनेर सन्यासी जीवन व्यतीत  गर्दैछन् । र, विभिन्न  अनलाइन पत्रिकामा विज्ञान, धर्म र दर्शनबारे निकै गहिरा र चिन्तन प्रधान लेखहरू लेखिरहेको प्रायः देख्ने गर्दछु । उनी राजधानीमा काम गर्दागर्दै एक्कासि हराएका थिए र अहिले  जोगीको बाहिरी कलेवरमा काठमाडौँमा देखा परेका छन् । अहिलेसम्म अविवाहित रहेका उनी निकै  आरामदायी साधुको जीवन बिताइरहेको जस्तो लाग्छ । उनी प्रायः  भारत गई रहन्छन् । त्यहाँ साधु सन्तहरूका लागि विशेष रूपले निर्माण गरिएका  आश्रम र मठहरूमा  खाने र बस्ने गर्दछन् शायद ।

यस लेखमा पहिला म  स्वामीनारायण मन्दिरको केही चर्चा गर्छु । हेर्दैमा थाहा हुन्छ, यो स्वामीनारायण मन्दिरको इतिहास निकै पुरानो छ । यत्रो विशाल मन्दिरको निर्माण गर्न र यसलाई भव्यता प्रदान गर्न दक्षिण भारतबाट यहाँ आई पुगेका जन्मजात हिन्दुहरूलाई पक्कै पनि एक डेढ सय वर्ष लाग्यो होला । अहिले यहाँ देखिएका अधिकांश दक्षिण भारतीयहरू पक्कै पनि तेस्रो पुस्ता अर्थात् नाति पुस्ताका व्यक्ति  हुन् । यिनीहरूलाई नै मन्दिरमा जताततै भेट्न, हेर्न र कुरा गर्न  पाइन्छ । त्यहाँ गरिने कुनै पनि पूजन परिपाटी हाम्रा लागि नयाँ थिएनन् र त्यो हामीले स्वतः  सिद्ध गर्‍यौँ । अरू मन्दिरमा जस्तै यहाँ पनि भगवान् शिव र विष्णुका भव्य  मूर्तिहरू देख्यौँ, ढोग्यौँ र श्रद्धापूर्वक फोटाहरू खिच्न भने पाएनौँ,  फोटो खिच्न  यहाँ मनाही गरिएको थियो  । ब्रह्माको मूर्ति बाहेक अरू सम्पूर्ण हिन्दु  देवी  देवताका मूर्तिहरू यहाँ छन् । एउटा विशेषता यो भव्य  मन्दिरको के रहेछ भनेँ हिन्दु धर्म सम्बन्धी सम्पूर्ण ग्रन्थहरू यहाँको  पुस्तकालयमा सङ्गृहीत गरिएका  छन्  । वेद, पुराण, उपनिषद, गीता र अन्य सबै धार्मिक ग्रन्थहरू यहाँ  पाइन्छन् । संस्कृतमा लेखिएका सम्पूर्ण ग्रन्थ, भारतले उत्पादन गरेका  साबुन, मन्जनहरू, ब्रसका साथै   सम्पूर्ण खाद्य एवं दैनिक आवश्यकताका पदार्थहरू यहाँ सुलभ रहेछन् । यसबाट यहाँ व्यापार  पनि राम्रैसित  हुन्छ र केही व्यक्तिहरूको भरण पोषण पनि  यो मन्दिरबाट राम्रैसँग हुन्छ । कता कता धर्म र आधुनिक  व्यापारलाई  एकै ठाउँ जोडे जस्तो । फेरि जताततै भेटिने पीत  वस्त्रधारीहरूले गर्दा मन्दिर सुन्दर, शान्त र आध्यात्मिकताले भरिपूर्ण  लाग्ने ।

प्रत्येक व्यक्ति ज्ञान, जानकारीको कुनै न कुनै सिँढीमा अल्झिरहेको हुन्छ र उसको ज्ञान र जानकारीको सीमा हुन्छ  । आफूले नबुझेका  र नजानेका  कुरा पनि  संसारमा छन् र कुनै कुनै विषय अज्ञेय, अभेद्य र कल्पनात्मक पनि हुन्छन्  । अध्यात्मलाई केवल विश्वासको आधारमा मात्र मान्नु पर्छ  भन्ने कुनै तर्क होइन । अध्यात्म  व्याख्याता हुँदैन , न ईश्वर  नै व्याख्याता हुन्छ ।

एकै शब्दमा धर्म के हो भनेर मुहार पुस्तिकामा मलाई एक जनाले केही वर्ष अगाडी सोधेका थिए । मन्दिरको छेवैमा रहेको विशाल शाकाहारी खाजा पसलमा पानीपूरी, समोसा र खिर खाँदै मैले  त्यो  प्रश्न सम्झे । र, मैले उनलाई  जवाफ दिएको थिएँ - असल चरित्रको निर्माण गर्ने धारणा नै धर्म हो । उनलाई मेरो उत्तर  मन  परेको थियो। धेरै दिनपछि उदरस्थ गर्न पाएको जेरी टोक्दै मैले सम्झे - असल र खराबको धारणा बनाउनु पनि अत्यन्त जटिल छ । अल्बर्ट  आइन्स्टाइनको शब्द सापटी  लिएर भन्नुपर्दा यो  पूर्णतया  सापेक्ष हुन्छ । समय, देश काल र परिस्थिति अनुसार त्यसको निर्णय हुन्छ । आजसम्म  त्यस्तो कुनै धार्मिक ग्रन्थ छ जसले असल जीवन  पद्धतिको वकालत गर्दैन ? कुनै त्यस्तो धार्मिक ग्रन्थ छ जसले स्वर्ग र नर्कको परिकल्पना गर्दैन ? क्रिश्चियन धर्ममा त झन् भगवानको छोरा हुँ भन्ने जिसस नै सबथोक हुन ।  बाबुको टुङ्गो नभएर आमा 'मेरी' मात्रै थाहा पाएका  जिससले आफुलाई भगवानको छोरो हुँ भन्नु नितान्त उपयुक्त  छ । कुरानमा पनि स्वर्ग र नर्कको विशुद्ध व्याख्या  गरिएको छ । बौद्ध दर्शनको महायान सम्प्रदायमा बुद्धलाई सोझै भगवान् भनेर सम्बोधन गरिएको छ । र, त्यो सम्प्रदायले पुनर्जन्म मूल आधार मानेको छ सांसारिक कार्य व्यापारको  । जसरी भगवान् पुर्नजन्म लिएर  जिससको रूपमा जन्मिएका हुन बाइबलमा । हिन्दु धर्म त झन् पुरै अवतारवादको  आधारमा नै जन्मिएको छ । राम, कृष्ण बारम्बार भगवानको  रूप त्यागेर मानिसको रूपमा पृथ्वी लोकमा अवरित भएका छन् । अधर्म भएमा फेरि फेरि फर्केर आउने छु भनेर जिससले भनेझैँ कृष्णले फेरि फेरि पुर्नजन्म लिने कुरा गीतामा भनेकै छन् ।

कुरानमा एउटै ईश्वरको कल्पना गरिएको छ र अरू धर्ममा पनि त्यस्तो होला । हामीहरू बढी मूर्ति पूजक  भएकाले हाम्रा देवताहरू निकै छन् । हामी अरूभन्दा बढी प्राकृतिक  छौँ । ऋग्वेदको  आरम्भमा नै हे उषा भनेर सुन्दर र शान्त प्रभात को प्रशंसामा थुप्रै श्लोकहरू रचिएका छन् । प्रकृतिको पूजामा विभिन्न देवताहरूको गुणगान गरिए पनि अन्तमा  एउटै ईश्वरको स्तुति गरिएको पाइन्छ  सनातन हिन्दु धर्ममा ।

उपनिषदहरूमा पूर्ण बाट पूर्ण घटाए पूर्ण नै बाँकी रहने उद्घोष गरिएको छ ।जे छ त्यो छदैछ, जे छैन त्यो छँदै छैन भन्ने जस्ता सूक्तहरू छन् उपनिषदीय साहित्यमा। यसरी आ आफ्ना धार्मिक विश्वासमा सबै मानव जातिले सच्चिदानन्दको खोज गरेका छन् । धर्ममा विश्वास गर्नु अज्ञानता होइन ! भाइ ज्ञानमित्र मात्र एक जना  त्यस्तो व्यक्ति होलान् जसलाई अज्ञानताले गाँजेको बेला मात्र आध्यात्मिक हुने बाध्यता छ नत्र अरू बेला उनी पूर्ण ज्ञानवान् र वैज्ञानिक छन् ।  विज्ञानले व्याख्या गर्न  नसके पछि ज्ञान सुरु हुन्छ र त्यो केही अर्थमा अज्ञात, अथाह र अमूर्त पनि छ । अमेरिकन डलरमा 'We trust  in god' लेखे पछि थॉमस जेफरसन मस्त सुतेका थिए । नीत्शेको भनाइ पनि विवादास्पद मानिन्छ । हुँदै नभएका ईश्वर धेरैपल्ट मरेका छन् र त्यो प्रश्नले बारम्बार हामीलाई ब्युँझाइ रहन्छ ।

मार्क्सले किन धर्मलाई अफिमसँग दाँजे भने उनलाई हिन्दु धर्मका बारे राम्रो जानकारी थिएन। युरोपको इतिहासकाबारे अलि कति पनि जानकारी राख्नेहरूलाई थाहा छ मध्यकालीन युरोपमा खास गरेर १२ ओ शताब्दीदेखि १६ ओ शताब्दीसम्म पोपहरूले   नै शासन गरे ।पोपहरू राज्यका सर्वेसर्वा थिए। हामी कहाँ पनि त्योभन्दा पछिसम्म राजाहरू ऋषि -मुनिहरूबाट निर्देशित थिए । त्यसैले 'नेपाल' नाम नै 'ने' मुनिबाट पालित राज्य भनेर इतिहासमा लेखिएकै छ ।श्रद्धा र विश्वासले गर्दा ५ हजार वर्षभन्दा अगाडि देखि मानवताका लागि के गर्दा उचित होला भनेर राजाहरू त्यस्ता ऋषि मुनिहरूलाई सोध्न जान्थे । यो राज धर्मको एउटा मूल दायित्व र कडीको रूपमा रहेको थियो ।युरोपमा पनि त्यस्तै थियो ।राजा अलेक्जेंडर मात्र होइन सबै राजहरू आफ्ना गुरु कहाँ आशीर्वाद माग्न जाने प्रचलन थियो ।यो कुराको जानकारी भएका मार्क्सले धर्मलाई अफिम भनेका हुन । उनलाई शासक शासकीय मर्यादा र शक्तिबाट च्युत  पो हुन्छ कि  भन्ने डर थियो ।उनलाई हाम्रो पूर्वीय राज्य परम्पराका दार्शनिक राजाहरूको बारेमा ज्ञान थिएन । राजाहरू आफै ऋषिवर रहन्थे भन्ने कुरा त राजऋषि विश्वामित्र र राजा जनकको दिनचर्याको बारेमा प्राचीन  ग्रन्थको अध्ययनबाट थाहा हुन्छ । मार्क्स केमा सान्दर्भिक छन् भने उचित श्रमको उचित मूल्य पाउनु पर्ने अधिकारका सम्बन्धमा उनको जति प्रशंसा गरे पनि थोरै हुन्छ । हेगेलबाट सिकेको 'थेसिस' -'एंटीथेसिस' र 'सिंथेसिस' पनि निकै वैज्ञानिक देखिन्छ । द्वन्दवादको व्याख्याले   संसार  आधुनिक युगमा प्रवेश गरेको मान्नु पर्छ । द्वंद्वात्मक भौतिकवाद त्यसैले केही हदसम्म  विचारणीय देखिन्छ। मार्क्सलाई हिन्दु परम्परा , धर्म र दर्शनका बारे अलिकति पनि जानकारी थिएन ।

 उनलाई पोपहरूको निर्मम अत्याचार मात्र थाहा थियो । पूर्वीय इतिहासमा पाइने दार्शनिक राजाहरुकाबारे थाहा थिएन । अथवा राजगद्दी त्यागेर जीवन सत्यको खोजमा भौतारीने राजकुमार सिद्धार्थका बारे अलिकति पनि जानकारी थिएन । लन्डनको पुस्तकालयमा भोक भोकै उनले पुँजी  नामक ग्रन्थ लेखे र सर्वहाराको अधिनायकवाद जस्तो विवादास्पद परिकल्पना (यूटोपिया ) पनि संसारलाई दिए । यस्तो निरर्थक र सर्वसत्तावादी  सोच त चाउचेस्कु, पोलपोट, स्टालिन , आदिबाट नै हार खाई सक्यो । प्रत्येक  राज्यको आ आफ्नो नैतिक एवं धार्मिक दायित्व  हुन्छ ।माने ईश्वर नमाने ढुङ्गा भन्ने उखान त हाम्रै समाजमा प्रचलित  छ । तीर्थस्थलतिर पुग्दा मनमा  स्वतः उत्पन्न हुने मुक्तिको अनुभूतिका बारे जति लेखे पनि कम नै हुन्छ ।

जीवन र जगतकाबारे के हामीलाई मात्रै थाहा छ ? के हामी यस विश्वका विवादास्पद अन्तिम निर्णायक हौँ ? इलेक्ट्रोन, न्युट्रोन  र प्रोटोन नै सबै  चीज हो र त्यस पछाडि गएर आत्माको खोजी गर्नु व्यर्थ  छ भनेर ठोकुवा गर्ने हामी को हौँ ? विज्ञान साधन मात्र हो र पाँच हजार वर्ष पहिलेको आवाजलाई  त पुनर्जीवित  गरेर फेरि सुन्न सकिन्छ भन्न थालेको विज्ञानले कुनै दिन ज्ञानसँग समास गरेर 'समास भगवान्'को संश्लेषण निकाल्यो भने पनि  आश्चर्य मान्नु पर्दैन । महाभारतको युद्धमा बोलिएका आवाजहरू र युद्धको गर्जनलाई फेरी सुन्न सकिन्छ भन्न थालेको छ विज्ञानले पनि । हरेक जाति, मुलुकले आ आफ्नो पहिचान खोज्ने यो बेला हामीले अरूसँग टाँस्सिन जानु पर्ला जस्तो लाग्दैन ।

विश्वको एक मात्र हिन्दु राष्ट्रका रूपमा रहँदा नै देशको पहिचान विश्वमा  प्रस्ट हुन जान्छ । हिन्दु राष्ट्र हटाएर धर्म निरपेक्ष राष्ट्र भन्नासाथ चतुर्दिक  विकास भइहाल्ने पनि होइन । कार्ल मार्क्स  राजनैतिक सिद्धान्तकार र लेखक    जोन हॉब्ससंग   अत्यधिक प्रभावित थिए जस्तो लाग्छ । हॉब्सको चर्चित पुस्तक 'प्रिन्स'मा उनले धार्मिक गुरुहरूले होइन शक्तिशाली शासकले राज्य  गर्नु पर्छ भनेर प्रस्ट र निर्भीकतापूर्वक लेखेका छन् । सर्वहाराको अधिनायकत्व इतिहासमा असफल साबित भैसकेको छ । मार्क्सवादले मानव जातिको इतिहासमा श्रमको उचित र सम्मानित मूल्य पाउनु पर्ने कुरा उठाएकोले उनको भनाई प्रशंसनीय छ । योग्यताअनुसारको काम र आवश्यकता अनुसारको ज्याला आजको एक मात्र समाधान हो । अपठित र अयोग्यलाई संवैधानिक पदहरूमा नियुक्ति  दिइँदा उनीहरू सरकार प्रमुखको कठपुतली मात्र हुने कुरा प्रष्ट छ ।

बाल  कृष्ण समले भनेका छन् - 'ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ' । 'आखिर श्री कृष्ण रहेछ एक' भनेर मृत्यु शैय्यामा लेख्ने  महाकवि  लक्ष्मी प्रसाद देवकोटा के मूर्ख थिए ? अज्ञानी थिए उनी बाचुन्जेल ? हाम्रो स्थूल ज्ञानेन्द्रियले समात्न नसकेको सम्पूर्ण विषयको अस्तित्वलाई  हामीले अस्वीकारै गर्नु पर्ने ? ज्ञानमित्रको कल्पनामा ईश्वर एउटा खातापाता राख्ने हाकिम अथवा  बहिदार जस्तो देखा पर्छ  । के ईश्वरको सर्वव्यापकता  खाली 'यूटोपिया' मात्र हो ! सर्वहाराको अधिनायकवाद जस्तै ? के यो एउटा असफल प्रयोग मात्र हो ? हिन्दु  धर्मशास्त्रका ज्ञाताहरू भन्ने गर्छन् – ईश्वर न त तिम्रो हाकिम हो न त तिम्रो सेवक । उसलाई तिमी आफ्नो शुभेच्छुक मित्रका रूपमा हेर र व्यवहार  गर । एक्लोपन, निराशा  र अवसानमा एउटा असल सहयोगी  मित्रको चाहना हुन्छ र ईश्वरलाई त्यहीरुपमा लिन उपयुक्त  हुन्छ भन्ने भनाइमा पनि दम छ । भाग्यवादीहरू  काममा भन्दा भाग्यमा बढी विश्वास गर्ने भएकाले पनि ईश्वरका बारे अनेक कुतर्कहरू बाजारमा छरिन्छन् ।

कृष्णले गीतामा स्पष्ट भनेका छन् , फलको आशा  नराखी कर्म गर्नु । जसलाई पछ्याउनु निकै सकसपूर्ण हुन्छ ।  तर यसलाई जीवनमा प्रयोग गर्दा  सुखको प्राप्ति हुन जान्छ ।  ज्ञानमित्र भाईले के सम्झनु पर्‍यो भने, आध्यात्मिक हुनु अज्ञान होइन । बरु विज्ञानको क्षणिक कार्य व्यापारलाई साध्य  मान्नु अज्ञान हो । योग, ध्यान र प्राणायाममा  जीवनको सार देख्ने हिन्दु धर्म  मलाई त विज्ञान सम्मत  लाग्दछ । र, त्यसैलाई पछ्याउनु सबल र स्वस्थ जीवनको उचित मार्ग हो । अर्को शब्दमा भन्नुपर्दा आजको जगतमा ईश्वरको कल्पना एउटा सुन्दर स्वैरकल्पना पनि हो । आस्था, आधार र विश्वासहीन  भएर बाँच्नु भन्दा स्वैरकल्पना नै भए पनि त्यसैमा अल्झिनु बेस  होइन र ?

कोरोनालाई त अहिले हामीले देखेका छैनौँ । त्यसको अर्थ त्यसको अस्तित्व नै छैन भन्नु ज्ञान होइन , अज्ञान हो।  यो कुरालाई हेक्का राखेर लेख्न, बोल्न नव  सन्न्यासी ज्ञानमित्रलाई सुझाव दिन चाहाँछु ।

ज्ञानमित्र भाइको जानकारीका लागि एउटा सानो प्रसङ्ग कोट्याउँछु ।

स्टालिन  राष्ट्रपति भएका बेला रुसका लागि भारतका राजदूतमा  सर्वपल्ली  राधाकृष्णलाई पठाइएको थियो । सत्ताका उन्मादले चुर स्टालिनले राधाकृष्णलाई सोधेका थिए - तिम्रो भगवानको  परिभाषा के हो ? अविचलित रहँदै सर्वपल्लीले जबाफ दिएका थिए - सत्य, शिवम्, सुंदरम । यी तीन कुराको मिश्रण नै भगवान् हो ।

प्रसिद्ध आध्यात्मिक गुरु  श्री रविशंकर ‘बाँच्ने कला' (आर्ट ऑफ लिविंग ) मा  भन्छन् – ईश्वरका बारे  पनि वैज्ञानिक दृष्टिकोण राखेर नै सोच्नु पर्दछ । अज्ञान भनेको न  अध्यात्म हो, न विज्ञान । प्रत्येक व्यक्ति ज्ञान र जानकारीको कुनै न कुनै सिँढीमा अल्झिरहेको हुन्छ र उसको ज्ञान र जानकारीको सीमा हुन्छ  । आफूले नबुझेका  र नजानेका  कुरा पनि  संसारमा छन्  र कुनै कुनै विषय अज्ञेय, अभेद्य र कल्पनात्मक पनि हुन्छन्  । अध्यात्मलाई केवल विश्वासको आधारमा मात्र मान्नु पर्छ  भन्ने कुनै तर्क होइन । अध्यात्म  व्याख्यायीत हुँदैन , न ईश्वर  नै व्याख्यायीत हुन्छ ।


लेखक वरिष्ठ कवि तथा साहित्यकार हुनुहुन्छ ।