बाजुरामा १७ महिने बालकमा कालाजार

बाजुरामा १७ महिने बालकमा कालाजार

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  बैशाख ३१, २०७७

बाजुरा । देशभर कोरोना भाइरसको जोखिम बढिरहेका बेला बाजुरामा भने कालाजार देखापरेपछि गाउँमा थप चिन्ता थपिएको छ । जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं ५ गोत्रीका एक बालकलाई कालाजार देखिएको हो ।

पूर्वी–उत्तरी क्षेत्रमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारका लागि ल्याइएका जगन्नाथ गाउँपालिका गोत्रीका १७ महिने बालक देवीन्द्र बुढालाई कालाजार भएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका प्रमुख डा राजुराज जैशीले जानकारी दिनुभयो । 

करिब एक महिनादेखि लगातार ज्वरो आएपछि आफन्तले उपचारका लागि मङ्गलबार प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी ल्याएका थिए । बिरामी बालकको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा स्वास्थ्य परीक्षण गर्दा कालाजार भएको पुष्टि भएपछि थप उपचारका लागि धनगढी सिफारिस गरिएको जैशीको भनाइ छ ।
 
बालकको अवस्था चिन्ताजनक भएकाले आइसीयूमा राखेर उपचार गर्नुपर्ने हुँदा बालकलाई धनगढी सिफारिस गरिएको हो । कोल्टी क्षेत्रमा कालाजारका अन्य पनि बिरामी हुनसक्ने सम्भावना भएकाले समयमै यो रोग नियन्त्रणका लागि गाउँगाउँमा क्याम्प राखेर उपचार गर्न आवश्यक रहेको विज्ञले बताएका छन् ।