अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता सुरु

अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता सुरु

लोकसंवाद संवाददाता  |  खेलकुद  |  फाल्गुन २५, २०७५

स्याङ्जा । वालिङमा अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता सुरु भएको छ । 

वन्डरफूल वालिङ पर्यटन विकास संस्थाको आयोजना र वालिङ नगरपालिकाको सहयोगमा प्रतियोगिताको आयोजना गरिएको हो ।

जिल्लालाई नै साहसिक पर्यटकीय गन्तव्यका रूपमा विश्वभरि परिचित गराउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष दिनकर नेपालले जानकारी गराउनुभयो । आज बिहान वालिङ–९ सुर्काउदीमा नगरप्रमुख दिलीपप्रताप खाँणले प्रतियोगिताको एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो । 

प्रतियोगितामा दुई पटकसम्म विश्व च्याम्पियन बनेका क्यानेडेली मोरी वालेससहित दुई विदेशी र २६ स्वदेशी गरी २८ खेलाडीको सहभागिता छ । संस्थाका सचिव मोहन गुरुङले क्यानाडा, भारतसहित नेपालका नेपाल आर्मी र सशस्त्रका विभागीय टिमका १८ खेलाडीले आजसम्म नाम दर्ता गराएको जानकारी दिनुभयो । 
प्रथम पुरस्कारको राशी पाँच लाख रूपैयाँ रहेको छ । प्रतिस्पर्धी खेलाडीका लागि सुर्काउदीको बगरबाट सुरु भई त्रियासी, सिङ्गारकोस, जगतभञ्ज्याङ, गह्रौसुर मन्दिर, बजाकोट, करादी, उदीयाचौर, घुरुङखाँ, डुम्रभञ्ज्याङ, स्वरेक डौवाफाँट हुँदै पुन सुर्काउदीमै आएर सकिने आयोजकले जनाएको छ । 

पुरुष विजेताले एक लाख ५० हजार र महिला विजेताले  तीन लाख रूपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । खेलालीलाई विभिन्न ठाउँमा पर्ने पर्यटकीय स्थानमा स्वागत गर्ने व्यवस्थासमेत मिलाइएको छ । खेलाडीका लागि सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गर्नुका साथै कुनै दुर्घटना भएको अवस्थामा तत्काल उपचारका साथै रेस्क्यूको लागि चार एम्बुलेन्ससमेत प्रतियोगी खेलाडी सहभागि भएको रुटमा परिचालन गरिएको छ । नगरभित्रका १४ वडालाई समेटेर तयार पारिएको १०० किलोमिटरको दूरीमा प्रतियोगीले प्रतिस्पर्धा गर्ने खबर राससमा छ ।