अनलाइन कक्षामाथि सरकारको मुक्का प्रहार : प्रविधिको खोइरो उतार्न प्रविधिकै साहारा !
बैशाख २९, २०७७

हाम्रो सौर्य मण्डलमा सूर्यले पृथ्वीलाई घुम्छ भनी ई पू ३ शताब्दी अघि ग्रिक दार्शनिक एरिस्टोटलले पढाएको कुरालाई सोह्रौँ शताब्दीको मध्यतिर निकोलास कपर्निकसले गलत हो भन्दा उनलाई क्याथोलिक विद्धानहरूले नराम्ररी बहिष्कार गरे । सत्रौँ शताब्दीको पूर्वार्धतिर इटालियन खगोलविद् ग्यालिलियो ग्यालिलिले पहिलो पटक पृथ्वी गोलो छ भन्दा उनलाई जन्म कैदको सजाय तोकिएको थियो । ब्रह्माण्डको अन्तिम सत्य र परिवर्तित ज्ञानलाई स्विकार्न नसक्नु वा परिवर्तन हुन नचाहने मानसिकताको उपज थियो त्यो घटना । कोरोना भाइरसको आक्रमणको डरले आतङ्कित शैक्षिक जगत् आज फेरि पृथ्वी चेप्टो छ भन्ने प्रवृत्तिको सिकार बन्नु परेको अनुभव भइरहेको छ । लकडाउन अवधिमा नेपाली शैक्षिक डबलीमा पनि यस्तै नाटकका परिदृश्यहरू देखिए । त्यसका केही अंश यहाँ उतार्ने जमर्को गरेको छु । 

पहिलो दृश्य

बिस्तारै पर्दा खुल्छ । कथा कोरोना अर्थात् कोभिड–१९ को हो । चीनको वुहान सहरमा सन २०१९ को डिसेम्बरको अन्तिम हप्तामा सुरु भएको भए तापनि २०७६ साल फागुनको तेस्रो सातासम्म आइपुग्दा नेपाली डबलीमा पनि यस कथाले प्रवेश पाइसकेको हुन्छ । नेपथ्यबाट लगातार आवाज गुन्जिरहेको हुन्छ, ‘सावधान....! कसैले देख्न नसक्ने, नजिकै आउँदा पनि चिन्न नसक्ने, मान्छेलाई मात्र खान मन पराउने कोरोना महाशयले नेपालमा पाइला टेकेको छ । ज्यानको माया हुनेले यो गर्नु त्यो नगर्नु........ । सिमाना बन्द गर्नु । यातायात, कल–कारखाना, बजार, विद्यालय सबै बन्द गर्नु । मान्छेको हुलमुलमा नजानु आदि इत्यादि ।’

क्यामेरा नेपाल सरकार तिर तेर्सिन्छ । हठात् शिक्षा मन्त्रालयको आदेश जारी भएको कुरा देखिन्छ, ‘चैत्र ५ गते भित्रमा १ देखि ९ सम्मका सबै परीक्षाहरू सम्पन्न गर्नु ।’

‘जो आज्ञा सरकार !’ शैक्षिक पात्रहरूले झुकेर आज्ञाको शिरोपर गर्छन् ।  उनीहरूको दौडधुप सुरु हुन्छ । विद्यार्थीहरूको ज्यानको अगाडि आफ्नो सहजता गौंड हुन्छ भन्ने मत सबैको हुन्छ । शनिवार र अरू सार्वजनिक बिदाहरूमा काम गर्छन् । दैनिक दुई गुणा काम गरेर भए पनि सबैले सरकारको आज्ञाको पालना गर्दछन् ।

‘सावधान ......!  चैत्र ११ गतेदेखि कोही पनि घरबाट बाहिर नआउनु । बिना काम घर बाहिर हिँड्नेलाई कोरोनाले भेट्ने छ । कोरोनाले नभेटे पनि पुलिसको भाटाले चुट्ने छ ...... । यसलाई नेपाली भाषामा बन्दाबन्दी र अङ्ग्रेजी भासमा लकडाउन भन्छन् । यो कुरा राम्ररी बुझ्नु ।’ चैत्रको पहिलो हप्ता सरकार महाशयको अर्को उर्दी जारी हुन्छ ।

जुन प्रविधिको तपाई विरोध गर्दै हुनुहुन्छ, त्यही प्रविधिको प्रयोग किन गर्दै हुनुहुन्छ ? त्यसैले समय र प्रविधिसँगै हिँड्न नचाहनेलाई मेरो प्रश्न– ‘प्रविधिको खोइरो उतार्न तपाई किन प्रविधिकै सहारा लिँदै हुनुहुन्छ हजुर ?’ गंगटे प्रवृत्ति अब त्यगौं । देश भित्रै एक भाइले अर्को भाइको खुट्टा तान्नमा व्यस्त छौँ हामी । त्यसकै फाइदा उठाएर दक्षिणको छिमेकीले देशको लाम्टा लुछेको कुरा प्रविधिमार्फतै थाहा पाएका छौँ ।

‘जो आज्ञा सरकार ! सरकारको जय होस् । सरकारको जय होस् !!’ जनताको ज्यानको प्रवाह गर्ने सरकारको जयजयकार हुन्छ । छिट्फुट् बाहेक सरकारको आज्ञाको पूर्ण रूपमा पालना हुन्छ । यसरी हौसिएको सरकार हप्तैपिच्छे नयाँ नयाँ उर्दी जारी गर्नमा व्यस्त हुन्छ । समयमै काम सम्पन्न गरेकोमा धन्यवाद पाउने आशा गरिरहेका शैक्षिक पात्रहरूमध्ये कोहीलाई सरकारले लोप्पा खुवाउँछ । उल्टो सरकारले यस्तो घोषणा जारी गर्छ, ‘खबरदार ! तिमीहरूले काम सम्पन्नताको प्रमाणपत्र माग्न पाउने छैनाैं । किनकि तिमीहरूले काम गरेकै छैनौ । उठाएको रकम फिर्ता गर्नु ।’ 

दोस्रो दृश्य

भनिन्छ, जो भित्रबाट खोक्रो हुन्छ, उसले आफूलाई बलवान देखाउन निर्धालाई थर्काउँछ । खोक्रो भाँडो बजाउँदा ठुलो आवाज निक्लन्छ, त्यसैले त साँढे लखेट्न गाउँघरमा मान्छेहरू टिनको ढ्वाङ ठटाउँछन् । सरकारको यही मनोदशा देखिन्छ । आफूले राम्रो काम गर्न नसके पछि के गरोस् । अरूलाई दोष लगायो, बस्यो । त्यसै बेला उनीहरूको घर झगडाले उग्र रूप लिएको कुरा बाहिर आउँछ । डिभोर्स गर्ने मानसिकता समेत रहेको उनीहरूको गतिविधिले देखाउँछ ।

यता मिस्टर बन्दाबन्दै खुल्ने कुरै गर्दैन । तर घरबन्दीले दिक्क मानिसकेका शैक्षिक डबलीका पात्रहरूमा एक किसिमको हलचल पैदा भइसकेको हुन्छ । एकै पटक विभिन्न प्रकारका आवाज र साउतीहरू सुनिन्छ।

‘केटाकेटीहरूले घरमा वाक्क लगाइसके । पढ, लेख भन्यो । किताब छुनै मान्दैनन् । सर ! हाम्रो स्कुल कहिलेदेखि खुल्छ ? अनलाइन कक्षा भए पनि सञ्चालन गर्नुपर्‍यो ।’ अभिभावकीय पात्रहरूको माग । 

‘सर ! घर बस्दा बस्दा वाक्क लागिसक्यो । हाम्रो स्कुलमा अनलाइन कक्षा कहिलेदेखि हुन्छ?’ ठुला विद्यार्थी पात्रहरूको प्रश्न । ‘हे भगवान् ! स्कुल चाँडै खुलाई देऊ । ममरुभन्दा म्यामहरु धेरै असल छन् ।’ स–साना बाल कलाकारहरूको मनको कुरा,  किनकि बाल कलाकारहरूले खासै खुलेर आफ्नो कुरा राख्न पाउँदैनन् त्यो डबलीमा ।

‘स्कुल कहिले खुल्छ भन्ने प्रश्नै नगर्नु । यो चाँडो खुल्दैन । लकडाउन खुले पनि खुल्दैन । विकल्पमा जानुपर्छ ।’ शिक्षा मन्त्री महोदयको कुरा । ‘विकल्प भनेको प्रविधियुक्त शिक्षा हो । अनलाइन कक्षा, भर्चुअल कक्षा र दूर शिक्षा हो । ल्यापटप, कम्प्युटर, मोबाइल, टिभी, रेडियो, जो जसको पहुँच छ त्यही माध्यमबाट सिकाउनुपर्छ ।’ मन्त्री महोदयको भनाई र आशय ।

‘के अनलाइन कक्षामा सबै वद्यार्थीहरुको पहुँच पुग्छ त ? यसले धनी र गरिब बिचको खाडललाई बढाउँदैन?’ पत्रकार पात्रहरुकोे बाउँठिएको प्रश्न ।

‘करिब ७० देखि ८० प्रतिशत नेपालीमा मोबाइल फोनको पहुँच छ । बाँकी ३० प्रतिशतलाई दूर शिक्षाको माध्यमबाट पनि सिकाउन सकिन्छ ।’ विज्ञहरूको विश्लेषण । 

‘लकडाउन लम्बिएको लम्बिएकै छ । विद्यार्थीहरूलाई सिक्नबाट वञ्चित नगरौँ । कक्षा सञ्चालनका हर सम्भव प्रयास गरौँ । अनलाइन कक्षा, दूर शिक्षा वा भर्चुअल कक्षा सञ्चालनका हरेक विकल्पहरूलाई अङ्गीकार गर्दै अघि बढौँ ।’ सचेत शिक्षा सेवी तथा शिक्षाविद्हरूको सल्लाह ।

‘म समय हुँ .....। मेरो कुरा ध्यान दिएर सुन्नु .....। लकडाउन खुले पनि स्कुल खुलिहाल्ने स्थिति बन्दैन । यस्तो अवस्था फेरि फेरि पनि आइरहन सक्छ । विद्यार्थीहरूको शैक्षिक भविष्यलाई सुनिश्चित गर्न अबको बाटो के त? समस्या समाधानका निम्ति तत्काल गर्नुपर्ने काम के के हुन् ? र भविष्यको लागि तयारीका बाटाहरू केके हुन्’ समयको प्रश्न ।

‘कोरोनाको छालले हामीलाई बगाइसक्यो । आत्तिएर छालमा डुबेर मर्ने हो कि पौडी खेल्ने हिम्मत गर्ने ? परिस्थितिले झापड हान्यो भनेर रोइबस्नु हुन्न । जसले जे जसरी सक्छ त्यसरी काम थाल्नुपर्छ । विद्यार्थीलाई सिकाउने हरेक माध्यमहरूलाई परिचालित गर्नुपर्छ । हाललाई अनलाइन कक्षा एउटा प्रमुख विकल्प हो । त्यसको तयारी थाल्नुपर्छ । सुरुमा सबै यसमा अटाउन नसक्ला तर समय चक्रले सबैको पहुँचमा पुग्न बाध्य पार्छ ।’ शिक्षासेवीहरुको निष्कर्ष ।

परिदृश्यमा शिक्षा सेवी र शिक्षकहरूको सक्रियता फेरि बढेको देखिन्छ । ‘कर्म गर्नु फलको आस नगर्नु’ भन्ने गीता मन्त्रको मर्म बुझेकाहरू आपतकालिन परिस्थितिमा मैले के पाउँछु भन्ने तिर नलागीकन मैले के गर्न सक्छु भन्ने भावनाले प्रेरित भई स्वयंसेवी भावले काम गर्न थालेका देखिन्छ ।

तेश्रोे दृश्य

लकडाउनले गर्दा अप्ठेरो परेका तथा कोरोना महामारीबाट देशलाई बचाउन प्याब्सनको तर्फबाट सरकारको केन्द्रीय राहत कोषमा करिब दुई करोड पचास लाख रुपैयाँ जम्मा गर्ने अभियान । जिल्ला र स्थानीय तह प्यब्सनको तर्फबाट स्थानीय राहत कोषमा त्यति नै बराबरको रकम हस्तान्तरण भएका दृश्यहरू शैक्षिक डबलीमा देखिन्छ । बन्दाबन्दीको समयमा बालबालिकाहरूले घरमै बसी मोबाइलमा खेली खेली अध्ययन गर्न पाउने सुविधा प्याब्सन र मिडास कम्पनी, प्याब्सन र कारखाना कम्पनीको सहकार्य भएको दृश्यले पनि प्रमुख स्थान लिएको देखिन्छ ।

जिल्ला तथा स्थानीय तह प्याब्सनको सक्रियतामा शिक्षकहरूलाई प्रविधि मैत्री शिक्षण कलाको तालिमहरू सञ्चालन भएका दृश्य पनि कोरोना कथामा जमेको देखिन्छ । 

‘वैशाख १८ गते भित्रमा अनलाइन प्रविधि अपनाएर वार्षिक परीक्षाको परीक्षाफल प्रकाशन गर्ने, २२ देखि अनलाइन कक्षाहरू सञ्चालन गर्ने ।’ सदस्य विद्यालयहरूलाई प्याब्सनको स्पष्ट निर्देशन ।

‘अनलाइन कक्षामा सहभागी बन्नका लागि अत्यन्त सस्तो दरमा मोबाइल डाटाको बिक्री ।’ नेपाल टेलिकमको अफर ।

कोरोना भाइरस अर्थात् कोभिड–१९ को महामारीबाट बच्न सरकारले पटक पटक गरी जारी गरेको ३५ दिने म्याद नाघिसकेपछि ती दिनमा उठेका प्रमुख शैक्षिक सवाल र त्यसको समाधानका उपायहरू अवलम्बन गर्ने बाटोमा विद्यालयहरू लागेको दृश्य देख्दा कोरोनाको कथाले साँच्चीकै मागेको हो भन्ने देखिन्छ ।

चौंथोे दृश्य

हरेक कथामा हिरो पात्र मात्र हुँदैनन् । भिलेन पात्रबिना कथाले कथानकता प्रदान गर्दैन । कोरोना कथाको परिदृश्यमा पनि बेला बेलामा भिलेन पात्रको उपस्थिति देखिन्छ । चैत्र ६ गते देखि विद्यार्थीहरूलाई बिदा दिइए पनि कापी परीक्षण, रिजल्ट तयारी, नयाँ शैक्षिक सत्रका निम्ति वार्षिक पाठ योजना तयारीका लागि दत्तचित्त भएर लागेका स्कुल पविार माथि सरकारको बज्र मुक्का प्रहार भएको दृश्यको बारेमा माथि नै उल्लेख गरिसकिएको छ । 

‘निजी विद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गरेर समाजमा विकृति निम्त्याउन थाले । त्यसैले त्यो कार्य तुरुन्त बन्द गरिदिनुपर्‍यो ।’ पोखरा महानगरपालिकाका अमुक पश्चगामीहरूको माग ।

‘अनलाइन कक्षा सञ्चालन गर्दा समाजमा थप विकृति निम्त्याउनुका साथै अनलाइन कक्षाको पहुँचमा नरहेका विद्यार्थी र अभिभावकहरूलाई मानसिक दबाब समेत पर्ने गरेकोले हाल विद्यालयहरूले सञ्चालन गरेको अनलाइन कक्षा तुरुन्त बन्द गर्नु ।’ पोखरा महानगरपालिका सरकारको आदेश ।

कम्प्युटर, ल्यापटप, मोबाइल, टिभी आदि सामाग्रीहरूलाई केबल सिरियल हेर्न, अनलाइन गेम खेल्न, फेसबुक वा टिकटक भिडियो हेर्नका लागि मात्र सीमित राख्नेहरूले अनलाइन प्रविधिको विरोध गर्न प्रविधिकै सहारा लिएको दृश्यहरू हेर्दा कत्तिको हास्यास्पद देखिन्न । कोरोना कथामा कमेडिको रोल पनि समावेश भएको प्रमाण हो त्यो । माल पाएर चाल नपाउनु भन्ने नेपाली उखानलाई यस्ता दृश्यले चरितार्थ गर्दछ ।

‘निजी विद्यालयहरूले धमाधम अनलाइन कक्षा सञ्चालन गर्न थाले अब बित्यास पार्ने भो । यिनलाई जसरी पनि रोक्नुपर्छ ।’ पर्दा पछाडिका भिलेनहरुको चलखेल । देवता र दानवहरूको लडाइँमा मरिसकेका दानवहरूलाई ब्युँताएसरि स्वघोषित शुक्राचार्यहरूको चलखेल । 

'अनलाइन भर्ना प्रक्रिया अगाडि नबढाउनु र अनलाइन कक्षाका नाममा शुल्क नउठाउनु ।' सरकार बहादुरको एकतर्फी आदेश । बहादुर किन भनियो तपाइलाई बुझाइराख्नु नपर्ला । तै पनि अलिकति भनिहालौँ । जसको त कान छैन, उसको नाम कर्णकान्त । जसको त आँखा छैन, उसको नाम नेत्रलाल । अनि जसको त ........ छैन उसको नाम बहादुर नभएर के हुन्छ । प्रसङ्ग अन्ततिर नमोडूँ भन्दा पनि धरै पाइएन । लिपुलेक, लिम्पियाधुरा ...... । कुरा बुझ्न भो नि ! अपने मकानमे .... भि शेर होता हे । 

कथा विशेषज्ञहरूका अनुसार सरकार बहादुरको एकतर्फी आदेशको अर्थ काम त मरुन्जेल गर तर भोकै मर भन्ने लाग्छ । कुनै पनि शस्त्र अस्त्रले परास्त पार्न नसकेको निजी बिद्यालयहरुलाई कोरोना कथामा लकडाउनको अस्त्रले सजिलै हत्या गर्न सकिन्छ भन्ने ग्राण्ड डिजाइन । 

पाचौं दृश्य क्लाइमेक्स

सूत्रधारको प्रवेश मानव पुर्खा चार खुट्टाले टेक्थे । पुच्छर लतार्थे । समयले दुहिखुट्टे बनायो । पुच्छर बिलायो । जङ्गलमा जिरा फले रुखको तल्लो भागमा स्याउला भेट्न छाडेपछि घोक्रो तन्काउँदै गयो र अहिलेको जिराफका आकार लियो । जब पानी पर्न थाल्छ, चराचुरुङ्गी आत्तिएर भागाभाग गर्न थाल्छन् । तर चिल मात्र यस्तो चरा हो जो प्वाँख फिँजाएर मस्तले आकाशमा उडिरहन्छ । किनकि जब पानी पर्न थाल्छ, तब उ बादलमाथि पुगेर उड्छ ।

समस्याले नै समाधान पहिल्याउँछ । अलेक्जेण्डर ग्राहम बेललाई कान राम्ररी नसुन्ने आफ्नी आमा र पत्नीसँग कुरा गर्न अप्ठेरो नपरेको भए ? कान नसुन्नुलाई समस्या मात्रै मानेर समाधान नखोजेको भए टेलिफोनको आविष्कार नै हुने थिएन । लकडाउनको न्यास्रो मेट्न होस् या अनलाइन तालिम, सेमिनार र बैठक होस्, आजभोलि तपाई हामीले प्रयोग गर्ने जूम एपका निर्माता एरिक युआनलाई विद्यार्थी जीवनमा आफ्नी प्रेमिकालाई भेट्न दश घण्टाको लामो ट्रेन यात्रा गर्नु पर्ने अवस्था सिर्जना नभएको भए शायदै तपाई हामीले अहिले यति सहज र सरल एपको प्रयोग गर्न पाएका हुन्थ्यौँ । 

हो, म पनि सहमत छु । अनलाइन कक्षा स्थायी समाधान होइन, तर केही नगरी ओथारो बसिरहनु पनि पाप हो । अनलाइन कक्षामा समस्या देख्नेले समाधान दिन सक्नुपर्छ नत्र त्यसको विरोध मात्र गर्नुका कुनै तुक हुन्न । बाँदरले आफ्नो घर त बनाउँदैनन् नै, अरूको घर पनि भत्काउँछ । अनलाइन कक्षाकै कारण इमेल बनाउन नजान्ने अभिभावकले इमेल चलाउने भएका छन् । प्रविधि भन्यो कि धारे हात लगाउने शिक्षकले प्रविधिमा रमाउन थालेका छन् । प्रविधिलाई बेवास्ता गरी बसेका विद्यालयहरूले त्यसको आवश्यकता र महत्त्वका बारेमा राम्ररी बुझ्न पाएका छन् । विद्यार्थीका त कुरै छोडौँ, उनीहरू त डिजिटल पुस्ता हुन्, खुसी नहुने कुरै भएन ।     

भाषणका कुरा अग्रगामीकाे तर व्यवहारमा पश्चगामी, अलि सुहाएन । कुरा चितुवा दौडको गर्ने । काम कछुवा गतिको गर्ने । कुरा चिलको गर्ने काम लाटोकोसेरोको गर्ने । यसले हामीलाई कहाँ पुर्‍याउँछ ? जुन प्रविधिको तपाई विरोध गर्दै हुनुहुन्छ, त्यही प्रविधिको प्रयोग किन गर्दै हुनुहुन्छ ? त्यसैले समय र प्रविधिसँगै हिँड्न नचाहनेलाई मेरो प्रश्न– ‘प्रविधिको खोइरो उतार्न तपाई किन प्रविधिकै सहारा लिँदै हुनुहुन्छ हजुर ?’ गंगटे प्रवृत्ति अब त्यगौं । देश भित्रै एक भाइले अर्को भाइको खुट्टा तान्नमा व्यस्त छौँ हामी । त्यसकै फाइदा उठाएर दक्षिणको छिमेकीले देशको लाम्टा लुछेको कुरा प्रविधिमार्फतै थाहा पाएका छौँ । देशकै सबैभन्दा सुरक्षित ठानिएको ठाउँमा उत्तरी छिमेकीको ताण्डव नृत्य पनि तपाईहामीले प्रविधिको प्रयोग गरेरै हेरिरहेका छौँ होइन र ? 
 


महर्जन भक्तपुरको बालकोटस्थित माउण्ट भ्यू ई. बो. स्कुलका संस्थापक प्रिन्सिपल, प्याब्सनका प्राज्ञिक सल्लाहकार र क्वेष्ट नेपालका अध्यक्ष हुनुहुन्छ ।