नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण खेल स्थगित

नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण खेल स्थगित
नेपाली फुटबल टिम । तस्बिर : द-एन्फा डट कम ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  फाल्गुन २५, २०७५

काठमाडौं । नेपाल र मलेसियाको राष्ट्रिय फुटबल टोलीबीच आगामी चैत महिनाका लागि तय भएको मैत्रीपूर्ण फुटबल खेल स्थगित भएको छ । 

विश्व फुटबल महासङ्घ (फिफा)ले अनुमति नदिएपछि खेल स्थगित गर्नुपरेको मलेसिया फुटबल सङ्घबाट प्राप्त पत्रमा उल्लेख गरिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । 

एन्फाले आज विज्ञप्ति जारी गरी नेपाल र मलेसियाबीच आगामी चैत १२ गतेका लागि तय गरिएको मैत्रीपूर्ण खेल स्थगित भएको जनाएको हो । मलेसियासँगको मैत्रीपूर्ण खेल स्थगित भए पनि नेपालले कुवेतसँग आगामी चैत ७ गते मैत्रीपूर्ण खेल हुने एन्फाले जनाएको छ । यसअघि मलेसिया र कुबेतसँग नेपालले मैत्रीपूर्ण खेल खेल्ने तय भएको थियो । 

नेपालले आगामी चैत १२ मा मलेसियासँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्ने तयारी गरेको थियो । मैत्रीपूर्ण खेलका लागि एसियाली फुटबल महासङ्घ (एएफसी)ले समेत अनुमति दिएको थियो । तर, मलेसियाको यस महिना कोटाभन्दा बढी खेल हुने भएको कारण (फिफा)ले अनुमति दिन अस्वीकार गरेको मलेसियाली फुटबल सङ्घलाई उढृत गर्दै एन्फा महासचिव इन्द्रमान तुलाधरले बताउनुभएको खबर राससमा छ ।