गणेश राईको   फोकल्यान्ड युद्धसम्बन्धी संस्मरणात्मक कृति ‘गोर्खा गन्स’  प्रकाशित

गणेश राईको   फोकल्यान्ड युद्धसम्बन्धी संस्मरणात्मक कृति ‘गोर्खा गन्स’  प्रकाशित

लोकसंवाद संवाददाता  |  साहित्य  |  बैशाख ३०, २०७७

काठमाडौँ । चर्चित साहित्यकार तथा युद्ध साहित्यका एक अभियन्ता गणेश राईको फोकल्यान्ड युद्धसम्बन्धी संस्मरणात्मक कृति ‘गोर्खा गन्स’ बेलायतबाट प्रकाशित भएको छ । अवकाशप्राप्त ब्रिटिस–गोर्खा सैनिक राईको उक्त कृति बेलायतको प्रतिष्ठित प्रकाशन गृह द कनराड प्रेसबाट हालै प्रकाशित भएको हो ।

‘राइफलले फलाकेको जिन्दगी’ कविता सङ्ग्रहका साथै ‘राइफलको नालबाट जीवन नियाल्दा,’ ‘युद्ध एम्बुसमा राइफलको सङ्गीत’, ‘राइफलको मूच्र्छना’ र ‘फोकल्यान्ड जर्नल’जस्ता व्याख्यात्मक कृतिका स्रष्टा राईको ‘गोर्खा गन्स’ उनको ‘फोकल्यान्ड जर्नल’को अङ्ग्रेजी अनुवाद हो । कवि, समालोचक तथा अनुवादक सुरेश हाचेकालीद्वारा अनूदित ‘गोर्खा गन्स’मा फोकल्यान्ड युद्धको यथार्थ चित्रण गरिएको छ । उक्त कृतिबाट गोर्खालीहरूको सौर्य, बहादुरी, त्याग र बलिदानको सत्य तथ्य इतिहासको पुनर्लेखन गर्नमा महत्त्वपूर्ण मद्दत पुग्ने देखिन्छ । यसका साथै फोकल्यान्ड युद्धका बेला गोर्खाली सैनिकहरूमाथि थोपरिएका अनेक खाले भ्रामक अफवाहहरूको निर्मलीकरण गर्नमा समेत उक्त कृति सफल रहेको छ ।

फोकल्यान्ड युद्धका बारेमा अङ्ग्रेजी लेखकका अनेकौँ पुस्तकहरू प्रकाशित भएका छन् तर स्वयं फोकल्यान्ड युद्ध लडेका गोर्खा सैनिक राईद्वारा लेखिएको उक्त कृतिले  फोकल्यान्ड युद्ध र सो युद्धमा गोर्खालीहरूले निर्वाह गरेका भूमिकाका बारेमा ओझेलमा पारिएका सत्यहरूको उत्खनन गरेको छ । प्रसिद्ध बेलायती अभिनेत्री जोअना लुम्लेले उक्त कृतिलाई ‘एउटा युवा गोर्खा सैनिकको मस्तिष्कमा फोकल्यान्ड युद्धका समयमा चित्रित अमूल्य झलक र सैनिकहरूको साधारण तर हृदय विदारक कथा’ भनेकी छिन् ।

एक सय ७६ पृष्ठको उक्त कृति बेलायतका सबै पुस्तक पसलका साथै वाटरस्टोन्स, बुक डिपोजिटरी र अमाजन आदिमा उपलब्ध छ ।