संक्रमितलाई बुटवल लगिने, स्वास्थ्य सामग्रीसहितको विज्ञ टोलीलाई काठमाडौँबाट कपिलवस्तु पठाउने तयारी

संक्रमितलाई बुटवल लगिने, स्वास्थ्य सामग्रीसहितको विज्ञ टोलीलाई काठमाडौँबाट कपिलवस्तु पठाउने तयारी

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  बैशाख ३०, २०७७

जीतपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ ७ बजे कोरोना संक्रमण पुष्टि गरेको कपिलवस्तुका ६ जनालाई अहिले बिहान बुटवल पठाउने तयारी भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले वताउनुभयो ।

यता कपिलवस्तुको बुद्धभूमिस्थित क्वारेण्टाइनमा बसेका दुई जनामा सोमबार साँझ संक्रमण पुष्टि भएको तर अरुबाट अलग नराखेको भन्दै क्वारेन्टाइनमा बसेकाले असन्तुष्टि ब्यक्त गरेका छन् । सोमबार साँझ संक्रमित पुष्टि भएका ६ जनामा यशोधराका चार जना छन् । उनीहरुमध्ये  वडा नं ५ र ७ मा एकएक तथा वडा नं ८ का दुई जना छन् । यस्तै दुई जना बुद्धभूमि, मानपुरका हुन् । 

उनीहरु सबै भारतको महाराष्ट्रस्थित मुम्बईवाट रेल र ट्रकमार्फत आएका हुन् । यशोधरामा फेला परेका नयाँ चार जना भारतबाट आएपछि घरमा गएर मात्र क्वारेण्टाइनमा बसेको वताइएको छ । 

यसैबीच कपिलवस्तुबाट शनिबार काठमाडौँ स्वाब परीक्षणका लागि पठाइएका २९०मध्ये २५२ जनाको  नतिजा आउँदा १६ जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

बिहान १० जनाको संक्रमण पुष्टि भएकामा साँझ पुनः ६ जना थपिएपछि १६ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि मायादेवी र शुद्धोधनका पाँच जना संक्रमितसहित कपिलवस्तुमा कुल २१ जनामा संक्रमण देखिएको हो  ।

 स्वास्थ्य मन्त्रालयबाट कपिलवस्तु जिल्लामा थप स्वास्थ्य सामग्रीसहित चिकित्सकको टोली आउने भएको छ । पूर्वमन्त्री एवं संघीय सांसद चक्रपाणि खनालको पहलमा जिल्लामा स्वास्थ्य सामग्रीसहितको विज्ञ टोली आउने भएको हो । मन्त्रालयले आवश्यक पर्ने जनशक्तिसँंगै पिसिआर किट, दु्रत परीक्षण किटलगायत स्वास्थ्य सामग्रीसहितको विज्ञ टोलीलाई आजै काठमाडौँबाट कपिलवस्तुका लागि पठाउने तयारी गरेको सांसद खनालले बताउनुभयो ।