रक्तदानमा कमी आएकाले प्युठानमा रगत अभाव

रक्तदानमा कमी आएकाले प्युठानमा रगत अभाव

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  बैशाख ३१, २०७७

प्युठान । प्युठानमा रगत अभाव भएको छ । लकडाउनका समयमा विभिन्न संघसंस्थाले गर्दै आएको रक्तदानमा कमी आएकाले नेपाल रेडक्रस सोसाइटीद्वारा बिजुवारमा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रमा रगतको अभाव भएको हो । लकडाउनका समयमा कम रगत खपत भए पनि रक्तदान गर्ने कम भएपछि अभाव भएको केन्द्रले जनाएको छ ।

यसअघि मासिक रुपमा ३० देखि ४० युनिटसम्म रगत खपत हुँदै आएकामा अहिले लकडाउनका समयमा मासिक १५ देखि २० युनिट  मात्र रगत खपत हुने गरेको भए पनि अभाव भएको  केन्द्रका इञ्चार्ज सन्तोष अधिकारीले बताउनुभयो । सोसाइटीले  रक्तदान गर्न र रक्तदानको शिविर बढाउन विभिन्न संघसस्था तथा व्यक्तिलाई आह्वान गर्दै  आएको छ ।

अहिले विपद्का समयमा रक्ताभाव हुन नदिन स्वयंसेवी रक्तदाता समाज र लायन्स क्लब अफ प्युठानले केन्द्रको समन्वयमा रगत संकलन गर्दै आएका छन् । लकडाउन अवधिभर विभिन्न क्षेत्रका ४८ व्यक्तिले रक्तदान गरेको रक्तसञ्चार सेवा केन्द्रका इञ्चार्ज अधिकारीले बताउनुभयो ।