उत्तरगंगा विद्युत् आयोजना सञ्चालन हुने

उत्तरगंगा विद्युत् आयोजना सञ्चालन हुने

लोकसंवाद संवाददाता  |  कारोबार  |  बैशाख ३१, २०७७

रुकुमपूर्व । पुथाउत्तरगंगा गाउँपालिकाले एक मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । गाउँपालिकाको वडा नं ११ तल्लो सेरामा एक मेगावाट क्षमताको उत्तरगंगा विद्युत् आयोजना निर्माण गर्न लागिएको हो । आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र बोलपत्र आह्वान गरिसकिएको  जनाइएको छ । जिल्लामा निर्माण भएका अन्य साना जलविद्युत् आयोजना धेरै छन् ।

जिल्लामा निर्माण हुँदै गरेको पाँच मेगावाटपछिको यो दोस्रो ठूलो क्षमताको आयोजना रहेको  गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले बताउनुभयो । कुल रु५२ करोड लगानीमा उक्त आयोजना निर्माण हुने जनाइएको छ । उपाध्यक्ष शाहीका अनुसार २८ करोड रुपैयाँ एडिबीको सहयोग तथा कृषि विकास बैंक र  गाउँपालिकाको रु पाँचपाँचकरोडको लगानी हुने छ । बाँकी  १४ करोड रुपैयाँ गाउँपालिकावासीले सेयरमार्फत लगानी गर्ने छन् ।

जम्मा १७ हजार ९३४ जनसंख्या रहेको गाउँपालिकामा पाँच हजार आठ घरधुरी छ । उत्तरगंगा हाइड्रोपावर निर्माणको काम अगाडि बढाउनका लागि गत माघ पहिलो साता बोलपत्र आह्वान गरिएको थियो । चैतदेखि काम शुरु गर्ने भनिए पनि कोरोना महामारीको कारण आयोजनाको काम अगाडि बढ्न नसकेको उपाध्यक्ष शाहीले बताउनुभयो ।  
 सम्झौता भएको १८ महिनाभित्र काम सम्पन्न गरिसक्नुपर्ने छ । एक मेगावाट क्षमताको विद्युत् आयोजनाले गाउँपालिका नै झिलीमिली बनाउनाका साथै बाहिर  निर्यात गर्ने बताइएको छ ।  अहिलेसम्म गाउँपालिकामा साना विद्युत् आयोजनाले उज्यालो दिइरहेका छन् भने कतिपय ठाउँमा विद्युत पु¥याउने काम भइरहेको छ । एक मेगावाटको विद्युत् आयोजना निर्माण भएमा सबै साना आयोजनालाई ग्रीडमा जोडेर बाहिर निर्यात गर्ने बताइएको छ ।